परिच्छेद–८ नियमन, निरीक्षण तथा सुपरिवेक्षण

परिच्छेद–८ नियमन, निरीक्षण तथा सुपरिवेक्षण

३१. नियमन गर्ने अधिकारः (१) बोर्डलाई अनुमतिपत्र प्राप्त संस्था र वस्तु विनिमय बजार मार्फत हुने कारोबारसँग सम्बन्धित पक्षको नियमन गर्ने वा गराउने पूर्ण अधिकार हुनेछ ।

(२) उपदफा (१) बमोजिम नियमन गर्ने प्रयोजनको लागि बोर्डले आवश्यक देखेका विषयमा आदेश वा निर्देशन दिन वा सूचना वा परिपत्र जारी गर्न सक्नेछ ।

३२. निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्नेः (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले कारोबार गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा जुनसुकै बखत निरीक्षण तथा सुपरीवेक्षण गर्न वा गराउन सक्नेछ ।

(२) बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीलाई खटाई अनुमतिपत्र प्राप्त संस्थाको स्थलगत (अनसाइट) वा सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थामा रहेका सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणहरु आफू समक्ष झिकाई (अफसाइट) निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम निरीक्षण तथा सुपरीवेक्षण गर्ने प्रयोजनको लागि बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोलीको गठन गर्न सक्नेछ र विशेषज्ञ टोलीले पाउने सुविधा त्यस्तो टोली गठन हुँदाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।

(४) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्दा उपदफा (२) बमोजिमको विशेषज्ञ टोली वा बोर्डका अधिकृत कर्मचारीले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा सुपरीवेक्षण गर्न वा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्न सक्नेछ ।

(५) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरीवेक्षणको सिलसिलामा निरीक्षण तथा सुपरीवेक्षण गर्ने विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले आवश्यक देखेमा अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणमा शिलबन्दी गरी त्यसको अभिलेख राखी आफैसँग राख्न वा अनुमतिपत्र प्राप्त संस्थाको जिम्मामा राख्न लगाउन सक्नेछ ।

(६) विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण वा सुपरीवेक्षणको कार्य सम्पन्न गरेको मितिले पन्ध्र दिनभित्र त्यसको प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

(७) निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३३. सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्नेः (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित व्यक्तिसँग कारोबार सम्बन्धी कुनै पनि सूचना, तथ्याङ्क वा विवरण माग गर्न सक्नेछ ।

(२) दफा ३२ बमोजिम निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा आवश्यक देखेका कुनै पनि सूचना, तथ्याङ्क वा विवरण बोर्ड वा बोर्डबाट अधिकार प्राप्त व्यक्तिले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिसँग माग गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम मागिएको सूचना, तथ्याङ्क वा विवरण उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिको कर्तव्य हुनेछ ।

३४. अनुमतिपत्र निलम्बन गर्न सक्नेः (१) कुनै अनुमतिपत्र प्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम विपरीत काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हित विपरीत काम गरेमा वा बोर्ड समक्ष पेश गर्नुपर्ने आर्थिक तथा कारोबार सम्बन्धी विवरण पेश नगरेमा बोर्डले अवधि तोकी त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निलम्बनमा रहेको अनुमतिपत्र प्राप्त संस्थाले निलम्बनको अवधिभर कारोबार गर्न सक्ने छैन ।

३५. अनुमतिपत्र खारेजी सम्बन्धी व्यवस्थाः (१) बोर्डले देहायका अवस्थामा अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्नेछः–

(क) दफा ८ बमोजिम अनुमतिपत्र नवीकरण नभई अनुमतिपत्रको अवधि समाप्त भएमा,
(ख) दफा ९ बमोजिम पूर्वाधारको व्यवस्था नगरेमा,
(ग) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्न बन्द गरेमा,
(घ) प्रचलित कानून बमोजिम दामासाहीमा परेमा वा अन्य कुनै किसिमले विघटन भएमा, वा
(ङ) अनुमतिपत्र खारेज गरी पाउँ भनी निवेदन दिएमा ।

(२) बोर्डले देहायका अवस्थामा अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्न सक्नेछः–

(क) अनुमतिपत्रमा उल्लिखित शर्तहरु उल्लङ्घन गरेमा,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको उल्लङ्घन गरेमा,
(ग) लगानीकर्ताको हित विपरित हुने गरी वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गरेमा,
(घ) बोर्डले दिएको आदेश वा निर्देशनको बारम्बार उल्लङ्घन गरेमा,
(ङ) निलम्बन भएको अवधिभित्र बोर्डले माग गरेको आर्थिक तथा कारोबार सम्बन्धी विवरण नबुझाएमा, वा
(च) यस ऐन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा ।

(३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि अनुमतिपत्र प्राप्त संस्थालाई सफाईको मौका दिनु पर्नेछ ।

(४) उपदफा (१) र (२) बमोजिम अनुमतिपत्र खारेज भएको कारणबाट त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र खारेज हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।

३६. बोर्डले कारबाही गर्न सक्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्था, सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी कारबाही गर्न सक्नेछः–

(क) सचेत गराउने वा लिखित चेतावनी दिने,
(ख) सुधारात्मक कदम चाल्न निर्देशन दिने,
(ग) कारोबारमा आंशिक वा पूर्णरूपमा प्रतिबन्ध लगाउने,
(घ) बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने,
(ङ) निलम्बनमा राख्न आदेश दिने,
(च) सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई तलब, भत्ता लगायतका सुबिधाहरु उपलब्ध नगराउन आदेश दिने,
(छ) सञ्चालकलाई पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकाश दिन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई आदेश दिने ।

३७. जरिबाना गर्न सक्नेः (१) दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त नगरी देहायको कार्य गर्नेलाई बोर्डले देहाय बमोजिम जरिबाना गर्नेछः—

(क) वस्तु विनिमय बजार सञ्चालन गरेमा वा वस्तु विनिमय बजारको नाम प्रयोग गरेमा दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म,
(ख) राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गरेमा दुई लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म,
(ग) वस्तु कारोबार व्यवसाय गरेमा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म ।

(२) अनुमतिपत्र प्राप्त संस्थाले दफा ९ को उपदफा (३) विपरीत कारोबार सञ्चालन गरेमा बोर्डले त्यस्तो संस्थालाई पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गर्नेछ ।

(३) दफा ४८ वा ४९ बमोजिमको म्यादभित्र सूचना तथा विवरण नदिने वा प्रतिवेदन पेश नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले त्यस्तो सूचना तथा विवरण वा प्रतिवेदन पेश गर्ने म्याद समाप्त भएको दिनदेखि प्रतिदिन एक हजार रुपैयाँका दरले जरिबाना गर्नेछ ।

(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिएको आदेश वा निर्देशन वा तोकिएको शर्त पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(५) यस ऐन बमोजिम बोर्डले निरीक्षण तथा सुपरीवेक्षण वा जाँचबुझको सिलसिलामा माग गरेको सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने अनुमतिपत्र प्राप्त संस्थाका सञ्चालक वा पदाधिकारी वा कर्मचारीलाई बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(६) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु पर्ने वा तयार गर्नु पर्ने वा पेश गर्नुपर्ने हिसाब किताब, खाता, विवरण वा यस्तै अन्य कुनै कागजात नराख्ने वा तयार नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले दुई लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

(७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा बोर्डले दिएको आदेश वा निर्देशन विपरीत कार्य गरी लगानीकर्तालाई हानी नोक्सानी गरे वा गराएमा बोर्डले त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालार्ई दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म जरिबाना गरी त्यस्तो हानी नोक्सानी भएको रकम समेत लगानीकर्तालाई भराई दिनु पर्नेछ ।

(८) दफा ६० बमोजिमको आचारसंहिता पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्नेछ ।