परिच्छेद-२ कोषको स्थापना

परिच्छेद-२ कोषको स्थापना

 

कोषको स्थापनाः (१) कर्मचारीलाई निवृत्तभरण लगायतको रकम उपलब्ध गराउने प्रयोजनको लागि निवृत्तभरण कोष नामको एक कोषको स्थापना गरिनेछ।

(२) कोषको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र कोषले आवश्यकता अनुसार प्रदेश स्तरीय कार्यालय वा शाखा कार्यालय खोल्न तथा कुनै ठाउँमा कोषको कामको लागि प्रतिनिधि नियुक्त गर्न सक्नेछ।

कोष स्वशासित सङ्गठित संस्था हुने (१) कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ।

(२) कोषको काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ।

(३) कोषले यस ऐनको अधीनमा रही चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, सञ्चय गर्न, बेच बिखन गर्न र त्यस्तै अन्य किसिमले व्यवस्था गर्न सक्नेछ।

(४) कोषले आफ्नो नामबाट नालिस उजूर गर्न र कोष उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ।

कोषमा रहने रकम (१) कोषमा देहाय बमोजिमको रकम रहनेछः-

(क)   कर्मचारीको मासिक तलबबाट दफा १० बमोजिम कट्टा गरिएको रकम,

(ख)   यो ऐन प्रारम्भ हुनुअघि दफा १६ बमोजिमको सेवामा निवृत्तभरण पाउने गरी नियुक्त भएका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई निवृत्तभरण तथा उपदान उपलब्ध गराउने प्रयोजनको लागि नेपाल सरकारले वार्षिक रुपमा उपलब्ध गराएको रकम,

(ग)   कोषको रकम लगानीबाट प्राप्त ब्याज, लाभांश तथा मुनाफा समेतको रकम,

(घ)   योगदानमूलक निवृत्तभरण प्रणाली सञ्चालनको लागि कोषलाई प्राप्त अन्य रकम,

(ङ)   नेपाल सरकारले प्रयोजन तोकी उपलब्ध गराएको रकम।

(२) कर्मचारीलाई निवृत्तभरण लगायतको रकम उपलब्ध गराउने कार्यलाई सहज तथा दिगो बनाउन नेपाल सरकारले समय समयमा कोषमा थप रकम उपलब्ध गराउनेछ।

(३) उपदफा (१) वा (२) बमोजिम कोषलाई प्राप्त भएको रकम समितिले तोकेको नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त “क” वर्गको वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ।