परिच्छेद-६ जीवनाशक विषादीको प्रयोग र व्यवस्थापन

परिच्छेद-६ जीवनाशक विषादीको प्रयोग र व्यवस्थापन

१८. जीवनाशक विषादीको प्रयोग: (१) कसैले जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न तथा त्यस्तो विषादीको अवशेष तोकिएको हदभन्दा बढी मात्रा हुने गरी उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन।

(२) मिसावट गरिएको वा कम गुणस्तरको जीवनाशक विषादी हो भन्ने कुरा थाहा पाउँदा पाउँदै कसैले पनि त्यस्तो विषादी बिक्री, वितरण, भण्डारण वा प्रयोग गर्नु, गराउनु हुँदैन।

(३) जीवनाशक विषादीको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले सुरक्षित जीवनाशक विषादी तथा सो विषादी प्रयोग र विसर्जन गर्दा लगाइने सुरक्षित पहिरन समेत बिक्रीको लागि राख्नु पर्नेछ।

(४) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसार वा विसर्जन गर्दा तोकिए बमोजिमका आवश्यक सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ।

(५) विषादी र खाद्य पदार्थको भण्डारण र बिक्री अलग अलग स्थानबाट गर्नु पर्नेछ।

(६) यस ऐन बमोजिम जुन उद्देश्यको लागि जीवनाशक विषादीको पञ्जीकरण गरिएको हो सोही प्रयोजनको लागि मात्र जीवनाशक विषादीको प्रयोग गर्नु पर्नेछ।

(७) जीवनाशक विषादी पैठारी वा संश्लेषण गर्नुअघि सो विषादीको कन्टेनर र नेपालीमा लेखिएको सूचकपत्र र पर्चाको ढाँचा समेत केन्द्रबाट स्वीकृत गराएर मात्र प्रयोग गर्नु, गराउनु पर्नेछ।

(८) जीवनाशक विषादीको प्रयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

१९. घरेलु विषादीको प्रयोग: यस ऐन बमोजिम घरेलु विषादीको उत्पादन र वितरण वातावरणमैत्री ढङ्गले गर्नु पर्नेछ। साथै सो विषादीको पञ्जीकरण, उत्पादन, भण्डारण, ओसारपसार र बिक्री वितरणका लागि आवश्यक मापदण्ड तोकिए बमोजिम हुनेछ।

२०. वनस्पतिजन्य जैविक विषादीको उत्पादन प्रयोगलार्इ प्रोत्साहन गर्नु पर्ने: मन्त्रालयले बाली, बिरुवा, घर र भण्डारणमा लाग्ने विभिन्न रोग वा कीराको व्यवस्थापन गर्नमा प्रयोग हुने वनस्पतिजन्य र जैविक विषादी उत्पादन र प्रयोगलार्इ प्रोत्साहन गर्नु पर्नेछ।२१. जीवनाशक विषादी उत्पादन तथा संश्लेषण: (१) जीवनाशक विषादीको उत्पादन तथा संश्लेषण गर्दा मानव तथा पशु स्वास्थ्य र वातावरणमैत्री हुने गरी गर्नु पर्नेछ।

           (२) विषादीको उत्पादन तथा संश्लेषण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

२२. जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने: (१) समितिले केन्द्रको सिफारिसमा मानव तथा जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउन सक्नेछ।

           (२) मन्त्रालयले उपदफा (१) बमोजिम प्रतिबन्ध भएका जीवनाशक विषादीको नाम सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।

(३) जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२३. म्याद नाघेका जीवनाशक विषादीको व्यवस्थापन: (१) आयातकर्ताले पैठारी गरेका कुनै जीवनाशक विषादीको अवधि समाप्त भएमा आफ्नै खर्चमा सोको उचित व्यवस्थापन गर्नु पर्नेछ।

तर उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गरेको जीवनाशक विषादीको हकमा उक्त विषादीमा उल्लिखित म्याद भुक्तान हुने अवधिभन्दा एक महिना अगावै सम्बन्धित कम्पनी वा उद्योगले सोको उचित व्यवस्थापन गर्नु पर्नेछ।

           (२) कुनै व्यक्ति, संस्था वा निकाय, व्यवसायी वा उद्यमीले जीवनाशक विषादी सम्बन्धी कारोबार गर्दा तोकिए बमोजिमको मापदण्डको अधीनमा रही म्याद नाघेका विषादीको व्यवस्थापन आफैंले गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम व्यवस्थापन गर्दा म्याद समाप्त भएका प्रतिबन्धित, टुटेफुटे वा चुहिएका जीवनाशक विषादी सम्बन्धित विषादी कम्पनी, उद्योग तथा व्यक्तिले पैठारीकर्ता मार्फत नै फिर्ता लैजाने व्यवस्था गर्नु पर्नेछ। त्यस्ता विषादीलार्इ तत्काल भण्डारण गर्नको लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ।

(४) उपदफा (३) बमोजिम फिर्ता लैजाने तथा भण्डारण गर्ने सम्बन्धी मापदण्ड र कार्यविधि तोकिए बमोजिम हुनेछ।

२४. निरीक्षक नियुक्त गर्ने: (१) मन्त्रालयले आवश्यकता अनुसार कृषि विज्ञानमा स्नातक वा सो सरहको योग्यता पुगेका नेपाल कृषि सेवा, बाली संरक्षणको क्षेत्रमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीको कर्मचारीलाई जीवनाशक विषादीको प्रयोग तथा व्यवस्थापन सम्बन्धी कार्य गर्नका लागि जीवनाशक विषादी निरीक्षकको रूपमा नियुक्त गर्न सक्नेछ।

(२) प्रदेश सरकारले आवश्यकता अनुसार कृषि विज्ञानमा स्नातक वा सो सरहको योग्यता पुगेका कृषि सेवा, बाली संरक्षणको क्षेत्रमा कार्यरत अधिकृत स्तरको कर्मचारीलाई जीवनाशक विषादीको प्रयोग तथा व्यवस्थापन सम्बन्धी कार्य गर्नको लागि जीवनाशक विषादी निरीक्षकको रूपमा नियुक्त गर्न सक्नेछ।

(३) उपदफा (२) बमोजिम निरीक्षक नियुक्त गरेको जानकारी सम्बन्धित प्रदेशले मन्त्रालयलाई दिनु पर्नेछ।

२५. निरीक्षकको काम, कर्तव्य अधिकार: (१) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क)   यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको पालना भए नभएको विषयमा अनुगमन गरी समितिमा सिफारिस गर्ने,

(ख)    जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग, पुनः प्याकिङ्ग वा जीवनाशक विषादीको विज्ञापनको काम गरिने स्थानमा प्रवेश गरी आवधिक वा आकस्मिक रूपमा निरीक्षण गरी समितिमा सिफारिस गर्ने,

(ग)   अनुगमनको क्रममा मिसावट गरिएको वा कम गुणस्तरको जीवनाशक विषादी भेटिएमा त्यस्तो विषादीको बिक्री वितरण रोक्का राख्ने वा वितरण कक्षमा सिलबन्दी गर्ने,

(घ)   कुनै व्यक्ति, संस्था वा निकायमा रहेका जीवनाशक विषादीसँग सम्बन्धित प्रमाणपत्र, इजाजतपत्र, अभिलेख लगायतका कागजात तथा प्रमाणको अध्ययन विश्लेषण गर्ने,

(ङ)   तोकिए बमोजिमको प्रक्रिया अपनार्इ जीवनाशक विषादी तथा बालीको नमूना सङ्कलन र विश्लेषण गर्ने, गराउने,

(च)   यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लङ्घन भएको शङ्का लागेमा सोको अनुसन्धान गर्ने, गराउने र सो सम्बन्धी प्रतिवेदन केन्द्र समक्ष पेश गर्ने,

(छ)   खण्ड (च) बमोजिम अनुसन्धान गर्दा ऐन तथा नियमावलीको उल्लङ्घन भएको पाइएमा त्यस्तो कार्यमा प्रयोग भएको उपकरण, जीवनाशक विषादी, अभिलेख, कागजपत्र वा अन्य सम्बन्धित सामग्री जफत गरी सम्बन्धित उल्लङ्घनकर्ता व्यक्तिलार्इ जफतको भरपाई दिने,

(ज)   खण्ड (छ) बमोजिम जफत गरिएका जीवनाशक विषादीको सुरक्षित तवरले भण्डारण गर्ने व्यवस्था मिलाउने,

(झ)   तोकिए बमोजिमका अन्य कार्य गर्ने।

(2) दफा २४ को उपदफा (1) बमोजिम नियुक्त निरीक्षकले आफूले सम्पादन गरेका कामको चौमासिक प्रतिवेदन केन्द्र र दफा २४ को उपदफा (2) बमोजिम नियुक्त निरीक्षकले आफूले सम्पादन गरेको कामको प्रतिवेदन प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।

२६. नमूना सङ्कलन गर्ने: (१) केन्द्रले जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्ने प्रयोजनको लागि नमूना सङ्कलन गर्नु पर्नेछ।

(२) जीवनाशक विषादीको नमूना सङ्कलन र विश्लेषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२७. प्रयोगशालाको स्थापना: (१) जीवनाशक विषादीको गुणस्तर तथा अनुसन्धानात्मक परीक्षण लगायतका कार्य गर्नको लागि मन्त्रालयले जीवनाशक विषादी सम्बन्धी प्रयोगशाला स्थापना गर्न सक्नेछ।

(२) मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुने गरी प्रदेश सरकारले विषादी सम्बन्धी प्रयोगशाला स्थापना गर्न सक्नेछ।

(३) उपदफा (१) र (२) बमोजिमको प्रयोगशाला स्थापना नभएसम्मको लागि मन्त्रालयले हाल नेपाल सरकारको लगानीमा सञ्चालन भएका वा निजीस्तरमा स्थापना भई सञ्चालनमा रहेको मान्यताप्राप्त प्रयोगशालालार्इ उपदफा (१) र (२) बमोजिमको प्रयोगशालाको रूपमा काम गर्ने गरी तोक्न सक्नेछ।

२८. पञ्जीकरण नगरिएका तथा प्रतिबन्धित जीवनाशक विषादीको प्रचार प्रसार गर्न नहुने: कुनै व्यक्ति, संस्था वा निकायले पञ्जीकरण नगरिएको तथा प्रतिबन्धित जीवनाशक विषादीका बारेमा गलत भ्रामक विवरण उल्लेख गर्न तथा कुनै अर्को जीवनाशक विषादीसँग भ्रम पर्ने तथा झुक्याउने नियतले प्रचार प्रसार गर्नु हुँदैन।

२९. विषादी विसर्जन गर्ने: (१) जीवनाशक विषादीको विसर्जन गर्दा मानव, पशुपन्छी, जलचर, बोट बिरुवाको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ।

(२) जीवनाशक विषादी, विषादीजन्य फोहोर तथा सोको कन्टेनर नष्ट गर्नु पर्दा सो वस्तुको प्रकृतिका आधारमा छुट्टाछुट्टै विसर्जन गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम जीवनाशक विषादीको नष्ट गर्ने तरिका र मापदण्ड समितिले तोके बमोजिम हुनेछ।

३०. अभिलेख राख्नु पर्ने: (१) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण, ओसारपसार तथा विसर्जन गर्ने व्यक्ति, संस्था वा निकायले आफूले कारोबार गरेको विषादीको परिमाण, मूल्य तथा तोकिएको अन्य विवरण सहितको अभिलेख दुरुस्त राख्नु पर्नेछ।

(2) उपदफा (1) बमोजिम कारोबार गर्दा राखिएको अभिलेख निरीक्षक, प्रमुख वा केन्द्रले माग गरेमा त्यस्तो अभिलेख तत्काल उपलब्ध गराउनु पर्नेछ।

(3) जीवनाशक विषादीको अभिलेख राख्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

  • आचार संहिता बनाउन सक्ने: (1) केन्द्रले समितिको स्वीकृति लिर्इ जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्ने कार्यमा संलग्न व्यक्ति, संस्था वा निकायले पालन गर्नु पर्ने गरी आचार संहिता बनाई लागू गर्न सक्नेछ।

(2) प्रदेश सरकारले उपदफा (1) बमोजिम बनाएको आचार संहिताको प्रतिकूल नहुने गरी प्रदेश भित्रका जीवनाशक विषादीको बिक्री वितरण, भण्डारण, व्यवसायिक प्रयोगकर्ता र थोक तथा खुद्रा बिक्रेताले पालना गर्नु पर्ने गरी आचार संहिता बनाई लागू गर्न सक्नेछ।