परिच्छेद–२ पशुधनको सुरक्षण

परिच्छेद–२ पशुधनको सुरक्षण

३. सम्झौता गर्नु पर्नेः सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जाबाट ऋणीले खरिद गरेका पशुधनको यस नियमावली बमोजिम सुरक्षण गर्नु पूर्व कोषसँग अनुसूची–१ बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।
४. पशुधन सुरक्षण गराउनु पर्नेः सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जाबाट ऋण लिई खरिद गरेका पशुधनको अनिवार्य रुपमा सुरक्षण गराउनु पर्नेछ ।
५. स्वास्थ्य परीक्षण गराउनु पर्नेः (१) सदस्य संस्थाबाट कर्जा लिई पशुधन खरिद गरेको ऋणीले कर्जा लिएको पैंतीस दिनभित्र आफूले खरिद गरेको पशुधनको सम्बन्धित पशु सेवा कार्यालय वा कोषले तोकेको प्राविधिकबाट स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पशुधनको स्वास्थ्य परीक्षण गराउँदा त्यस्तो पशुधन स्वस्थ वा रोगी जे देखिन्छ सोही व्यहोरा खुलाई त्यस्तो पशुधनको स्वास्थ्य परीक्षण गर्ने प्राविधिकले सम्बन्धित ऋणीलाई अनुसूची–२ बमोजिमको ढाँचामा स्वास्थ्य परीक्षण प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।
६. सङ्केत पट्टा लगाउनु पर्नेः (१) नियम ५ बमोजिम स्वास्थ्य परीक्षण गर्दा त्यस्तो पशुधन स्वस्थ र निरोगी प्रमाणित भएमा स्वास्थ्य परीक्षण गर्ने प्राविधिकले त्यस्तो पशुधनलाई कोषले उपलब्ध गराएको सङ्केत पट्टा लगाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सुरक्षित पशुधनलाई लगाएको सङ्केत पट्टा यस नियमावली बमोजिम त्यस्तो पशुधन सुरक्षणमा रहेसम्म झिक्न हुँदैन ।
(३) कुनै कारणले सुरक्षणको अवधि समाप्त नहुँदै त्यस्तो पशुधनको सङ्केत पट्टा हराएमा वा नष्ट भएमा पशुधनीले सम्बन्धित प्राविधिक, सदस्य संस्थाको प्रतिनिधि वा सामूहिक जमानी अन्तर्गत खरिद गरी सुरक्षण गरिएको पशुधनको हकमा त्यस्तो समूहको अध्यक्षलाई सो कुराको जानकारी गराई त्यस्तो पशुधनलाई तत्कालै अर्को सङ्केत पट्टा लगाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम सुरक्षित पशुधनलाई पुनः सङ्केत पट्टा लगाएको भए सम्बन्धित सुरक्षणकर्ताले सोको जानकारी सदस्य संस्था मार्फत कोषलाई दिनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम पशुधनलाई सङ्केत पट्टा लगाइसकेपछि त्यसअघि हराएको सङ्केत पट्टा फेला परेमा सुरक्षणकर्ताले त्यस्तो सङ्केत पट्टा सम्बन्धित सदस्य संस्था वा कोषमा बुझाउनु पर्नेछ ।
७. विवरण पेश गर्नु पर्नेः सदस्य संस्थाबाट कर्जा लिई पशुधन खरिद गरेका ऋणीले त्यसरी खरिद गरेको पशुधन सुरक्षणको लागि सम्बन्धित सदस्य संस्थामा देहायका विवरण कागजात पेश गर्नु पर्नेछः–
(क) ऋणीले कर्जा लिँदाका बखत सदस्य संस्थामा पेश गरेको अनुसूची–३ बमोजिमको ढाँचाको सहमतिपत्रको प्रतिलिपि,
(ख) नियम ५ को उपनियम (२) बमोजिमको स्वास्थ्य परीक्षण प्रमाणपत्र,
(ग) नियम ६ बमोजिम पशुधनलाई सङ्केत पट्टा लगाएको निस्सा,
(घ) ब्र्रिडर कृषकको हकमा सम्बन्धित पशु सेवा कार्यालयले निज ब्र्रिडर कृषक भएको व्यहोरा प्रमाणित गरिदिएको कागजात,
(घ१) अनुसूची–३क, बमोजिमको ढाँचामा पशुधनको विवरण ।
(ङ) पशुको प्रजनन सम्बन्धी प्रस्तावित परियोजना वा स्किम ।
८. सुरक्षण लेख जारी गर्नेः (१) नियम ७ बमोजिम पशुधन सुरक्षणको लागि प्राप्त विवरण कागजात जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा सदस्य संस्थाले त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्न साठी दिनभित्र कोषमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लेखी आएमा कोषले आवश्यक जाँचबुुझ गरी मनासिब देखिए नब्बे दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सुरक्षण लेख जारी गर्दा कोषले प्रत्येक पशुधनको लागि अनुसूची–४ बमोजिम छुट्टाछुट्टै सुरक्षण लेख जारी गर्नु पर्नेछ ।
(४ं) उपनियम (२) बमोजिम जारी गरिएको सुरक्षण लेखको एक प्रति कोषले सम्बन्धित सुरक्षणकर्तालाई र अर्को एक प्रति सम्बन्धित सदस्य संस्थालाई उपलब्ध गराउनु पर्नेछ ।
(५) कुनै ऋणीले नियम ५ को उपनियम (१) बमोजिम पैंतीस दिनभित्र पशुधनको स्वास्थ्य परीक्षण गराउन नसकेमा वा सदस्य संस्थाले उपनियम (१) बमोजिम तोकिएको अवधिभित्र सुरक्षण लेख जारी गर्नको लागि कोषमा लेखी पठाउन नसकेमा त्यस्तो ऋणी वा सदस्य संस्थाको अनुरोधमा प्रमुख कार्यकारी अधिकृतले स्वास्थ्य परीक्षण गराउन वा सुरक्षण लेख जारी गर्न लेखी पठाउन बढीमा पैंतीस दिनको अवधि थप गरिदिन सक्नेछ ।
९. पशुधनको सुरक्षण रकमको सीमाः सदस्य संस्थाबाट कर्जा लिई खरिद गरेको पशुधनको देहाय बमोजिमको सीमासम्म सुरक्षण हुनेछः–
(क) दुग्ध उत्पादनको लागि उन्नत नश्लको प्रति गाई वा भैंसीको एक लाख पचास हजार रुपैयाँसम्म,
(ख) दुग्ध उत्पादनको लागि उन्नत नश्लको प्रति बाच्छी (कोरेली) वा प्रति पाडीको पचास हजार रुपैयाँसम्म,
(ग) दुग्ध उत्पादनको लागि स्थानीय नश्लको प्रति भैंसीको असी हजार रुपैयाँसम्म र प्रति पाडीको चालीस हजार रुपैयाँसम्म,
(घ) दुग्ध उत्पादनको लागि स्थानीय नश्लको प्रति गाईको पचास हजार रुपैयाँसम्म र प्रति बाच्छीको दश हजार रुपैयाँसम्म,
(ङ) प्रजननको लागि उन्नत नश्लको प्रति साँढे, याक वा राँगोको एक लाख पचास हजार रुपैयाँसम्म,
(च) प्रजननको लागि प्रति भेडा, बाख्रा, च्याङ्ग्रा, बङ्गुर वा बोकाको तीस हजार रुपैयाँसम्म,
(छ) मासु उत्पादनको लागि प्रति भेडा, बाख्रा, च्याङ्ग्रा वा बोकाको बीस हजार रुपैयाँसम्म,
(ज) मासु उत्पादनको लागि दुई वर्ष उमेर ननाघेका प्रति बङ्गुरको तीस हजार रुपैयाँसम्म,
(झ) टाँगा व्यवसायको लागि प्रति घोडा वा घोडीको एकलाख रुपैयाँसम्म,
(ञ) ढुवानीको लागि प्रति खच्चड, घोडा, घोडी वा झोपाको एकलाख रुपैयाँसम्म,
(ट) ढुवानीको लागि प्रति गधाको सत्तरी हजार रुपैयाँसम्म,
(ठ) ढुवानी वा जोत्नको लागि प्रति गोरु वा राँगाको पचास हजार रुपैयाँसम्म ।
१०. पशुधनको उमेर र सङ्ख्याः (१) कोषले चार वर्षसम्मको उमेर भएका साना पशुधन र दुई वर्षदेखि एघार वर्षसम्मको उमेर भएका ठुला पशुधनको मात्र यस नियमावली बमोजिम सुरक्षण गर्नेछ ।
(२) कोषले देहायको प्रयोजनको लागि ऋणीले खरिद गरेको पशुधनकोे देहाय बमोजिमको सङ्ख्यामा मात्र सुरक्षणको लेख जारी गर्नेछः–
(क) प्रजननको लागि खरिद गरिएका पाँच पाँच वटासम्म साँढे, राँगो, बोका, भेडा, च्याङ्ग्रा वा बङ्गुर,
(ख) टाँगा व्यवसायको लागि खरिद गरिएका पाँच पाँच वटासम्म घोडा वा घोडी,
(ग) जोत्नको लागि खरिद गरिएका छ छ वटासम्म गोरु वा राँगा ।
(३) उपनियम (२) मा लेखिए देखि बाहेक अन्य पशुधनको सुरक्षण गर्दा सङ्ख्याको सीमा लाग्ने छैन ।
११. सुरक्षण शुल्कः (१) यस नियमावली बमोजिम पशुधन सुरक्षण गराउँदा सुरक्षणकर्ताले त्यस्तो पशुधनको कुल सुरक्षण रकमको छ प्रतिशतले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषलाई बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कोषले वार्षिक सुरक्षण शुल्क लिँदा त्यस्तो सुरक्षण शुल्कको पच्चीस प्रतिशतका दरले हुन आउने रकम अग्रिम रुपमा सम्बन्धित ऋणीबाट लिनेछ र बाँकी पचहत्तर प्रतिशतका दरले हुन आउने रकम नेपाल सरकारले अनुदान स्वरुप कोषलाई उपलब्ध गराउनेछ ।
(३) उपनियम (२) बमोजिम सुरक्षण शुल्क लिँदा कोषले कर्जा भुक्तानी गर्ने अन्तिम वर्षको हकमा कर्जा तिर्ने अवधि छ महीना वा सोभन्दा कम बाँकी भएमा छ महिनाको र छ महिनाभन्दा बढी अवधि बाँकी भएमा एक वर्षको सुरक्षण शुल्क लिनेछ ।
(४) उपनियम (१) बमोजिम ऋणीले कोषलाई बुझाउनु पर्ने वार्षिक सुरक्षण शुल्क निजले अनुसूची–३ बमोजिमको सहमतिपत्रमा उल्लेख गरेबमोजिम आफैंले वा सदस्य संस्था मार्फत बुझाउनु पर्नेछ ।
१२. सुरक्षण लेखको प्रतिलिपिको मान्यताः यस नियमावली बमोजिम सुरक्षणकर्तालाई प्रदान गरिएको कुनै सुरक्षण लेखको सक्कल प्रति च्यातिएमा, हराएमा वा कुनै कारणले नष्ट भएमा कोष वा सदस्य संस्थामा रहेको सुरक्षण लेखको सक्कलबाट छायाँप्रति उतार गरी कैफियत जनाई कोष वा सदस्य संस्थाको अधिकार प्राप्त अधिकारीले प्रमाणित गरी सम्बन्धित सुरक्षणकर्ता वा सदस्य संस्थालाई उपलब्ध गराउनु पर्नेछ । त्यसरी उपलब्ध गराएको प्रतिलिपिलाई नियम ८ बमोजिम जारी भएको सक्कल सुरक्षण लेख सरह मानिनेछ ।
१३. सुरक्षण लेख हस्तान्तरण नहुनेः सुरक्षणकर्ताले सुरक्षित पशुधन बिक्री गरी वा अन्य कुनै प्रकारले हक छाडी दिएमा त्यस्तो पशुधनको सुरक्षण लेख हस्तान्तरण हुने छैन ।
१४. सुरक्षण लेख रद्द हुनेः (१) देहायको अवस्थामा सुरक्षण लेख स्वतः रद्द हुनेछः˗
(क) सुरक्षण लेखको अवधि समाप्त नहुंदै सुरक्षित पशुधन बिक्री गरेमा वा अन्य कुनै किसिमले हक छाडी दिएमा,
(ख) सुरक्षित पशुधन हराएको वा चोरी भएको कारणबाट सुरक्षण कर्ताको संरक्षणमा नरहेमा,
(ग) ऋणीले लिएको कर्जाको अन्तिम भुक्तानी मिति अगावै सम्पूर्ण कर्जा चुक्ता गरेमा ।
(२) उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणीले सोही सदस्य संस्थाबाट लिएको अन्य कुनै किसिमको कर्जा चुक्ता गर्न बाँकी रहेछ भने निजले सो व्यहोरा सदस्य संस्थामार्फत कोषलाई जानकारी गराएमा कोषले सो सुरक्षण लेखमा उल्लिखित कर्जा भुक्तानी गर्नु पर्ने अन्तिम मितिसम्म कायमै राख्न सक्नेछ ।
१५. पहिले खरिद भएका पशुधनको सुरक्षण हुन सक्नेः यो नियमावली प्रारम्भ हुनुभन्दा एकानब्बे दिन अघिसम्म सदस्य संस्थाबाट कर्जा लिई खरिद गरिएका पशुधन सुरक्षण गर्नको लागि ऋणीले यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी सदस्य संस्था मार्फत कोषलाई अनुरोध गरेमा कोषले त्यस्ता ऋणीको पशुधनको यस नियमावली बमोजिम सुरक्षण गर्न सक्नेछ ।
१६. नयाँ पशुधनको सुरक्षण गर्न सकिनेः (१) सदस्य संस्थाले ऋणीको अनुरोधको आधारमा निजलाई ऋण भुक्तानी अवधि समाप्त नहुँदै सुरक्षित पशुधन बिक्री गरी सोको सट्टामा नयाँ पशुधन खरिद गर्न स्वीकृति दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै ऋणीले कोषको स्वीकृतिमा सुरक्षित पशुधन बिक्री गरी नयाँ पशुधन खरिद गरेमा कोषले त्यस्तो नयाँ पशुधनको देहायको अवस्थामा सुरक्षण गर्न सक्नेछः–
(क) ऋणीले सदस्य संस्थाबाट स्वीकृती प्राप्त गरेको मितिले सात दिनभित्र नयाँ पशुधन खरिद गरेमा,
(ख) पशुधन खरिद गरेको सात दिनभित्र सदस्य संस्थालाई लिखित जानकारी दिएमा,
(ग) नियम ११ बमोजिमको सुरक्षण शुल्क बुझाएमा,
(घ) नयाँ पशुधन खरिद गरेको पैंतीस दिनभित्र स्वास्थ्य परीक्षण गराई नियम ६ बमोजिम सङ्केत पट्टा लगाएमा ।
(३) ऋणीले उपनियम (१) बमोजिम स्वीकृति लिई खरिद गरेको पशुधन सुरक्षणको लागि उपनियम (२) बमोजिमको प्रक्रिया पूरा गरेको प्रमाण सहित सम्बन्धित सदस्य संस्था समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन परेमा सदस्य संस्थाले आवश्यक जाँचबुझ गरी निवेदन परेको पन्ध्र दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्न कोषसमक्ष लेखी पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम लेखी आएमा कोषले सुरक्षण लेख जारी गर्ने मितिसम्ममा ऋणीको कर्जा खातामा बाँकी रहेको सावाँ र व्याज रकम वा शुरुको सुरक्षण लेखमा अंकित सुरक्षण रकममध्ये जुन कम हुन्छ सोही रकम उल्लेख गरी कर्जा भुक्तानीको बाँकी अवधिसम्मको लागि सुरक्षण लेख जारी गर्नु पर्नेछ ।
१७. बैंक तथा वित्तीय संस्थाले पशुधन सुरक्षण गराउन सक्नेः (१) कोषको सदस्य नरहेको बैंक तथा वित्तीय संस्थाले कोषको स्वीकृती लिई कुनै फर्म वा व्यक्तिलाई दशलाख रुपैयाँ वा सोभन्दा बढी लगानी गरी खरिद गरिएका उन्नत गाई वा भैंसीको यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी सुरक्षण गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम खरिद गरिएका पशुधनको सुरक्षण प्रक्रिया, क्षतिपूर्ति दाबी लगायतका सुरक्षण सम्बन्धी सम्पूर्ण कुराको जिम्मेवारी त्यस्ता पशुधनमा लगानी गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुनेछ ।
(३) यस नियम बमोजिम सुरक्षण गरिने पशुधनको स्वास्थ्य परीक्षण गर्ने, सङ्केत पट्टा लगाउने, पशुधनको मृत्यु प्रमाणपत्र जारी गर्ने र पशुधनको अनुत्पादक प्रमाणपत्र जारी गर्ने जस्ता कार्य सम्बन्धित पशु सेवा कार्यालयले तोकेको प्राविधिकबाट गराउनु पर्नेछ ।
१८. सुरक्षण लेखको निरन्तरताः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पशु प्रजननको फार्म सञ्चालन गर्ने ब्रिडर कृषकले सुरक्षित पशुधनको सुरक्षण लेखको अवधि समाप्त हुनु अगावै सदस्य संस्थाको पूर्व स्वीकृति लिएर पशुधन बिक्री गरी वा अन्य कुनै किसिमले हक छाडी दिएमा त्यस्तो पशुधन खरिद गर्ने वा हक प्राप्त गर्ने ब्रिडर कृषकले सो पशुधनको सुरक्षण लेखको बाँकी अवधिको लागि निरन्तरता दिन चाहेमा नियम ११ बमोजिमको सुरक्षण शुल्क सहितको नियम ७ को खण्ड (क) बमोजिमको सहमतिपत्र सम्बन्धित सदस्य संस्थामा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बिक्री गरी वा अन्य कुनै किसिमले हक छाडी दिएको पशुधनको सुरक्षण लेखलाई निरन्तरता दिन मनासिब देखिएमा सदस्य संस्थाले त्यसरी हक छाडीदिएको मितिमा सुरक्षणकर्ताको कर्जा खातामा बाँकी देखिएको कर्जा रकम (सावाँ र व्याज) र शुरुको सुरक्षण लेखमा अंकित सुरक्षण रकममध्ये जुन कम हुन्छ सो रकमलाई पशुधनको सङ्ख्याले भाग गर्दा प्रति पशुधन हुन आउने रकमसम्मको हद कायम गरी त्यस्तो सुरक्षण लेखलाई बाँकी अवधिसम्म निरन्तरता दिन कोषमा लेखी पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लेखी पठाउँदा सदस्य संस्थाले आफुले दिएको स्वीकृती पत्र, सुरक्षण शुल्क बुझाएको प्रमाण र ब्रिडर कृषकको सहमतिपत्र संलग्न गरी कोषमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम लेखी आएमा र व्यहोरा जाँचबुझ गर्दा मनासिब देखेमा कोषले त्यस्तो सुरक्षण लेखलाई निरन्तरता दिई सोको जानकारी सात दिनभित्र सम्बन्धित सदस्य संस्थालाई दिनु पर्नेछ ।
१९. पशुधन सुरक्षण सम्बन्धी विशेष व्यवस्थाः (१) कोषले अनुरोध गरेमा सम्बन्धित पशु सेवा कार्यालयले पशुधन खरिद–बिक्री हुने ठाउँमा नै पशुधनको स्वास्थ्य परीक्षण र सङ्केत पट्टा लगाउन सकिने गरी आवश्यक व्यवस्था मिलाउनेछ ।
(२) उपनियम (१) बमोजिम स्वास्थ्य परीक्षण गरी सङ्केत पट्टा लगाएको पशुपालक कृषकले त्यस्तो पशुधन गन्तव्य स्थानमा पुर्याएको मितिले सात दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गरिदिनको लागि नियम ११ बमोजिमको सुरक्षण शुल्क सहित सम्बन्धित सदस्य संस्था मार्फत कोषमा निवेदन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन कोषले जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा पन्ध्र दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्नु पर्नेछ ।
२०. सुरक्षण लेख अवधिः यस नियमावली बमोजिम जारी भएको सुरक्षण लेखको अवधि नियम ११ बमोजिम वार्षिक रुपमा सुरक्षण शुल्क बुझाएको आधारमा सुरक्षित पशुधनलाई सङ्केत पट्टा लगाएको मितिदेखि कर्जाको अन्तिम भुक्तानी मितिसम्म कायम रहनेछ ।
२१. सुरक्षण नहुने अवस्थाः देहायका अवस्थामा पशुधनको सुरक्षण हुने छैनः–
(क) नियम ७ बमोजिमका विवरण कागजात पेश नभएमा,
(ख) पशुधन रोगी र अस्वस्थ प्रमाणित भएमा,
(ग) सुरक्षणको लागि प्रस्तावित पशुधन अन्यत्र सुरक्षण भइसकेमा,
(घ) पशुधनको उमेर नियम १० को उपनियम (१) अनुरुप नभएमा ।
२२. सुरक्षण शुल्क फिर्ता पाउनेः पशुधनको सुरक्षण लेख जारी नहुँदै त्यस्तो पशुधन कुनै कारणले अस्वस्थ वा रोगी भएको प्रमाणित भएमा सम्बन्धित पशुपालक कृषक वा ब्र्रिडर कृषकले त्यस्तो पशुधनको सुरक्षण बापत सदस्य संस्थामा बुझाएको अग्रिम सुरक्षण शुल्क पूरै फिर्ता पाउनेछ ।
२३. सुरक्षण लेख नवीकरण गर्नु पर्नेः सदस्य संस्थाले आफूले कर्जा प्रदान गरेको अन्तिम भुक्तानी मितिसम्म सम्पूर्ण कर्जा असूल उपर हुन नसक्ने देखेमा वा ऋणीले कर्जा चुक्ता गर्ने अवधि बढाउन अनुरोध गरेमा त्यस्तो सुरक्षण लेखको म्याद समाप्त हुनुभन्दा तीस दिन अगावै देहायका विवरण कागजात संलग्न गरी नवीकरणका लागि कोषमा लेखी पठाउनु पर्नेछः–
(क) …………..
(ख) नियम ११ बमोजिमको वार्षिक सुरक्षण शुल्क बुझाएको निस्सा,
(ग) अनुसूची–५ बमोजिमको ढाँचामा पशुधनको सुरक्षण विवरण ।
२४. पशुधनको मृत्यु भएमा वा अनुत्पादक भएमा जानकारी दिनु पर्नेः सुरक्षणकर्ताले सुरक्षित पशुधनको मृत्यु भएमा सोको अठ्चालीस घण्टाभित्र र पशुधन अनुत्पादक भएको वा अनुत्पादक भएको शंका लागेमा तुरुन्त सम्बन्धित सदस्य संस्था र सम्बन्धित पशु सेवा कार्यालयको प्राविधिकलाई वा सामूहिक जमानी अन्तर्गत खरिद भई सुरक्षण भएका पशुधनको हकमा सम्बन्धित समूहको अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ ।
२५. मृत्यु प्रमाणपत्र जारी गर्नेेः (१) नियम २४ बमोजिमको जानकारी प्राप्त भएमा सदस्य संस्थाले खटाएको कर्मचारी, सम्बन्धित प्राविधिक वा समूहको अध्यक्षले यथाशीघ्र मृत पशुधनको यकिन गरी अनुसूची–६ बमोजिमको ढाँचामा मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ ।
(२) नियम १९ को उपनियम (१) बमोजिम खरिद–बिक्री स्थलमा नै सुरक्षण भएको पशुधन गन्तव्य स्थानमा नपुग्दै बाटोमा मृत्यु भएमा सुरक्षणकर्ताले तत्कालै सम्बन्धित पशु सेवा कार्यालयका प्राविधिक वा कोषबाट मान्यता प्राप्त प्राविधिक समक्ष लिखित सूचना दिनु पर्नेछ । त्यस्तो सूचना प्राप्त भएपछि सम्बन्धित प्राविधिकले यथाशीघ्र त्यस्तो पशुधनको मृत्यु भएको स्थलमा गई जाँची मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ ।
(३) गधा, घोडा, घोडी, खच्चड वा झोपाको नियम ७ को खण्ड (क) बमोजिमको सुरक्षण सहमतिपत्रमा उल्लिखित दैनिक हिड्ने मार्गमा मृत्यु भएमा सो स्थानबाट नजिकको पशु सेवा कार्यालयको प्राविधिकले त्यस्तो मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मृत्यु प्रमाणपत्र जारी गर्नु अघि सम्बन्धित प्राविधिकले सुरक्षित पशुधनको मृत्युको कारण खुलाई प्राकृतिक विपद् वा जंगली जनावरको आक्रमणको कारणबाट भएकोमा सम्बन्धित सदस्य संस्था र सामूहिक जमानी अन्तर्गत खरिद भई सुरक्षण भएका पशुधनको हकमा त्यस्तो समूहको अध्यक्ष समेतको रोहबरमा स्थानीय बासिन्दाबाट मुचुल्का गराउनु पर्नेछ ।
२६. पशुधन अनुत्पादक भएको प्रमाणपत्र जारी गर्नेः पशु सेवा कार्यालयको प्राविधिक वा कोषले तोकेको प्राविधिकले सुरक्षणकर्ताबाट नियम २४ बमोजिम सुरक्षित पशुधन अनुत्पादक भएको लिखित जानकारी प्राप्त गरेपछि सो मितिले दुई महिनासम्म उक्त पशुधनलाई आफ्नो निगरानीमा राख्नु पर्नेछ । त्यसरी निगरानीमा राख्दा त्यस्तो पशुधन अनुत्पादक भएको ठहरिएमा अनुसूची–७ बमोजिमको ढाँचामा पशुधन अनुत्पादक प्रमाणपत्र जारी गर्नु पर्नेछ ।