परिच्छेद–४ जग्गा आवाद, भोगचलन तथा दर्ता सम्बन्धी व्यवस्था

परिच्छेद–४ जग्गा आवाद, भोगचलन तथा दर्ता सम्बन्धी व्यवस्था

२८७. अर्काको जग्गा भोगचलन गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिको हक, भोग र स्वामित्वको जग्गा निजको मञ्जुरी नलिई आवाद गर्न वा भोगचलन गर्न वा गराउन हुँदैन ।

२८८. कुलो बनाउन दिनु पर्ने: (१) जग्गा आवाद गर्न कसैलाई अन्य व्यक्तिको जग्गाबाट कुलो बनाउनु पर्ने भई जग्गा मागेमा सम्बन्धित जग्गाधनीले उपयुक्त ठह¥याएको ठाउँबाट त्यस्तो व्यक्तिलाई कुलो बनाउनको लागि जग्गा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुलो बनाउन जग्गा दिए वापत कुलो बनाउने व्यक्तिले सट्टा जग्गा, कुलो बनाई प्रयोग भएको जग्गाको प्रचलित मूल्य बमोजिमको रकम वा मनासिब क्षतिपूर्ति सम्बन्धित जग्गाधनीलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक वा सरकारी जग्गामा कुलो बनाएकोमा कुलोमा परेको जग्गा वापत सट्टा जग्गा, जग्गाको मूल्य वा क्षतिपूर्ति दिनु पर्ने छैन ।

२८९. नदी वा खोलाको सबै पानी प्रयोग गर्न नसक्नेः कसैले आफ्नो जग्गामा उत्पत्ति भएको वा त्यसबाट बगेको नदी वा खोलाको सम्पूर्ण पानी तल्लो तटवर्ती जग्गाधनीले प्रयोग गर्न नपाउने, त्यस्तो नदी वा खोलामा रहेका जलचर बाँच्न नसक्ने वा पर्यावरणमा प्रतिकूल हुने गरी प्रयोग गर्न पाउने छैन ।

२९०. सिंचित खेतलाई असर पर्ने गरी नयाँ कुलो बनाउन नसक्ने: कसैले पनि पहिले बनाई सञ्चालनमा रहेको कुलोद्वारा सिंचित खेतमा पानी सारभूत रूपमा कम हुने गरी त्यसभन्दा माथि नयाँ कुलो बनाउन पाउने छैन ।

२९१. कुलोको पानीको उपयोग र बाँडफाँट: (१) कुलो बनाउनको लागि जुन व्यक्तिले श्रम वा खर्च गरेको छ सोही व्यक्तिले जग्गा आवाद गर्नको लागि कुलोको पानीमा पहिलो प्राथमिकता पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परापूर्वदेखि भागबण्डा बमोजिम पानी प्रयोग गर्दै आएको ठाउँमा सबै व्यक्तिहरूले भागबण्डा अनुसार कुलोको पानी उपयोग गर्न पाउनेछन्।
(३) उपदफा (१) बमोजिम पानी उपयोग गर्ने व्यक्तिलाई पानी पर्याप्त भएपछि वा निजलाई पानी आवश्यक नपर्ने भएमा जुनसुकै व्यक्तिको कुलो भए पनि अन्य व्यक्तिले जग्गा आवाद गर्नलाई कुलोको पानी उपयोग गर्न पाउनेछ ।
(४) कुनै व्यक्तिको जग्गा सिंचित भई बढी भएको पानी अर्को व्यक्तिको जग्गामा बगेकोमा सम्बन्धित जग्गाधनीको अनुमति बिना पनि प्रयोग गर्न सकिनेछ र त्यस वापत कुनै दाबी लाग्ने छैन ।

२९२. सहमति बिना कुलो बदल्न नहुने: कुनै व्यक्तिको जग्गामा मात्र बनेको कुलो अन्य व्यक्तिले समेत प्रयोग गर्दै आएको भएमा त्यस्तो कुलो भएको जग्गाधनीले कुलो उपभोग गर्ने व्यक्तिको सहमति बिना साबिकको कुलो अन्य ठाउँमा फेरबदल गर्न पाउने छैन ।

२९३. कुलोमा श्रम वा खर्च नगर्नेले पानी उपयोग गर्न नपाउने: (१) नयाँ कुलो बनाउँदा वा साबिक देखिको पुरानो कुलो मर्मत सम्भार गर्दा त्यस्तो कुलोको पानी उपयोग गर्ने सबै व्यक्तिहरूले आ–आफ्नो जग्गाको अनुपातमा आवश्यक श्रम वा खर्च गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नयाँ कुलो बनाउँदा वा पुरानो कुलो मर्मत सम्भार गर्दा श्रम वा खर्च नव्यहोर्ने व्यक्तिले त्यस्तो कुलोको पानी उपयोग गर्न पाउने छैन ।

२९४. आपसी सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिने: यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जग्गा आवाद गर्न कुलो बनाउने वा पानी उपयोग गर्ने सम्बन्धमा सम्बन्धित जग्गाधनी वा कुलो बनाउने वा पानी उपयोग गर्ने बीच छुट्टै सहमति भएमा सोही सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिनेछ ।

२९५. खोलाको साँधको जग्गा आवाद गर्ने: कुनै जग्गाको बीचमा नदी वा खोला पसी वारिपारी जग्गा भएमा वा कुनै जग्गालाई नदी वा खोलाले कटान गरेमा नदी वा खोलाले जग्गा छाडेपछि त्यस्तो जग्गा सम्बन्धित व्यक्तिको नै हुनेछ र निजले आवाद गर्न पाउनेछ ।

२९६. दर्ता गर्न नहुने: कसैले पनि अन्य व्यक्तिको हकको जग्गा आफ्नो नाममा दर्ता गराउन हुँदैन ।

२९७. नामसारी दाखिल खारेज गर्नु पर्ने: (१) कुनै जग्गाको दर्तावाला मरी आफ्नो नाउंँमा जग्गा नामसारी गर्नु परेमा वा कुनै जग्गा कुनै व्यहोराले आप्mनो हक हुन आई दाखिल खारेज गर्नु परेमा सम्बन्धित व्यक्तिले त्यस्तो काम भएको पैँतीस दिनभित्र मालपोत कार्यालयमा निवेदन
दिई नामसारी, दाखिल खारेज गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्याद नाघेपछि कुनै व्यक्तिले नामसारी, दाखिल खारेजको लागि निवेदन दिएमा मालपोत कार्यालयले जतिसुकै अवधि व्यतित भए तापनि एकसय रुपैयाँ दस्तुर लिई त्यस्तो जग्गा निवेदकको नाममा नामसारी, दाखिल खारेज गरिदिनु पर्नेछ ।

२९८. हदम्याद: यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र नालिस गर्न सक्नेछ ।