परिच्छेद-३ सार्वजनिक-निजी साझेदारी

परिच्छेद-३ सार्वजनिक-निजी साझेदारी

१७. परियोजना कार्यान्वयन गर्न सकिने: (१) पूर्वाधार संरचना सम्बन्धी कुनै परियोजना सार्वजनिक-निजी साझेदारीबाट कार्यान्वयन गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिम सार्वजनिक-निजी साझेदारीबाट परियोजना कार्यान्वयन गर्दा देहायको कुनै तरिका अपनाउन सकिनेछ:-

(क) निर्माण तथा हस्तान्तरण,

(ख)निर्माण, सञ्चालन तथा हस्तान्तरण,

(ग)निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण,

(घ)निर्माण, हस्तान्तरण तथा सञ्चालन,

(ङ)लिज, सञ्चालन तथा हस्तान्तरण,

(च)लिज, निर्माण, सञ्चालन तथा हस्तान्तरण,

(छ)विकास, सञ्चालन तथा हस्तान्तरण,

(ज)व्यवस्थापन, सञ्चालन तथा हस्तान्तरण,

(झ)पुनर्स्थापना, सञ्चालन तथा हस्तान्तरण,

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि पुनर्स्थापना भन्नाले मौजुदा पूर्वाधार संरचनाको मर्मत, विस्तार वा पुनर्निमाण गरी पुनर्स्थापना गर्ने कार्य सम्झनु पर्छ।

(ञ)यस्तै अन्य कुनै तरिका।

(३) उपदफा (२) बमोजिम परियोजना कार्यान्वयन गर्दा कुनै परियोजनाको निर्माण, सञ्चालन, पुनर्स्थापना, मर्मत तथा विस्तारमध्ये कुनै एक वा एकभन्दा बढी चरणमा परियोजना कार्यान्वयन गर्न सकिनेछ।

१८. परियोजना कार्यान्वयन नगरिने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका परियोजना सार्वजनिक-निजी साझेदारीबाट कार्यान्वयन गरिने छैनः-

(क)वित्तीय, प्राविधिक वा सञ्चालन सम्बन्धी जोखिम निजी क्षेत्रलाई हस्तान्तरण नगरी निजी क्षेत्रबाट कुनै काम वा सेवा प्राप्त गर्ने उद्देश्यबाट सञ्चालन हुने परियोजना,

(ख)राष्ट्रिय सुरक्षासँग सम्बन्धित परियोजना,

(ग)बोर्डले तोकिदिएका अन्य परियोजना।

१९. प्राथमिकता निर्धारण: सार्वजनिक-निजी साझेदारीबाट कार्यान्वयन गरिने परियोजनाको प्राथमिकताका क्षेत्र बोर्डले निर्धारण गरे बमोजिम हुनेछ।

२०. परियोजना पहिचान: (१) सम्बन्धित निकायले सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन गर्न सकिने परियोजना पहिचान गरी सूची तयार गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको सूची तयार गर्दा परियोजनाको सर्भेक्षण लगायतको अध्ययन भए वा नभएको तथा तोकिए बमोजिमका अन्य विवरण समेतका आधारमा सम्बन्धित निकायले प्राथमिकता निर्धारण गर्नु पर्नेछ।

(३) यस दफा बमोजिम परियोजना पहिचान गरी सूची निर्धारण गर्दा प्राविधिक तथा वित्तीय विषयहरुमा बोर्डसँग परामर्श लिन सकिनेछ।

२१. परियोजना स्वीकृत गराउनु पर्ने: (१) दफा २० बमोजिम पहिचान गरी सूचीकृत गरिएका परियोजनाहरु कार्यान्वयन गर्ने सम्बन्धमा कार्यक्षेत्र अनुसार बोर्ड वा सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम परियोजना स्वीकृत गराउँदा सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन गरिने भए दफा १७ मा उल्लिखित तरिका मध्ये कुन तरिकाबाट कार्यान्वयन गर्न सकिने हो सोको व्यहोरा उल्लेख गर्नु पर्नेछ।

(३) कुनै सार्वजनिक निकाय अन्तर्गत एकै प्रकृतिका एकभन्दा बढी परियोजना सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन गर्न यस दफा बमोजिम परियोजना स्वीकृत गराउँदा त्यस्तो परियोजनाको पुनः प्राथमिकिकरण गर्नु पर्नेछ।

२२. परियोजनाको सूची प्रकाशन गर्ने: दफा २१ बमोजिम परियोजना स्वीकृत भएपछि सम्बन्धित निकायले परियोजनाको सूची प्रकाशन गर्नु पर्नेछ।

२३. आशयपत्र आह्वान र्ने: (१) दफा २१ बमोजिम स्वीकृत परियोजनाको अध्ययन-अनुमति, सर्वेक्षण वा कार्यान्वयनका लागि सम्बन्धित निकायले सार्वजनिक सूचना प्रकाशन गरी आशयपत्र आह्वान गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको सूचनामा देहायका विवरण खुलाउनु पर्नेछ:-

(क)आशयपत्र पेश गर्ने कार्यालय वा निकाय,

(ख)आशयपत्र पेश गर्ने अवधि,

(ग)आशयपत्रमा खुलाउनु पर्ने विवरण,

(घ)आशयपत्र साथ संलग्न गर्नु पर्ने कागजातहरु,

(ङ)प्रस्तावकको प्राविधिक तथा आर्थिक क्षमता,

(च)तोकिए बमोजिमका अन्य विवरण।

२४. आशयपत्र पेश गर्ने: परियोजनाको अध्ययन-अनुमति, सर्वेक्षण वा कार्यान्वयन गर्न चाहने व्यक्तिले तोकिए बमोजिमका शर्तका अधिनमा रही दफा २३ बमोजिमको सूचनामा उल्लिखित अवधिभित्र सम्बन्धित निकायमा आशयपत्र पेश गर्नु पर्नेछ।

२५. संक्षिप्त सूची तयार गर्ने: दफा २४ बमोजिम आशयपत्र प्राप्त भएपछि सम्बन्धित निकायले तोकिए बमोजिमको आधारमा मूल्याङ्कन गरी तोकिएका प्रक्रिया बमोजिम प्रस्तावकहरुको संक्षिप्त सूची तयार गर्नु पर्नेछ।

२६. प्रस्ताव आह्वान गर्ने: (१) दफा २५ बमोजिम संक्षिप्त सूची तयार गरेपछि सम्बन्धित निकायले सार्वजनिक सूचना प्रकाशन गरी सो सूचीमा परेका प्रस्तावकहरुसँग तोकिए बमोजिमका विषयहरु खुलाई प्रस्ताव आह्वान गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्रस्ताव पेश गर्न चाहने प्रस्तावकले तोकिए बमोजिमका विवरणहरु खुलाई सूचनामा उल्लिखित अवधिभित्र सम्बन्धित निकायमा प्रस्ताव पेश गर्नु पर्नेछ।

२७. प्रस्ताव छनौट गर्ने: (१) दफा २६ को उपदफा (२) बमोजिम प्रस्ताव प्राप्त भएपछि सम्बन्धित निकायले तोकिए बमोजिमको मूल्याङ्कन समिति गठन गरी तोकिएको अवधिभित्र देहायका आधारमा प्रस्ताव छनौट गर्नु पर्नेछः-

(क)तोकिएको समयमा निर्माण सम्पन्न गर्ने आधार सहितको प्राविधिक प्रस्ताव,

(ख)सम्बन्धित निकायलाई बुझाउनु पर्ने रोयल्टी रकम भए प्रस्तावित रोयल्टी रकम,

(ग)परियोजना कार्यान्वयन गर्दा उपभोक्तासँग लिने प्रस्तावित महसुल लगायतका विषय उल्लिखित आर्थिक प्रस्ताव।

(२) यस दफा बमोजिम प्रस्ताव छनौट गरेपछि सम्बन्धित निकायले त्यसको जानकारी तोकिएको अवधिभित्र प्रस्तावकलाई दिनु पर्नेछ।

(३) यस दफा बमोजिमको प्रस्ताव छनौट सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२८. आव्हान नगरिएको प्रस्ताव: (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्तावक स्वयंले सार्वजनिक-निजी साझेदारीको माध्यमबाट परियोजना कार्यान्वयन गर्नको लागि सम्बन्धित निकाय समक्ष तोकिए बमोजिमको आधार, दस्तुर र ढाँचामा प्रस्ताव पेश गर्न सक्नेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “आव्हान नगरिएको प्रस्ताव” भन्नाले सम्बन्धित निकायले सार्वजनिक सूचना जारी नगरेको अवस्थामा लगानीकर्ता स्वयंले कुनै परियोजना विकास गर्ने उद्देश्यले आशय प्रकट गरी पेश गरेको प्रस्ताव सम्झनु पर्छ।

(२) उपदफा (१) बमोजिमको प्रस्ताव पेश गर्दा देहायका विषयहरु उल्लेख गर्नु पर्नेछ:-

(क)परियोजनाको विवरण,

(ख)प्रस्तावकको प्राविधिक तथा वित्तीय क्षमता सहितको विवरण (प्रोफाइल),

(ग)परियोजनाको प्रारम्भिक संभाव्यता अध्ययन प्रतिवेदन भए त्यस्तो प्रतिवेदन,

(घ)प्रस्तावित व्यावसायिक योजना,

(ङ)परियोजनामा प्रयोग हुने प्रविधि,

(च)परियोजनाबाट प्राप्त हुने सम्भावित लाभको विवरण।

(३) उपदफा (१) बमोजिम प्राप्त प्रस्ताव दफा २७ को उपदफा (१) बमोजिमको मूल्याङ्कन समितिको सिफारिसको आधारमा सो परियोजनाको अध्ययन तथा सर्भेक्षण अनुमति वा परियोजना विकास वा सञ्चालनको लागि तोकिएको प्रक्रिया पूरा गरी तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र प्रदान गर्न सकिनेछ।

(४) उपदफा (१) बमोजिम प्राप्त भएको परियोजना प्रस्तावलाई मूल्याङ्कन गर्दा सार्वजनिक-निजी साझेदारीमा निर्माण हुने परियोजना प्रतिस्पर्धाको आधारमा अगाडि बढाउँदा लाभदायी हुने देखिएमा सोही प्रस्तावलाई स्वीस च्यालेन्जका आधारमा सम्बन्धित निकायले तोकेको प्रक्रिया बमोजिम प्रतिस्पर्धा गराउन सक्नेछ।

स्पष्टिकरणः यस दफाको प्रयोजनको लागि “स्विस च्यालेन्ज” भन्नाले सम्बन्धित निकायले कुनै सेवा क्षेत्र वा सडक, रेल जस्ता सार्वजनिक परियोजनाका लागि आव्हान नगरिएको प्रस्ताव प्राप्त गरेको अवस्थामा उक्त प्रस्तावभन्दा राम्रो प्रस्ताव प्राप्त हुनसक्ने अभिप्रायले उपयुक्त प्रस्ताव चयन गर्न प्राप्त प्रस्तावलाई कुनै पनि विधि वा प्रक्रियाबाट तेस्रो पक्षलाई समेत आव्हान गरी वा सार्वजनिक गरी मूल्याङ्कन गरिने विधि सम्झनु पर्छ।

(५) उपदफा (१) बमोजिमको प्रस्ताव उपर वार्ता गर्दा प्रस्तावक बाहेक अन्य कुनै प्रस्तावकको प्रस्ताव स्वीकृत भएमा स्वीकृत भएको प्रस्तावकर्ताबाट उपदफा (१) बमोजिमको प्रस्तावकलाई तोकिए बमोजिमको परियोजना विकासको क्रममा भएको प्रारम्भिक खर्च र अध्ययन तथा विकासको क्रममा सम्बन्धित निकायको कुनै खर्च भएको अवस्थामा सो समेत सोधभर्ना तोकिए बमोजिम उपलब्ध गराउन सकिनेछ।

२९. वार्ताद्वारा परियोजना कार्यान्व गर्न सक्ने: (१) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि कम्तीमा दुईपटक आशयपत्र वा प्रस्ताव आह्वान गर्दा पनि छनौट हुन नसकेको अवस्थामा त्यस्तो परियोजना सम्बन्धित निकायले सोझै वार्ताद्वारा कार्यान्वयन गराउन सक्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कारणले कुनै परियोजना वार्ताद्वारा कार्यान्वयन गर्न मनासिब हुने देखिएमा त्यस्तो परियोजना सम्बन्धित निकायले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी वार्ताद्वारा कार्यान्वयन गराउन सक्नेछ:-

(क)परियोजनाको प्रकृति वा लागतको कारण आर्थिक तथा प्राविधिक रुपमा प्रतिस्पर्धा हुन सक्ने सम्भावना नभएको परियोजना,

(ख)नयाँ अवधारणा वा प्रविधि समावेश भएको परियोजना,

(ग)राष्ट्रिय प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने गरी छनौट गरिएको परियोजना,

(घ)यस ऐन बमोजिमको अन्य कार्यविधि अवलम्बन गर्न उपयुक्त नदेखिएको परियोजना।

(३) उपदफा (१) बमोजिमको कुनै परियोजना वार्ताद्वारा कार्यान्वयन गर्न चाहने प्रस्तावकले तोकिएका विषयहरु खुलाई सम्बन्धित निकाय समक्ष प्रस्ताव पेश गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिमको प्रस्तावलाई तोकिए बमोजिम विस्तृत मूल्याङ्कन गरी सम्बन्धित निकायले वार्ताद्वारा परियोजना कार्यान्वयन गर्न स्विकृती दिन सक्नेछ।

३०. वार्ताद्वारा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न सक्ने: (१) यस ऐनमा जुनसुकै कुरा लेखिएको भए तापनि विस्तृत सम्भाव्यता अध्ययन नभएको कुनै परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न चाहने व्यक्तिले सोको अनुमतिको लागि कार्यालय समक्ष निवेदन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन उपर जाँचबुझ गर्दा विस्तृत सम्भाव्यता अध्ययन गर्ने अनुमति दिन मनासिब देखिएमा कार्यालयले निवेदकसँग वार्ता गरी त्यस्तो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न, गराउन अनुमति दिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम विस्तृत सम्भाव्यता अध्ययन गर्दा गराउँदा लागेको खर्च त्यस्तो विस्तृत सम्भाव्यता अध्ययन गर्ने, गराउने व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ।

(४) यस दफा बमोजिम विस्तृत सम्भाव्यता अध्ययन गरिएको कुनै परियोजनाको कार्यान्वयन गर्नको लागि प्रतिस्पर्धा गराइएको अवस्थामा उपदफा (२) बमोजिम विस्तृत सम्भाव्यता अध्ययन गर्ने, गराउने व्यक्ति छनौट हुन नसकेमा निजले सो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्दा गराउँदा लागेको खर्च त्यस्तो परियोजनाको कार्यान्वयनको लागि छनौट भएको प्रस्ताव स्वीकृत हुने व्यक्तिले व्यहोर्नु पर्नेछ।

(५) उपदफा (४) बमोजिम व्यहोरिने रकमको निर्धारण स्वतन्त्र मूल्याङ्कनकर्ताबाट गराईनेछ।

(६) यस दफा बमोजिम परियोजनाका सम्बन्धमा तयार पारिएको अध्ययन प्रतिवेदनको आधारमा त्यस्तो परियोजना यस ऐन बमोजिम कार्यान्वयन गरिनेछ।

३१. अनुमतिपत्र दिनु पर्ने: (१) दफा २७,२८ र २९ बमोजिम प्रस्ताव छनौट वा स्वीकृति प्रदान गरेपछि सम्बन्धित निकायले प्रस्तावकलाई तोकिए बमोजिमको शर्तहरु तथा ढाँचामा समझदारी गरी परियोजनाको अध्ययन अनुमतिपत्र दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको समझदारी गर्दा समयभित्र नै कार्य सम्पन्न गर्ने प्रयोजनका लागि तोकिए बमोजिमको परफर्मेन्स बण्ड लिनु पर्नेछ।

(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम परियोजना स्वीकृत भई उपदफा (१) बमोजिम अनुमितपत्र प्राप्त गरेको अवस्थामा त्यस्तो अनुमितपत्र प्रचलित कानूनको रीत पुर्‍याई जारी भएको मानिनेछ।