परिच्छेद–९ नागरिक उड्डयन सुरक्षा सम्बन्धी कामको बाँडफाँट

परिच्छेद–९ नागरिक उड्डयन सुरक्षा सम्बन्धी कामको बाँडफाँट

४२.   प्राधिकरणको जिम्मेवारी :- नागरिक उड्डयन सुरक्षाको सम्बन्धमा प्रचलित कानूनमा भएको व्यवस्थाको अतिरिक्त प्राधिकरणको जिम्मेवारी देहाय बमोजिम हुनेछ ः–
(क) विमानस्थलस्थित सबै सुरक्षा निकाय बिच समन्वय गर्ने,
(ख)   विमानस्थल निषेधित क्षेत्रको लागि प्रवेश पास जारी गर्ने तथा विमानस्थलमा कार्यरत नरहेका वा जिम्मेवारीबाट हटाईएका कर्मचारी वा व्यक्तिको विमानस्थल प्रवेश पास फिर्ता लिने व्यवस्था मिलाउने,
(ग)   विमानस्थल सुरक्षाको लागि आवश्यक पर्ने सुरक्षा उपकरणहरूको पहिचान गर्ने, खरिद गर्ने, जडान गर्ने, सञ्चालन गर्न लगाउने, मर्मत सम्भार गर्ने तथा सुरक्षा उपकरणको विश्वसनियताको परीक्षण (क्यालिवरेशन) गर्ने,
(घ) सुरक्षा तारबार, पर्खाल, पोष्ट लगायत विमानस्थल सुरक्षाको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको व्यवस्था गर्ने,
(ङ)   विमानस्थल सुरक्षा तालीम तथा सर्टिफिकेशन कोर्ष सञ्चालन गर्ने,
(च) नागरिक उड्डयन सुरक्षा विरुद्धका सम्भावित खतराको विश्लेषण गरी सुरक्षा कार्यक्रम परिमार्जन गर्न समितिमा सिफारिस गर्ने,
(छ) ऐनको दफा ९क. को उपदफा (१) को खण्ड (क) र (ख) विपरीत नेपालभित्र अनधिकृत प्रवेश गर्ने वा नेपालको भूभागबाट उडान गर्ने वायुयान वा नेपाली सेनाको एअर डिफेन्स क्लियरेन्स बिना नेपालमा प्रवेश गर्ने वायुयान उपर कारबाहीको लागि नेपाली सेनालाई अनुरोध गर्ने,
(ज) नागरिक उड्डयन सुरक्षा सम्बन्धी विषयमा आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराउने,
(झ)    नागरिक उड्डयन सुरक्षाको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने, गराउने ।
४३. राष्ट्रिय अनुसन्धान विभाग निगरानी शाखाको जिम्मेवारी :- विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभाग निगरानी शाखाको जिम्मेवारी देहाय बमोजिमको हुनेछ ः–
(क) विमानस्थलमा सुरक्षा संवेदनशील तथा निषेधित क्षेत्रमा हुन सक्ने शङ्कास्पद गतिविधि बारे निगरानी राख्ने,
(ख) सम्बन्धित सुरक्षा निकायहरूसँग समन्वय गरी नागरिक उडड्यन सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने गतिविधि सम्बन्धी जानकारी नागरिक उडड्यन कार्यालयलाई गराउने ।
४४.   विमानस्थल सुरक्षा प्रहरीको जिम्मेवारी :- विमानस्थल सुरक्षाको लागि खटिएका नेपाल प्रहरीको जिम्मेवारी देहाय बमोजिम हुनेछ ः–
(क) विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश पास भएका व्यक्ति बाहेक अरुलाई अनधिकृत प्रवेश हुन नदिने तथा प्रवेश पास भएको व्यक्ति र निजसँग सम्बन्धित सामान तथा सवारी साधनको सुरक्षा जाँच लिने,
(ख) नागरिक उड्डयनको सुरक्षाको विरुद्ध प्रयोग हुन सक्ने निषेधित सामान वायुयान तथा विमानस्थलको निषेधित क्षेत्रमा जान नदिने,
(ग) अनधिकृत प्रवेश नियन्त्रण तथा सुरक्षा जाँच वा खानतलासी कार्यमा कुनै बाधा व्यवधान आउन नदिई विमानस्थल क्षेत्रको सुरक्षा गस्ती (प्याट्रोल) गर्ने,
(घ) आवश्यकता अनुसार सुरक्षा स्कर्टिङ गर्ने,
(ङ) विमानस्थल क्षेत्रको सुरक्षा निगरानीको व्यवस्था मिलाउने,
(च) सुृरक्षाजाँच तथा खानतलासीको क्रममा निषेधित सामान वा त्यस्तो सामान ओसार पसार गर्ने व्यक्ति फेला परेमा नियन्त्रणमा लिई कानूनी कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा वा निकायमा पठाई सो को जानकारी सम्बन्धित नागरिक उडड्यन कार्यालयमा गराउने,
(छ) विमानस्थल सुरक्षा सम्बन्धी विषयमा नागरिक उड्डयन कार्यालयसँग आवश्यक समन्वय गर्ने,
(ज) नागरिक उड्डयन कार्यालय प्रमुखले औंल्याएका विमानस्थल सुरक्षा सम्बन्धी अन्य कार्य गर्ने ।
४५. नेपाली सेनाको जिम्मेवारी :- विमानस्थल सुरक्षाको लागि खटिएका नेपाली सेनाको जिम्मेवारी देहाय बमोजिम हुनेछ ः–
(क) नागरिक उड्डयन सुरक्षा विरुद्धको खतरामा वृद्धि भएमा खतराको प्रकृति अनुरुप समितिको निर्णय बमोजिम अतिरिक्त सुरक्षाको व्यवस्था गर्ने,
(ख) विमानस्थलको सुरक्षाको प्रतिकूल हुने गतिविधि वा अनधिकृत प्रवेशमा नियन्त्रण गर्ने,
(ग) विमानस्थलको चौबीसै घण्टा पालो पहराको व्यवस्था गर्ने,
(घ) विमानस्थलका सञ्चार तथा उड्डयन सहायक उपकरण, रेडियो डिटेक्सन एण्ड रेञ्जिङ (राडार), भिएचएफ ओम्निडिरेक्सनल रेञ्ज (भि.ओ.आर.), डिस्टेन्स मेजरिङ इकुइपमेन्ट (डि.एम.ई.), हवाई इन्धन डिपो, कन्ट्रोल टावर जस्ता संवेदनशील क्षेत्र वा विन्दुको सुरक्षा गस्ती गर्ने,
(ङ)   विस्फोटक वा शङ्कास्पद वस्तुलाई सुरक्षित तवरले निष्कृय गर्ने,
(च) आपतकालीन अवस्थामा रहेको वा हराइरहेको वायुयानको खोज तथा उद्धार गर्ने,
(छ) विस्फोटक पदार्थको चेतावनी, विस्फोटक पदार्थको खतरा वा अन्य आपतकालीन अवस्थामा वायुयान तथा विमानस्थलमा विशेषज्ञ सहितको टोलीबाट विस्फोटक पदार्थ वा शङ्कास्पद सामान खोज तलास गर्ने,
(ज) अपहरित वायुयानको सुरक्षा र त्यसमा रहेका व्यक्तिको सुरक्षित रिहाईको लागि आवश्यक पर्ने सुरक्षा कोर्डन, सशस्त्र हस्तक्षेप लगायत आवश्यक अन्य कार्य गर्ने,
(झ) विमानस्थल सुरक्षा सम्बन्धी विषयमा नागरिक उड्डयन कार्यालयसँग आवश्यक समन्वय गर्ने,
(ञ) सुरक्षा सम्बन्धमा समितिले आवश्यक ठानेका अन्य कार्य गर्ने ।
४६. सशस्त्र प्रहरी बल, नेपालको जिम्मेवारी :- विमानस्थल सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरी बल, नेपालको जिम्मेवारी देहाय बमोजिम हुनेछ ः–
(क) नागरिक उड्डयन सुरक्षा विरुद्धको खतरामा वृद्धि भएमा खतराको प्रकृति अनुरुप समितिको निर्णय बमोजिम सुरक्षाको व्यवस्था गर्ने,
(ख) विस्फोटक वा शङ्कास्पद वस्तुलाई सुरक्षितपूर्वक निष्कृय पार्न नेपाली सेनालाई आवश्यक सहयोग गर्ने,
(ग) आपतकालीन अवस्थामा रहेको वा हराइरहेको वायुयानको खोज तथा उद्धारमा नेपाली सेनालाई सहयोग गर्ने,
(घ) विस्फोटक पदार्थको चेतावनी, विस्फोटक पदार्थको खतरा वा अन्य आपतकालीन अवस्थामा वायुयान तथा विमानस्थलमा विशेषज्ञ सहितको टोलीबाट विस्फोटक पदार्थ वा शङ्कास्पद सामान खोज तलास गर्न सहयोग गर्ने,
(ङ)   विमानस्थल सुरक्षा सम्बन्धी कार्य गर्दा नागरिक उड्डयन कार्यालयसँग आवश्यक समन्वय गर्ने,
(च) नागरिक उड्डयन सुरक्षा सम्बन्धमा समितिको निर्णय बमोजिम अन्य कार्य गर्ने ।
४७. विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी :- यात्रुको आवागमन तथा सामानको भण्डारण र भन्सार जाँचपासको क्रममा कसैले हवाई सुरक्षामा कुनै किसिमको प्रतिकूल प्रभाव पार्न सक्ने शङ्का लागेमा तत्काल विमानस्थल सुरक्षाको लागि खटिएको प्रहरी तथा सम्बन्धित नागरिक उडड्यन कार्यालयलाई जानकारी गराउनु विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी हुनेछ ।
४८. विमानस्थल अध्यागमन कार्यालयको जिम्मेवारी :- यात्रु अध्यागमन प्रक्रियाको क्रममा कसैले हवाई सुरक्षामा कुनै किसिमको प्रतिकूल प्रभाव पार्न सक्ने शङ्का लागेमा तत्काल विमानस्थल सुरक्षा प्रहरी तथा सम्बन्धित नागरिक उड्डयन कार्यालयलाई जानकारी गराउनु विमानस्थल अध्यागमन कार्यालयको जिम्मेवारी हुनेछ ।
४९.   वायुसेवा सञ्चालन संस्थाको जिम्मेवारी :- यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त नागरिक उड्डयन सुरक्षाको सम्बन्धमा वायुसेवा सञ्चालक संस्थाको जिम्मेवारी देहाय बमोजिम हुनेछ :–
(क) वायुयानको सुरक्षाको निमित्त वायुयानभित्र प्रवेश नियन्त्रण गर्ने तथा वायुयान भित्र अवैध हातहतियार, विस्फोटक वा अन्य निषेधित सामान नभएको सुनिश्चित गर्ने,
(ख) सुरु उडान भर्ने वायुयान (ओरिजिनेटिङ एयरक्राफ्ट), ट्रान्जिट वायुयान र गन्तव्य स्थानमा पुगी फर्कने वायुयान (टर्न एराउण्ड) को लागि छुट्टा–छुट्टै सुरक्षा निरीक्षण जाँच सूची (चेक लिष्ट) तयार गरी वायुयानको सुरक्षा निरीक्षण गर्ने,
(ग) वायुयानमा चढ्ने यात्रु तथा वायुयानमा लोड हुने सबै सामानको सुरक्षा जाँच वा खानतलासी भएको सुनिश्चित गर्ने ।
५०. विमानस्थलभित्र सेवा प्रदान गर्ने संस्थाको जिम्मेवारी :- विमानस्थलभित्र सेवा प्रदान गर्ने संस्थाको जिम्मेवारी देहाय बमोजिम हुनेछ :–
(क) आ–आफ्नो कार्यालय वा कार्यक्षेत्रमा अनधिकृत प्रवेश रोक्ने र त्यसरी अनधिकृत प्रवेश रोक्न नसक्ने भएमा विमानस्थल सुरक्षाको लागि खटिएको सुरक्षाकर्मीलाई जानकारी गराउने,
(ख) विमानस्थल सुरक्षाको प्रतिकूल शङ्कास्पद गतिविधि वा व्यक्ति देखिएमा त्यसको निगरानी राखी विमानस्थल सुरक्षाको लागि खटिएको सुरक्षाकर्मीलाई तत्काल जानकारी गराउने,
(ग) विमानस्थल सुरक्षा सम्बन्धमा तथा विमानस्थल आपतकालीन अवस्थामा सम्बन्धित नागरिक उड्डयन कार्यालयका प्रमुखले मागेको सहयोग पु¥याउने ।
५१. जिम्मेवारी पूरा नगरेमा कारबाही हुन सक्ने :- (१) कुनै वायुसेवा सञ्चालन संस्था, हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था, क्याटरिङ सेवा उपलब्ध गराउन स्वीकृति प्राप्त होटल वा संस्था वा विमानस्थलमा अन्य सेवा प्रदान गर्ने संस्थाले ऐन तथा यस नियमावली बमोजिमको जिम्मेवारी पूरा नगरेमा विमानस्थल सुरक्षा अधिकारीको सिफारिसमा नागरिक उड्डयन कार्यालयको प्रमुखले देहायको कुनै कारबाही गर्न सक्नेछ ः–
(क) वायुयान सञ्चालन संस्थाको हकमा त्यस्तो संस्थाको कुनै उडान वा पूरै उडान रद्द गर्न,
(ख) हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाको हकमा निज उपर कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउन,
(ग) क्याटरिङ वा अन्य सेवा उपलब्ध गराउने संस्थाको हकमा त्यस्तो सेवामा रोक लगाउन वा क्याटरिङ सेवा प्रदान गर्न दिइएको स्वीकृति रद्द गर्न ।
(२) ऐन तथा यस नियमावली बमोजिम हवाई सुरक्षाको जिम्मेवारी पाएको कुनै कर्मचारीले आफ्नो जिम्मेवारी अनुरुप काम नगरेमा विमानस्थल सुरक्षा अधिकारीको सिफारिसमा नागरिक उड्डयन कार्यालयको प्रमुखले त्यस्तो कर्मचारीलाई विमानस्थल सुरक्षाको जिम्मेवारीबाट मुक्त गरी प्रचलित कानून बमोजिम विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम भएको काम कारबाहीको जानकारी नागरिक उडड्यन कार्यालयको प्रमुखले यथाशीघ्र नागरिक उड्डयन सुरक्षा अधिकारीलाई गराउनु  पर्नेछ ।