परिच्छेद -२ रोजगार सम्बन्धी व्यवस्था
३. नियमित रोजगारीः (१) ऐनको दफा १० को उपदफा (२) बमोजिम कुनै रोजगारी नियमित हो वा होइन भन्ने प्रश्न उठेमा सम्बन्धित रोजगारदाता वा श्रमिकले सो बारेमा यकिन गरिदिन कार्यालय समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कसैको निवेदन परेमा कार्यालयले एक महिनाभित्र श्रमिकले गरिआएको कामको प्रकृति र देहायका कुरा समेतको आधारमा त्यस्तो रोजगारी नियमित रोजगारी हो वा होइन भन्ने बारे निर्णय दिनु पर्नेछः-
(क) कुनै श्रमिकलार्इ काम गर्न तोकिएको अवधि सकिएपछि त्यस्तो कामलार्इ निरन्तरता दिनु पर्ने वा नपर्ने र निरन्तरता दिनु पर्ने भए तत्काल अर्को श्रमिक आवश्यक पर्ने वा नपर्ने,
(ख) त्यस्तो काम सम्पन्न गर्ने अवधि नतोकिएको भए नियमित रुपमा एक वर्षभन्दा बढी अवधि काम गरेको हो, होर्इन।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन वा यस नियमावली बमोजिम विभागमा दिएको कुनै निवेदन वा अदालतमा परेको कुनै मुद्दामा कुनै रोजगारी नियमित हो वा होइन भन्ने प्रश्न उठेमा विभाग वा अदालतले सो विषयमा समेत निर्णय दिन सक्नेछ।
४. रोजगार सम्झौता गर्दा विवरण खुलाउनु पर्नेः ऐन र यस नियमावली बमोजिम श्रमिक र रोजगारदाताबीच गरिने रोजगार सम्झौतामा ऐनको दफा ११ को उपदफा (३) मा उल्लेख गरिएका विषयका अतिरिक्त देहायका विवरण समेत खुलाउनु पर्नेछ:–
(क) रोजगारीको प्रकार,
(ख) श्रमिकले गर्नुपर्ने मुख्य काम र पद,
(ग) ऐनको दफा १०८ बमोजिम बनेको विनियमावली सम्झौताको अभिन्न अङ्ग हुने कुरा,
(घ) रोजगार सम्झौता भएको स्थान, समय र सो सम्झौता लागू हुने मिति,
(ङ) श्रमिकले दिने सेवा वा काम सम्बन्धी अन्य आवश्यक शर्तहरु ।
५. श्रमिकलाई जगेडा राख्दा सूचना दिनु पर्नेः (१) ऐनको दफा १५ को उपदफा (१) बमोजिम कुनै श्रमिकलाई जगेडामा राख्नु अघि रोजगारदाताले सोको सूचना सम्बन्धित श्रमिकलार्इ दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचनामा देहायका कुराहरू खुलाउनु पर्नेछः-
(क) श्रमिकलाई जगेडामा राख्नु पर्ने कारण,
(ख) जगेडामा राख्नु पर्ने अवधि,
(ग) जगेडामा राखिएका श्रमिकको नाम, पद, कार्यरत शाखा वा एकाइ र कार्यविवरण,
(घ) जगेडामा रहेको अवधिभर श्रमिकलार्इ ऐनको दफा ३९ बमोजिम निजले खाइपाइ आएको पारिश्रमिकको आधा पारिश्रमिक दिने कुरा,
(ङ) रोजगारदाताले आवश्यक ठानेका अन्य कुराहरू ।
(३) श्रमिकलाई आंशिक रुपमा जगेडा राख्दा सम्भव भएसम्म समान प्रकृतिको काममा आलोपालो गरी जगेडामा राख्ने व्यवस्था मिलाउनु पर्नेछ र त्यसरी आलोपालो राखिएको कुरा समेत उपनियम (१) बमोजिमको सूचनामा उल्लेख गर्नु पर्नेछ।
६. श्रमिकलाई अन्य निकाय वा समयमा काममा लगाउन सकिनेः (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले ऐनको दफा १५ बमोजिम जगेडामा राखेको कुनै श्रमिकलार्इ सो अवधिमा सोही प्रतिष्ठानको अन्य विभाग, एकाइ वा प्रतिष्ठान मातहतको अन्य निकायमा काममा लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम काममा लगाइएको श्रमिकलार्इ निजको स्वीकृति बिना निजले गरी आएसरहको कामभन्दा न्यूनस्तरको काममा लगाउन वा निजले खाइपाइ आएको भन्दा कम पारिश्रमिक तथा सुविधा पाउने गरी काममा लगाउन पाइने छैन।
(३) ऐनको दफा १५ को उपदफा (१) मा उल्लिखित कारण बाहेक अन्य कुनै मनासिब कारणबाट प्रतिष्ठान सञ्चालन हुन नसकेमा रोजगारदाताले त्यसरी प्रतिष्ठान सञ्चालन हुन नसकेको दिन वा समयको सट्टा अन्य कुनै दिन वा समयमा श्रमिकलार्इ काममा लगाउन सक्नेछ।
(४) यस नियम बमोजिम अन्य निकाय वा समयमा श्रमिकलार्इ काममा लगाउँदा ऐनको दफा २८ विपरीत नहुने गरी लगाउनु पर्नेछ ।
(५) रोजगारदाताले ऐन वा यस नियमावली बमोजिम श्रमिकलार्इ जगेडामा राख्दा श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाइएका श्रमिकलार्इ समेत जगेडामा राख्न सक्नेछ। यसरी जगेडामा राखिएको सूचना प्रतिष्ठानले सम्बन्धित श्रमिक आपूर्तिकर्तालार्इ दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम जगेडामा रहेको श्रमिकले सम्बन्धित रोजगारदाताबाट ऐन तथा यस नियमावली बमोजिमको पारिश्रमिक तथा सुविधा प्राप्त गर्नेछ।