परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :- (१) यी नियमहरूको नाम “नागरिक उड्डयन सुरक्षा नियमावली, २०७३” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा :- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अनआइडन्टीफाइड व्यागेज” भन्नाले सामान धनीको पहिचान नभई बेवारिसी अवस्थामा छोडिएको व्यागेज ट्याग भए वा नभएको व्यागेज सम्झनु पर्छ ।
(ख)   “अनएकम्पनाइड होल्ड व्यागेज” भन्नाले यात्रु चढेकै वायुयानबाट पठाउन नसकी कार्गोको रूपमा अर्को वायुयानबाट पठाइएको व्यागेज सम्झनु पर्छ ।
(ग) “अनक्लेम्ड व्यागेज” भन्नाले हवाई मार्गबाट विमानस्थलमा आइपुगेकोे र कसैले पनि आफ्नो भनी दाबी नगरेको व्यागेज सम्झनु पर्छ ।
(घ)   “अनधिकृत हस्तक्षेप (अनलफुल इन्टरफियरेन्स)” भन्नाले नागरिक उड्डयनको सुरक्षा विरुद्ध हुने जुनसुकै कार्य सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्यको उद्योगलाई समेत जनाउँछ ।
(ङ) “एकम्पनाइड होल्ड व्यागेज” भन्नाले यात्रु चढेकै वायुयानबाट ओसारिने यात्रुको व्यागेज सम्झनु पर्छ  ।
(च) “ऐन” भन्नाले गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ सम्झनु पर्छ ।
(छ) “ट्रान्सफर यात्रु वा व्यागेज” भन्नाले एउटा वायुयानबाट ओर्ली विमानस्थलबाटै अर्को वायुयानमा प्रस्थान गर्ने यात्रु वा पठाइने व्यागेज सम्झनु पर्छ ।
(ज) “ट्रान्जिट यात्रु” भन्नाले कुनै उडानबाट अवतरण गरी अवतरण गरेको विमानस्थलबाट सोही उडान हुँदै प्रस्थान गर्ने यात्रु सम्झनु पर्छ ।
(झ) “नागरिक उड्डयन (सिभिल एभिएशन)” भन्नाले यात्रु, वायुयान, वायुयान कर्मचारी, विमानस्थल सञ्चालनमा संलग्न विभिन्न निकायका कर्मचारी, क्याटरिङ सेवा उपलब्ध गराउने कर्मचारी, सुरक्षाकर्मी वा आगन्तुक सम्झनु पर्छ र सो शब्दले विमानस्थल सञ्चालनमा प्रयोग भएका आवश्यक भौतिक पूर्वाधार, यन्त्र वा उपकरणलाई समेत जनाउँछ ।
(ञ) “नागरिक उड्डयन कार्यालय” भन्नाले प्राधिकरणको विमानस्थल स्थित कार्यालय सम्झनु पर्छ ।
(ट) “नागरिक उड्डयन सुरक्षा (सिभिल एभिएशन सेक्युरिटी)” भन्नाले अनधिकृत हस्तक्षेपबाट नागरिक उड्डयनको संरक्षण गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले सुरक्षाको लागि गरिने कार्य, अवलम्बन गरिने उपाय (मेजर्स), मानव संशाधन र भौतिक साधनको संयोजनलाई समेत जनाउँछ ।
(ठ) “नागरिक उड्डयन सुरक्षा अधिकारी” भन्नाले नियम ७ बमोजिमको नागरिक उड्डयन सुरक्षाको उपयुक्त अधिकारी (एप्रोप्रियट अथोरिटी फर सिभिल एभिएशन सेक्युरिटी) को रूपमा काम गर्ने अधिकारी सम्झनु पर्छ ।
(ड) “निषेधित सामान” भन्नाले नागरिक उड्डयनको सुरक्षा प्रतिकूल हुने गरी प्रयोग हुन सक्ने हातहतियार, विस्फोटक पदार्थ वा अन्य सामान सम्झनु पर्छ र सो शब्दले वायुयानबाट ओसार पसार गर्न निषेध गरिएको अन्य कुनै सामानलाई समेत जनाउँछ ।
(ढ) “प्राधिकरण” भन्नाले नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन, २०५३ बमोजिम स्थापित नेपाल नागरिक उड्डयन प्राधिकरण सम्झनु पर्छ ।
(ण) “व्यागेज” भन्नाले वायुसेवा सञ्चालन संस्थाले आफ्नो वायुयानमा लैजान मञ्जुर गरेको यात्रु वा वायुयान कर्मचारीको व्यक्तिगत प्रयोजनको सामान सम्झनु पर्छ ।
(त) “विमानस्थल सुरक्षा समिति” भन्नाले नियम १० बमोजिमकोे विमानस्थल सुरक्षा समिति सम्झनु पर्छ ।
(थ) “समिति” भन्नाले नियम ३ बमोजिमको राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समिति सम्झनु पर्छ ।
(द) “सुरक्षा खानतलासी (स्क्रिनिङ)” भन्नाले यात्रु, वायुयान कर्मचारी, विमानस्थलका कर्मचारी तथा आगन्तुकको साथमा रहेको वा निजहरूले लैजान खोजेको व्यागेजको जाँच गर्ने कार्य सम्झनु पर्छ ।
(ध) “सुरक्षा जाँच” भन्नाले यात्रु, वायुयान कर्मचारी, विमानस्थलका कर्मचारी तथा आगन्तुकको साथमा रहेको वा सामानमा लुकाई छिपाई लैजान खोजिएको हातहतियार, विस्फोटक पदार्थ वा अज्ञानतावस लैजान खोजिएको अन्य निषेधित सामान पत्ता लगाउने प्रयोजनको निमित्त सामानको जाँच गर्ने कार्य सम्झनु पर्छ ।
(न) “होल्ड व्यागेज” भन्नाले वायुयानको सामान राख्ने स्थान (एयरक्राफ्ट होल्ड) मा राखिने व्यागेज सम्झनु पर्छ ।
(प) “ह्याण्ड व्यागेज” भन्नाले यात्रु तथा वायुयान कर्मचारीले लगाएका लुगा तथा लुगाको खल्तीमा रहेका सामान बाहेक निजले वायुयानमा आफूसँगै लैजाने सबै सामान सम्झनु पर्छ ।