परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरुको नाम “कर्जा सुरक्षण नियमावली, २०७५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ सम्झनु पर्छ ।
(ख) “ऋणी” भन्नाले सदस्य संस्थाबाट कर्जा प्राप्त गरी कोषको कर्जा सुरक्षण कार्यक्रममा सहभागी व्यक्ति सम्झनु पर्छ ।
(ग) “कर्जा” भन्नाले पशुधन खरिद, लघुवित्त तथा विपन्न वर्ग, साना तथा मझौला उद्यम वा कृषि कर्जा कार्यक्रम अन्तरगत नेपाल सरकारले तोकेको क्षेत्रमा सदस्य संस्थाले प्रवाह गरेको कर्र्जा सम्झनु पर्छ ।
(घ) “कोषको कार्यालय” भन्नाले ऐनको दफा ३ को उपदफा (२) बमोजिम स्थापना भएको कोषको केन्द्रीय कार्यालय सम्झनु पर्छ र सो शब्दले कोषका अन्य कार्यालयलाई समेत जनाउँछ ।
(ङ) “ठूला पशुधन” भन्नाले गाई, याक, झोपा, बाच्छी (कोरेली), भैंसी, पाडी, साँढे, राँगो, गोरु, घोडा, घोडी, खच्चड, गधा जस्ता अन्य ठूला पशुधन सम्झनु पर्छ ।
(च) “पशुधन” भन्नाले गाई, याक, झोपा, बाच्छी (कोरेली), भैंसी, पाडी, साँढे, राँगो, गोरु, घोडा, घोडी, खच्चड, गधा, बोका, बाख्रा, भेडा, भेडी, च्याङ्ग्रा, बङ्गुर जस्ता पशुधन सम्झनु पर्छ ।
(छ) “पशुपालक कृषक” भन्नाले दुग्ध उत्पादन, प्रजनन र मासु उत्पादनको लागि पशुपालन व्यवसाय गर्ने कृषक सम्झनु पर्छ ।
(ज) “पशु सेवा कार्यालय” भन्नाले नेपाल सरकार, प्रदेश तथा स्थानीय तहकोे पशु सेवा कार्यालय सम्झनु पर्छ र सो शब्दले पशु स्वास्थ्य केन्द्र वा उपकेन्द्रलाई समेत जनाउँछ ।
(झ) “प्राकृतिक विपद्” भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल बिस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, चट्याङ्ग, भूकम्प, ज्वालामुखी बिस्फोटन, डढेलो वा यस्तै अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपद् सम्झनु पर्छ ।
(ञ) “प्राविधिक” भन्नाले पशु स्वास्थ्य सम्बन्धी विषयमा प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट दिइने कम्तीमा तीन महिनाको तालिम प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ट) “ब्र्रिडर कृषक” भन्नाले उन्नत तथा गुणस्तरयुक्त नश्लका पशुधन आधुनिक तरिकाले उत्पादनको लागि प्रजनन कार्यमा प्रयोग गरिने पशुधन पालन गर्ने कृषक सम्झनु पर्छ ।
(ठ) “सदस्य संस्था” भन्नाले कोषसँग सम्झौता गर्ने इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा वित्तीय मध्यस्थ गर्ने संस्था सम्झनु पर्छ ।
(ड) “साना पशुधन” भन्नाले बोका, बाख्रा, भेडा, भेडी, च्याङ्ग्रा, बङ्गुर जस्ता साना पशुधन सम्झनु पर्छ ।
(ढ) “सुरक्षणकर्ता” भन्नाले सदस्य संस्थाबाट कर्जा लिई खरिद गरेको पशुधन कोषमा सुरक्षण गराउने पशुपालक कृषक वा ब्र्रिडर कृषक सम्झनु पर्छ ।
(ण) “सुरक्षित पशुधन” भन्नाले सुरक्षणकर्ताले सुरक्षण गराएको पशुधन सम्झनु पर्छ ।
(त) “सुरक्षण रकम” भन्नाले सदस्य संस्थाले नियम ९ बमोजिम गरेको पशुधनको सुरक्षण रकम वा नियम ३६, ३७, ३८, ३९ र ३९क. बमोजिमको व्यवसायमा प्रवाह गरेको कर्जा रकम र सोको सीमाङ्कमध्ये जुन कम हुन्छ सो रकम सम्झनु पर्छ ।
(थ) “सुरक्षण लेख” भन्नाले नियम ८ को उपनियम (२) बमोजिम कोषले जारी गरेको सुरक्षण लेख सम्झनु पर्छ ।
(द) “सङ्केत पट्टा” भन्नाले सुरक्षण गरिएको पशुधनलाई लगाइने नियम ६ बमोजिम कोषले उपलब्ध गराएको सङ्केत नम्बर अंकित धातु वा प्लाष्टिकको सङ्केत पट्टा (ट्याग) सम्झनु पर्छ ।