परिच्छेद–७ जमानत करार सम्बन्धी व्यवस्था

परिच्छेद–७ जमानत करार सम्बन्धी व्यवस्था

५६३. जमानत सम्बन्धी करार भएको मानिने :-(१) कुनै एक व्यक्तिले लिएको ऋण वा कबुल 
गरेको दायित्व चुक्ता नगरेमा वा पूरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पूरा गरिदिने गरी करार
भएकोमा जमानत सम्बन्धी करार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम तेस्रो पक्षले जमानत दिएकोमा ऋण तिर्नु पर्ने व्यक्तिले
नतिरेमा वा पूरा गर्नु पर्ने दायित्व पूरा नगरेमा करार बमोजिमका शर्त त्यस्तो ऋण वा
दायित्व जमानत (ग्यारेण्टी) दिने व्यक्तिले पूरा गरिदिनु पर्नेछ ।
(३) जमानतका शर्तहरू करारमा निर्धारण भए बमोजिम हुनेछन् ।
(४) जमानत सम्बन्धी करार लिखित रूपमा भएको हुनु पर्नेछ ।

५६४. जमानत दिने व्यक्तिको दायित्व :- (१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत
दिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :-
(क) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले त्यस्तो दायित्व पूरा गर्न नसकेको
बखतदेखि नै जमानत दिने व्यक्तिको दायित्व सृजना हुने,
(ख) जमानत दिने व्यक्तिको दायित्व ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु
पर्ने व्यक्ति सरह हुने र तिर्नु वा पूरा गर्नु पर्ने दायित्वबाट निज मुक्त
नभएसम्म जमानत दिने व्यक्ति जिम्मेवार रहने,
(ग) कानूनको परिचालनबाट ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने
व्यक्ति दायित्वबाट मुक्त हुँदैमा जमानत दिने व्यक्तिको दायित्व
समाप्त नहुने ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै ऋण वा दायित्व
वापत कुनै सुरक्षण र जमानत दुवै दिएको रहेछ भने त्यसरी दिएको सुरक्षणले खामेको
हदसम्म जमानत दिने व्यक्तिको दायित्व हुने छैन ।
(३) साहूलाई तिर्नु वा पूरा गर्नु पर्ने दायित्व तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिबाट
उल्लङ्घन हुनासाथ जमानत सम्बन्धी करार प्रभावकारी हुनेछ र साहूले जमानत दिने
व्यक्तिबाट त्यस्तो दायित्व पूरा गराउन सक्नेछ ।

स्पष्टीकरण :- यस भागको प्रयोजनको लागि “साहू” भन्नाले ऋण दिने व्यक्ति सम्झनु 
पर्छ र त्यस्तो शब्दले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिबाट कुनै लाभ
पाउने वा कुनै काम गराउन पाउने व्यक्ति समेत सम्झनु पर्छ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जमानत करार
बमोजिम जमानत दिने व्यक्तिबाट करार बमोजिम पूरा नभएको रकम वा दायित्व पूरा
गर्न दाबी गर्नु अघि साहूले ऋणीलाई करारका शर्त वा बन्देज अनुसार करार परिपालन
गर्न सूचना दिनु पर्नेछ ।

५६५. जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था :- (१) करारमा अन्यथा व्यवस्था भएकोमा
बाहेक देहायका कुनै अवस्थामा देहायको हदसम्म जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट
मुक्त हुनेछ :-
(क) ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिले जमानत दिने
व्यक्तिको सहमति बिना करारमा तात्विक असर पर्ने गरी करारका
शर्तहरू हेरफेर गरेमा त्यस्तो हेरफेर पछि हुने कारोबारमा,
(ख) जुन विषयमा जमानत दिइएको हो त्यस्तो दायित्वबाट त्यस्तो पूरा
गर्नु पर्ने व्यक्ति मुक्त हुने गरी करार भएमा,
(ग) साहूको काम कारबाहीले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने
व्यक्ति मुक्त हुने भएमा वा ऋण मिनाहा भएमा,
(घ) साहूले ऋणीबाट लिनु पर्ने रकमभन्दा कम रकम लिई दायित्व मुक्त
गर्ने वा निजलाई ऋण चुक्ता गर्न थप समय दिने वा मुद्दा नचलाउने
गरी सहमति भएमा,
(ङ) साहूको कुनै काम कारबाहीबाट जमानत दिने व्यक्तिको ऋण तिर्नु
पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति उपरको कानूनी उपचारमा
प्रतिकूल असर परेमा,
(च) ऋणीबाट लिएको कुनै सुरक्षण साहूले हराएमा, बिगारेमा वा
ऋणीलाई त्यस्तो फिर्ता दिएमा त्यस्तो सुरक्षणको मूल्य बराबरको
हदसम्म,
(छ) साहूलाई करार बमोजिम तिर्नु पर्ने रकम वा पूरा गर्नु पर्ने दायित्व 
त्यस्तो तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिले जुन हदसम्म तिरेको छ वा
पूरा भएको छ त्यस्तो हदसम्म ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था
भएकोमा बाहेक साहूले जमानत दिने व्यक्ति उपर समयमा कानूनी कारबाही नचलाएको वा
असूल गर्नु पर्ने रकम असूल गर्ने प्रयास नगरेको कारणबाट मात्र जमानत दिने व्यक्ति
आफ्नो दायित्वबाट मुक्त हुने छैन ।
(३) दुई वा दुईभन्दा बढी जमानत दिने व्यक्ति भएकोमा साहूले जमानत दिने कुनै
एक व्यक्तिलाई दायित्वबाट छुटकारा दिएकोमा जमानत दिने अन्य व्यक्तिहरू आफ्नो
हिस्साको दायित्वबाट मुक्त हुने छैनन् ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने
व्यक्तिहरूको दायित्वको हिस्सा छुट्याउन नसकिने अवस्थामा साहूले जमानत दिने कुनै
व्यक्तिलाई छुटकारा दिएको भए तापनि निज आफ्नो दायित्वबाट मुक्त भएको मानिने छैन ।
(५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन दायित्व पूरा गर्ने सम्बन्धमा
जमानत सम्बन्धी करार भएको हो त्यस्तो दायित्व सृजना गर्ने करारका सम्बन्धमा
पक्षहरूबीच कुनै विवाद उत्पन्न भएको कारणले मात्र जमानत सम्बन्धी करार बमोजिमको
दायित्व पूरा गर्नबाट जमानत दिने व्यक्ति मुक्त हुने छैन ।

५६६. जमानत दिने व्यक्ति र ऋणीको सम्बन्ध :- (१) जमानत दिने व्यक्तिले ऋण चुक्ता गर्ने वा
दायित्व पूरा गर्नु पर्ने व्यक्तिलाई करार बमोजिम ऋण चुक्ता गर्न वा दायित्व पूरा गर्न
लगाउनेछ ।
(२) ऋण वा दायित्व लिँदा ऋणीले जमानत दिने व्यक्तिलाई जमानत दिए वापत
कुनै धनमाल वा सुरक्षण दिएको रहेछ भने ऋणीको मञ्जुरी बिना त्यस्तो व्यक्तिले त्यस्तो
धनमाल वा सुरक्षण धितो बन्धक राख्न, बेचबिखन गर्न वा अन्य कुनै तरिकाले हक
हस्तान्तरण गर्न पाउने छैन ।
(३) कुनै खास प्रयोजनको लागि ऋण वा दायित्व लिई त्यस वापत जमानत दिएको
भए त्यसरी जमानत दिने व्यक्तिको मञ्जुरी बिना त्यस्तो ऋण वा दायित्वको उद्देश्य, स्वरूप
वा त्यसका शर्तमा हेरफेर गर्न सकिने छैन ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने व्यक्ति र 
ऋणीको सम्बन्धमा करारमा अन्यथा लेखिएकोमा सोही बमोजिम हुनेछ ।

५६७. जमानत दिने व्यक्ति साहूको रूपमा प्रतिस्थापन हुने :- (१) जमानत दिने व्यक्तिले ऋणीको
तर्फबाट तिर्नु पर्ने ऋण वा करार बमोजिम पूरा गर्नु पर्ने दायित्व साहूलाई तिरे वा पूरा
गरेपछि त्यस्तो ऋण वा दायित्वका सम्बन्धमा जमानत दिने व्यक्ति साहूको रूपमा
प्रतिस्थापन हुनेछ र निजले साहू सरह निजबाट ऋण असूल गर्न वा ऋणी उपर कानूनी
कारबाही चलाउन सक्नेछ ।
(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने
व्यक्तिले ऋणीको तर्फबाट चुक्ता गरिदिएको ऋण वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिका
तर्फबाट पूरा गरिदिएको दायित्व वापतको सम्पूर्ण रकम तथा त्यसमा लाग्ने ब्याज वा अन्य
कुनै शुल्क वा रकम समेत ऋणीले जमानत दिने व्यक्तिलाई तिर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम ऋणीले तिर्नु पर्ने रकम नतिरेको कारणबाट कानूनी
कारबाही गर्नु पर्ने भएमा वा त्यस वापत अन्य कुनै खर्च गर्नु परेमा त्यस्तो खर्च समेत
जमानत दिने व्यक्तिले भरार्ई लिन पाउनेछ ।
५६८. जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्था ः देहायका कुनै अवस्थामा जमानत
दिने व्यक्तिले जमानत सम्बन्धी करार बदर गराउन सक्नेछ ः–
(क) जुन कारोबारको सम्बन्धमा जमानत दिएको हो त्यस्तो कारोबारसँग
सम्बन्धित विषयको बारेमा साहू स्वयंले वा निजको सहमतिमा अरू कसैले
जमानत दिने व्यक्तिलाई गलत वा भ्रामक सूचना वा जानकारी दिई
जमानत प्राप्त गरेको भएमा,
(ख) जमानतको विषय, धनमाल वा तथ्य नै लुकाएको वा उल्लेख नगरेको
भएमा,
(ग) कुनै तेस्रो व्यक्ति समेत जमानी रहने गरी करार भएकोमा त्यस्तो व्यक्तिले
जमानत दिन सहमति नदिएको भएमा ।

५६९. जमानत दिने व्यक्तिहरूको दायित्व बराबर हुने ः (१) दुई वा दुईभन्दा बढी व्यक्तिहरूले
संयुक्त रूपमा मिली वा छुट्टा छुट्टै कुनै ऋण वा दायित्व वापत संयुक्त रूपमा जमानत
दिएकोमा त्यस्तो ऋण वा दायित्व ऋणीले पूरा नगरेमा करारमा अन्यथा व्यवस्था भएकोमा
बाहेक जमानत दिने व्यक्तिहरूले बराबरीको हिसाबले त्यस्तो ऋण वा दायित्व तिर्नु वा 
करार परिपालना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम संयुक्त रूपमा जमानत दिँदा खण्ड खण्ड गरी जमानत
दिएको भएमा त्यस्तो जमानत दिने व्यक्तिले आफूले जमानत दिएको खण्डको हदसम्मको
दायित्व मात्र तिर्नु व्यहोर्नु पर्नेछ ।

५७०. निरन्तर जमानत :- (१) कुनै श्रृंखलाबद्ध कारोबार विस्तार हुने गरी जमानत दिइएको भएमा
निरन्तर जमानत कायम रहेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम जमानतको व्यवस्था भएकोमा त्यस्तो कारोबार जतिसुकै
पटक भएको भए तापनि जमानत करार बहाल रहेको अवधिभर जमानत दिएको रकमको
हदसम्म भुक्तानी हुन नसकेको रकम वापत जमानत दिने व्यक्ति जिम्मेवार हुनेछ ।
(३) जमानत दिने व्यक्तिले साहूलाई कम्तीमा तीन महिनाको पूर्व सूचना दिई
भविष्यमा हुने कारोबारका सम्बन्धमा निरन्तर जमानत बदर गर्न सक्नेछ ।
(४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिको मृत्यु भएमा
त्यसपछिका कारोबारका लागि निरन्तर जमानत स्वतः अन्त्य भएको मानिनेछ ।

५७१. हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार भएको मानिने :- (१) कुनै व्यक्तिले करारको कुनै पक्षको
निर्देशनमा काम गर्दा त्यस्तो पक्ष वा तेस्रो पक्षको काम कारबाहीबाट निजलाई वा त्यस्तो
पक्ष वा तेस्रो पक्षलाई निजको काम कारबाहीको परिणामबाट हुन सक्ने हानि, नोक्सानी
आफूले व्यहोर्ने गरी करार भएकोमा हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै करार भएकोमा त्यस्तो करारको अधीनमा रही
त्यस्तो व्यक्तिले देहायका कुनै वा सबै रकम क्षतिपूर्ति वापत भरार्ई लिन सक्नेछ :–
(क) करारमा उल्लेख भए बमोजिमको हर्जाना रकम,
(ख) तेस्रो पक्षलाई हानि, नोक्सानी परेको भए त्यस वापत तिर्नु व्यहोर्नु
पर्ने रकम,
(ग) हर्जाना सम्बन्धी करारका सम्बन्धमा निजले दायर गरेको वा
प्रतिरक्षा गरेको भए त्यस्तो मुद्दामा लागेको खर्चको रकम,
(घ) खण्ड (क), (ख) वा (ग) बमोजिमको रकम नदिएको कारणबाट मुद्दा
मामिला गर्नु परेमा त्यस्तो मुद्दा मामिलामा लागेको खर्चको रकम ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था 
भएकोमा बाहेक कुनै व्यक्तिले अर्को पक्षको निर्देशनमा काम गर्दा जानीजानी हानि, नोक्सानी
पु¥याउने बदनियत वा लापरबाहीपूर्वक काम गरेको कारणबाट त्यस्तो पक्ष वा तेस्रो पक्षलाई
हानि, नोक्सानी हुन गएमा त्यस्तो हानि, नोक्सानी वापत त्यस्तो काम गर्ने व्यक्ति नै
जिम्मेवार हुनेछ ।

५७२. प्रत्याशन (सब्रोगेशन) सम्बन्धी व्यवस्था :- (१) कुनै व्यक्तिको सम्पत्ति, निजले उपभोग गरेको
सुविधा वा हक वा कारोबारबाट हुने लाभ उपर तेस्रो पक्षबाट हुन सक्ने हानि, नोक्सानीका
विरुद्ध कुनै व्यक्तिसँग करार भएकोमा त्यस्तो हानि, नोक्सानी जोसुकैले गरेको भए तापनि
त्यस्तो करार गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।
तर त्यस्तो हानि, नोक्सानी अर्को कुनै व्यक्तिबाट व्यहोरिने गरी करार भएकोमा
त्यस्तो व्यक्तिबाट दिलाई भरार्ई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको हानि, नोक्सानी वापत  निश्चित रकम वा
क्षतिपूर्ति उपलब्ध गराउने कुरा करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख
नभएकोमा मनासिब रकम वा क्षतिपूर्ति हानि, नोक्सानी भएको कारणले प्रभावित व्यक्ति वा
निजको मृत्यु भइसकेको भए निजको हकवालालाई तत्काल दिनु वा दिलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम हानि, नोक्सानी भएकोमा हानि, नोक्सानी भएको
व्यक्तिको स्थानमा उपदफा (२) बमोजिमको रकम वा क्षतिपूर्ति दिने व्यक्तिले प्रत्याशन
गरेको मानिनेछ र सोही बमोजिम हानि, नोक्सानी पुर्याउने व्यक्तिबाट त्यसरी प्रत्याशन गर्ने
व्यक्तिले हानि, नोक्सानी वापतको रकम वा क्षतिपूर्ति भरार्ई लिन पाउनेछ ।

५७३. प्रत्याशन गर्ने व्यक्तिको अधिकार :- प्रत्याशन गर्ने व्यक्तिको अधिकार र दायित्व करारमा
लेखिएकोमा सोही बमोजिम र नलेखिएकोमा देहाय बमोजिम हुनेछ ः–
(क) जुन व्यक्तिलाई हानि, नोक्सानी पुगेको हो त्यस्तो व्यक्तिको करार
बमोजिमको सम्पूर्ण हक प्रत्याशन गर्ने व्यक्तिमा सर्ने,
(ख) खण्ड (क) बमोजिम प्रत्याशन गर्ने व्यक्तिले हानि, नोक्सानी पुगेको
व्यक्तिलाई बुझाएको रकम वा मनासिब क्षतिपूर्ति र त्यस वापत कानूनी
उपचार गर्नु परेमा त्यस्तो खर्च समेत त्यस्तो हानि, नोक्सानी गर्ने व्यक्ति वा
त्यस सम्बन्धमा कुनै करार भएको रहेछ भने त्यस्तो करार गर्ने पक्षबाट
भराउन पाउने ।

५७४. हदम्याद :- यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा 
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।