परिच्छेद-१० विविध

परिच्छेद-१० विविध

 

५९.  गुनासो व्यवस्थापनः  (१) कार्यकारी निर्देशकले आयोजना कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय समुदाय, स्थानीय तह वा सर्वसाधारण लगायत विभिन्न माध्यमबाट आउन सक्ने गुनासो व्यवस्थापन गर्न आयोजना कार्यालयमा एक गुनासो व्यवस्थापन इकाईको व्यवस्था गर्नु पर्नेछ ।

(२) गुनासो व्यवस्थापन सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

६०.  आपतकालीन उद्धार सम्बन्धी व्यवस्था:- (१) आयोजना कार्यालयले आयोजना कार्यान्वयनको सिलसिलामा आयोजना क्षेत्र तथा वरपर कुनै दुर्घटना परी वा अन्य आपतकालीन स्थिति श्रृजना भएमा त्यसको तत्काल उद्धार सम्बन्धी कार्यमा मद्दत पुर्याउने छ ।

(२) उपदफा (१) बमोजिम उद्धार सम्बन्धी कार्य गर्दा जिल्ला विपद व्यवस्थापन समिति तथा अन्य कुनै निकायसंग समन्वय गर्नु परेमा त्यस्तो काम समेत गर्नु पर्नेछ ।

(३) आयोजना कार्यान्वयनको कारण श्रृजित आपतकालीन अवस्थामा गरिने उद्धार सम्बन्धी कार्यको आर्थिक दायित्व आयोजना कार्यालयबाट व्यहोर्नु पर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोजनाको निर्माण कार्यको लागि कुनै फर्म, कम्पनी वा निर्माण व्यवसायीसंग सम्झौता गरिएकोमा त्यस्तो फर्म, कम्पनी वा निर्माण व्यवसायीको तर्फवाट आयोजनामा कार्यरत व्यक्तिहरुको उद्धार कार्य गर्नु पर्ने अवस्था श्रृजना भएमा त्यसको आर्थिक दायित्व सोही फर्म, कम्पनी वा निर्माण व्यवसायीले ब्यहोर्नु    पर्नेछ ।

६१.  आयोजना कार्यान्वयनमा अवरोध गर्न नहुनेः (१) आयोजनाको कार्यान्वयन प्रारम्भ भएपछि त्यसको कार्यान्वयनमा बाधा अवरोध हुने गरी कसैले पनि आयोजना स्थल वा त्यसको आसपासमा कुनै किसिमको जुलुश, धर्ना, घेराउ, बन्द वा हडताल गर्न सकिने छैन ।

           (२) आयोजनाको प्रयोजनका लागि कामदार, कर्मचारी, निर्माण सामाग्री, मेशिन, उपकरण वा त्यसको पाटपूर्जा वा इन्धन परिवहन वा ढुवानी गर्दा सवारी वा ढुवानी साधनको आवागमनमा कसैले बाधा अवरोध गर्न वा गराउन हुँदैन ।

(३) उपदफा (२) को प्रयोजनका त्यस्तो सवारी वा ढुवानी साधनमा सर्वसाधारणले स्पष्ट देखिने गरी आयोजनाको प्रयोजनका लागि प्रयोग भएको व्यहोराको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रमाणपत्र राख्नु पर्नेछ ।

६२.  प्रवेश विन्दु खोल्न नहुनेः-(१) कुनै राजमार्ग, द्रुतमार्गमा वा त्यसको कुनै सहायक मार्ग वा रेलमार्ग वा सिंचाईको नहर निर्माण गर्नु पर्ने आयोजना भए त्यस्तो आयोजनाको डिजायनमा निर्धारण भएको विन्दुमा बाहेक कसैले कुनै थप प्रवेश विन्दु वा प्रस्थान विन्दु (बाइपास) निर्माण गरी वा खुलाइ द्रुतमार्ग वा सहायक मार्गमा जोड्न सक्ने छैन ।

(२) आयोजना कार्यालयले आयोजना स्थलको आवश्यकता अनुशार वा स्वीकृत डिजाईन अनुसार राजमार्ग, रेलमार्ग, द्रुतमार्गमा वा त्यसको कुनै सहायक मार्गको विभिन्न स्थानमा यात्रु तथा जनावरको सहज आवागमन वा सवारी प्रवेशको लागि सव वे, अन्डर पास वा ओभरहेड पुलको निर्माण गर्न  सक्नेछ ।

(३) निर्धारित ठाउँमा वाहेक राजमार्ग, द्रुतमार्गमा वा त्यसको कुनै सहायक मार्ग वा रेलमार्ग वा सिंचाईको नहरको दुबै तर्फ आवश्यकता अनुशार मानिस, जनावर वा वन्यजन्तु प्रवेश गर्न नसक्ने गरी तारवार, पर्खाल आदि निर्माण गरी सुरक्षित बनाउनु पर्नेछ ।

६३.  कसूर तथा सजायः– (१) देहायको कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ:

(क)   जग्गा प्राप्तिको सिलसिलामा यस ऐन वा प्रचलित कानून बमोजिम कुनै काम गर्दा बाधा, विरोध वा हुल हुज्जत गरेमा,

(ख)   दफा ५२ विपरित अनधिकृत प्रवेश गरेमा,

(ग)   आयोजना कार्यान्वयनको सिलसिलामा स्थानीय निर्माण सामग्री प्रयोग गर्दा कुनै किसिमले बाधा, विरोध वा हुल हुज्जत गरेमा,

(घ)   दफा ६१ बमोजिमका कुनै काम गरेमा वा सोही दफा बमोजिम जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रमाणपत्रको दुरुपयोग गरेमा,

(ङ)   दफा ६२ विपरित प्रवेश वा प्रस्थान विन्दु निर्माण गरेमा ।

(२) उपदफा (१) बमोजिमको कसूर गरेमा देहाय बमोजिमको सजाय हुनेछः–

(क)   खण्ड (क), (ग) वा (घ) बमोजिमको कसूर गरेमा तीन महिनासम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय,

(ख)   खण्ड (ख) बमोजिमको कुनै कसूर गरेमा पाँच हजार रुपैयाँ सम्म जरिवाना,

(ग)   खण्ड (ङ) बमोजिमको कसूर गरेमा एक लाख रुपैंयासम्म जरिवाना ।

(३) उपदफा (१) बमोजिमको कुनै काम भएमा कार्यकारी निर्देशक वा आयोजना कार्यालयको कुनै कर्मचारीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्नेछ ।

(४) उपदफा (१) बमोजिमको कसूर सम्बन्धी मुद्दाको कारबाई र किनारा गर्ने अधिकार आयोजना प्रमुखको उजूरी निवेदन बमोजिम सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई    हुनेछ ।

(५) उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूर भएकोमा कसूरदारबाट त्यस्तो प्रवेश वा प्रस्थान विन्दु निजको खर्चमा नै बन्द गराउनु पर्नेछ ।

(६) यस दफा बमोजिमको उजुरीको कारबाई र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।

६४.  बाधा अड्काउ फुकाउने अधिकारः– निर्धारित अवधि भित्र आयोजना निर्माण सम्पन्न गर्न वा त्यसको गुणस्तर कायम गर्न कुनै बाधा अड्काउ देखिएमा निर्देशक समितिले आवश्यक व्यवस्था गरी त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ ।

६५.  यस ऐन बमोजिम हुने:- आयोजना कार्यान्वयन, निर्माण, विकास, समन्वय र व्यवस्थापन सम्बन्धी विषयमा यस ऐनमा लेखिएको कुरामा यसै ऐन बमोजिम र अन्य विषयमा प्रचलित कानून बमोजिम हुनेछ ।

६६.  नियम बनाउन सक्ने:- यो ऐन कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।

६७.  कार्यविधि बनाइ लागू गर्न सक्ने:- (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही आयोजना कार्यान्वयनका लागि निर्देशक समितिले आवश्यक कार्यविधि बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बनाएको कार्यविधि सर्वसाधारणको जानकारीको लागि आयोजना कार्यालयले सार्वजनिक गर्नु पर्नेछ ।