१.२ परिभाषाः

१.२ परिभाषाः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नीतिमा;
क) “नदी” भन्नाले जमिनको सतहमा पानीको निकासको क्रममा प्राकृतिक रुपमा प्रभावित हुने नदी, गाड, खोला, खोल्सी र नाला समेतलाई सम्झनु पर्छ र सो शब्दले जल प्रवाह अंशलाई समेत जनाउँछ ।
ख) “जल प्रवाह मार्ग” भन्नाले सामान्य बाढीको समयमासमेत जलप्रवाह हुने नदीका दुवै किनारा वीचको क्षेत्रलाई सम्झनु पर्दछ ।
ग) “सामान्य बाढीको समय” भन्नाले दुई दुई वर्षमा पुनरावृति हुने (Two Year Return Period Flood) बाढीको समयलाई सम्झनु पर्दछ ।
घ) “जल उत्पन्न प्रकोप” भन्नाले वाढी, पहिरो, डुवान, पटान, हिम पहिरो आदि कारणले उत्पन्न हुने प्रकोपलाई सम्झनु पर्दछ ।
ङ) “बाढी प्रभावित क्षेत्र” भन्नाले बाढीको समयमा नदीको पानीले एक वा दुवै स्थायी किनारा नाघी जलमग्न हुने वा हुन सक्ने बस्ती, कृषि भूमि, जङ्गल, आदि भू–भाग र बाढीले छोडेको समयमा बगरको रुपमा परिणत भएको भू–भाग समेतलाई सम्झनु पर्दछ ।
च) “बगर” भन्नाले दुई वर्ष पुनरावृतिकालको बाढीले (Two Year Return Period Flood) ढाक्ने वा ढाक्न सक्ने जमिन र सामान्यतया कृषि उत्पादनमा प्रयोग गर्न नसकिने भूमिलाई सम्झनु पर्दछ ।
छ) “उकास” भन्नाले नदी किनाराका जमिनलाई जलविज्ञानको प्रविधि अनुसार निर्धारित नदीलाई आवश्यक पर्ने जलप्रवाह मार्ग छोडेर उपयुक्त प्रविधि प्रयोग गरी कृषि, बसोबास वा अन्य आर्थिक, सामाजिक, धार्मिक एवम् सांस्कृतिक प्रयोजनको निमित्त त्यस्तो बगरलाई उपयोगमा ल्याउन गरिने व्यवस्थालाई सम्झनु पर्दछ ।
ज) “तटबन्ध” भन्नाले नदीमा आउने बाढीको पानीलाई किनारा नाघेर आसपासका जमिनमा पस्नबाट रोक्न तथा किनार कटान रोक्न नदीको किनारमा निर्माण गरिने संरचनालाई सम्झनु पर्दछ।
झ) “जल उत्पन्न प्रकोप प्रभावित उपभोक्ता समूह” भन्नाले बाढी, पहिरो, नदी कटान तथा जल उत्पन्न प्रकोपबाट प्रभावित उक्त क्षेत्रमा बसोबास गर्ने समूह÷समुदायलाई सम्झनु पर्दछ र सो शब्दले प्रकोप प्रभावित उपभोक्ता समूह समेतलाई जनाउँछ ।
ञ) “स्थानीय निकाय” भन्नाले प्रचलित कानुन बमोजिम गठन भएको गाउँ पालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका तथा जिल्ला विकास समितिलाइ सम्झनु पर्दछ ।
ट) “पहिरो” भन्नाले प्राकृतिक तथा मानव सिर्जित कार्यमा मुख्यतया जल तथा भूकम्पको कारणले गुरुत्वाकर्षण भई कुनै पिण्ड (Area) को तलतिर चलायमान हुने प्रकृया लाइ सम्झनु पर्दछ ।
ठ) “आपतकालिन नदी नियन्त्रण” भन्नाले खास गरी वर्षादको समयमा आउने बाढी तथा पहिरोबाट हुने जनधन तथा भौतिक संरचनाहरुको क्षतिलाई तत्काल रोकथाम गरी नदी तथा पहिरो नियन्त्रण गर्ने कार्यलाई सम्झनु पर्दछ ।
ड) “साना नदी नियन्त्रण कार्य” भन्नाले साना प्रकृतिका खोलानाला, खोल्सी, गल्छी तथा गाडमा स्पर, स्टुड, चेक डयाम, तटबन्ध तथा अन्य प्रविधी अपनाई गरिने नियन्त्रण कार्यलाई सम्झनु पर्दछ ।
ढ) “मझौला नदी नियन्त्रण कार्य” भन्नाले नदीको दुवै किनारामा गरी बढीमा दश कि. मि. लम्बाई सम्म तटबन्ध, स्पर, स्टुड तथा अन्य प्रविधि अपनाई गरिने नदी नियन्त्रण कार्यलाई सम्झनु पर्दछ ।
ण) “ठूला नदी नियन्त्रण कार्य” भन्नाले नदीको दुवै किनारामा गरी दश कि.मि. भन्दा बढीलम्बाई तटबन्ध, स्पर, स्टुड तथा अन्य प्रविधि अपनाई गरिने नदी नियन्त्रण कार्यलाई सम्झनु पर्दछ ।
ट) “साना पहिरो नियन्त्रण कार्य” भन्नाले पहिरोको फेदको चौडाइबढीमा ५० मि. सम्म, लम्वाई बढीमा १०० मि. र क्षेत्रफल (Area) ५००० वर्ग मिटर भएको पहिरो नियन्त्रण कार्यलाई सम्झनु पर्दछ ।
ठ) “मझौला पहिरो नियन्त्रण कार्य” भन्नाले पहिरोको फेदको चौडाइ ५०–१०० मि. सम्म, लम्वाई १००–२०० मि. र क्षेत्रफल (Area) ५०००–२०००० वर्ग मिटर भएको पहिरो नियन्त्रण कार्यलाई सम्झनु पर्दछ ।
ड) “ठुला पहिरो नियन्त्रण कार्य” भन्नाले पहिरोको फेदको चौडाइ १०० मि. भन्दा बढी, लम्वाई २०० मि. भन्दा बढी र क्षेत्रफल (Area) २०००० वर्ग मिटरभन्दा बढी भएको पहिरो नियन्त्रण कार्यलाई सम्झनु पर्दछ ।