४. समस्या तथा चुनौतिहरु

४. समस्या तथा चुनौतिहरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सञ्चार कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनेकौं कठिनाइहरू भोग्दै आइरहेको छ । स्वास्थ्य प्रवद्र्धन र सञ्चार कार्यक्रमलाई नीतिगत रूपमा प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा स्वीकार गरेपनि व्यवहारमा अझै सुधार गर्नुपर्ने देखिन्छ । स्वास्थ्य सम्बन्धी सन्देश वा सूचना र सामग्रीहरूको नियमक निकाय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँगको समन्वय, सहकार्य र सहमति बिना नै विभिन्न निकायहरूले त्यस्ता स्वास्थ्य सन्देश वा सूचना र सामग्रीहरूको विकास, उत्पादन र प्रचारप्रसार गरिरहेको पाइन्छन् । अन्य सरकारी तथा गैरसरकारी र निजी क्षेत्रले विकास, उत्पादन र प्रचारप्रसार गरेका कतिपय स्वास्थ्य सन्देश वा सूचना र सामग्रीहरूमा शुद्धता, एकरूपता, ठ पूर्णता र आधिकारिकताको समस्या भेटिएको छ । सरकारी सञ्चार माध्यम उन्मुख हालको स्वास्थ्य सन्देश वा सूचनाहरू प्रचारप्रसार गर्ने परिपाटीमा समयानुकूल परिमार्जन गरी समाजमा व्यापक रूपमा स्थापित भएका निजी र सामुदायिक सञ्चार माध्यम उन्मुख बनाउनु पनि त्यतिकै आवश्यक छ । विभिन्न जाति–जनजाति र भाषा भएको देशमा धेरैजसो स्वास्थ्य सन्देश वा सूचना र कार्यक्रमहरू नेपाली भाषामा नै तयार गरी प्रसारण र प्रकाशन गरिएका छन् । यसलाई विविध भाषामा तयार गरी प्रकाशन र प्रशारण व्यापक बनाउनु पर्नेछ । स्वास्थ्य सञ्चार सम्बन्धी केही सामग्रीहरू केन्द्र, क्षेत्र र जिल्ला तहमा विकास र उत्पादन गरिए पनि यो समयको माग र आवश्यकताको तुलनामा निकै नै कम रहेको छ । आम नागरिकको घरदैलोसम्म स्वास्थ्य सन्देश र सूचनाहरू पर्याप्त मात्रामा प्रवाह गर्नु तथा विभिन्न संघसंस्थाहरूबाट विकास र उत्पादन गरिएका स्वास्थ्य सञ्चार सामग्रीहरूको गुणस्तरमा सुधार गर्नु आवश्यक भएको   छ । सञ्चारका माध्यमहरूको विकास र विस्तारसँगै ती सञ्चार माध्यमहरूबाट प्रवाह हुने स्वास्थ्य सन्देश वा सूचनालाई व्यापक बनाई बढ्दो माग पूर्ति गर्न तथा स्वास्थ्य सन्देशहरूलाइ प्रभावकारी एवं उपयोगी बनाउन र यसका निम्ति प्रयाप्त श्रोत जुटाउनु चुनौतीपूर्ण रहेको छ ।

 

स्वास्थ्य प्रवर्द्धन तथा सञ्चार कार्यक्रममा सेवाको पहुँच नभएका दुर्गम गाउँमा बस्ने तथा भौगोलिक, जातीय, लैंगिक हिसाबले पछाडि परेका वा पारिएका जनमानस एवं गरिब र सीमान्तीकृत नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी स्वास्थ्य सन्देश वा सूचनाहरू, सञ्चार सामग्री र निर्देशिकाहरू पर्याप्त रूपमा उपलब्ध छैनन् । मूलत तिनीहरूको सञ्चार माध्यममा पहुँच निकै कम छ र पहुँच योग्य स्वास्थ्य सन्देश वा सूचना र सामग्रीहरूको भाषा पनि सबैले पढ्न र बुझ्न सक्दैनन । सञ्चार माध्यमको पहुँच भएका शिक्षित घर परिवारमा पनि धेरै महिलाहरू स्वास्थ्य सन्देश वा सूचना र सामग्रीहरूबाट त्यति लाभान्वित हुन सकेका छैनन् किनकि तिनीहरू आफ्ना दैनिक जीवनचर्यामा अत्यन्त व्यस्त छन् । स्वास्थ्य सञ्चार गर्नु सरकारको मात्र दायित्व हो भन्ने मानसिकता हुनु र निजी क्षेत्रका कतिपय सञ्चार माध्यमहरूले पनि स्वास्थ्य सञ्चारलाई आफ्नो सरोकारको विषय बनाउन नसक्नुका कारण स्वास्थ्य सञ्चारले आवश्यक प्राथमिकता पाएको छैन । सरकारी सञ्चार माध्यमहरू पनि बढी विज्ञापनमुखी हुन गई नेपाली जनताको स्वास्थ्यप्रति पर्याप्त संवेदनशील र उत्तरदायी हुन सकेको पाइँदैन । स्वास्थ्यलाई हानी हुने कतिपय विषयवस्तुहरू सार्वजनिक स्थान र आम सञ्चारका माध्यमहरूमा खुल्लम्खुल्ला प्रचारप्रसार भैरहेका छन् तर यिनलाई रोकथाम, नियन्त्रण र प्रतिबन्ध गर्ने प्रभावकारी नीति तथा संयन्त्र नभएको महशुस हुन्छ । उपभोक्ता हित संरक्षणको दृष्टिकोणबाट पनि स्वास्थ्य सञ्चार गर्ने अवधारणा प्रभावकारी हुन सकेको देखिँदैन । विभिन्न स्वास्थ्य सम्बन्धित व्यवहारहरूको न्यूनतम स्तरीकरण गरिएको छैन र केही स्तरीकरण भएका स्वास्थ्य सम्बन्धित व्यवहारहरूको पनि उचित रूपमा सञ्चार गर्न सकिएको छैन । स्वास्थ्य विषयमा तत्काल आवश्यक सन्देश वा सूचनाहरू प्राप्त गर्न चाहने नागरिकका निम्ति सूचना प्रदान गर्ने प्रभावकारी व्यवस्था हुन सकेको छैन ।

 

नेपालको शिक्षा प्रणालीमा जीवनोपयोगी स्वास्थ्य शिक्षाको बारेमा उमेर र आवश्यकता अनुसारको शिक्षा दिने प्रयाप्त प्रयास भएको छैन । स्वास्थ्य तथा जनसंख्या र वातावरणजस्ता अन्तरसम्बन्धित र महत्वपूर्ण विषयहरू स्वास्थ्य सञ्चारसँग संयोजित हुन सकेका छैनन् । स्वास्थ्यसम्बन्धी सञ्चार अभियानमा पर्याप्त मात्रामा बहुसञ्चार विधि अपनाउन सकिएको    छैन । स्वास्थ्यसम्बन्धी सन्देश वा सूचना प्रवाह गर्ने सरकारी, गैरसरकारी र निजी सञ्चार माध्यमहरूलाई विद्यमान कतिपय नीतिगत र कानुनी प्रावधानका कारण समान र समानुपातिक रूपमा प्रयोग गर्न कठिनाइ भइरहेको छ ।

 

औषधी व्यवस्था विभागले सूचीकरण नगरेका वा प्रतिबन्ध लगाएका औषधी वा औषधीजन्य वस्तुबारे पर्याप्त सञ्चार हुन सकेको छैन । यसबाट आम उपभोक्ता औषधीको बारेमा सुसूचित हुन पाउने अधिकारबाट बञ्चित हुन पुगेका र कतिपय अवस्थामा अनधिकृत व्यक्तिको सिफारिसमा त्यस्ता औषधीको प्रयोगबाट पीडित हुन समेत पुगेका छन । यसैगरी आयुर्वेद, युनानी, होमियोप्याथी, वैकल्पिक र प्राकृतिक चिकित्सा र जनसंख्या कार्यक्रमलाई स्वास्थ्यसञ्चार कार्यक्रमले पर्याप्त संवोधन गर्न सकेको छैन ।