परिच्छेद-३ श्रम  इजाजत  र  श्रम  स्वीकृति

परिच्छेद-३ श्रम  इजाजत  र  श्रम  स्वीकृति

७. श्रम इजाजतको लागि निवेदन दिनु पर्नेः  (१) कुनै रोजगारदाताले विदेशी नागरिकलाई काममा लगाउनु अघि श्रम इजाजतको लागि अनुसूची-१ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ देहायका विवरण एवं कागजात संलग्न गर्नु पर्नेछः-

(क) ऐनको दफा २२ को उपदफा (३) बमोजिम देहायका कुरा खुलार्इ प्रकाशन गरेको विज्ञापनको सक्कल प्रतिः…

(१)  प्रतिष्ठानको लागि आवश्यक पद, सङ्ख्या र गर्नु पर्ने मुख्य काम,

(२) आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव तथा तालीम,

(३) छनौट  विधि,

(४) दरखास्त दिने अन्तिम मिति र स्थान,

(५) दरखास्तसाथ संलग्न गर्नुपर्ने  विवरण एवं कागजात आदि ।

(ख) राहदानी (कम्तीमा छ महिना म्याद भएको) को प्रमाणित प्रतिलिपि,

(ग)  सम्बन्धित  विदेशी  नागरिकको  व्यक्तिगत विवरण (बायोडाटा),

(घ)    रोजगारदाताले प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर चुक्ता गरेको प्रमाण,

(ङ) खण्ड (क) बमोजिम गरेको विज्ञापन अनुसार कुनै नेपाली नागरिकले दरखास्त दिएको भए त्यस्तो दरखास्तवालाको योग्यता, दक्षता तथा श्रमिक छनौट प्रक्रिया सम्बन्धी संक्षिप्त विवरण,

(च) नेपाली नागरिकलाई  दक्ष  बनाई  विदेशी  श्रमिकलाई  प्रतिस्थापन गर्ने कार्य योजना,

(झ)  नेपाल सरकार, गृह मन्त्रालयको कार्य सहमति आवश्यक पर्ने भए त्यस्तो कार्य सहमतिपत्रको प्रतिलिपि।

(३) रोजगारदाताले ऐनको दफा २२ को उपदफा (३) बमोजिम प्रकाशन गरेको विज्ञापन  मन्त्रालयको रोजगार पोर्टलमा समेत राख्नु पर्नेछ।

८. इजाजतपत्र दिनु पर्नेः (१) नियम ७ को उपनियम (१) बमोजिम श्रम इजाजतको लागि निवेदन परेमा विभागले निवेदनसाथ संलग्न विवरण कागजातका आधारमा आवश्यक जाँचबुझ गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन जाँचबुझ गर्दा विभागले आवश्यक ठानेमा रोजगारदातासँग कुनै थप कुरा बुझ्न वा सो सम्बन्धमा सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यालयलार्इ निर्देशन दिन सक्नेछ।

(३) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा विभागले नियम १० को उपनियम (१) बमोजिमको दस्तुर लिर्इ तीस दिनभित्र रोजगारदातालार्इ अनुसूची…२ बमोजिमको ढाँचामा श्रम इजाजत दिनु पर्नेछ।

(४) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकलार्इ श्रम इजाजत दिन नमिल्ने देखिएमा विभागले सात दिनभित्र सोको लिखित जानकारी निवेदकलार्इ दिनु पर्नेछ।

९. श्रम स्वीकृतिको लागि निवेदन दिनु पर्नेः (१) कुनै विदेशी नागरिकले नेपालमा काम गर्न चाहेमा ऐनको दफा २३ को उपदफा (१) बमोजिम श्रम स्वीकृतिको लागि अनुसूची-३ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ देहायका विवरण कागजात संलग्न गर्नु पर्नेछः-

(क)   राहदानी (कम्तीमा छ महिना म्याद भएको) को प्रमाणित प्रतिलिपि,

(ख)    सम्बन्धित कामको लागि शैक्षिक योग्यता, सीप वा ज्ञान वा दक्षताको प्रमाणपत्र आवश्यक पर्ने भए सोको प्रमाणित प्रतिलिपि,

(ग)    रोजगारदाताले निवेदकलार्इ रोजगारी दिने स्वीकारोक्ति पत्र,

(घ)    नेपाल सरकार, गृह मन्त्रालयको कार्य सहमति आवश्यक पर्ने भए त्यस्तो कार्य सहमतिपत्रको प्रतिलिपि।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकले श्रम स्वीकृतिको लागि निवेदन दिँदा आफ्नो देशमा रहेको नेपाली राजदूतावास वा कूटनीतिक नियोग वा सो मुलुक समेत हेर्ने जिम्मेवारी भएको अन्य मुलुकमा रहेको नेपाली राजदूतावास वा कूटनीतिक नियोग मार्फत दिन सक्नेछ।

(४) उपनियम (१) बमोजिम कसैको निवेदन परेमा सम्बन्धित राजदूतावास वा कूटनीतिक नियोगले सात दिनभित्र त्यस्तो निवेदन विभागमा पठाइदिनु पर्नेछ।

(५) उपनियम (१) वा (३) बमोजिम निवेदन परेमा विभागले निवेदनसाथ प्राप्त विवरण कागजातको आधारमा आवश्यक जाँचबुझ गर्नेछ । त्यसरी जाँचबुझ गर्दा निवेदकको योग्यता र उपयुक्तता यकिन गर्न निवेदकको अन्तर्वार्ता लिन वा सीप परीक्षण गर्न सक्नेछ।

(६) उपनियम (१) वा (३) बमोजिम निवेदकले श्रम स्वीकृति माग गरेको काम वा सेवाको सम्बन्धमा नेपाली जनशक्ति पर्याप्त भएमा श्रम स्वीकृति दिइने छैन।

(७) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा श्रम स्वीकृति दिन मनासिब देखेमा विभागले नियम १० को उपनियम (१) बमोजिमको दस्तुर लिर्इ निवेदन परेको तीस दिनभित्र निवेदकलार्इ अनुसूची…४ बमोजिमको ढाँचामा श्रम स्वीकृति दिनु पर्नेछ।

(८) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा निवेदकलार्इ श्रम स्वीकृति दिन नमिल्ने देखिएमा विभागले सोको जानकारी सात दिनभित्र निवेदकलार्इ दिनु पर्नेछ।

१०. श्रम इजाजत तथा श्रम स्वीकृति दस्तुर: (१) नियम ७ बमोजिम श्रम इजाजत वा नियम ९ बमोजिम श्रम स्वीकृतिको लागि देहाय बमोजिमको दस्तुर लाग्नेछः–

(क)   छ महिनासम्मको अवधिको लागि प्रतिव्यक्ति पन्ध्र हजार रूपैयाँ,

(ख)    छ महिनाभन्दा बढी अवधिको लागि प्रतिव्यक्ति बीस हजार रूपैयाँ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार दस्तुर हेरफेर गर्न सक्नेछ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोग मार्फत श्रम स्वीकृतिको लागि निवेदन दिँदा उपनियम (१) मा उल्लेख भए बराबरको परिवर्त्य विदेशी मुद्रामा सम्बन्धित नेपाली राजदूतावास वा कूटनीतिक नियोगमा दस्तुर बुझाउन सकिनेछ।

११. श्रम इजाजत वा श्रम स्वीकृतिको अवधिः (१) नियम ८ वा नियम ९ बमोजिम कुनै विदेशी नागरिकलार्इ श्रमिकको रूपमा काममा लगाउन श्रम इजाजत वा श्रम स्वीकृति दिँदा सामान्यतया त्यस्तो विदेशी नागरिकको सम्बन्धमा गृह मन्त्रालयबाट जारी भएको कार्य सहमतिको अवधिभन्दा बढी नहुने गरी श्रम इजाजत वा श्रम स्वीकृति दिनु पर्नेछ।

(२) नियम ८ वा नियम ९ बमोजिम श्रम इजाजत वा श्रम स्वीकृति दिँदा विशिष्ठ दक्ष प्राविधिक विदेशी श्रमिकलार्इ बढीमा पाँच वर्षसम्म र अन्य विदेशी श्रमिकलार्इ बढीमा तीन वर्षसम्मको लागि श्रम इजाजत वा श्रम स्वीकृति दिन सकिनेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थितिमा देशको शैक्षिक, सामाजिक, विज्ञान प्रविधि र गैर नाफामुलक संघ, संस्था जस्ता क्षेत्रमा विशेष योगदान गरेका, राष्ट्रहित र जनकल्याणमा उल्लेखनीय योगदान गरेका विदेशी श्रमिकलाई विभागले मन्त्रालयको स्वीकृति लिई बढीमा दुई वर्षसम्म श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थप गर्न सक्नेछ।

१२. श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थपको लागि निवेदन दिनु पर्ने: (१) रोजगारदाताले नियम ८ वा नियम ९ बमोजिम श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त गरी आफ्नो प्रतिष्ठानमा कार्यरत विदेशी श्रमिकको श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थप गर्न चाहेमा त्यस्तो अवधि समाप्त हुनुभन्दा तीस दिन अगावै देहायका विवरण कागजात सहित विभागसमक्ष निवेदन दिनु पर्नेछ:–

(क) विदेशी श्रमिकको कार्य सम्पादन स्तर,

(ख) नेपाल सरकार, गृह मन्त्रालयको कार्य सहमति आवश्यक पर्ने भए त्यस्तो कार्य सहमतिपत्रको प्रतिलिपि,

(ग) विदेशी श्रमिकलाई क्रमशः प्रतिस्थापन गर्दै नेपाली नागरिकलाई दक्ष बनाउन पेश भएको योजनाको प्रगति विवरण,

(घ) नियम १० को उपनियम (१) बमोजिमको दस्तुर बुझाएको रसिद वा निस्सा,

(ङ)  विभागले आवश्यक ठानेका अन्य कागजात विवरणहरु ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा विभागले नियम ११ को उपनियम (३) को अधीनमा रही त्यस्तो विदेशी श्रमिकको श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थप गरिदिन सक्नेछ।

१३. विदेशी श्रमिकको सङ्ख्या तथा अभिलेख : (१) विदेशी लगानी भएको वा विदेशी सहयोगबाट सञ्चालित कुनै प्रतिष्ठानमा विदेशी नागरिकलार्इ काममा लगाउँदा नेपाल सरकार र त्यस्तो विदेशी सरकार वा संस्थाबीच कुनै सम्झौता भएको रहेछ भने सोही सम्झौतामा उल्लेख भएको सङ्ख्यामा र त्यस्तो सम्झौता नभएकोमा बढीमा तीन जना विदेशी नागरिकलार्इ अभिलेख राखी त्यस्तो प्रतिष्ठानमा काम गर्न श्रम इजाजत दिन सकिनेछ।

(२) कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सम्झौता बमोजिम श्रम इजाजत लिनु नपर्ने अवस्थामा बाहेक कुनै पनि रोजगारदाताले आफ्नो प्रतिष्ठानमा चाहिने कुल श्रमिकको पाँच प्रतिशतसम्मको सङ्ख्या भन्दा बढी हुने गरी विदेशी श्रमिकलार्इ काममा लगाउन पाउने छैन।

(३) ऐनको दफा २३ को उपदफा (२) बमोजिम नेपाल सरकारसँग भएको कुनै सम्झौता बमोजिम श्रम स्वीकृति लिनु नपर्ने र नियम ८ वा  नियम ९ बमोजिम श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त विदेशी श्रमिकको अद्यावधिक अभिलेख विभागले अनुसूची-५ बमोजिमको ढाँचामा राख्नु पर्नेछ।

(४) ऐनको दफा २३ बमोजिम श्रम स्वीकृति लिनु नपर्ने र दफा २४ बमोजिम श्रम इजाजत लिनुपर्ने श्रमिकलार्इ काममा लगाउने रोजगारदाताले त्यस्ता श्रमिकको अनुसूची…५ बमोजिम विभागमा अभिलेख राख्न लगाउनु अघि कुटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको सम्झौता बमोजिम दस्तुर नलाग्ने भनी उल्लेख भएको बाहेक नियम १० को उपनियम (१) बमोजिमको दस्तुर विभागमा बुझाउनु पर्नेछ।

(५) ऐन बमोजिम अभिलेख राख्नु पर्ने श्रमिकलार्इ अभिलेख नराखी काममा लगाएको पाइएमा विभागले त्यस्तो श्रमिकलार्इ काममा लगाउने रोजगारदातालार्इ नियम १० को उपनियम (१) बमोजिम लाग्ने दस्तुरको दोब्बर दस्तुर तिर्न लगार्इ त्यस्तो श्रमिकको अभिलेख राख्नेछ।

१४. श्रम इजाजत वा श्रम स्वीकृति खारेज गर्न सक्नेः ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिएको श्रम इजाजत वा श्रम स्वीकृति विभागले देहायको अवस्थामा खारेज गर्न सक्नेछ:–

(क)      श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्तिलार्इ नेपाल सरकार, गृह मन्त्रालयबाट प्रदान गरिएको कार्य सहमति रद्द भएमा,

(ख)      श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्तिले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, राजस्व, दस्तुर वा कुनै बाँकी बक्यौता तोकिएको अवधिभित्र नबुझाएमा,

(ग)      श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्ति प्रचलित कानून बमोजिम फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित भएमा,

(घ)      श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त व्यक्तिलार्इ नेपालमा काम गर्न दिन राष्ट्रिय सुरक्षाको दृष्टिले उपयुक्त नदेखिएमा,

(ङ)      प्रचलित कानून बमोजिम विदेशी नागरिकले वहन गर्नुपर्ने जिम्मेवारी पूरा नगरेमा, पालना गर्नु पर्ने आचरण प्रतिकूल काम गरेको पाइएमा वा सार्वजनिक सदाचार र नैतिकता प्रतिकूल हुने कुनै काम गरेमा।

 

१५. अनुगमन गर्नु पर्ने : (१) नियम ८ वा नियम ९ बमोजिम श्रम इजाजत वा श्रम स्वीकृति प्राप्त गरी काम गरेका श्रमिक र नियम १३ को उपनियम (३) बमोजिम अभिलेख राखिएका विदेशी श्रमिकको सम्बन्धमा अनुगमन गर्ने, गराउने जिम्मेवारी विभागको हुनेछ।

(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा कुनै विदेशी नागरिकले ऐन वा यस नियमावली बमोजिम श्रम इजाजत वा श्रम स्वीकृति नलिर्इ वा अभिलेख नराखी कुनै प्रतिष्ठानमा काम गरेको पाइएमा विभागले त्यस्तो विदेशी नागरिकलार्इ तुरून्त कामबाट हटाउन सम्बन्धित रोजगारदातालार्इ आदेश दिनेछ।