परिच्छेद – ६ विविध

परिच्छेद – ६ विविध

२५. भेटेनरी निरीक्षकको नियुक्ति : (१) नेपाल सरकारले पशु औषधी वा जैविक पदार्थको गुणस्तर निर्धारित मापदण्ड अनुसार भए नभएको जाँच गर्न आवश्यक स्थान र संस्थामा भेटेनरी निरीक्षकहरु नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्ति हुने भेटेनरी निरीक्षकहरुको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

२५क. प्रदेश तथा स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कार्य गर्न सक्ने: (१) प्रदेश तथा स्थानीय तहले पशुपालन व्यवसायलाई व्यवस्थित र विकसित गर्न किसानलाई पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम प्रदेश र स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउँदा यस ऐन बमोजिमको मापदण्डको अधीनमा रही उपलब्ध गराउनु पर्नेछ।”

२६. अधिकार प्रत्यायोजन : यस ऐन बमोजिम, कार्यालय प्रमुख, पशु चिकित्सक, क्वारेन्टाइन अधिकृत वा भेटेनरी निरीक्षकलाई प्राप्त अधिकार मध्ये मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आवश्यकता अनुसार निजले आफू मातहतका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
२७. पशु प्रति निर्दयी व्यवहार गर्न रोक लगाउन सक्ने : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पशु प्रति हुने निर्दयी व्यवहार रोक्नको लागि एउटा समिति गठन गर्न सक्नेछ र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार सोही सूचनामा तोकिदिए बमोजिम हुनेछ ।
२८. जाँचबुझ गर्न सक्ने : (१) कार्यालय प्रमुखलाई कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीमा संक्रामक रोक लागेको छ भन्ने शंका लागेमा त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री रहेको जुनसुकै स्थानमा प्रवेश गरी जाँचबुझ गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीको जाँचबुझ गर्दा दफा १० बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका रोगहरु लागेको पाइएमा कार्यालय प्रमुखले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई हटाउन वा नष्ट गर्न आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित धनीले पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन
सामग्री नहटाएमा वा नष्ट नगरेमा कार्यालय प्रमुख आफैंले त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउन वा नष्ट गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री हटाउँदा वा नष्ट गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित धनीबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
२९. नष्ट गर्ने कार्यविधि : यस ऐन बमोजिम मृत पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
३०. बाधा नहुने : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रशोधित पशुजन्य पदार्थमा संक्रामक रोग लागेको आशंका भएमा त्यस्तो प्रशोधित पशुजन्य पदार्थलाई क्वारेन्टाइनमा राखी परीक्षण गर्न बाधा पुर्‍याएकाे मानिने छैन ।
३१. अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार : नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकतानुसार हेरफेर तथा थपघट गर्न सक्नेछ ।
३२. प्रचलित कानून बमोजिम हुने : यस ऐनमा लेखिएजति कुरामा यसै ऐन बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।
३३. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।
३४. संशोधन : संक्रामक रोग ऐन, २०२० मा ठाउँ ठाउँमा प्रयोग भएका “पशु, पंक्षी वा” भन्ने शब्दहरु झिकिएका छन्।