परिच्छेद-१ प्रारम्भिक

परिच्छेद-१ प्रारम्भिक

१. संक्षिप् नाम   प्रारम्भ: (१) यस ऐनको नाम जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क)   केन्द्र भन्नाले दफा १४ बमोजिमको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्र सम्झनु पर्छ।

(ख)   घरेलु विषादी भन्नाले कृषक स्तरमा घरायसी तथा व्यापारिक प्रयोजनको लागि वनस्पतिजन्य र गहुँत, दुध लगायतका प्राकृतिक स्रोतबाट तयार गरिएको विषादी सम्झनु पर्छ।

(ग)   जीवनाशक विषादी भन्नाले बोट बिरुवा, कृषिजन्य पदार्थ र वन तथा वन पैदावार, जीव, पशुपन्छी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ्ग र निर्माण कार्यमा हानि पुर्‍याउने रोग, कीरा, सुलसुले, निमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्राङ्‍गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तु सम्झनु पर्छ र सो शब्दले देहायका वस्तुलाई समेत जनाउँछ:-

(१)      हानिकारक जीवहरूको शिकार गरेर, परभक्षी बनेर, परजीवी बनेर, रोग लगाएर सोको वृद्धि कम गराउने तथा त्यस्ता जीवहरूलार्इ आकर्षण वा विकर्षण गर्ने वस्तु (फेरोमोन्स, एट्रयाक्टयान्ट, रिपेलेन्ट, डिररेन्ट),

(२)      हानिकारक जीवहरूको नियमित वृद्धि र प्रजनन कार्यमा असर पर्ने वस्तु (इन्सेक्ट ग्रोथ रेगुलेटर, इन्हिवीटर),

(३)      हानिकारक वनस्पतिको वृद्धि नियन्त्रण गर्ने वस्तु (प्लान्ट ग्रोथ इन्हिवीटर),

(४)     पात पतिङ्‍गर झार्ने वस्तु (डिफोलियन्ट),

(५)     ओसिलोपन कम गर्ने तथा सुकाउने वस्तु (डेसिकेन्ट),

(६)      फलफूल संख्या पतल्याउने वस्तु (थिनिङ एजेन्ट),

(७)      समय नपुग्दै फलफूल झर्ने लगायतका समस्याको नियन्त्रण गर्ने वस्तु,

(८)      कृषि बाली तथा कृषिजन्य पदार्थ उत्पादनसँग सम्बन्धित प्रयोगशालामा निसङ्‍क्रमण गर्न प्रयोग गरिने वस्तु (डिसइन्फेक्ट्ण्ट)।

(घ)   तोकिएको वा तोकिए बमोजिम भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(ङ)   निरीक्षक भन्नाले दफा 2४ बमोजिम नियुक्त जीवनाशक विषादी निरीक्षक सम्झनु पर्छ।

(च)   प्रतिबन्धित जीवनाशक विषादी भन्नाले मानव स्वास्थ्य, पशु स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर गर्ने विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, पञ्जीकरण, बिक्री, वितरण वा प्रयोगमा प्रतिबन्ध लगाइएको विषादी सम्झनु पर्छ।

(छ)     “प्रमुख भन्नाले दफा १६ बमोजिमको केन्द्र प्रमुख सम्झनु पर्छ।

(ज)   बोट बिरुवा भन्नाले जीवित वा वंश प्रसारणमा प्रयोग हुने वनस्पतिको डाँठ, हाँगा, गाँठ, कलमी, बोक्रा, जरा, पात, फल, फूल, बीउ र जर्मप्लाज्म लगायत सम्झनु पर्छ।

(झ)   मन्त्रालय भन्नाले कृषि सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ।

(ञ)   मिसावट गरिएको विषादी भन्नाले विषादीमा हुनु पर्ने कुनै सक्रिय तत्त्व घटी वा बढी भएको, विषादीको प्रभावकारिता घटाउन थपिएको वस्तु वा विषादीको सूचकपत्रमा उल्लेख गरिए बमोजिमको गुण, मात्रा वा विशेषता नभएको विषादी सम्झनु पर्छ।

(ट)   बिरुवाजन्य पदार्थ भन्नाले वनस्पतिको डाँठ, हाँगा, गाँठ, कलमी, बोक्रा, जरा, पात, फल, फूल, बीउबाट बनेको पदार्थ सम्झनु पर्छ र सो शब्दले मृत वनस्पति वा त्यसको कुनै भागलार्इ समेत जनाउँछ।

(ठ)   सक्रिय तत्त्व भन्नाले विषादी संश्लेषण र उत्पादन गर्दा त्यसमा जैविक वा रासायनिक रूपमा सक्रिय रहेको तत्त्व (विषांश) सम्झनु पर्छ।

(ड)   समिति भन्नाले दफा 1१ बमोजिमको जीवनाशक विषादी व्यवस्थापन समिति सम्झनु पर्छ।

(ढ)   सूचीकृत विषादी भन्नाले यस ऐन बमोजिम नेपाल सरकारले पञ्जीकरण गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर तोकेको विषादी सम्झनु पर्छ।