परिच्छेद – ४ काम गर्ने समय तथा  पारिश्रमिक 

परिच्छेद – ४ काम गर्ने समय तथा  पारिश्रमिक 

१६. काम गर्ने समयको निर्धारणः (१) रोजगारदाताले प्रतिष्ठानको कामको प्रकृतिको आधारमा प्रतिष्ठानमा काम गर्ने समयको निर्धारण गरी सोको जानकारी सबै श्रमिकलार्इ गराउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम काम गर्ने समय निर्धारण गर्दा रोजगारदाताले प्रतिष्ठानको कामको प्रकृतिको आधारमा श्रमिकलार्इ आलोपालोमा काममा लगाउन सकिने गरी समय निर्धारण गर्न सक्नेछ।

१७. विश्रामको लागि थप समय दिनु पर्नेः रोजगारदाताले तीन बर्ष उमेर ननाघेको शिशु भएका महिला श्रमिकलार्इ शिशुलार्इ स्तनपान तथा हेरचाहको लागि र गर्भवती महिला श्रमिकलार्इ ऐनको दफा २८ को उपदफा (२) बमोजिमको विश्रामको समय बाहेक एकै पटक वा पटक पटक गरी थप आधा घण्टा विश्रामको लागि समय दिनु पर्नेछ। त्यसरी प्रदान गरिएको थप विश्रामको समयलाई काम गर्ने समयमा गणना गरिनेछ।

१८. जन्म दर्ता प्रमाण पत्र पेश गर्नुपर्ने: (१) प्रसूति बिदामा बसेको महिला श्रमिकले त्यस्तो बिदा समाप्त भएको मितिले तीन महिनाभित्र शिशुको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र त्यस्तो प्रमाणपत्र नभए शिशु जन्मेको अस्पताल वा स्वास्थ्यचौकीबाट जारी भएको शिशु जन्मेको प्रमाण कागज(बर्थ सर्टिफिकेट) को प्रतिलिपि रोजगारदाता समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपिनयम (१) बमोजिमको जन्मदर्ता प्रमाणपत्र पेश गरेपछि रोजगारदाताले त्यस्तो श्रमिकको प्रसूति बिदा स्वीकृत गरिदिनु पर्नेछ।

(३) कुनै महिला श्रमिक वा श्रमिकको पत्नीबाट मृत शिशु जन्मेमा वा निजको गर्भ पतन भएकोमा त्यस्तो श्रमिकले ऐन वा यस नियमावली बमोजिम पाउने प्रसूति बिदा तथा सुविधाको लागि सम्बन्धित अस्पताल वा स्वास्थ्य चौकीबाट शिशु जन्मेको प्रमाण कागज (बर्थ सर्टिफिकेट) वा गर्भपतन भएको कुरा जनिने स्वास्थ्य जाँच प्रतिवेदन (मेडिकल रिपोर्ट) पेश गर्नु पर्नेछ।

१९. पारिश्रमिक कट्टा गर्ने तरिका: (१) ऐनको दफा ३८ को उपदफा (१) को खण्ड (ग) बमोजिम कुनै श्रमिकले तिर्न बुझाउनु पर्ने रकम निजको पारिश्रमिकबाट कट्टा गर्नु पर्दा त्यस्तो रकम कट्टा गर्न दिइएको आदेश वा निर्णयमा अवधि तोकिएकोमा सोही अवधिभित्र र अवधि नतोकिएकोमा त्यस्तो श्रमिकले पाउने मासिक पारिश्रमिकको पचास प्रतिशतमा नबढाई त्यस्तो आदेश वा निर्णय बमोजिमको रकम असुल नभएसम्म कट्टा गर्नु पर्नेछ।

(२) रोजगारदाताले श्रमिकलार्इ निजको पारिश्रमिकबाट कट्टा हुने गरी कुनै सेवा सुविधा उपलब्ध गराएको रहेछ भने त्यस्तो सेवा वा सुविधा उपलब्ध गराए बापत श्रमिकको पारिश्रमिकबाट रकम कट्टा गर्दा मासिक पारिश्रमिकको बढीमा तेत्तीस प्रतिशतका दरले कट्टी गर्न सक्नेछ।

(३) कुनै श्रमिकले ऐनको दफा ३८ को उपदफा (१) को खण्ड (च) बमोजिमको कारणबाट रोजगारदातालार्इ कुनै रकम तिर्न बुझाउन पर्ने भएमा त्यस्तो रकम निजको मासिक पारिश्रमिकको बढीमा तेत्तीस प्रतिशतका दरले कट्टा गर्न सक्नेछ।

(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारीको अन्त्य हुने समयको कारणबाट तेत्तीस प्रतिशतका दरले मात्र त्यस्तो रकम असुल हुने अवस्था नदेखिएमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगारी अवधि, समय वा कामको आधारमा सोभन्दा बढी दरमा पारिश्रमिक कट्टा गर्न सक्नेछ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ३८ को उपदफा (१) को खण्ड (छ) बमोजिम सामूहिक सम्झौतामा नै पारिश्रमिकबाट कट्टा गरिने रकमको प्रतिशत निर्धारण भएकोमा सोही बमोजिम हुनेछ।

(६) यस नियम बमोजिम कट्टा गरिने रकमको प्रतिशतको निर्धारण गर्दा श्रमिकले ट्रेड युनियनलार्इ बुझाउनु पर्ने शुल्क, सामूहिक सौदाबाजी शुल्क र नागरिक लगानी कोषमा जम्मा गर्नु पर्ने रकम छुट्यार्इ बाँकी हुन आउने रकमको आधारमा गर्नु पर्नेछ।

२०. साप्ताहिक बिदाको पारिश्रमिक दिनु पर्ने: रोजगारदाताले साप्ताहिक बिदामा रहेको श्रमिकलाई त्यसरी बिदा बसेको अवधिको समेत पारिश्रमिक दिनु पर्नेछ।

२१. बैंक वा वित्तीय संस्था मार्फत भुक्तानी गर्ने गरी तोक्न सक्नेः मन्त्रालयले बैंकिङ्ग सेवाको उपलब्धताको आधारमा  कुनै खास क्षेत्रमा  कुनै खास प्रकारका रोजगारदाताले श्रमिकलार्इ पारिश्रमिक वा सुविधा रकम भुक्तानी गर्दा  बैङ्क वा वित्तीय संस्था मार्फत मात्र गर्ने गरी तोक्न सक्नेछ।