परिच्छेद -७ कसूर, सजाय तथा क्षतिपूर्ति

परिच्छेद -७ कसूर, सजाय तथा क्षतिपूर्ति

३२. कसूर गरेको मानिने: कसैले देहाय बमोजिमका कुनै कार्य गरे गराएमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ:-

(क)   दफा ४ विपरीत पञ्जीकरण नगरिएका जीवनाशक विषादी उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग, पुनः प्याकिङ्ग वा विसर्जन गरेमा,

(ख)   दफा ८ विपरीत इजाजतपत्र नलिर्इ जीवनाशक विषादी सम्बन्धी कारोबार गरेमा,

(ग)   दफा १८ विपरीत जीवनाशक विषादीको अवशेष तोकिएको हदभन्दा बढी मात्रा हुने गरी उत्पादन तथा विक्री वितरण गरेमा वा मिसावट गरिएको विषादी बिक्री वितरण गरेमा,

(घ)   दफा १८ विपरीत विषादीको जथाभावी प्रयोग वा मिसावटयुक्त विषादीको प्रयोग गरेमा,

(ङ)   दफा २२ विपरीत प्रतिबन्धित जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग, पुनः प्याकिङ्ग वा विसर्जन सम्बन्धी प्रचलित मापदण्ड विपरीत कार्य गरे, गराएमा,

(च)   दफा २३ विपरीत म्याद नाघेका जीवनाशक विषादी व्यवस्थापन नगरी बेचबिखन गरेमा,

(छ)   दफा २८, २९ र ३० विपरीतको कार्य गरेमा,

(ज)   मापदण्ड पूरा नभएको वा नक्कली जीवनाशक विषादीको प्रयोग वा कारोबार गरेमा,

(झ)   जीवनाशक विषादी व्यवस्थापनमा अवरोध पुर्‍याउने,

(ञ)   वातावरणीय प्रदूषण हुने गरी जीवनाशक विषादीको प्रयोग गरेमा,

(ट)   यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा मापदण्ड विपरीत हुने गरी अन्य कुनै काम गरे, गराएमा।

३३. दण्ड जरिबाना: दफा ३२ बमोजिमको कुनै कसूर गरेमा देहाय बमोजिम दण्ड जरिबाना हुनेछ:-

(क)   खण्ड (क) बमोजिमको कुनै कसूर गरेमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय,

(ख)   खण्ड (ख) बमोजिमको कुनै कसूर गरेमा दश हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय,

(ग)   खण्ड (ग) बमोजिमको कसूर गरेमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय,

(घ)   खण्ड (घ) बमोजिम कसूर गरेमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना,

(ङ)   खण्ड (ङ) बमोजिम कसूर गरेमा पचास हजारदेखि दुर्इ लाख रुपैयाँसम्म जरिबाना र एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय,

(च)   खण्ड (च), (छ), (ज), (झ), (ञ) र (ट) बमोजिम कसूर गरेमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय।

३४. मुद्दाको अनुसन्धान दायरी: (1) यस ऐन बमोजिमको मुद्दाको अनुसन्धान तथा तहकिकात दफा 2४ को उपदफा (१) बमोजिमको निरीक्षकले गर्नेछ।

(2) उपदफा (1) बमोजिम अनुसन्धान तथा तहकिकातको कार्य समाप्त भएपछि निरीक्षकले सरकारी वकीलको राय लिर्इ मुद्दा चलाउने निर्णय गरेमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नु पर्नेछ।

३५. क्षतिपूर्ति सम्बन्धी व्यवस्था: विषादी उत्पादन, निकासी, पैठारी, संश्लेषण, मिसावट, ढुवानी, बिक्री वितरण तथा भण्डारणको प्रयोग वा विसर्जन गर्ने क्रममा कुनै दुर्घटना भएमा सम्बन्धित इजाजतपत्रप्राप्त व्यक्ति, संस्था वा निकायले पीडितलार्इ तोकिए बमोजिमको क्षतिपूर्ति दिनु पर्नेछ।

तर दफा 3२ बमोजिमको कसूर गरेको मानिने कार्य गरेको कारणबाट कुनै प्रकारको क्षति पुग्न गएको अवस्थामा क्षतिपूर्ति दिइने छैन।

३६. जफत गरिने: (१) दफा ३३ बमोजिम दण्ड जरिबाना भएमा उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गरिएको जीवनाशक विषादीलार्इ समेत जफत गरिनेछ।

(२) उपदफा (१) बमोजिम निरीक्षकले जफत गरिएको विषादी मुद्दाको अन्तिम किनारा नलागेसम्म त्यस्तो विषादीको सुरक्षित भण्डारण तथा विसर्जन गर्दा लाग्ने खर्च सम्बन्धित जीवनाशक विषादी धनीले नै बेहोर्नु पर्नेछ।

३७. नेपाल सरकार वादी हुने: यस ऐन ‍अन्तर्गतको मुद्दामा नेपाल सरकार वादी हुनेछ।

३८. पुनरावेदन गर्न सक्ने: (१) निरीक्षक वा प्रमुखले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले उक्त निर्णय भएको मितिले पैंतीस दिनभित्र समिति समक्ष पुनरावेदन
गर्न सक्नेछ।

(2) यस ऐन बमोजिम कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।