परिच्छेद–२ गाउँ परिषद्को बैठक र कार्य प्रणाली

परिच्छेद–२ गाउँ परिषद्को बैठक र कार्य प्रणाली

५. बैठक बस्ने स्थान ः (१) गाउँ परिषद्को बैठक गाउँ विकास समितिको कार्यालयमा बस्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै गाउँ विकास समितिको आफ्नोे कार्यालय भवन नभएको अवस्थामा गाउँ विकास समितिले निर्णय गरी गाउँ विकास क्षेत्रभित्र तोकिदिएको कुनै विद्यालय वा सेवा केन्द्र वा सामुदायिक भवनमा गाउँ परिषद्को बैठक बस्न सक्नेछ ।

६. छलफलको विषय ः ऐनको दफा २२ को उपदफा (६) को प्रयोजनका लागि सूचना पठाउँदा बैठकमा छलफल गरिने विषय समेत स्पष्ट रूपले किटान गर्नु पर्नेछ ।

७. बैठकको कार्यक्रमः अध्यक्षको निर्देशनमा सचिवले गाउँ परिषद्को बैठकको कार्यक्रम लिखित रूपमा तयार गर्नेछ ।

८. उपस्थिति ः बैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थिति पुस्तिकामा आफ्नो नाम बुझिने गरी सही गर्नु पर्नेछ ।

९. बैठकको सुव्यवस्था ः बैठक सुव्यवस्थित रूपमा सञ्चालन गर्ने काम अध्यक्षता गर्ने व्यक्तिको हुनेछ ।

१०. अध्यक्षता गर्ने व्यक्तिको मर्यादा ः अध्यक्षको आसनको सम्मान र आदर गर्नु गाउँ परिषद्का प्रत्येक सदस्यको कर्तब्य हुनेछ ।

११. बोल्ने पालो ः बैठकको छलफलमा भाग लिने सदस्यले बोल्ने पालो तथा बोल्न पाउने समयको अवधि बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।

१२. बीचमा कुरा काट्न नहुने ः एकजना सदस्यले बोलिरहेको समयमा अर्को कुनै सदस्यले बीचमा कुरा काट्न हुँदैन ।

१३. प्रस्ताव राख्ने ः बैठकमा छलफलको लागि कुनै विषय प्रस्तुत गर्न चाहने सदस्यले सो विषय नियम १४ को रीत पु¥याई प्रस्तावको रूपमा राख्नु पर्नेछ ।

१४. प्रस्तावको रीत ः बैठकमा छलफलको लागि पेश हुने प्रस्तावको सूचना बैठक सुरु हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगाडि नै लिखित रूपमा देहायको रीत पु¥याई सचिवलाई दिनु पर्नेछ ः–
(क) नेपाली भाषामा लेखिएको,
(ख) गाउँ परिषद्का सदस्यहरूमध्येबाट कम्तीमा एकजना प्रस्तावक र एकजना समर्थकको सही भएको,
(ग) प्रस्तावको विषय स्पष्ट र व्यवहारिक भएको,
(घ) नियम १७ अनुरूप भएको,
(ङ) अध्यक्षता गर्ने व्यक्तिले छलफलको लागि स्वीकृति दिएको ।

१५. प्रस्तावको क्रम ः (१) बैठकको अध्यक्षता गर्ने व्यक्तिले ऐनको दफा २६ को उपदफा (१) मा उल्लिखित विषयको प्राथमिकताको आधारमा प्रस्तावको क्रम तयार गर्नेछ ।

(२) एउटै विषयमा दुईवटा प्रस्ताव प्राप्त हुन आएमा पहिले दर्ता भएको प्रस्तावलाई बैठकको कार्यक्रममा राखिनेछ ।

१६. प्रस्तावमा छलफलको प्रक्रिया ः (१) नियम १५ बमोजिम तयार भएको प्रस्तावको प्राथमिकता क्रमको आधारमा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा प्रस्ताव पेश गर्ने अनुमति दिनेछ र प्रस्तावक सदस्यले सो प्रस्ताव ल्याउनुपर्नाको कारण सहित आफ्नो भनाइ प्रस्तुत गर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रस्तावक सदस्यले आफ्नोे भनाइ राखिसकेपछि सो प्रस्ताव उपर बोल्न चाहने अन्य सदस्यहरूलाई बैठकको अध्यक्षता गर्ने व्यक्तिले बोल्न अनुमति दिनेछ ।

(३) बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकको कार्यक्रम संख्या र त्यसलाई लाग्ने समय समेतलाई बिचार गरी प्रत्येक प्रस्तावमाथि गरिने छलफलको समयावधि र त्यस्तो छलफलमा प्रत्येक सदस्यले बोल्न पाउने समय तोक्न सक्नेछ ।

(४) बोल्न चाहने सदस्यले बोलिसकेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावक सदस्यलाई पुनः बोल्ने अनुमति दिन सक्नेछ र सो बाहेक अन्य सदस्यलाई सामान्यतया एकपटकभन्दा बढी बोल्ने अनुमति दिइनेछैन ।

(५) नियम १३ बमोजिम प्रस्तुत प्रस्ताव नियम १८ बमोजिम निर्णयको लागि प्रस्तुत हुनु अगावै प्रस्तावक सदस्यले चाहेमा फिर्ता लिन सक्नेछ ।

१७. प्रस्ताव पेश गर्दा वा छलफल गर्दा गर्न नहुने कुराहरू ः बैठकमा प्रस्ताव पेश गर्दा वा छलफल गर्दा देहायका कुराहरू गर्नु हुँदैनः–
(क) अशिष्ट शब्दको प्रयोग,
(ख) कसैको व्यक्तिगत प्रतिष्ठामा धक्का पु¥याउने शब्दको प्रयोग,
(ग) तोडफोेड वा बलको प्रयोग,
(घ) नेपाल अधिराज्यको संविधान, २०४७ को भावना विपरीत हुने विषयमा छलफल ।

१८. प्रस्तावमाथि निर्णय ः (१) नियम १६ बमोजिम प्रस्तावमाथि बोल्ने क्रम समाप्त भएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सो प्रस्ताव निर्णयको लागि प्रस्तुत गर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैठकको अध्यक्षता गर्ने व्यक्तिलाई कुनै प्रस्तावको सम्बन्धमा पर्याप्त छलफल भइसकेको छ भन्ने लागेमा निजले सो प्रस्ताव निर्णयको लागि प्रस्तुत गर्न सक्नेछ ।

१९. निर्णय गर्ने तरिका तथा निर्णयको घोषणा ः (१) बैठकको बहुमत प्रस्तावको पक्ष वा विपक्षमा छ भन्ने कुराको निर्णयको लागि बैठकको अध्यक्षता गर्ने व्यक्तिले देहायको कुनै एक तरिका अपनाई बैठकको निर्णयको घोषणा गर्नेछ ः–
(क) प्रत्येक सदस्यलाई पालैसँग मौखिक मत प्रकट गर्न लगाएर,
(ख) प्रस्तावको पक्ष र विपक्षमा हात उठाउन लगाएर,
(ग) प्रस्तावको पक्षमा मत प्रकट गर्नेलाई एक समूहमा र विपक्षमा मत प्रकट गर्नेलाई अर्को समूहमा विभाजन गरेर ।

(२) उपनियम (१) बमोजिमको तरिकाबाट बहुमत छुट्ट्याउन व्यवहारिक नभएमा अध्यक्षता गर्ने व्यक्तिले सदस्यहरूलाई गोप्य मतदान गर्न लगाइ निर्णयको घोषणा गर्नेछ ।

२०. निर्णायक मत ः बैठकको अध्यक्षता गर्ने व्यक्तिले मतदान गर्ने छैन ।
तर कुनै प्रस्तावको पक्ष वा विपक्षमा बराबर मत पर्न आएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

२१. निर्णयको अभिलेख ः सचिवले बैठकमा भएको निर्णयलाई निर्णय पुस्तिकामा अभिलेख गरी बैठकको अध्यक्षता गर्ने व्यक्तिको सही गराई राख्नु पर्नेछ ।

२२. निर्णय प्रमाणित ः बैठकको निर्णय उतार सचिवले प्रमाणित गरी सदस्य, जिल्ला विकास समिति तथा सम्बन्धित निकायमा पठाउने छ ।

२३. विशेष बैठक सम्बन्धी कार्यविधि ः (१) ऐनको दफा २२ को उपदफा (९) बमोजिम विशेष बैठक बोलाउँदा अध्यक्षको लिखित निर्देशनमा सचिवले गाउँ परिषद्को विशेष बैठक बस्ने मिति, समय, स्थान र जुन विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको हो सो विषय समेत स्पष्ट रूपले खुलाइएको सूचना गाउँ परिषद्का सदस्यलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बोलाइएको विशेष बैठकमा जुन विषयमा छलफल गर्न विशेष बैठक बोलाइएको हो सो बाहेक अन्य विषयमा छलफल गर्न पाइने छैन ।

(३) यस नियममा लेखिए देखि बाहेक विशेष बैठक सम्बन्धी अन्य कार्यविधि यसै परिच्छेद्का अन्य व्यवस्था बमोजिम हुनेछ ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यान्वयनमा रहेको गाउँ विकास समितिको बजेट, कार्यक्रम तथा गाउँ परिषद्को सदस्य मनोनयन सम्बन्धी विषयका सम्बन्धमा साविकमा कायम रहेको निर्णयमा प्रभावित गर्ने किसिमका विषयलाई छलफलको विषयवस्तु बनाएर विशेष बैठक बोलाउन पाइने छैन ।

२४. अध्यक्षको छनौट प्रक्रिया र बैठक स्थगन ः (१) ऐनको दफा २२ को उपदफा (४) बमोजिम अध्यक्षको छनौट गर्ने प्रक्रिया तत्काल अध्यक्षता गरिरहेको व्यक्तिले निर्धारण गरे बमोजिम हुनेछ ।

(२) ऐनको दफा २२ को उपदफा (४) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम जेष्ठ सदस्यले अध्यक्षता गरेको गाउँ परिषद्को बैठक चौबीस घण्टाभन्दा बढी समयको लागि स्थगन गर्न हुँदैन ।

२५. पद रिक्त भएको सूचना दिनु पर्ने ः ऐनको दफा ११ र १८ बमोजिम गाउँ परिषद् र गाउँ विकास समितिको सदस्यको पद रिक्त हुन आएमा सो कुराको सूचना पद रिक्त भएको मितिले एक हप्ताभित्र सचिवले सम्बन्धित जिल्ला विकास समितिमा दिनु पर्नेछ ।