२. विगतको प्रयास

२. विगतको प्रयास

आवधिक विकास योजनाहरूले स्वास्थ्य सञ्चार कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा राखेको देखिन्छ । त्यसैगरी दोश्रो दीर्घकालीन स्वास्थ्य योजना, १९९७-२०१७ ले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाई स्वास्थ्य सञ्चार क्रियाकलापहरूको योजना, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केन्द्रविन्दु हुने कुरा उल्लेख गरेको छ । यस योजनाले अन्य विभाग, महाशाखा र केन्द्रहरूसँग सहकार्य गरी उचित र उपयुक्त सञ्चार माध्यम र सन्देशहरूको विकास, उत्पादन, प्रशारण, प्रकाशन र वितरण गर्ने काममा केन्द्र उत्तरदायी हुने स्पष्ट गरेको छ । यसरी सरकारले स्वास्थ्य सञ्चारलाई महत्व दिई यसका लागि आवश्यक पर्ने संयन्त्र समेत विकास गर्ने प्रयत्न गरेको पाईन्छ । यिनै योजनाहरूलाई अनुशरण गर्दै २०५० सालमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको स्थापना गरी स्वास्थ्य प्रणालीमा एक नयाँ संरचना स्थापना गरियो । सबै स्वास्थ्य सेवा र कार्यक्रमहरूको एकीकृत तथा एकद्वार प्रणालीको रूपमा पैरवी, समुदाय परिचालन, व्यवहार परिवर्तन सञ्चार कार्यक्रमहरू विभिन्न तहमा योजना, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने निकायको रूपमा यो केन्द्रले काम गर्दै आएको छ ।

 

“नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम : कार्यान्वयन योजना (Nepal Health sector Program: Implementation Plan-NHSP:IP), 2004-2009” ले स्वास्थ्य सञ्चारलाई सबै स्वास्थ्य कार्यक्रमहरूको लागि नभई नहुने महत्वपूर्ण विषय (Cross cutting issues) को रूपमा पहिचान र स्वीकार गरेको थियो । सो योजनामा अत्यावश्यकीय स्वास्थ्य सेवाको प्याकेजलाई व्यवहार परिवर्तन सञ्चार (Behavior Change Communication-BCC) कार्यक्रमले सहयोग गर्ने कुरा उल्लेख गरेको पाइन्छ । यसका साथै यो योजनाले नसर्ने रोगहरूको जोखिमलाई सम्बोधन गर्न व्यवहार परिवर्तन सञ्चार कार्यक्रमलाई जोड दिँदै सूर्तिजन्य पदार्थ र मदिराको प्रयोग घटाउन जोड दिएको थियो । यस योजनाले प्रतिकारात्मक स्वास्थ्य सेवालाई मात्र होइन, उपचारात्मक सेवाको लागि पनि व्यवहार परिवर्तन सञ्चार त्यत्तिकै महत्वपूर्ण छ भन्ने कुरा स्वीकार्दै सबै अत्यावश्यकीय स्वास्थ्य सेवा प्याकेज (Essential Health Care Service Package-EHCS) मा सूचना, शिक्षा तथा सञ्चार एकीकृत गर्नु र स्वास्थ्य प्रवर्द्वनको लागि सम्भव भएसम्म सबै आमसञ्चार माध्यमहरूको प्रयोग गर्नुपर्ने कुरा उल्लेख गरेको थियो ।

 

प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, क्षयरोग नियन्त्रण, एच.आई.भी. तथा यौनरोग नियन्त्रण, किटजन्य रोग नियन्त्रण, कुष्ठरोग नियन्त्रण र अन्य सबै छ स्वास्थ्य सेवा र कार्यक्रमहरूको बेग्लाबेग्लै रणनीतिहरूले स्वास्थ्य सञ्चार क्रियाकलापहरूको महत्वलाई अंगीकार गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र मार्फत स्वास्थ्य सन्देश वा सूचना र सामग्रीहरू विकास, उत्पादन र प्रचारप्रसार गर्ने कुरा प्रस्तुत गरेका छन । यी कार्यक्रमहरूले पैरवी, सामाजिक परिचालन र व्यवहार परिवर्तन स्वास्थ्य सञ्चार कार्यक्रमहरूलाई सबै तहमा उचित महत्व दिएको पाइएको छ । यसका बावजुद एकीकृत रूपमा स्वास्थ्य सञ्चार नीति तर्जुमा गरी स्वास्थ्य सञ्चार कार्यक्रमहरूलाई थप व्यवस्थित गर्न कार्यारम्भ गर्नु जरुरी र समयानुकूल देखिएको छ ।