परिच्छेद-६ कोषको रकम लगानी सम्बन्धी व्यवस्था

परिच्छेद-६ कोषको रकम लगानी सम्बन्धी व्यवस्था

 

१८कोषमा रहेको रकम लगानी गर्न सक्नेः (१) कोषले मौज्दात रहेको रकम देहाय बमोजिम लगानी गर्न सक्नेछः-

(क)   नेपाल सरकारले जारी गरेको ऋणपत्रमा,

(ख)   वाणिज्य बैंङ्कको नगद प्रमाणपत्र मुद्दति निक्षेपमा,

(ग)   उपयुक्त बैंङ्क जमानत लिई कोषले उपयुक्त ठहर्‍याएको वित्तीय संस्थाको नगद प्रमाणपत्र मुद्दति डिपोजिटमा,

(घ)   नेपाल सरकारको जमानतमा कोषले तोकेको शर्तमा कुनै उद्योग वा सङ्गठित संस्थालाई ऋणमा,

(ङ)   बैंङ्क र वित्तीय संस्थाको अधिकतम पच्चिस प्रतिशत सम्मको शेयरमा लगानी,

(च)   कुनै बैंङ्क वा वित्तीय संस्थासँग मिली सह-वित्तीयकरणको आधारमा धितो विभाजन (पारिपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त कर्जामा,

(छ)   अधिकतम पच्चिस प्रतिशतमा नबढ्ने गरी कुनै कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको डिबेन्चरमा,

(ज)   कोष आफैंले वा अरू संस्थासँग मिली कर्मचारी आवास परियोजना सञ्चालन गर्ने, जग्गा खरिद गरी भवन निर्माण गर्ने र भवन बहालमा दिने जस्ता कार्यमा,

(झ)   कोषले उपयुक्त ठहराएको क्षेत्रमा नेपाल सरकारको स्वीकृति प्राप्त गरी पर्याप्त धितो वा जमानी लिई लगानीमा,

(ञ)   कोषको सुरक्षालाई ध्यानमा राखी नेपाल सरकारको स्वीकृति लिई कर्मचारीको हितको कुनै काममा,

(ट)   मन्त्रालयको स्वीकृति लिई उत्पादनमुलक क्षेत्रका उद्योगमा,

(ठ)   नेपाल सरकारको परियोजनामा,

(ड)   कोषको पूँजी पर्याप्तताका आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिर्इ अन्तर्राष्ट्रिय बण्ड वा विदेशी मुद्रामा,

(ढ)   नेपाल सरकारले बिक्री गर्ने ट्रेजरी बिलमा,

(ण)   यस ऐन अन्तर्गत कोषले गर्नु पर्ने अन्य आवश्यक काममा।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले कम्तीमा तीन वर्षलाई निवृत्तभरण प्रदान गर्न पुग्ने रकम कोषमा मौज्दात रहने गरी लगानी योजना बनाउनु पर्नेछ।

(३) उपदफा (१) मा उल्लिखित कार्यको लागि कोष आफैले वा तोकिएको आधारमा नेपाल सरकारले तोकेको अन्य संस्थासँगको संयुक्त लगानीमा सहायक कम्पनी वा संस्था स्थापना गर्न सक्नेछ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५ को उपदफा (१) को खण्ड (ख) बमोजिमको रकम लगानी गर्नुअघि कोषले नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ।

१९कोषको सुरक्षाः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुराहरुको सम्बन्धमा देहाय बमोजिम हुनेछः-

(क)   कोषमा कर्मचारीको व्यक्तिगत खातामा जम्मा रहेको रकममा कर्मचारीका अंशियारहरु कसैको अंश बापत हक नलाग्ने,

(ख)   अदालतको फैसला वा अन्य कुनै आधारमा कोषबाट कर्मचारीले पाउने रकममा साहुको दाबी नलाग्ने,

(ग)   प्रचलित कानून अन्तर्गत सर्वस्व जायजात हुने वा रकम असूल गर्नुपर्ने अवस्थामा कोषबाट कर्मचारीले पाउने रकम कट्टा गर्न नपाइने,

(घ)   सरकारी रकम-कलम बाँकी लिनुपर्नेमा कोषबाट कर्मचारीले पाउने रकम कट्टा गर्न नपाइने,

(ङ)   कोषमा रहेको कर्मचारीको व्यक्तिगत खातामा रहेको वा कोषको मुनाफा बापत कर्मचारीले प्राप्त गरेको रकममा आयकर नलाग्ने,

(च)   कुनै कम्पनीमा कोषको रकम लगानी भएको वा कोषबाट ऋण लिएकोमा सो कम्पनी विघटन भै त्यसको जायजेथा वितरण हुँदा कोषको लगानी, त्यस बापतको लाभांश र ऋणको असूल उपर हुन बाँकी रकम बापत त्यस्तो कम्पनीको जायजेथा उपर कोषको सबैभन्दा पहिलो हक रहने,

(छ)   कुनै व्यक्तिबाट कोषले कुनै रकम लिन बाँकी भएकोमा त्यस्तो व्यक्तिको जायजेथा साहुहरुको दामासाहीमा परेमा निजको जायजेथा उपर कोषको लिनुपर्ने रकम बापत सबैभन्दा पहिलो हक रहने,

(ज)   कोषले कुनै सङ्गठित संस्थासँग धितो लिएको जायजेथाबाट सम्पूर्ण रकम असूल हुन नसकेमा प्रचलित कानून बमोजिम त्यस्तो सङ्गठित संस्थाको अन्य सम्पत्तिबाट बाँकी रकम असूल उपर गर्न सक्ने,

(झ)   कुनै व्यक्तिले आफूले गरी दिएको लिखत अनुसार कोषलाई बुझाउनु पर्ने सापटी, पेश्की, ऋण वा ब्याजको रकम समयमा नबुझाएमा सो समय नाघेको पैंतीस दिनपछि त्यस्तो व्यक्तिले कोषलाई धितो वा भोगबन्धकी लेखिदिएको वा जमानीले जेथा जमानीमा लेखिदिएको घर, जग्गा वा अन्य कुनै पनि सम्पत्ति कोषले लिलाम बिक्री गरी त्यस्तो रकम असूल उपर गर्न सक्ने र यसरी लिलाम बिक्री हुँदा कसैले नसकारेमा कोषले त्यस्तो सम्पत्ति सकार गर्न सक्ने,

(ञ)   कोषले लिखत गराई कुनै सम्पत्ति धितो लिएको लिखतमा उल्लेख भएको शर्त बमोजिमको म्यादभित्र धितो कब्जा गर्न वा कर्जा असूल गर्न कारबाही प्रारम्भ नगरेको कारणले मात्र धितो माथिको कोषको अधिकार समाप्त नहुने,

(ट)   कोषले कुनै व्यक्तिलाई अचल सम्पत्तिको धितोमा ऋण वा सापटी दिँदा पाँच वर्षभन्दा बढीको भाखा राख्न सक्ने।

(२) उपदफा (१) को खण्ड (झ) बमोजिम कोषले सकार गरेको सम्पत्ति नामसारी दाखिल खारेजको लागि कोषले मालपोत कार्यालय वा सम्बन्धित कार्यालयमा लेखी पठाउनेछ र यसरी लेखी आएकोमा त्यस्तो कार्यालयले आफ्नो कार्यालयमा रहेको स्रेस्तामा तदनुसार नामसारी, दाखिल, खारेज गरी दिनु पर्नेछ।

(३) कोषमा एउटा प्रयोजनको लागि प्राप्त भएको रकम अर्को प्रयोजनको लागि खर्च गर्न पाइने छैन।

२०कोषलाई दस्तुर नलाग्ने कोषले ऋण लगानी गरेको सङ्गठित संस्थाबाट लिखत गराई धितो लिँदा वा धितो लिएको सम्पत्ति कोषको नाममा पारित गराउँदा वा कोषले कुनै अचल सम्पत्ति खरीद बिक्री गर्दा त्यस्तो कारोबारमा कोषलाई कुनै आय टिकट वा रजिष्ट्रेशन दस्तुर लाग्ने  छैन।