परिच्छेद–४ करारको परिपालना सम्बन्धी व्यवस्था

परिच्छेद–४ करारको परिपालना सम्बन्धी व्यवस्था

५२१. करार बमोजिमको दायित्व पूरा गर्नु पर्ने :- करार गर्ने प्रत्येक पक्षले करार 
बमोजिमको आ–आफ्नो दायित्व पूरा गर्नु पर्नेछ ।
५२२. करारको पारस्परिक परिपालना :- (१) करारका पक्षहरूले सँगसँगै दायित्व पूरा गर्नु पर्ने गरी
भएको करारमा एक पक्षले आधारभूत रूपमा आफ्नो दायित्व पूरा नगर्ने किसिमको व्यवहार
वा मनसाय देखाएमा अर्को पक्षले आफ्नो कबुल पूरा गर्न आवश्यक पर्ने छैन ।

(२) करारमा नै कुनै कबुल पूरा गर्ने सम्बन्धमा प्राथमिकता क्रम तोकिएकोमा सोही 
बमोजिम र त्यस्तो क्रम नतोकिएकोमा करारको प्रकृति अनुसार जसले पहिले कबुल
परिपालना गर्नु पर्ने हो निजले पहिले कबुल परिपालना गर्नु पर्नेछ ।
(३) पारस्परिक कबुलहरू भएको कुनै करारमा एउटा कबुल पूरा नगरी अर्को कबुल
पूरा गर्न नसकिने रहेछ भने कुनै एक पक्षले आफ्नो कबुल पूरा नगरेको कारणले अर्को
पक्षबाट करार पालना हुन नसकी भएको हानि, नोक्सानी हुन गएको त्यस्तो पक्षले भरार्ई
लिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम पक्षहरूले सँगसँगै दायित्व पूरा गर्नु पर्ने गरी करार
भएकोमा कुनै पक्षले अर्को पक्षलाई त्यस्तो करारको परिपालना गर्न नसक्ने गरी रोक
लगाएमा करारको परिपालना गर्न असमर्थ अर्को पक्षले त्यस्तो करारलाई रद्द गराउन र
त्यसरी करार रद्द भएको कारणबाट कुनै हानि, नोक्सानी हुन गएको भए त्यस्तो समेत भरार्ई
लिन पाउनेछ ।

५२३. करार पूरा गर्नु पर्ने समय र तरिका:- (१) करार पूरा गर्ने समय र तरिका करारमा उल्लेख
भएकोमा सोही समयभित्र र तरिका बमोजिम करार पूरा गर्नु पर्नेछ ।
(२) करार बमोजिमको काम गर्न करारमा कुनै समय वा तरिका तोकिएको रहेनछ
तर त्यस्तो काम कुनै खास समयमा वा कुनै खास तरिकाले मात्र गर्न सकिने रहेछ भने
सोही समयमा सोही तरिका बमोजिम गर्ने गरी करार भएको मानिनेछ ।
(३) उपदफा (२) मा लेखिएको अवस्थामा बाहेक करारमा करार पूरा गर्ने समय र
तरिका उल्लेख नभएमा मनासिब समयभित्र र मनासिब तरिका अपनाई करार पूरा गर्नु
पर्नेछ ।

५२४. करार पूरा गर्ने ठाउँ :- (१) कुनै काम पूरा गर्न करारमा कुनै निश्चित ठाउँ तोकिएको रहेछ
भने त्यस्तो काम सोही ठाउँमा पूरा गर्नु पर्नेछ ।
(२) करार बमोजिम कुनै एक पक्षले अर्को पक्षलाई कुनै वस्तु दिनु, बुझाउनु पर्ने
रहेछ र त्यसरी वस्तु बुझाउने ठाउँ करारमा तोकिएको रहेनछ भने त्यस्तो वस्तु रहेको
ठाउँमा नै वस्तु बुझाउने गरी करार भएको मानिनेछ ।
(३) कुनै काम गर्ने निश्चित ठाउँ करारमा तोकिएको रहेनछ तर त्यस्तो काम कुनै
खास ठाउँमा मात्र गर्न सकिने वा चलन व्यवहार वा त्यस्तो कामको प्रकृति अनुसार कुनै
खास ठाउँमा मात्र गर्नु पर्ने किसिमको रहेछ भने त्यस्तो काम सोही ठाउँमा गर्ने गरी करार 
भएको मानिनेछ ।
(४) उपदफा (२) र (३) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा करार बमोजिम काम
गर्ने ठाउँ करारमा उल्लेख भएको रहेनछ भने करार बमोजिम काम गर्ने पक्षले अर्को
पक्षलाई मनासिब ठाउँ तोकिदिन सूचना गर्नु पर्नेछ र अर्को पक्षले पनि त्यस्तो काम गर्न
मनासिब ठाउँ तोकिदिनु पर्नेछ ।

५२५. करारको परिपालना विलम्ब भएको मानिने :- (१) कुनै खास समयमा परिपालना गर्नु पर्ने
गरी भएको करार त्यस्तो समयमा वा समयभित्र परिपालना नभएमा करार परिपालना गर्न
विलम्व भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको करार त्यस्तो समय पछि परिपालना गर्न सकिने रहेछ
भने करारको एक पक्षले अर्को पक्षलाई मनासिब समय दिई परिपालना गर्न सूचना दिनेछ ।
(३) उपदफा (२) बमोजिम सूचना दिएकोमा सो बमोजिम त्यस्तो पक्षले करार
परिपालना गर्नु पर्नेछ र करारको विलम्व गरी परिपालना भएको कारणबाट भएको हानि,
नोक्सानी वापत निजले क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम करार परिपालना नभएमा त्यसरी सूचना दिने पक्षले
करार रद्द गर्न सक्नेछ ।

५२६. समय करारको सारतत्व भएको मानिने :- (१) कुनै खास दिन, समय वा अवधिभित्र करारको
परिपालना नभएमा करारको प्रकृति, करारका पक्षहरूले करार गर्दाका बखत देखाएको
मनसाय, करारको प्रयोजन वा उद्देश्य हासिल हुन नसक्ने भएमा त्यस्तो करारमा परिपालना
गर्ने समय करारको सारतत्व (इसेन्स) को रूपमा रहेको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको करार कुनै एक पक्षबाट त्यस्तो दिन, समय वा
अवधिभित्र परिपालना नभएमा त्यस्तो करार उल्लङ्घन भएको मानिनेछ र अर्को पक्षले
तुरुन्त रद्द गर्न सक्नेछ ।

५२७. करार पूरा गर्नु नपर्ने अवस्था :- देहायका कुनै अवस्थामा करार बमोजिमको काम गर्न वा
करारको परिपालना गर्न आवश्यक पर्ने छैन :–
(क) करारको एक पक्षले अर्को पक्षलाई करार बमोजिमको दायित्व पूरा गर्नु नपर्ने
गरी छुट दिएमा,
(ख) बदर गराउन सकिने करार बदर गराउन पाउने पक्षले बदर गराएमा,
(ग) अर्को पक्षले करार उल्लङ्घन गरेको कारणबाट करारको परिपालना हुन 
नसक्ने भएमा,
(घ) यस भागको कुनै व्यवस्था बमोजिम करार बमोजिमको काम गर्नु नपर्ने
भएमा,
(ङ) दफा ५३१ बमोजिमको कार्यान्वयन हुन नसक्ने करार भएमा ।

५२८. करार अन्तर्गतको हक र दायित्व सर्ने :- करार गर्ने कुनै व्यक्तिको मृत्यु भएमा वा निजको
होस ठेगानमा नरहेमा त्यस्तो करार बमोजिम प्राप्त हुने हक त्यस्तो करार गर्ने व्यक्तिको
सम्पत्ति प्राप्त गर्ने हकवालामा सर्नेछ र निजले प्राप्त गरेको सम्पत्तिले खामेको हदसम्मको
दायित्व पनि निजले नै व्यहोर्नु पर्नेछ ।
तर व्यक्तिगत दक्षता वा योग्यताको आधारमा प्राप्त गरेको हक र दायित्व त्यस्तो
हकवालामा सर्ने छैन ।

५२९. करार परिपालना गर्ने पक्ष :- (१) करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनु पर्नेमा बाहेक
निजको प्रतिनिधि, निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजको तर्फबाट अन्य कसैबाट पनि
करार परिपालना गराउन वा करार अन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ ।
तर अर्को पक्षको मञ्जुरी बिना करारको कुनै पक्षले करार अन्तर्गतका दायित्व अन्य
कसैलाई हस्तान्तरण गर्न पाउने छैन ।
(२) उपदफा (१) बमोजिम करार अन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न
देहायका शर्तहरू पूरा गर्नु पर्नेछ :-
(क) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक हस्तान्तरण लिखित रूपमा
हुनु पर्ने,
(ख) हस्तान्तरण निः शर्त हुनु पर्ने,
(ग) कानून वा करारले हक वा दायित्व हस्तान्तरण गर्न रोक लगाएको
हुन नहुने,
(घ) हक वा दायित्व हस्तान्तरण भएकोमा त्यसको म्याद सहितको
सूचना पक्षलाई दिनु पर्ने ।
(३) करारको कुनै पक्षले तेस्रो व्यक्तिबाट भए गरेको कामलाई स्वीकार गरी सकेपछि
करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार गर्ने पक्षबाटै त्यस्तो काम हुनु पर्ने भनी
पछि दाबी गर्न पाउने छैन ।
(४) दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिली संयुक्त रूपमा अर्को पक्षसँग करार 
गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक संयुक्त रूपले करार गर्ने व्यक्तिहरूमध्ये
कुनै वा सबैबाट त्यस्तो करार बमोजिमको दायित्व पूरा गर्नु वा गराउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम कुनै व्यक्तिले दायित्व पूरा नगरेकोमा दायित्व पूरा गर्ने
व्यक्तिले संयुक्त रूपले करार गर्ने अरू व्यक्तिबाट दायित्व पूरा नगरे वापत समानुपातिक
हिसाबमा हर्जाना वा नोक्सानी भराउन सक्नेछ ।
(६) उपदफा (४) बमोजिम भएको करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै
व्यक्तिलाई निजको हिस्सामा पर्ने दायित्वबाट छुट दिए पनि बाँकी रहेका अन्य व्यक्ति त्यस्तो
करारको दायित्वबाट मुक्त हुने छैन ।

५३०. करारको परिपालना गराउने अधिकार पक्षलाई मात्र हुने :- (१) करारमा पक्ष रहेको व्यक्तिले
मात्र अर्को पक्षसँग त्यस्तो करारको परिपालनाको माग गर्न सक्नेछ ।
तर कुनै व्यक्तिको हितको निमित्त करार गरिएको भएमा त्यस्तो व्यक्तिले करारको
पक्ष नभए पनि परिपालनाको माग गर्न सक्नेछ ।
(२) कुनै काम गर्न वा नगर्न दुई वा दुईभन्दा बढी व्यक्तिहरूबाट संयुक्त रूपमा
करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यसरी करार गर्ने सबै
व्यक्तिहरूले संयुक्त रूपमा करारको परिपालना गराई पाउन माग गर्न सक्ने छन् ।

५३१. परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्नु नपर्ने :- (१) करार गर्दाको
परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएमा करार
बमोजिमको काम गर्नु पर्ने छैन ।
(२) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल नहुने गरी देहायको कुनै अवस्था
भएमा करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिनेछ ः–
(क) करार अवैध भई पालना गर्न नहुने भएमा,
(ख) युद्ध, बाढी, पहिरो, आगलागी, भूकम्प, ज्वालामुखी जस्ता मानवीय
नियन्त्रण भन्दा बाहिरका परिस्थिति उत्पन्न भई करारको परिपालना
हुन सम्भव नहुने भएमा,
(ग) करारको परिपालना हुनको लागि जुन वस्तु आवश्यक थियो त्यस्तो
वस्तु नष्ट वा बिनाश भएमा, त्यसको अस्तित्व नरहेमा वा त्यस्तो
वस्तु प्राप्त हुन नसक्ने भएमा,
(घ) व्यक्तिगत सक्षमता, दक्षता वा प्रतिभाबाट सेवा प्रदान गर्ने गरी 
करार भएकोमा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको मृत्यु भएमा, निज
होस ठेगानमा नरहेमा वा निजको शारीरिक वा मानसिक
अशक्तताको कारणले करार पूरा गर्न नसक्ने भएमा ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा
करार गर्दाको परिस्थितिमा आधारभूत परिवर्तन भएको मानिने छैन ः–
(क) करारको परिपालना गर्न कठिनाई भएमा,
(ख) करारको परिपालना गर्दा न्यून मुनाफा हुने वा नोक्सान हुने भएमा,
(ग) करार पूरा गर्ने पक्ष त्यस्तो करारको पक्ष नभएको तेस्रो पक्षमा
आश्रित रहेकोमा त्यस्तो तेस्रो पक्षले गल्ती गरेमा वा निज असक्षम
भएमा,
(घ) हडताल वा तालाबन्दी भएमा,
(ङ) थप कर, दस्तुर वा अन्य कुनै राजस्व तिर्नु परेमा,
(च) एकभन्दा बढी प्रयोजनको लागि करार भएकोमा तीमध्ये कुनै कुरा
पूरा नहुने भएमा ।
(४) उपदफा (३) बमोजिमको अवस्था उत्पन्न भएमा करारमा अन्यथा व्यवस्था
भएकोमा बाहेक पक्षहरूले करारका शर्तहरू पुनरावलोकन गर्न वा हेरफेर गर्न वार्ता गर्न
सक्नेछन् ।
(५) उपदफा (२) बमोजिम परिस्थितिमा आधारभूत परिवर्तन भई करारको
परिपालना गर्न असम्भव भएमा देहायका कुराहरूमा देहाय बमोजिम हुनेछ ः–
(क) परिस्थितिमा त्यसरी परिवर्तन हुनु अघि करार वापत एक पक्षबाट
भुक्तानी भएको रकम अर्को पक्षलाई फिर्ता गर्नु पर्ने,
(ख) करार वापत एक पक्षले अर्को पक्षलाई भुक्तानी गर्नु पर्ने वा गर्न
बाँकी रहेको रकम परिस्थितिमा त्यसरी परिवर्तन भएपछि भुक्तानी
योग्य हुन नसक्ने,
(ग) परिस्थितिमा त्यसरी परिवर्तन हुनु अघि कुनै पक्षले कुनै काम
गरिसकेको वा रकम चुक्ता गरिसकेको भएमा त्यस्तो काम वा
रकमको हिसाब गरी एक अर्कालाई दिनु पर्ने रकम यकिन गर्नु पर्ने
र त्यस्तो करार वापत एक पक्षले गरेको मनासिब खर्च अर्को 
पक्षबाट भरार्ई लिन सक्ने ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (
ख) को परिस्थिति अन्त्य भएपछि करारका पक्षहरू करारको परिपालनालाई निरन्तरता दिई
आ–आफ्ना दायित्व पूरा गर्न सहमत हुन सक्नेछन् ।

५३२. सुविधा दिनु पर्ने :- (१) करार गर्ने पक्षहरूले एक अर्कालाई आफ्नो तर्फबाट करारको
परिपालना गर्न आवश्यक पर्ने सुविधा दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सुविधा नदिएको कारणबाट करार परिपालना हुन
नसकेमा त्यसरी परिपालना गर्न नसक्ने पक्ष उत्तरदायी हुने छैन ।

५३३. करारको निलम्बन वा हेरफेर हुन सक्ने :- (१) करार गर्ने पक्षको मञ्जुरी भएमा करार
बमोजिम गर्नु पर्ने कामको सम्पूर्ण वा कुनै अंश हेरफेर वा संशोधन गर्न, करार बमोजिम
गर्नु पर्ने कामको अवधि बढाउन, करार बमोजिम गर्नु पर्ने काम केही समयको लागि गर्नु
नपर्ने गरी करारको निलम्बन गर्न, करारमा उल्लिखित कामको सट्टा अन्य कुनै काम गर्न वा
त्यस्तो करारको सट्टा अर्को कुनै करार गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम करारमा हेरफेर वा संशोधन भएमा नयाँ करार भएको
मानिनेछ र सोही बमोजिम करार प्रभावकारी हुनेछ ।
(३) उपदफा (२) बमोजिम नयाँ करार भएकोमा त्यस्तो करारमा अन्यथा व्यवस्था
भएकोमा बाहेक शुरुमा गरिएको करार बमोजिमको दायित्व व्यहोर्नु पर्ने छैन ।

५३४. हदम्याद :- यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले मुद्दा
गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र नालिस गर्न सक्नेछ ।