परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५” रहेको छ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “पशु” भन्नाले जुनसुकै प्रकारका पाल्तु वा जंगली जनावर सम्झनु पर्छ र सो शब्दले पंक्षी र माछालाई समेत जनाउँछ ।
(ख) “पशुजन्य पदार्थ” भन्नाले पशुको मासु, रगत, बोसो, पित्त, दूध, फूल, हाड, छाला, सि·, खुर, प्वाँख, ऊन, भुत्ला, रौं, भ्रृ‍‌ण, वीर्य, ग्रन्थी, मल, मुत्र वा सोबाट बनाइएको अप्रशोधित वस्तु सम्झनु पर्छ ।
(ग) “पशु उत्पादन सामग्री” भन्नाले पशु स्वास्थ्यमा, कृत्रिम गर्भाधानमा वा जैविक पदार्थ उत्पादनमा उपयोग हुने प्रशोधित वा अप्रशोधित सामग्री सम्झनु पर्छ ।
(घ) “जैविक पदार्थ (वायोलोजिकल्स)” भन्नाले पशु विकास वा पशु स्वास्थ्यको लागि प्रयोग गरिने जीवाणु वा विषाणुयुक्त औषधी, खोप वा जैविक रसायन सम्झनु पर्छ ।
(ङ) “क्वारेन्टाइन चेकपोष्ट” भन्नाले नेपाल सरकारले दफा ३ बमोजिम स्थापना गरेको पशु क्वारेन्टाइन चेकपोष्ट सम्झनु पर्छ ।
(च) “क्वारेन्टाइन” भन्नाले कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा कुनै रोग लागेको छ छैन भन्ने कुरा यकिन गर्न पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई कुनै खास ठाउँमा तोकिएको अवधिभर परीक्षणको लागि एकैसाथ वा छुट्टा छुट्टै राख्ने काम सम्झनु पर्छ ।
(छ) “क्वारेन्टाइन अधिकृत” भन्नाले दफा ५ बमोजिम नियुक्ति गरिएको क्वारेन्टाइन अधिकृत सम्झनु पर्छ ।
(ज) “क्वारेन्टाइन स्थल” भन्नाले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई परीक्षणको लागि क्वारेन्टाइनमा राखिने ठाउँ सम्झनु पर्छ ।
(झ) “संक्रामक रोग” भन्नाले अनुसूचीमा उल्लिखित रोगहरु र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य रोगहरुलाई समेत जनाउँछ ।
(ञ) “विभाग” भन्नाले नेपाल सरकार, पशु सेवा विभाग सम्झनु पर्छ ।
(ट) “कार्यालय प्रमुख” भन्नाले ……………. पशु सेवा कार्यालय वा तोकिएको अन्य कार्यालयको प्रमुख भई काम गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ठ) “भेटेनरी निरीक्षक” भन्नाले दफा २५ बमोजिम नियुक्ति गरिएको वा तोकिएको अधिकृत सम्झनु पर्छ ।
(ड) “पैठारीकर्ता” भन्नाले नेपाल बाहिरबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री पैठारी गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ढ) “निकासीकर्ता” भन्नाले नेपाल अधिराज्यबाट पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।