परिच्छेद–२ कसूरजन्य कार्यको उजुरी, अनुसन्धान तथा अभियोजन

परिच्छेद–२ कसूरजन्य कार्यको उजुरी, अनुसन्धान तथा अभियोजन

परिच्छेद–२
कसूरजन्य कार्यको उजुरी, अनुसन्धान तथा अभियोजन
३. कसूरजन्य कार्यको उजुरी ः (१) कुनै बालबालिका विरुद्ध कसूरजन्य कार्यको सूचना प्राप्त भएमा अनुसन्धान अधिकारीले त्यस्तो सूचना प्रचलित कानून बमोजिम खडा गरिएको दायरीमा दर्ता गरी गोप्य तवरले सो कुराको अनुसन्धान प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुसन्धान प्रारम्भ भएकोे बालबालिकाको परिचयात्मक विवरण गोप्य राखी साङ्केतिक नाम दिई कारबाही अगाडि बढाउनु पर्नेछ ।
४. बालबालिकालाई नियन्त्रणमा लिने ः (१) नियम ३ बमोजिम अनुसन्धान गर्दा कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई अनुसन्धानको लागि ऐनको दफा २१ को उपदफा (१) बमोजिम नियन्त्रणमा नलिई नहुने अवस्था भएमा त्यस्तो बालबालिकालाई नियन्त्रणमा लिई त्यसको सूचना नियन्त्रणमा लिइएका बालबालिकाको परिवारको सदस्य, परिवारको सदस्य उपलब्ध नभए संरक्षक, संरक्षक पनि उपलब्ध नभए नजिकको नातेदारलाई अनुसूची–१ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएको बालबालिकालाई ऐनको दफा २१ को उपदफा (२) बमोजिम नियन्त्रणमा लिई रहन आवश्यक नदेखिएमा अनुसन्धान अधिकारीले अनुसूची–२ बमोजिमको ढाँचामा कागज गराई निजको परिवारको सदस्य, संरक्षक वा नजिकको नातेदारलाई जिम्मा लगाउनु पर्नेछ ।
५. निगरानी कक्षमा राख्ने अनुमति लिने ः (१) अनुसन्धान अधिकारीले कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिईएको बालबालिकालाई ऐनको दफा २१ को उपदफा (७) बमोजिम निगरानी कक्षमा राख्ने अनुमतिको लागि बाल अदालतसमक्ष निवेदन दिँदा अनुसूची–३ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा बाल अदालतले त्यस्तो बालबालिकालाई निगरानी कक्षमा राख्ने अनुमति दिने गरी अनुसूची–४ बमोजिमको ढाँचामा वा निगरानी कक्षमा राख्न उपयुक्त नदेखिएमा ऐनको दफा २१ को उपदफा (८) बमोजिम निजको बाबु, आमा, परिवारको अन्य सदस्य, संरक्षक, संस्था वा बालसुधार गृहको जिम्मा लगाउने गरी अनुसूची–५ बमोजिमको ढाँँचामा आदेश गर्न सक्नेछ ।
६. निगरानी कक्षमा हुनु पर्ने न्यूनतम सुविधा ः (१) निगरानी कक्षमा बालबालिकाको लागि आवश्यक देहायका न्यूनतम सुविधाको व्यवस्था गर्नु पर्नेछ ः–
(क) स्वच्छ पिउने पानी तथा पोषणयुक्त खाना,
(ख) बालबालिकालाई बस्न तथा सुत्नको लागि ओढ्ने ओछ्याउने कपडा सहितको उपयुक्त व्यवस्था,
(ग) बालबालिकालाई बस्न तथा सुत्नको लागि आवश्यक कुर्ची, मेच वा पलङको सुविधा,
(घ) कक्षमा पर्याप्त हावा र प्रकाशको लागि उचित व्यवस्था,
(ङ) शौचालय र सरसफाइको उचित व्यवस्था,
(च) भौगोलिक अवस्था र मौसम अनुसारको अन्य उपयुक्त व्यवस्था, र
(छ) समितिले निर्धारण गरेको मापदण्ड बमोजिमको अन्य सुविधा ।
(२) उपनियम (१) बमोजिमको सुविधा निगरानी कक्षमा उपलब्ध भए नभएको सम्बन्धमा बाल अदालतले अनुगमन गर्न सक्नेछ ।
७. अनुसन्धान सम्बन्धी व्यवस्था ः बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपमा अनुसन्धान गर्दा अनुसन्धान अधिकारीले प्रचलित कानूनमा लेखिएको कार्यविधिको अतिरिक्त देहाय बमोजिमको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ः–
(क) प्रहरी कर्मचारीले प्रहरीको पोसाक नलगाइ सादा पोसाक लगाउनु पर्ने,
(ख) बालबालिकालाई नियन्त्रणमा लिनु पर्दा सोको कारण खुलाइ आÇनो परिचय दिई परिचय खुल्ने कागजात देखाउनु पर्ने,
(ग) नियन्त्रणमा लिएको बालबालिकालाई निजको संवैधानिक तथा कानूनी हकका बारेमा निजले बुझ्ने भाषामा जानकारी गराउने,
(घ) बालबालिकाको बाबु आमा भए दुवैलाई वा कम्तीमा एकजनालाई र बाबु आमा नभए निजको परिवारको सदस्य वा संरक्षकलाई बालबालिका उपर लागेको कसूरजन्य कार्यको आरोपको सम्बन्धमा सूचना दिने,
(ङ) नजिकैको सरकारी अस्पताल वा चिकित्सकबाट तुरुन्तै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य जाँच गर्न लगाउने,
(च) आवश्यकता अनुसार बाल मनोविज्ञको परामर्श वा मनोसामाजिक सहयोग उपलब्ध गराउने,
(छ) समाजसेवीबाट बालबालिकाको सामाजिक अध्ययन प्रतिवेदन तयार गर्न लगाउने,
(ज) कुनै लिखत तयार गर्दा बालबालिकाको बाबु आमा भएसम्म दुवैजना वा कम्तीमा एकजना र बाबु आमा नभए निजको परिवारको सदस्य वा संरक्षक, बाल कल्याण अधिकारी वा कानून व्यवसायीलाई रोहबरमा राख्नु पर्ने,
(झ) बालबालिकालाई नियन्त्रणमा लिइएको जानकारी तुरुन्त सम्बन्धित जिल्ला बाल न्याय समिति वा समितिलाई गराउनु पर्ने, र
(ञ) बालबालिका वा निजको अभिभावकले छुट्टै कानून व्यवसायीको सेवा लिएकोमा बाहेक बालबालिकालाई निःशूल्क कानूनी सहायता प्रदान गर्ने सम्बन्धमा वैतनिक वकिल वा जिल्ला कानूनी सहायता समिति वा सम्बन्धित बार एकाइ वा अन्य इच्छुक कानून व्यवसायीलाई जानकारी गराउने ।
८. बालबालिकालाई सोधपुछ गर्दा विचार गर्नु पर्ने ः कसूरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएको बालबालिकालाई अनुसन्धान अधिकारीले सोधपुछ गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ः–
(क) बालबालिका बयान दिन सक्ने अवस्थामा रहे वा नरहेको यकिन गर्ने,
(ख) निजको बाबुआमा, परिवारको अन्य सदस्य वा संरक्षक, बाल कल्याण अधिकारी वा कानून व्यवसायीलाई रोहबरमा राख्ने,
(ग) निजलाई सोधिएको कुराको उत्तर दिन सक्ने बालमैत्री वातावरण बनाइ सोधपुछ गर्ने,
(घ) सम्बन्धित कसूरजन्य कार्यको आरोपमा बालबालिकाको पारिवारिक तथा सामाजिक पृष्ठभूमि र अन्य आवश्यक कुराका सम्बन्धमा सोधपुछ गर्ने,
(ङ) निजले बुझ्ने भाषामा गर्ने,
(च) रातको समयमा सोधपुछ नगर्ने,
(छ) दिनमा सोधपुछ गर्दा एक पटकमा एक घण्टाभन्दा लामो समयसम्म सोधपुछ नगर्ने,
(ज) कसूरमा साबित हुन प्रेरित नगर्ने,
(झ) सोधपुछको क्रममा बालमनोविज्ञ वा समाजसेवीको आवश्यकता परेमा सूचीकृत बाल मनोविज्ञ, सामाजसेवीहरुबाट आवश्यक सेवा उपलब्ध गराई पाउन बाल अदालत वा स्थानीय बाल अधिकार समितिलाई अनुरोध गर्ने,
(ञ) सार्वजनिक रूपमा सोधपुछ नगर्ने र सोधपुछका लागि छुट्टै कोठा वा स्थानको व्यवस्था गर्ने ।
९. अनुसन्धान अधिकारी वा सरकारी वकिलले दिशान्तरको निर्णय गर्न सक्ने ः (१) कसूरजन्य कार्यको अभियोगमा अनुसन्धान वा अभियोजनको क्रममा बालबालिकाको सर्वाेत्तम हितको लागि कसूरजन्य कार्यको आरोप लागेको बालबालिकालाई ऐनको दफा २७ को उपदफा (१) को खण्ड (क) वा (ख) बमोजिम दिशान्तर गर्न सकिने अवस्था भएमा अनुसन्धान अधिकारी वा सरकारी वकिलले ऐनको दफा २९ को उपदफा (४) बमोजिम बालबालिकाको आर्थिक, सांस्कृतिक अवस्था तथा परिवेशको अध्ययन र विश्लेषण गर्न लगाइ प्रतिवेदन लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदन तथा ऐनको दफा २८ मा उल्लिखित अवस्था विचार गरी दफा २७ को उपदफा (१) को खण्ड (क) बमोजिम दिशान्तर गर्ने अवस्था भएमा अनुसन्धान अधिकारीले आधार र कारण खुलाइ त्यस्तो बालबालिकालाई दिशान्तर गर्ने निर्णय गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अनुसन्धान अधिकारीले गरेको दिशान्तरको निर्णयको प्रतिलिपि राखी समिति, बाल अदालत र सरकारी वकिललाई त्यसको जानकारी दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदन तथा ऐनको दफा २८ मा उल्लिखित अवस्था विचार गरी दफा २७ को उपदफा (१) को खण्ड (ख) बमोजिम दिशान्तर गर्ने अवस्था भए सम्बन्धित सरकारी वकिलले आधार र कारण खुलाइ त्यस्तो बालबालिकालाई दिशान्तर गर्ने निर्णय गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम सरकारी वकिलले गरेको दिशान्तरको निर्णयको प्रतिलिपि राखी समिति र बाल अदालतलाई त्यसको जानकारी दिनु पर्नेछ ।
(६) उपनियम (२) वा (४) बमोजिम दिशान्तर गर्ने निर्णय गर्दा ऐनको दफा २९ को उपदफा (१) अन्तर्गतको कुन प्रक्रिया अवलम्बन गरिएको हो सो कुरा प्रस्ट रूपमा खुलाइ अनुसूची–६ बमोजिमको ढाँचामा निर्णय गर्नु पर्नेछ ।
(७) ऐनको दफा २९ को उपदफा (१) को खण्ड (घ) बमोजिम बालबालिकालाई कुनै सामुदायिक सेवामा पठाउँदा सोह्र बर्ष पूरा भएका बालबालिकालाई मात्र पठाउनु पर्नेछ । सामुदायिक सेवामा पठाउँदा बालबालिकालाई अध्ययन गर्ने, विद्यालयको सरसफाई गर्ने, धार्मिक स्थलहरूमा आउने श्रद्धालुहरूलाई सहयोग गर्ने, बृद्धाश्रममा गई बृद्धबृद्धालाई सहयोग गर्ने जस्ता काममा लगाउने निर्णय गर्न सकिनेछ ।
तर त्यस्तो काममा लगाउँदा दैनिक दुई घण्टा भन्दा बढी वा सामुदायिक सेवाको अवधिभर एक सय घण्टाभन्दा बढी काममा लगाउने गरी निर्णय गर्न हँुदैन ।
(८) ऐनको दफा २९ को उपदफा (१) को खण्ड (च) बमोजिम बालबालिकालाई बाल कल्याण अधिकारीको सुपरीवेक्षण र निर्देशनमा रहने गरी छाड्दा आवश्यक शर्तहरूसमेत तोक्न सकिनेछ । त्यस्तो शर्तको पालना भए नभएको सुपरिवेक्षण गर्नु सम्बन्धित बाल कल्याण अधिकारीको कर्तब्य हुनेछ ।
(९) ऐनको दफा २९ को उपदफा (१) को खण्ड (छ) बमोजिम बालबालिकालाई बाबु, आमा, परिवारको अन्य सदस्य वा संरक्षकको जिम्मा लगाउँदा बालबालिकाले गर्न हुने र नहुने कुराहरू खुलाइ सहमतिकोे कागज गराउनु पर्नेछ ।
(१०) ऐनको दफा २७ को उपदफा (१) को खण्ड (क) र (ख) को अधीनमा रही उपनियम (६) बमोजिम गरिएको दिशान्तरको निर्णय उपर चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय भएको मितिले तीस दिनभित्र बाल अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
१०. अभियोजनसम्बन्धी व्यवस्था ः (१) कसूरजन्य कार्यको आरोपको अनुसन्धानबाट त्यस्तो आरोप लागेको बालबालिका उपर प्रचलित कानून बमोजिम मुद्दा चलाउनु पर्ने देखिएमा अनुसन्धान अधिकारीले सम्बन्धित अभियोजनकर्ता समक्ष प्रचलित कानून बमोजिमको ढाँचामा प्रतिवेदन सहित मिसिल पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश हुन आएको अनुसन्धान प्रतिवेदन सहितको मिसिलबाट मुद्दा चलाउनु पर्ने देखिएमा सम्बन्धित अभियोजनकर्ताले प्रचलित कानून बमोजिमको ढाँचामा सम्बन्धित बाल अदालतमा अभियोग पत्र दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम अभियोग पत्र दर्ता गर्दा सामाजिक अध्ययन प्रतिवेदनसमेत साथै पेश गर्नु पर्नेछ ।
११. बालबालिकाको साथमा उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा ः (१) कुनै कसूरजन्य कार्यको आरोप लागी अनुसन्धान भइरहेका बालबालिकाको साथमा उक्त कसूरमा उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा अभियोजनकर्ताले बालबालिकाको हकमा बाल अदालतमा अभियोगपत्र दर्ता गरी उमेर पुगेका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम त्यस्तो मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकारक्षेत्र रहेको अदालतमा अभियोगपत्र दर्ता गर्नु पर्नेछ ।
(२) बाल अदालतको गठन नहुँदै कसूरजन्य कार्यको आरोप लागेका बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत संलग्न भई त्यस्तो व्यक्तिलाई समेत प्रतिवादी बनाई अभियोग पत्र दर्ता हुन आएकोमा कसूरजन्य कार्यको आरोप लागेको बालबालिकाको हकमा बाल इजलासमा र उमेर पुगेका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम उक्त मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकारक्षेत्र रहेको अदालतमा दर्ता गर्नु पर्नेछ ।
(३) यो नियमावली प्रारम्भ हुँदाका बखत जिल्ला अदालतमा विचाराधीन कुनै मुद्दामा बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत प्रतिवादी रहेको भएमा बालबालिकाको हकमा बाल इजलासबाट र उमेर पुगेका व्यक्तिको हकमा बाल इजलास हेर्ने न्यायाधीशको इजलासबाट त्यस्तो मुद्दाको प्रचलित कानून बमोजिम कारबाही, सुनुवाइ र किनारा गर्न बाधा पर्ने छैन ।
(४) यो नियमावली प्रारम्भ हुँदाका बखत जिल्ला अदालत बाहेक अन्य अदालत वा न्यायिक निकायमा सुरु कारबाही र किनाराको क्रममा विचाराधीन कुनै मुद्दामा बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा उमेर पुगेका व्यक्तिको हकमा छुट्टै मिसिल खडा गरी सोही अदालत वा न्यायिक निकायबाट र बालबालिकाको हकमा बाल अदालतमा मुद्दा स्थानान्तरण गरी मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्नु पर्नेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला अदालतको सामान्य इजलास वा अन्य निकायमा सुरु कारबाही र किनाराको क्रममा विचाराधीन कुनै मुद्दामा बालबालिका मात्र प्रतिवादी भएको मुद्दा बाल अदालतमा स्थानान्तरण गरी मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्न बाधा परेको मानिने छैन ।
तर त्यसरी मुद्दा स्थानान्तरण भएकै आधार कारणले मात्र पहिले भए गरेका कारबाही अमान्य वा बदर भएको मानिने छैन ।
१२. अभियोगपत्र तथा प्रमाणको प्रतिलिपि दिनु पर्ने ः (१) कसूरजन्य कार्यको आरोप लागेको बालबालिका विरुद्ध अभियोगपत्र दायर भए पछि बाल अदालतले त्यस्तो अभियोगपत्र तथा तत्सम्बन्धी लिखत प्रमाणको एक एक प्रति बालबालिकाको बाबु, आमा वा परिवारको सदस्य वा संरक्षकलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभियोगपत्र तथा तत्सम्बन्धी प्रमाणका प्रतिलिपि बालबालिकाको बाबु, आमा, परिवारको सदस्य वा संरक्षक आफंै बाल अदालतमा उपस्थित भई बुझ्न सक्नेछन् ।
(३) उपनियम (१) बमोजिम अभियोगपत्र तथा तत्सम्बन्धी प्रमाणको प्रतिलिपि दिनको लागि बालबालिकाको बाबु, आमा वा परिवारको सदस्य वा संरक्षक नभेटिएमा वा निजहरूले त्यस्तो प्रतिलिपि बुझ्न नचाहेमा त्यस्तो प्रतिलिपि बालबालिकाको कानून व्यवसायीलाई उपलब्ध गराउनु पर्नेछ ।