परिच्छेद–१० विविध

परिच्छेद–१० विविध

४१. कोष सम्बन्धी व्यवस्थाः (१) बोर्डको कोषमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त हुने रकमका अतिरिक्त यस ऐन बमोजिम बोर्डलाई प्राप्त हुने देहाय बमोजिमका रकमहरु रहनेछन्ः–

(क) निवेदन शुल्क बापतको रकम,
(ख) अनुमतिपत्र दस्तुर बापतको रकम,
(ग) अनुमतिपत्र नवीकरण दस्तुर बापतको रकम,
(घ) जरिबाना बापतको रकम, र
(ङ) ऐन बमोजिम प्राप्त हुने अन्य कुनै रकम ।

(२) उपदफा (१) बमोजिम कोषमा प्राप्त रकमको उपयोग, त्यसको लेखा तथा लेखापरीक्षण सम्बन्धी व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।

४२. लेखा परीक्षक नियुक्तिः (१) अनुमतिपत्र प्राप्त संस्थाले तोकिएको अवधिभित्र लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको हिसाब, किताब, नगदी, जिन्सी सम्पत्ति समेतको लेखापरीक्षण गर्नु पर्ने देखिएमा बोर्डले लेखा परीक्षकको नियुक्ति गरी लेखा परीक्षण गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाले व्यहोर्नु पर्नेछ ।

४३. सेवा शुल्क वा नियमन शुल्क सम्बन्धी व्यवस्थाः (१) अनुमतिपत्र प्राप्त संस्थाले सेवा प्रदान गरे बापत लिन सक्ने सेवा शुल्क तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले एक आर्थिक वर्षमा प्राप्त गरेको कुल सेवा शुल्कको तोकिए बमोजिमको रकम नियमन शुल्कको रुपमा बोर्डमा बुझाउनु पर्नेछ ।

४४. विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्नेः (१) अनुमतिपत्र प्राप्त संस्थाले विद्युतीय रुपमा आफ्नो कारोबार गर्न सकिने गरी विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्नेछ ।

(२) विद्युतीय कारोबार प्रणाली सुरक्षित, उपयुक्त र भरपर्दो हुनु पर्नेछ ।

(३) विद्युतीय कारोबार प्रणालीलाई बोर्डले आवश्यकता अनुसार सम्परीक्षण (अडिट) गर्न वा गराउन सक्नेछ ।

(४) विद्युतीय कारोबार प्रणालीमा कुनै प्रकारको सुधार गर्नु पर्ने देखिएमा बोर्डले आवश्यक निर्देशन दिन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम प्राप्त निर्देशनको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।

४५. वस्तु करार सम्बन्धी विशेष व्यवस्थाः (१) भविष्यमा वस्तु खरिद वा बिक्री गर्ने सम्बन्धमा अधिकार तथा दायित्वको विशेष व्यवस्था हुने गरी भएको वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) का सम्बन्धमा लागू हुने व्यवस्था, शर्त तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिमको व्यवस्था, शर्त तथा मापदण्ड लागू नभएसम्म त्यस्तो वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) गर्न पाइने छैन ।

४६. विदेशी वस्तु विनिमय बजारमा कारोबार गर्न सक्नेः वस्तु विनिमय बजारमा बजार निर्माता, कारोबारको अर्को पक्ष (काउन्टर पार्टी) को कार्य गर्ने व्यवसायी वा त्यस्तो प्रकृतिको व्यवसाय गर्ने व्यवसायीले यस ऐन बमोजिम कारोबार गरी बहन गर्नुपर्ने जोखिमलाई व्यवस्थित गर्न विदेशी वस्तु विनिमय बजारमा तोकिए बमोजिम वस्तु करारको खरिद वा बिक्री गर्न सक्नेछ ।

४७. विदेशी मुद्रामा कारोबार गर्न स्वीकृति लिनु पर्नेः वस्तु कारोबार गर्दा विदेशी मुद्रामा कारोबार गर्नुपर्ने भएमा विदेशी विनिमय सम्बन्धी प्रचलित कानून बमोजिम सम्बन्धित निकायको स्वीकृति लिएर मात्र कारोबार गर्नु पर्नेछ ।

४८. सूचना तथा विवरण दिनु पर्नेः अनुमतिपत्र प्राप्त संस्थाले कारोबार वा व्यवसाय सम्बन्धी तोकिए बमोजिमको सूचना तथा विवरण तोकिए बमोजिमको समयभित्र बोर्डलाई दिनु पर्नेछ ।

४९. प्रतिवेदन पेश गर्नु पर्नेः अनुमतिपत्र प्राप्त संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र उक्त आर्थिक वर्षमा आफूले गरेको काम कारबाही तथा वस्तु कारोबार सम्बन्धी विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

५०. विवरण सार्वजनिक गर्नु पर्नेः बोर्डले अनुमतिपत्र प्राप्त संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी काम कारबाहीको विवरण तथा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको अनुमतिपत्र प्राप्त संस्थाले पालना गरे नगरेको तथा दफा ४८ बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले बोर्डमा पेश गरेको सूचना तथा विवरण तोकिए बमोजिम सार्वजनिक गर्नेछ ।

५१. आदेश वा निर्देशनको पालना गर्नु पर्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।

५२. जरिबाना असुल गरिनेः (१) दफा ३७ बमोजिम भएको जरिबानाको रकम सम्बन्धित व्यक्तिले त्यस्तो जरिबानाको रकम तीस दिनभित्र बोर्डलाई बुझाउनु पर्नेछ ।

(२) जरिबानाको रकम तीस दिनभित्र नबुझाएमा बोर्डले त्यस्तो व्यक्तिको चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असूल उपर गरी लिन सक्नेछ ।

५३. पुनरावेदन गर्न सकिनेः दफा ३५ को उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गरेको वा दफा ३६ बमोजिम कारबाही गरेको वा दफा ३७ बमोजिम जरिबाना गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले बोर्डको त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैँतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

५४. नेपाल सरकार वादी हुनेः (१) दफा ३९ बमोजिमको कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई दायर हुनेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।

(२) उपदफा (१) बमोजिमको कसूरको अनुसन्धान वा अभियोजन गर्दा सम्बन्धित अधिकारीलाई बोर्डले आवश्यक सहयोग गर्नु पर्नेछ ।

५५. नेपाल सरकारले निर्देशन दिन सक्नेः वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताहरुको हित संरक्षण जस्ता नीतिगत विषयमा नेपाल सरकारले बोर्डलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।

५६. बोर्डलाई सहयोग गर्नु पर्नेः वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताको हितलाई संरक्षण गर्ने जस्ता विषयलाई नियमित तथा व्यवस्थित गर्ने कार्यमा बोर्डलाई सहयोग पुर्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

५७. अधिकार प्रत्यायोजनः यस ऐन अन्तर्गत बोर्डलाई प्राप्त अधिकारहरु मध्ये केही अधिकार बोर्डका अध्यक्ष, सञ्चालक वा कर्मचारीले प्रयोग गर्न पाउने गरी बोर्डले अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

५८. नेपाल सरकारसँग सम्पर्कः बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

५९. पदाधिकारीलाई कारबाही हुनेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा जिम्मेवारी तोकिएको पदाधिकारीले आफूलाई तोकिएको काम कारबाही समयभित्रै सम्पन्न नगरेमा वा बदनियतपूर्वक काम कारबाही गरेमा निजलाई प्रचलित कानून अनुसार कारबाही हुनेछ ।

६०. आचारसंहिता बनाई लागू गर्न सक्नेः (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नेछ ।

(२) उपदफा (१) बमोजिम लागू गरेको आचारसंहिता पालना गर्नु अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।

(३) अनुमतिपत्र प्राप्त संस्थाले आफ्ना सञ्चालक तथा कर्मचारीले पालन गर्नु पर्ने आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।

६१. नियम बनाउने अधिकारः यस ऐनलाई कार्यान्वयन गर्न बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई आवश्यक नियमहरु बनाउन सक्नेछ ।

६२. विनियम बनाउन सक्नेः (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सञ्चालन तथा कारोबारलाई नियमन तथा व्यवस्थित गर्न बोर्डले आवश्यक विनियमहरु बनाई लागू गर्न सक्नेछ ।

(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही अनुमतिपत्र प्राप्त संस्थाले बोर्डको स्वीकृति लिई देहायका विषयहरुमा आवश्यक विनियमहरु बनाउन सक्नेछः–

(क) सूचीकरण, कारोबार सञ्चालन तथा कारोबार प्रणाली,
(ख) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट व्यवसायी तथा वेयर हाउसको सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा तथा सदस्यता निलम्बन तथा खारेजी,
(ग) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउसको सञ्चालन तथा लगानीकर्ताको हितका लागि अन्य आवश्यक व्यवस्था गर्ने,
(घ) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फस्र्यौट व्यवसायी तथा वेयर हाउसका कर्मचारीको सेवाका शर्त तथा सुविधा र आचरण ।

६३. निर्देशिका बनाई लागू गर्न सक्नेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही बोर्डले वस्तु कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयमा निर्देशिका बनाई लागू गर्न सक्नेछः–

(क) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन,
(ख) वस्तु कारोबारको नियमन लगायत आवश्यक अन्य विषयहरु ।

६४. यसै ऐन बमोजिम हुनेः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा लेखिए जति विषयको हकमा यसै ऐन बमोजिम र अरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।