परिच्छेद–७ व्यक्ति तथा सामानको सुरक्षा जाँच सम्बन्धी व्यवस्था

परिच्छेद–७ व्यक्ति तथा सामानको सुरक्षा जाँच सम्बन्धी व्यवस्था

२१. अनधिकृत प्रवेश नियन्त्रण गर्ने :- (१) विमानस्थलको सुरक्षामा खटिएको सुरक्षाकर्मीले विमानस्थलको निषेधित क्षेत्रभित्र अनधिकृत व्यक्तिको प्रवेश हुन नसक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(२) विमानस्थलको सुरक्षामा खटिएको सुरक्षाकर्मीले विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश गर्न ऐन बमोजिम अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो क्षेत्रमा प्रवेश दिनु अघि प्रवेश गर्ने व्यक्तिको विवरण तथा निजले सवारी साधनको प्रयोग गरेकोमा त्यस्तो सवारी साधनको विवरण सहितको अभिलेख राख्ने व्यवस्था गर्नु पर्नेछ ।
(३) विमानस्थलको सुरक्षामा प्रतिकूल प्रभाव नपर्ने भएमा मात्र सुरक्षाकर्मीले यात्रु वा विमानस्थलमा खटिएको कर्मचारी बाहेक अन्य व्यक्तिलाई विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश गर्न अनुमति प्रदान गर्नु पर्नेछ ।
२२. वायुयानको सुरक्षा सम्बन्धी व्यवस्था :- वायुसेवा सञ्चालन संस्थाले वायुयान सुरक्षाको सम्बन्धमा देहायको व्यवस्था मिलाउनु पर्नेछ ः–
(क) वायुयान उडान गर्नु अघि निषेधित सामान लुकाई छिपाई नलगेको सुनिश्चित गर्न वायुयानमा यात्रु चढ्नु र सामान राख्नु पूर्व वायुयानको सुरक्षा जाँच गर्ने,
(ख) वायुयान अवतरण भए पछि वायुयानबाट ओर्लने यात्रुलाई वायुयानभित्र कुनै सामान छाड्न नदिने,
(ग) वायुयानको चालक कक्ष (ककपिट) भित्र अनधिकृत व्यक्ति प्रवेश गर्न नदिने,
(घ) वायुयानभित्र सम्बन्धित यात्रु तथा कर्मचारी बाहेक अन्य अनधिकृत व्यक्तिलाई प्रवेश गर्न नदिने ।
२३. यात्रु, व्यक्ति वा सामानको सुरक्षा जाँच गर्ने :- (१) सुरक्षाकर्मीले वायुयान वा विमानस्थलको निषेधित क्षेत्रभित्र यात्रु वा कुनै व्यक्तिलाई प्रवेश गर्न दिनु अघि यात्रु वा त्यस्ता व्यक्तिको शरीर र निजको ह्याण्ड व्यागेज तथा व्यागेजको सुरक्षा जाँच गर्नु पर्नेछ ।
(२) सुरक्षाकर्मीले ट्रान्सफर यात्रु, वायुयानबाट ओर्लने अनुमति प्रदान गरिएका ट्रान्जिट यात्रु र निजहरूको ह्याण्ड व्यागेज तथा व्यागेजको समेत उपनियम (१) बमोजिम सुरक्षा जाँच गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सुरक्षा जाँच गरी सकेको यात्रु वा कुनै व्यक्तिसँग सुरक्षा जाँच नभएको यात्रु वा कुनै व्यक्तिको भेट भएमा वा भेट भएको शङ्का लागेमा त्यस्तो यात्रु वा व्यक्तिको यस नियम बमोजिम पुनः सुरक्षा जाँच गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम सुरक्षा जाँच गरिसकेको कुनै ह्याण्ड व्यागेज, व्यागेज वा सामानसँग सुरक्षा जाँच नगरेको सामान मिसिएमा वा मिसिएको शङ्का लागेमा त्यस्तो सामानको समेत यस नियम बमोजिम पुनः सुरक्षा जाँच गर्नु पर्नेछ ।
२४. ट्रान्जिटमा रहेका यात्रुको लागि छुट्टै कक्षको व्यवस्था गर्ने :- ट्रान्जिटमा रहेका यात्रुलाई वायुयानबाट ओर्लिई विमानस्थलको टर्मिनल भवनमा आउन दिने व्यवस्था भएमा नागरिक उडड्यन कार्यालयले त्यस्ता ट्रान्जिट यात्रुलाई सुरक्षा जाँच नलिएको कुनै यात्रु सँग भेट नहुने वा सुरक्षा जाँच नगरेको सामान मिसिन नसक्ने गरी विमास्थलमा छुट्टै कक्षको व्यवस्था गर्नु पर्नेछ ।
२५. होल्ड व्यागेजको खानतलासी लिने :- (१) सुरक्षाकर्मीले वायुयानमा लोड गर्नु पूर्व प्रत्येक होल्ड व्यागेजको सुरक्षा खानतलासी लिनु पर्नेछ ।
(२) सुरक्षाकर्मीले उपनियम (१) बमोजिम सुरक्षा खानतलासी लिएको होल्ड व्यागेज वायुयानमा लोड नगरेसम्म अनधिकृत हस्तक्षेप हुन नपाउने व्यवस्था मिलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सुरक्षा खानतलासी गरिएको होल्ड व्यागेजको सुरक्षामा कुनै अवरोध भएको शङ्का लागेमा त्यस्तो होल्ड व्यागेज वायुयानमा लोड गर्नु पूर्व पुनः सुरक्षा खानतलासी गर्नु पर्नेछ ।
(४) सुरु प्रस्थान विमानस्थलमा सुरक्षा खानतलासी भई र सुरक्षा खानतलासी भए देखि अनधिकृत हस्तक्षेप हुनबाट निरन्तर संरक्षण गरिएको भन्ने सुनिश्चित भएको अवस्थामा बाहेक ट्रान्सफर यात्रुको होल्ड व्यागेजको समेत उपनियम (१) बमोजिम सुरक्षा खानतलासी लिनु पर्नेछ ।
२६. होल्ड व्यागेज ढुवानी सम्बन्धी व्यवस्था :- (१) वायुसेवा सञ्चालक संस्थाले प्रत्येक एकम्पनाइड होल्ड व्यागेज वा अनएकम्पनाइड होल्ड व्यागेजको पहिचान गरी त्यस्ता व्यागेजको अद्यावधिक अभिलेख राखेर मात्र वायुयानबाट पठाउनु पर्नेछ ।
(२) वायुसेवा सञ्चालक संस्थाले प्रस्थान गर्ने वायुयानमा नचढेका यात्रुका होल्ड व्यागेज सो वायुयानमा लोड नगर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनएकम्पनाइड होल्ड व्यागेजको हकमा त्यस्ता व्यागेजको पर्याप्त प्रमाण सहित पहिचान भएपछि नियम २५ बमोजिम सुरक्षा खानतलासी गरेर मात्र त्यस्तो व्यागेज वायुयानमा लोड गर्नु पर्नेछ ।
(४) पहिचान नभएका होल्ड व्यागेजको सुरक्षात्मक व्यवस्थाको सम्बन्धमा प्राधिकरणबाट निर्धारित प्रक्रिया अवलम्बन गर्नु पर्नेछ ।
२७. अनआइडन्टीफाइड व्यागेज सम्बन्धी व्यवस्था :- (१) विमानस्थलमा अनआइडन्टीफाइड व्यागेज फेला परेमा विमानस्थलका सुरक्षाकर्मीले त्यस्तो व्यागेजलाई सुरक्षा सावधानीका साथ अलग्गै राखी नागरिक उड्डयन कार्यालयका प्रतिनिधिको रोहवरमा सुरक्षा जाँच गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सुरक्षा जाँच गरेपछि अनआइडन्टीफाइड व्यागेजमा निषेधित सामान वा सुरक्षा खतरा भएको वा प्रचलित कानून बमोजिम निषेधित अन्य वस्तु वा सामान रहेको पाइएमा विमानस्थल सुरक्षाकर्मीले त्यस्तो व्यागेज कब्जामा लिई आवश्यकता अनुसार नष्ट गर्न वा सम्बन्धित धनीको पहिचान गरी प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकायको जिम्मा लगाउनेछ ।
(३) उपनियम (१) बमोजिम सुरक्षा जाँच गरेपछि नागरिक उड्डयन कार्यालयले सम्बन्धित धनीको पहिचान गर्न तथा त्यस्तो व्यागेज लैजान लागेको वा विमानस्थलमा ल्याएको वायुयान तथा व्यक्तिको पहिचानको लागि विमानस्थलमा आवश्यक सूचना जारी गरी विमानस्थलका वायुसेवा सञ्चालन संस्थालाई समेत जानकारी दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सूचना जारी गर्दा र जानकारी दिँदा पनि अनआइडन्टीफाइड व्यागेजको विषयमा कसैको दाबी पर्न नआएमा त्यस्तो व्यागेज नागरिक उड्डयन कार्यालयले आफ्नो कब्जामा लिई उपयुक्त व्यवस्थापन गर्नेछ ।
२८. अनक्लेम्ड व्यागेज सम्बन्धी व्यवस्था :- (१) हवाई मार्गबाट विमानस्थलमा आइपुगेकोे अनक्लेम्ड व्यागेज सम्बन्धित वायुसेवा सञ्चालन संस्थाको जिम्मामा दिईनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनक्लेम्ड व्यागेज जाँच गर्दा त्यस्तो व्यागेजमा निषेधित सामान वा प्रचलित कानून बमोजिम निषेधित अन्य वस्तु वा सामान रहेको पाइएमा विमानस्थल सुरक्षाकर्मीले त्यस्तो व्यागेज कब्जामा लिई आवश्यकता अनुसार नष्ट गर्न वा प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकायको जिम्मा लगाउनेछ ।
२९. रेगुलेटेड एजेन्ट मार्फत कार्गो सामान स्वीकार गर्ने व्यवस्था मिलाउने :- (१) वायुसेवा सञ्चालन संस्थाले आफ्नो वायुुयानबाट ढुवानी गरिने कार्गो सामानहरू रेगुलेटेड एजेन्ट मार्फत स्वीकार गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
स्पष्टीकरण ः यस नियमावलीको प्रयोजनको लागि “रेगुलेटेड एजेन्ट” भन्नाले हवाई कार्गो सम्बन्धी काम गर्न प्राधिकरणबाट प्रचलित कानून बमोजिम अनुमति प्राप्त गरेको एजेन्ट सम्झनु पर्छ ।
(२) वायुसेवा सञ्चालन संस्थाले रेगुलेटेड एजेन्टको सुरक्षा जाँच, सुरक्षित भण्डारण तथा ढुवानी सम्बन्धी सुरक्षा नियन्त्रणको पूर्ण प्रत्याभूतिको सुनिश्चितता गर्ने तथा त्यस्तो कार्यको नियमित रूपमा निरीक्षण तथा जाँच गर्ने व्यवस्था गर्नु पर्नेछ ।
३०. कार्गो, हुलाक वस्तु तथा अन्य सामानको सुरक्षा जाँच गर्ने :- (१) वायुसेवा सञ्चालन संस्थाले कार्गो, हुलाक वस्तु तथा अन्य सामानहरू वायुयानमा लोड गर्नु पूर्व सुरक्षा उपकरणको प्रयोग गरी सुरक्षा जाँच वा खानतलासी गर्नु पर्नेछ ।
स्पष्टीकरण :- यस परिच्छेदको प्रयोजनको लागि “हुलाक वस्तु” भन्नाले कुरीयर सामान, एक्सप्रेस पार्सल तथा मेललाई समेत जनाउँछ ।
(२) सुरक्षा उपकरण उपलब्ध नभएको कारण कार्गो, हुलाक वस्तु तथा अन्य सामानको उपनियम   (१) बमोजिम सुरक्षा जाँच वा खानतलासी गर्न सम्भव नभएमा वायुसेवा सञ्चालन संस्थाले त्यस्तो कार्गो, हुलाक वस्तु तथा अन्य सामान दर्ता भएको चौबीस घण्टाको कुलिङ पिरियडमा राखी भन्सार जाँच सँगसँगै सुरक्षा निकायद्वारा नमूनाको रूपमा छड्के जाँच गराउने व्यवस्था गर्नु पर्नेछ ।
(३) वायुसेवा सञ्चालन संस्थाले उपनियम (१) वा (२) बमोजिम सुरक्षा जाँच वा खानतलासी भई सकेका सामानहरू पूर्ण सुरक्षा नियन्त्रणमा रहने व्यवस्था मिलाउनु पर्नेछ ।
३१. वायुयान क्याटरिङ सेवा उपलब्ध गराउन स्वीकृति लिनु पर्ने :- (१) वायुसेवा सञ्चालन संस्थालाई क्याटरिङ सेवा उपलब्ध गराउन चाहने क्याटरिङ कम्पनी, होटल वा वायुसेवा सञ्चालन संस्थाले त्यस्तो सेवा उपलब्ध गराउन नागरिक उड्डयन सुरक्षा अधिकारीको स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम क्याटरिङ सेवा उपलब्ध गराउने स्वीकृतिको लागि नागरिक उड्डयन सुरक्षा अधिकारी समक्ष देहायका विवरण तथा कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ ः–
(क) क्याटरिङको सुरक्षा कार्यक्रम,
(ख) क्याटरिङको सुरक्षाको लागि कायम गर्ने व्यवस्था,
(ग) प्राधिकरणले तोकिदिएका अन्य कागजात तथा विवरण ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदकबाट क्याटरिङको अनधिकृत हस्तक्षेप हुनबाट संरक्षण गर्न आवश्यक सुरक्षा नियन्त्रण, क्याटरिङ खाद्य पदार्थको भण्डारण, क्याटरिङ सामग्रीको सुरक्षा जाँच, क्याटरिङ भ्यानको वायुयानसम्म स्कर्टिङ लगायतका प्रकृयाहरू सहित क्याटरिङ सामानबाट हवाई सुरक्षामा अनधिकृत हस्तक्षेप हुन नदिने पर्याप्त सुरक्षात्मक व्यवस्था हुन सक्ने देखिएमा नागरिक उड्डयन सुरक्षा अधिकारीले त्यस्तो क्याटरिङ कम्पनी, होटल वा वायुसेवा सञ्चालन संस्थालाई वायुयान क्याटरिङ सेवा सञ्चालनको स्वीकृति दिन सक्नेछ ।
३२. क्याटरिङ सेवाको निरीक्षण गर्न सक्ने :- (१) नागरिक उड्डयन सुरक्षा अधिकारी वा निजले तोकेको अधिकृतले नियम ३१ बमोजिम क्याटरिङ सेवा सञ्चालनको स्वीकृति पाएका क्याटरिङ कम्पनी, होटल वा वायुसेवा सञ्चालन संस्थाको क्याटरिङ सुरक्षा प्रावधानहरूको नियमित रूपले निरीक्षण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा क्याटरिङ सुरक्षा प्रावधानमा कुनै त्रुटि भएको देखिएमा निरीक्षण गर्ने अधिकारीले सम्बन्धित क्याटरिङ कम्पनी, होटल वा वायुसेवा सञ्चालन संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित क्याटरिङ कम्पनी, होटल वा वायुसेवा सञ्चालन संस्थाको दायित्व हुनेछ ।
(३) उपनियम (२) बमोजिम दिएको निर्देशन कुनै क्याटरिङ कम्पनी, होटल वा वायुसेवा सञ्चालन संस्थाले पालना नगरेमा निरीक्षण गर्ने अधिकारीको सिफारिसमा नागरिक उड्डयन सुरक्षा अधिकारीले क्याटरिङ सेवाको स्वीकृति रद्द गर्न सक्नेछ ।
(४) नियम ३१ बमोजिम क्याटरिङ सेवा उपलब्ध गराउन स्वीकृति प्राप्त क्याटरिङ कम्पनी, होटल वा वायुसेवा सञ्चालन संस्थाले कायम गरेको क्याटरिङ सुरक्षा कार्यक्रमका सुरक्षा प्रावधान र तिनको कार्यान्वयनमा सन्तुष्ट हुन नसक्ने कारण भएमा वा विद्यमान सुरक्षा खतराको अनुपातमा त्यस्ता सुरक्षात्मक प्रावधान पर्याप्त नहुने लागेमा नागरिक उड्डयन सुरक्षा अधिकारीले क्याटरिङ सेवा सञ्चालनमा थप सुरक्षा व्यवस्था लागू गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिमको थप सुरक्षा व्यवस्था अन्तर्गत क्याटरिङ परिसरमा सुरक्षा निकायको तैनाथी तथा क्याटरिङ सामानको प्याकिङ्ग, लोडिङ्ग, क्याटरिङ भ्यानको वायुयानसम्म स्कर्टिङ गर्ने लगायतका काममा सुरक्षा निकायबाट गरिने अन्य व्यवस्थाहरू समावेश हुनेछन् ।
३३. विशेष प्रकृतिका यात्रु सम्बन्धी सुरक्षात्मक प्रावधान :- (१) प्रचलित कानून बमोजिम हिरासत वा थुनामा रहेका वा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई वायुयानबाट यात्रा गराउनु परेमा नागरिक उड्डयन सुरक्षा अधिकारी वा निजले तोकेको अधिकृतको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम न्यायिक वा प्रशासनिक हिरासतमा रहेका वा मानसिक सन्तुलन ठीक नभएका कुनै व्यक्तिलाई वायुयानबाट यात्रा गराउने स्वीकृति प्राप्त भएमा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाले त्यस्तो व्यक्तिलाई यात्रा गराउनु भन्दा पर्याप्त समय अगावै वायुयानमा आवश्यक पर्ने उपयुक्त सुरक्षात्मक व्यवस्था मिलाउनको लागि वायुयानका मुख्य चालकलाई जानकारी गराउनु पर्नेछ ।
३४. वायुयानबाट हातहतियार लैजाँँदा कायम गर्नु पर्ने सुरक्षा व्यवस्था :- (१) कुनै व्यक्तिले वायुयानबाट हातहतियार लैजान चाहेमा गृह मन्त्रालयबाट इजाजत लिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले तोकेको विशिष्ट व्यक्तिको सुरक्षाको लागि विमानबाट हातहतियार लैजान आवश्यक भएमा त्यस्तो हातहतियार लिने सुरक्षाकर्मीले विमानस्थलमा खटिएका सुरक्षाकर्मीलाई आफूसँग हातहतियार रहेको जनाउ दिई त्यस्तो हातहतियार लैजान सक्नेछ ।
(३) उपनियम (१) बमोजिम इजाजत प्राप्त गर्नेले सो इजाजत र हातहतियारको विवरण सम्बन्धित नागरिक उड्डयन कार्यालय, वायुसेवा सञ्चालन संस्था तथा विमानस्थल सुरक्षा अधिकारी समक्ष पेस गर्नु पर्नेछ ।
(४) उपनियम (१) र (२) बमोजिमका व्यक्ति वा सुरक्षाकर्मीले वायुयानबाट हातहतियार लैजाँदा त्यस्तो हातहतियार कुनै पनि अवस्थामा वायुयानभित्र प्रयोग हुन नपाउने गरी हातहतियारबाट गोली निकाली वा अन्य आवश्यक व्यवस्था गरी वायुयानका मुख्य चालक वा निजले तोकेको वायुयान कर्मचारीको जिम्मामा रहने व्यवस्था गर्नु पर्नेछ ।
(५) नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवा सञ्चालन संस्थाले वायुयानभित्र हातहतियार सहितका व्यक्ति राख्नु पर्ने भएमा यस नियमावली तथा प्रचलित अन्य कानून बमोजिम गृह मन्त्रालयबाट इजाजत प्राप्त गर्नु पर्नेछ ।
(६) यस नियम बमोजिम वायुयानभित्र हातहतियार लैजान पाउने व्यक्तिले आफ्नो नाम, थर, नागरिकता वा पासपोर्ट नम्बर, गन्तव्य, सिट नम्बर समेतका विवरण खुलाई वायुयानका मुख्य चालकलाई पूर्व जानकारी गराउनु पर्नेछ ।
 (७) कुनै वायुयानभित्र इनफ्लाईट सेक्युरेटी अफिसर राख्नु पर्ने भएमा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाको सिफारिस सहित गृह मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
३५. वायुयानभित्र शान्ति तथा व्यवस्था कायम गर्नु पर्ने :- (१) उडानमा रहेको वायुयानभित्र शान्ति तथा व्यवस्था कायम राख्ने जिम्मेवारी वायुयानको मुख्य चालकको हुनेछ ।
(२) उडानमा रहेको वायुयानभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्ने कार्यमा वायुयानका मुख्य चालकले सहचालक, वायुयानका अन्य कर्मचारी तथा आवश्यकता अनुसार यात्रुको सहयोग लिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम वायुयानको मुख्य चालकले सहयोग मागेमा निजलाई सहयोग पु¥याउनु सहचालक, वायुयानका अन्य कर्मचारी तथा यात्रुको कर्तव्य हुनेछ ।
३६. हिरासतमा लिन सक्ने :- (१) वायुयानभित्र कसैले ऐनको दफा ९क. बमोजिम कसूर हुने कुनै कार्य गरेमा मुख्य चालकको आदेशमा त्यस्तो व्यक्तिलाई उडान अवधिभर हिरासतमा राखी वायुयान गन्तव्यमा अवतरण गरेपछि अवतरित विमानस्थलको मुलुकलाई बुझाई दिनु पर्नेछ ।
(२) उडानमा रहेको वायुयानभित्र नागरिक उड्डयन सुरक्षामा असर पर्ने कुनै कार्य नगर्न वा कुनै  यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न वायुयानको मुख्य चालक, सहचालक वा वायुयानका अन्य कर्मचारीले कुनै यात्रुलाई दिएको निर्देशन निजले पालना नगरेमा वा अटेरी गरेमा त्यस्तो व्यक्तिलाई नागरिक उडड्यन सुरक्षामा प्रतिकूल असर पारेको अभियोगमा उपनियम (१) बमोजिम हिरासतमा लिन सकिनेछ ।