परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

1. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “भुक्तानी तथा फर्स्यौट ऐन, २०७५” रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

2. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)    “अनुमतिपत्र” भन्नाले भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदान गर्न दफा ९  बमोजिम प्रदान गरिएको अनुमतिपत्र सम्झनु  पर्छ।

(ख)     “आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम)” भन्नाले स्वचालित विद्युतीय प्रणालीको माध्यमबाट वास्तविक समयमा बैङ्कले तोके बमोजिमको ठूलो मूल्यको भुक्तानी र अति जरुरी भुक्तानी सम्बन्धी प्रत्येक कारोबारको अलग अलग हिसाब मिलान गर्ने गरी सम्बन्धित पक्षको बैङ्क खातामा रकम जम्मा वा खर्च गरी हिसाब मिलान गरिने प्रणाली सम्झनु  पर्छ।

(ग)      “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका विनियम वा जारी भएका निर्देशनमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(घ)      “फर्स्यौट” भन्नाले भुक्तानी उपकरण जारी गर्ने र स्वीकार गर्ने पक्षहरुको दाबी वा दायित्व रकम प्रचलित व्यवस्था वा प्रणाली बमोजिम हिसाब मिलान वा फरफारख गर्ने कार्य वा प्रक्रिया सम्झनु पर्छ।

(ङ)      “ठूलो मूल्य” भन्नाले बैङ्कले समय समयमा ठूलो मूल्य (हाइभ्यालु) भनी निर्धारण गरेको सीमा वा सोभन्दा बढी रकम सम्झनु पर्छ।

(च)      “बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ।

(छ)      “बैङ्क तथा वित्तीय संस्था” भन्नाले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 बमोजिम स्थापना भएका बैङ्क तथा वित्तीय संस्था सम्झनु पर्छ।

(ज)     “बोर्ड” भन्नाले दफा ३ बमोजिम गठन भएको राष्ट्रिय भुक्तानी बोर्ड सम्झनु पर्छ।

(झ)   “भुक्तानी उपकरण” भन्नाले दफा ३१ बमोजिमका भुक्तानी उपकरण सम्झनु पर्छ।

(ञ)     “भुक्तानी प्रणाली” भन्नाले कुनै भुक्तानी उपकरणको माध्यमबाट सेवाग्राही, संस्था वा बैङ्क बीच हुने जुनसुकै प्रकारको भुक्तानी दाबी वा दायित्वको भुक्तानी, समाशोधन वा फर्स्यौट गरिने प्रणाली सम्झनु पर्छ।

(ट)     “भुक्तानी प्रणाली सञ्चालक” भन्नाले भुक्तानी सम्बन्धी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्ने संस्था सम्झनु पर्छ र सो शब्दले समाशोधन गृह, विद्युतीय कार्ड वा अन्य विद्युतीय (अनलाइन) भुक्तानी सञ्जाल सञ्चालन गर्ने संस्थालाई समेत जनाउँछ।

(ठ)     “भुक्तानी सेवा प्रदायक” भन्नाले सेवाग्राहीलाई भुक्तानी सम्बन्धी सेवा दिने संस्था सम्झनु पर्छ र सो शब्दले संस्था र सेवाग्राही बीचमा वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्व बापतको रकम भुक्तानी गर्ने, स्वदेश तथा विदेशमा रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने वा विद्युतीय माध्यमबाट भुक्तानी कारोबार सञ्चालन गर्ने संस्थालाई समेत जनाउँछ।

(ड)     “संस्था” भन्नाले दफा ६ को उपदफा (१) बमोजिम कम्पनीको रूपमा स्थापना भई दफा ९ बमोजिम अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ र सो शब्दले बैङ्क तथा वित्तीय संस्थालार्इ समेत जनाउँछ।

(ढ)     “सञ्चार सेवा प्रदायक” भन्नाले टेलीफोन, मोबाइल तथा इन्टरनेट सेवा जस्ता विद्युतीय सूचना तथा सञ्चार सेवा प्रदान गर्ने प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी सम्झनु पर्छ।

(ण)     “सेटलमेण्ट बैङ्क” भन्नाले भुक्तानीसँग सम्बन्धित वित्तीय कारोबारको समाशोधन, फर्स्यौट र दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि संस्थाले दफा १२ बमोजिम सम्झौता गरेको बैङ्क सम्झनु पर्छ।