११. प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
यस ऐनमा लेखिएका अन्य काम, कर्तव्य र अधिकारका अतिरिक्त प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) विशेषज्ञ समूह (थिङ्क टंयाक) को एक स्थायी संस्थाको रुपमा काम गर्ने,
(ख) नेपालले अवलम्बन गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने,
(ग) मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने तत्कालीन, अल्पकालीन वा दीर्घकालीन नीति तथा संचालन गर्नुपर्ने, कार्यक्रम तथा रणनीतिका
सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने,
(घ) नेपालको सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनु पर्ने
उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने,
(ङ) मुलुककोआर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनु पर्ने नीति र उपायका सम्बन्धमा नेपाल
सरकारलाई सुझाव दिने,
(च) निजामती वा सार्वजनिक सेवालाई बढी प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन त्यस्तो सेवामा गर्नुपर्ने
सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(छ) भ्रष्टाचार निवारण, सम्पत्ति शुद्धीकरण निवारण, राजस्व तथा सार्वजनिक सम्पत्तिको हिनामिना वा नोक्सानीको नियन्त्रण, स्वार्थ
बाझिने कार्य (कन्फिल्क्ट अफ ईन्टेरेष्ट) को निवारण, नागरिक बडापत्रको कार्यान्वयन वा पेशागत आचरणको पालनामा प्रभावकारीता ल्याउन नेपाल सरकारले अपनाउनु पर्ने नीतिगत, कानूनी र संस्थागत सुधारको सिफारिस गर्ने,
(ज) सार्वजनिक प्रशासन, विकास प्रशासन, वातावरण संरक्षण, शासकीय सुधार, गरिबी निवारण तथा नेपाल सरकारले अपनाएका विभिन्न
क्षेत्रगत नीति र प्रशासनको पर्यवेक्षण (अब्जरभेशन) गर्ने र त्यसको अध्ययन र अनुसन्धान गरी त्यसमा देखिएका कमी, कमजोरीलाई पहिचान गरी सुधारको नीति तथा उपायहरुको प्रस्ताव सहित सुझाव दिने,
(झ) कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको सम्बन्धमा कुनै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत अनुरोध गरेमा
त्यस्तो नीतिको मस्यौदा गरी कारवाहीको लागि सम्बन्धित मन्त्रालयमा पठाउने,
(ञ) अनुसन्धान र अध्ययनको उपलव्धि वा निष्कर्षलाई सार्वजनिक सूचना,ज्ञान र बहसका लागि प्रकाशन गर्ने,
(ट) प्रतिष्ठानको कार्य सम्पादन गर्न आवश्यकता अनुसार विशेषज्ञहरुको सूची तयार गर्ने,
(ठ) आवश्यकता अनुसार उपर्युक्त विषयमा गोष्ठी, कार्यशाला, प्रवचन
कार्यक्रम संचालन गर्ने,
(ड) प्रतिष्ठानको वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत गर्ने,
(ढ) प्रतिष्ठानको उद्देश्यसंग सम्बन्धित विषयमा पुस्तक, पत्रिका,
अनुसन्धनात्मक प्रतिवेदन आवश्यकता अनुसार प्रकाशन गर्ने,
(ण) मुलुकका विभिन्न विश्वविद्यालय, अध्ययन संस्थान तथा समान उद्देश्यभएका स्वदेशी तथा विदेशी संघ, संस्था वा विश्वविद्यालय वा
अन्तर्राष्ट्रिय संस्थासंग सम्पर्क राख्ने तथा सहकार्य गर्ने ।