परिच्छेद-३ जिल्ला न्यायाधीशको पदमा नियुक्तिका लागि परीक्षा संचालन र सिफारिस

परिच्छेद-३ जिल्ला न्यायाधीशको पदमा नियुक्तिका लागि परीक्षा संचालन र सिफारिस

९.      परीक्षण विधिः आयोगले संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीशको पदमा छनौट गर्दा लिखित परीक्षा र अन्तरवार्ताका आधारमा योग्यताक्रम कायम गरि सोही आधारमा सिफारिस गर्नेछ ।

१०.    पाठ्यक्रम निर्माण: (१) संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदको परीक्षाको पाठ्यक्रम निर्माण वा परिमार्जन गर्न देहाय बमोजिमको समिति रहनेछ ।

(क) सचिव, न्याय परिषद्                            – संयोजक

(ख) सह-रजिष्ट्रार, सर्वोच्च अदालत                     – सदस्य

(ग) सह-सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय- सदस्य

(घ) सह-न्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय       – सदस्य

(ङ) सह-सचिव, लोकसेवा आयोग (पाठ्यक्रम हेर्ने)         – सदस्य

(च) आयोगले तोकेको पाठ्यक्रम विज्ञ                   – सदस्य

(छ) सह-सचिव, न्याय परिषद् सचिवालय           – सदस्य सचिव

(२) उपनियम (१) बमोजिमको समितिले पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्दा आवश्यकता अनुसार विज्ञहरुलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(३) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

११.    पाठ्यक्रमको स्वीकृतीः (१) सचिवालयले नियम १० बमोजिमको समितिले तयार गरी पेस गरेको पाठ्यक्रमको मस्यौदा उपर राय परामर्शका लागि न्याय परिषद् तथा लोक सेवा आयोगमा लेखि पठाउनु पर्नेछ ।

(२) न्याय परिषद् तथा लोकसेवा आयोगबाट राय परामर्श प्राप्त भए पछि प्राप्त राय परामर्शका आधारमा आवश्यकता अनुसार पाठ्यक्रममा परिमार्जन गरी स्वीकृतिका लागि आयोगमा पेश गर्नु पर्नेछ ।

१२.    विज्ञापन प्रकाशन: (१) आयोगले विज्ञापन प्रकाशन गर्दा रिक्त पदसंख्या, आवश्यक न्यूनतम योग्यता, परीक्षा दस्तुर, दरखास्त फाराम बुझाउने म्याद र स्थान, परीक्षा हुने मिति तथा परीक्षाको तरिका समेत खुलाई राष्ट्रियस्तरको दैनिक समाचारपत्रिका, आयोगको वेबसाइट तथा आवश्यकता अनुसार अन्य सञ्चार माध्यम मार्फत प्रकाशन गर्नेछ।

(२) उपनियम (१) बमोजिम दरखास्त फाराम बुझाउने म्याद पहिलो पटक विज्ञापन प्रकाशन भएको मितिले कम्तीमा ३० (तीस) दिनको हुनेछ ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दरखास्त फाराम बुझाउने म्याद समाप्त भएको मितिले सात दिनभित्र दोब्वर दस्तुर तिरी  दरखास्त फाराम बुझाउन सकिनेछ ।

तर यस अवधिमा प्राप्त भएको शैक्षिक योग्यता, तालीम, अनुभव वा सेवा अवधि गणना गरिने छैन ।

(४) यस नियममा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विशेष परिस्थिति परी दरखास्त फाराम बुझाउने म्याद थप गर्न आवश्यक छ भन्ने आयोगलाई लागेमा आयोगले दरखास्त फाराम बुझाउने म्याद थप गर्न सक्नेछ ।

१३. दरखास्त फाराम बुझाउने : नियम १२ बमोजिम प्रकाशित विज्ञापन बमोजिमको प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले आयोगले निर्धारण गरे बमोजिमको दरखास्त फाराम भरी आवश्यक परीक्षा दस्तुर सहित विज्ञापनमा उल्लेख भएको म्यादभित्र आयोगबाट तोकिएको स्थानमा दरखास्त फाराम बुझाउनु पर्नेछ ।

१४.    दरखास्त फाराम उपर छानबिन : (१) नियम १३ बमोजिम आयोगमा प्राप्त दरखास्त फाराम उपर विज्ञापनमा उल्लेख भए बमोजिम रीत पुगे नपुगेको सम्बन्धमा सचिवालयले छानबिन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दरखास्त फाराम उपर छानबिन गर्दा म्यादभित्र प्राप्त नभएको, न्यूनतम योग्यता नपुगेको, विज्ञापनमा उल्लिखित अन्य विवरण नखुलाएको वा नमिलेको, परीक्षा दस्तुर नबुझाएको वा अन्य रीत नपुगेको पाइएमा त्यस्तो दरखास्त फाराम उपर कुनै कारबाही गरिने छैन ।

(३) उपनियम (१) र (२) बमोजिम दरखास्त फाराम उपर छानबिन गर्दा उम्मेदवारको दरखास्त रीतपूर्वकको देखिएमा दर्ता गरी परीक्षामा सहभागी हुनको लागि आयोगले निर्धारण गरेको ढाँचामा प्रवेशपत्र उपलब्ध गराईनेछ ।

(४) उपनियम (३) बमोजिम आयोगले प्रदान गरेको प्रवेशपत्र हराएमा वा नासिएमा सम्बन्धित व्यक्तिको निवेदन मागका आधारमा आयोगले निर्धारण गरेको दस्तूर लिई प्रवेशपत्रको प्रतिलिपी उपलब्ध गराईनेछ ।

(५) कुनै पनि उम्मेदवारको दरखास्त फाराम शर्त राखी स्वीकृत गरिने छैन ।

(६) कुनै उम्मेदवारको दरखास्त फाराम रीत पूर्वकको नदेखिएमा त्यस्तो दरखास्त फाराम जुनसुकै अवस्थामा पनि रद्द गर्न सकिनेछ ।

१५.    उम्मेदवारको नामावली प्रकाशनः आयोगले दरखास्त फाराम बुझाउने म्याद समाप्त भएपछि दरखास्त फाराम स्वीकृत भएका सबै उम्मेदवारहरूको नामावली सूचना पाटी तथा सचिवालयको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।

१६.    परीक्षाकेन्द्र र स्थान : नियम १५ बमोजिम उम्मेदवारको नामावली प्रकाशन भएपछि आयोगले परीक्षाकेन्द्र र स्थान तोकी सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गर्नेछ ।

१७.    प्रश्नपत्रको भण्डारण तथा छपाई : (१) ऐनको दफा १८ बमोजिम निर्माण र परिमार्जन गरिएका प्रश्नपत्रको भण्डारण गर्न आयोगमा एक प्रश्नपत्र भण्डार रहनेछ ।

(२) उपनियम (१) बमोजिमको प्रश्नपत्र भण्डार आयोगको सचिवको सामान्य रेखदेख र नियन्त्रणमा सम्बन्धित महाशाखा प्रमुखको जिम्मामा रहनेछ ।

(३) प्रश्नपत्रको छपाई सम्बन्धी काम आयोगको सचिवले तोकेको कर्मचारीले गर्नु पर्नेछ ।

१८.    परीक्षा सञ्चालनः (१) आयोगले पदपूर्तिको लागि प्रकाशन गरेको विज्ञापन बमोजिम उम्मेदवारको छनौट गर्न सोही विज्ञापनमा उल्लेख भए बमोजिम परीक्षा सञ्चालन गर्नेछ ।

(२) परीक्षा संचालन सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

१९.    परीक्षाका चरणहरुः (१) संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिमको परीक्षा लिखित र अन्तरवार्ता गरी दुई चरणमा लिइनेछ ।

(२) संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम लिईने लिखित परीक्षा छुट्टाछुट्टै वा संयुक्त रुपमा संचालन गर्न सकिनेछ ।

२०.    उत्तरपुस्तिकाको परीक्षण : (१) आयोगले लिखित परीक्षाको उत्तरपुस्तिकाको परीक्षण सम्बन्धित विषयको विज्ञद्वारा गराउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम उत्तरपुस्तिका परीक्षणको लागि आयोगले आवश्यकता अनुसार परीक्षण गर्ने तरिका र मूल्याङ्कन गर्ने विधि समेत सम्बन्धित विज्ञ दक्षलाई उपलब्ध गराउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको उत्तरपुस्तिका आयोगले सम्बन्धित विज्ञबाट समयमै गोप्य रुपमा परीक्षण गराउनेछ ।

२१.    उत्तरपुस्तिका रुजु : (१) नियम २० को उपनियम (३) बमोजिम विज्ञबाट परीक्षण भएका उत्तरपुस्तिका रुजु गरी राखिनेछ ।

(२) उत्तरपुस्तिका रुजु गर्दा देहायका कुराहरूलाई ध्यान दिनु पर्नेछ :–

(क) उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अङ्क दिइएको छ, छैन,

(ख) परीक्षकले दिएका सबै अङ्कहरू ठीकसँग जोडिएको छ, छैन,

(ग) आयोगले तोकेका अन्य कुराहरू ।

२२.    उत्तरपुस्तिकाको सम्परीक्षण तथा पुनःपरीक्षणः (१) आयोगले आवश्यक देखेमा नियम २० बमोजिम परीक्षण भएका उत्तरपुस्तिकामध्ये सबै वा केही उत्तरपुस्तिका सम्परीक्षण गराउन सक्नेछ।

(२) उपनियम (१) बमोजिम उत्तरपुस्तिका सम्परीक्षण गर्दा कुनै विज्ञ वा दक्षले पालना गर्नु पर्ने शर्तहरु पालना गरेको नपाइएमा त्यस्ता विज्ञले परीक्षण गरेका उत्तरपुस्तिकाको पुनःपरीक्षण गराईनेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि उत्तरपुस्तिकाको पुनः परीक्षण गरिने छैन ।

२३.     लिखित परीक्षाको नतिजा : ऐनको दफा २३ बमोजिम आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा लिखित परीक्षामा प्राप्त अङ्कका आधारमा रिक्त पदको अनुपातमा अनुसूची–५ बमोजिमको सङ्ख्यामा वर्णानुक्रम अनुसार प्रकाशन गर्नु पर्नेछ ।

२४.    पुनर्योग : (१) आयोगले सञ्चालन गरेको लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि कुनै उम्मेदवारले आफ्नो लिखित परीक्षाको कुनै वा सबै पत्रको पुनर्योग गरी पाउँ भनी पुनर्योग गर्नु पर्ने पत्र उल्लेख गरी प्रति पत्र सो पदका लागि तोकिएको परीक्षा दस्तुरको आधा दस्तुर संलग्न गरी लिखित परीक्षाको नतिजा प्रकाशन भएको सात दिनभित्र आयोगमा निवेदन दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा आयोगको सचिवले लिखित परीक्षाको प्राप्तांकको पुनर्योग गरी निवेदकलाई सो को नतिजा जानकारी गराउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम पुनर्योग गर्दा निवेदकको नाम लिखित परीक्षाको नतिजामा समावेश गर्नु पर्ने देखिएमा नियम १९ र २३ बमोजिमको नतिजामा समावेश गरिनेछ ।

२५.    अन्तरवार्तामा समावेश गराईने : ऐनको दफा २३ तथा नियम २३ र २४ बमोजिम प्रकाशित नतिजामा नाम समावेश भएका उम्मेदवारहरूलाई मात्र अन्तरवार्तामा समावेश गराइनेछ ।

२६.    अन्तरवार्ता समितिको गठनः (१) आयोगका अध्यक्ष वा निजले तोकेको सदस्यको अध्यक्षतामा एक जना विज्ञ वा दक्ष समेत रहने गरी बढीमा पाँच जना सदस्य रहेको अन्तरवार्ता समिति गठन हुनेछ ।

(२) आयोगको अध्यक्षले सामान्यतया अन्तर्वार्ता हुने मिति भन्दा एक दिन अगाडि अन्तर्वार्ता समितिको गठन गर्नेछ ।

(३) उपनियम (१) बमोजिम गठित अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यलाई गोप्य तरिकाले सूचना गर्नु पर्नेछ ।

(४) अन्तरवार्ता समिति गठन सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

२७.    अन्तरवार्ताको मूल्याङ्कन सम्बन्धी व्यवस्थाः (१) अन्तरवार्तामा उम्मेदवारको मूल्याङ्कन गर्नको लागि अनुसूची–६ बमोजिमको फाराम प्रयोग गरिनेछ ।

(२) अन्तर्वार्ताको अङ्कभार देहाय बमोजिम हुनेछ ।

(क)   एक सय पूर्णाङ्कको लिखित परीक्षाको लागि बीस अङ्क ।

(ख)   एक सय भन्दा माथि प्रत्येक एक एक सय पूर्णाङ्कको लागि थप दश अङ्क।

(३) अन्तरवार्ता समितिको प्रत्येक सदस्यलाई पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरण एक एक प्रति उपलब्ध गराउनु पर्नेछ ।

(४) अन्तर्वार्तामा पूर्णाङ्कको सत्तरी प्रतिशतभन्दा बढी वा चालीस प्रतिशतभन्दा घटी अङ्क दिनु परेमा सोको कारण खुलाउनु पर्नेछ । यसरी कारण नखुलाई अधिकतम भन्दा बढी वा न्यूनतम भन्दा घटी अङ्क दिएकोमा बढीमा सत्तरी प्रतिशत र घटीमा चालीस प्रतिशत अङ्क दिएको मानी गणना गरिनेछ ।

(५) अन्तरवार्ता समितिको कुनै सदस्यले कारण खुलाई कुनै उम्मेदवारलाई उपनियम (४) बमोजिम सत्तरी प्रतिशत भन्दा बढी वा चालीस प्रतिशत भन्दा कम अङ्क प्रदान गरेको अवस्थामा पनि अन्तरवार्ता समितिका पचास प्रतिशत भन्दा बढी सदस्यले त्यसरी कारण खुलाई कम वा बढी अङ्क प्रदान गरेको अवस्थामा मात्र मान्य हुनेछ । अन्यथा बढीमा सत्तरी प्रतिशत र घटीमा चालीस प्रतिशत नै अङ्क मानी गणना गरिनेछ ।

(६) अन्तरवार्ता समितिको अध्यक्ष वा सदस्यको अन्तरवार्तामा भाग लिने कुनै उम्मेदवारसँग अनुसूची–६ मा उल्लिखित नाता पर्ने भएमा अन्तरवार्ता समितिको त्यस्तो अध्यक्ष वा सदस्यले उक्त दिनको अन्तरवार्तामा बस्न हुँदैन । यसरी नाताभित्र पर्ने व्यक्तिको अन्तरवार्तामा बसेको कुरा अन्तिम नतिजा प्रकाशन हुनुपूर्व जानकारी हुन आएमा सो अन्तरवार्ताकर्ताले दिएको अंक बाहेक गरी बांकी अन्तरवार्ताकर्ताको औषत अंक गणना गरिनेछ ।

२८.    अग्रिम वा छुट अन्तरवार्ता लिन सकिनेः (१) लिखित परीक्षाको प्रकाशित नतिजामा समावेश भएको कुनै उम्मेदवारले अन्तरवार्ताको लागि तोकिएको मितिभन्दा अगाडि नै अन्तरवार्ता लिइदिन सो को आधार र कारण उल्लेख गरी निवेदन दिएमा र निवेदनको व्यहोरा मनासिव देखिएमा आयोगले त्यस्तो व्यक्तिको लागि अग्रिम अन्तरवार्ता लिने व्यवस्था गर्न सक्नेछ ।

(२) कुनै उम्मेदवारले देहायको अवस्था परी अन्तरवार्ताको लागि आयोगबाट निर्धारण भएको मिति र समयमा उपस्थित हुन नसकेमा सोको प्रमाण सहित अन्तरवार्ताका लागि तोकिएको मितिले उम्मेदवार आफै किरिया बस्नु परेको वा सुत्केरी भएको हकमा पन्ध्र दिन र अन्य अवस्थाको हकमा सात दिनभित्र निवेदन दिएमा आयोगले निवेदनको व्यहोरा मनासिव देखेमा छुट अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्नेछः–

(क) किरिया बस्नु परेमा,

(ख) सुत्केरी भएमा,

(ग) अन्तर्वार्तामा उपस्थित हुन नसक्ने बिरामी भएमा,

(घ) काबु बाहिरको परिस्थिति परेमा ।

(३) अग्रिम तथा छुट अन्तरवार्तामा समावेश हुने उम्मेदवारले तोकिएको परीक्षा दस्तुरको दोव्वर दस्तुर बुझाउनु पर्नेछ ।

२९.    अन्तिम नतिजाको लागि योग्यताक्रमको सूची प्रकाशनः (१) आयोगबाट लिइएको परीक्षामा उम्मेदवारले प्राप्त गरेको अङ्कको आधारमा योग्यताक्रमको सूची तयार गरी ऐनको दफा २५ बमोजिम अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम योग्यताक्रमको सूची तयार गर्दा उम्मेदवारहरूको कुल प्राप्ताङ्क बराबर भएमा देहायका आधारमा योग्यताक्रम कायम गर्नु पर्नेछ :–

(क)    लिखित परीक्षाको प्राप्ताङ्कका आधारमा,

(ख)     खण्ड (क) बमोजिम उम्मेदवारको योग्यताक्रम नछुट्टिएमा अतिरिक्त शैक्षिक योग्यता भए सो योग्यतामा प्राप्त अंकको प्रतिशतका आधारमा,

(ग)     खण्ड (ख) बमोजिम पनि उम्मेदवारको योग्यताक्रम नछुट्टिएमा न्यूनतम शैक्षिक योग्यताको प्राप्ताङ्कको प्रतिशतको आधारमा ।

३०.    वैकल्पिक उम्मेदवारको सूचीः नियम २९ बमोजिम उम्मेदवारको योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्दा अनुसूची–७ बमोजिमको सङ्ख्यामा बैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ ।

तर, वैकल्पिक उम्मेदवारको सूची प्रकाशन गर्दा पर्याप्त सङ्ख्यामा उम्मेदवार उपलब्ध हुन नसकेमा सो अनुसूचीमा उल्लेख भएको भन्दा कम सङ्ख्यामा पनि उम्मेदवारको वैकल्पिक सूची प्रकाशन गर्न सकिनेछ ।

३१.    सिफारिसः ऐनको दफा २६ बमोजिम आयोगले न्याय परिषद् समक्ष सिफारिस पठाउँदा सम्बन्धित उम्मेदवारले बुझाएको एक प्रति दरखास्त फाराम र सो साथ पेश भएका सक्कलै कागजात पठाउनु पर्नेछ ।

३२.    वैकल्पिक उम्मेदवार सिफारिसः (१) आयोगले देहायको अवस्थामा वैकल्पिक उम्मेदवारको सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्तिको लागि सिफारिस गर्नेछः–

(क)    नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना पाएको वा सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र नलिएमा,

(ख)     नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारको सिफारिस भएको मितिले एक वर्षभित्र मृत्यु भई वा निजले नियुक्ति लिएको पदबाट राजीनामा दिई वा निजले नियुक्ति लिएको पद अन्य कुनै तरिकाले रिक्त हुन आएमा ।

(२) उपनियम (१) को खण्ड (क) वा (ख) बमोजिमको अवस्था परेमा न्याय परिषद्ले पद रिक्त भएको मितिले सात दिनभित्र आयोगलाई जानकारी दिनु पर्नेछ ।

३३.    विज्ञ वा दक्षको सूची राख्‌नेः (१) आयोगले जिल्ला न्यायाधीशको परीक्षाका लागि पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्न, प्रश्न प्रत्र तयार गर्न, उत्तरपुस्तिका परीक्षण गर्न र अन्तर्वार्ता सम्बन्धी कामका लागि विज्ञ वा दक्षको सूची तयार गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सूची आवश्यकता अनुसार आयोगले अद्यावधिक गर्नेछ ।