परिच्छेद-७ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति

परिच्छेद-७ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति

३४. व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्ने: (१) ऐन तथा यस नियमावलीमा अन्यत्र लेखिएको बाहेक रोजगारदाताले कार्यस्थलमा कार्यरत श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउँदा प्रतिष्ठानको कार्य प्रकृति अनुसार कार्यस्थलमा अपनाउनु पर्ने सुरक्षा सतर्कता, श्रमिकको स्वास्थ्य, कार्यस्थलमा हुनसक्ने सम्भावित दुर्घटना, कार्यस्थलमा मेशिनरी यन्त्र उपकरण सञ्चालन गर्दा अपनाउनु पर्ने सावधानी, स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने रसायनिक पदार्थको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी लगायत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको सुनिश्चितता गर्ने आधारलार्इ समेटिने गरी बनाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम रोजगारदाताले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउँदा नियम ३७ बमोजिम सुरक्षा तथा स्वास्थ्य समिति गठन भएकोमा सो समिति र त्यस्तो समिति गठन नभएमा सम्बन्धित कार्यस्थलमा कार्यरत श्रमिक वा ट्रेड युनियनका प्रतिनिधिसँग परामर्श गर्नु पर्नेछ।

३५. रोजगारदाताको कर्तव्य : ऐनको दफा ६९ को उपदफा (१) मा लेखिएका अतिरिक्त रोजगारदाताको श्रमिक प्रतिको कर्तव्य देहाय बमोजिम हुनेछः-

(क)  कामको सिलसिलामा कुनै श्रमिक दुर्घटनामा परेमा वा बिरामी परेमा त्यस्तो श्रमिकलार्इ उपचारको लागि तत्काल अस्पताल वा स्वास्थ्य केन्द्रसम्म लैजानको लागि आवश्यक व्यवस्था गर्ने,

(ख) रोजगारदाताले श्रमिकप्रति पूरा गर्नु पर्ने अन्य व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी दायित्व निर्वाह गरेको कुराको जानकारी कार्यालयलार्इ दिने।

३६. उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्यः कार्यस्थलमा प्रयोग हुने रसायनिक पदार्थको सुरक्षित प्रयोग, भण्डारण, प्रयोगमा आउन नसक्ने रसायनिक पदार्थको व्यवस्थापन तथा त्यसको असरबाट बच्ने उपायको बारेमा रोजगारदातालार्इ समयमै पर्याप्त जानकारी गराउनु सम्बन्धित उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्य हुनेछ।

३७. सुरक्षा तथा स्वास्थ्य समितिको गठन : (१) ऐनको दफा ७४ को उपदफा (१) बमोजिम बीस जना वा सोभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा रोजगारदाताले देहाय बमोजिमका संयोजक तथा सदस्य रहेको एक सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्नु पर्नेछः-

(क)  रोजगारदाता वा निजले तोकेको प्रतिष्ठानको व्यवस्थापकीय

तहको श्रमिक                                          –संयोजक,

(ख)  प्रतिष्ठानमा रहेको आधिकारिक ट्रेड युनियनको तर्फबाट

एक जना महिला सहित बढीमा तीनजना                       –सदस्य,

(ग)  प्रतिष्ठानले तोकेको स्वास्थ्यकर्मी सहित व्यवस्थापकले

तोकेको तीनजना                                        –सदस्य,

(घ)  प्रतिष्ठानको सुरक्षा हेर्ने जिम्मेवारी पाएको श्रमिकमध्ये बरिष्ठ श्रमिक     –सदस्य।

(२) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले तीनसय जनाभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्दा तीनजना श्रमिक थप गर्न सक्नेछ।

(३) उपनियम (१) को खण्ड (ख) बमोजिमका सदस्य मनोनयन गर्ने जिम्मेवारी आधिकारिक ट्रेड युनियनको हुनेछ। आधिकारिक ट्रेड युनियनको निर्वाचन नभएको अवस्थामा प्रतिष्ठानमा कायम रहेका ट्रेड युनियन वा श्रमिकहरुले आपसी सहमतिमा छनौट गरी सदस्य मनोनयन गर्न सक्नेछन्।

(४) उपनियम (१) बमोजिमको समितिको बैठक वर्षमा कम्तीमा चार पटक बस्नेछ।

(५) समितिको बैठक संयोजकले बोलाएको मिति, समय, स्थानमा बस्नेछ।

(६) समितिले बैठकमा प्रतिष्ठानको कुनै पदाधिकारी, सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकार कुनै विज्ञलार्इ आमन्त्रण गर्न सक्नेछ।

(७) समितिको बैठकको कार्यविधि र निर्णय प्रक्रिया समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।

३८. सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार: (१) सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः-

(क) नियम ३४ बमोजिम बनाएको नीतिको कार्यान्वयन भए नभएको अनुगमन, मूल्याङ्कन गर्ने,

(ख) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा अपनाउनु पर्ने नीति वा भैरहेको नीतिमा सुधारको लागि रोजगारदातालार्इ सुझाव दिने,

(ग) ऐन र नियमावलीमा उल्लेख भएका व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गरी रोजगारदातालार्इ सुझाव    दिने ।

(२) ऐनको दफा ७४ को उपदफा (३) मा उल्लेख भएको अतिरिक्त विभाग वा कार्यालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा रोजगारदातालार्इ दिएको निर्देशन वा आदेशको पालना गर्नु, गराउनु सुरक्षा तथा स्वास्थ्य समितिको कर्तव्य हुनेछ।

३९. व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी विशेष व्यवस्थाः देहायका कामसँग सम्बन्धित रोजगारदाताले पालना गर्नु पर्ने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा देहायबमोजिम गर्नु गराउनु पर्नेछः–

(क) आँखाको बचाउ गर्ने : ऐना,  काँच,  पारो,  चुम्बक,  प्लेट,  फलाम,  कङ्क्रिट,  सिमेन्ट, चुनढुंगा, विस्फोटक पदार्थ वा अन्य त्यस्तै किसिमका वस्तुसँग सम्बन्धित काम गर्दा त्यसबाट निस्कने धुलो, धुवाँ वा टुक्राबाट तथा वेल्डिङ्ग वा ग्यास कटिङ्ग वा त्यस्तै किसिमका कार्यको सिलसिलामा उत्पन्न हुने हानिकारक विकिरण वा रसायनबाट श्रमिक तथा अन्य कुनै व्यक्तिको आँखामा लाग्नसक्ने चोटपटक, पर्न सक्ने प्रतिकूल प्रभाव वा हानिबाट आँखाको बचाउन गर्न रोजगारदाताले आवश्यक सुरक्षात्मक साधनको प्रयोग र अनिवार्य रूपमा आँखाको नियमित जाँच गर्ने व्यवस्था गर्नु पर्ने,

(ख) रासायनिक पदार्थको असरबाट बचाउने:  श्रमिकलाई रासायनिक पदार्थ वा विकिरणयुक्त वस्तुको प्रयोग हुने कार्यमा लगाउँदा त्यस्तो पदार्थको प्रयोगबाट श्रमिकको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर वा हानी नोक्सानीबाट बचाउन रोजगारदाताले आवश्यक सुरक्षात्मक साधनको प्रयोग गर्ने व्यवस्था मिलाउने र त्यस्तो कार्यमा संलग्न श्रमिकको नियमित स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाउनु पर्ने,

(ग) प्रेसर प्लान्ट सञ्चालन गर्ने तरिकाः रोजगारदाताले कार्यस्थलमा प्रेसरप्लान्ट सञ्चालन गर्दा देहाय बमोजिम गर्नेः–

(१)  कुनै मेशिन वायुमण्डलीय चापभन्दा बढी चापमा सञ्चालन गर्नुपर्ने भएमा त्यस्तो मेसिनको सुरक्षित कार्य सञ्चालन चाप ( वर्किङ प्रेसर ) भन्दा बढी चापमा सञ्चालन गर्न नहुने गरी आवश्यक प्रभावकारी सुरक्षात्मक उपाय अपनाउने,

(२)  प्रतिष्ठानमा जडित प्रेसर प्लान्ट तथा त्यसमा जडित उपकरणहरुको क्षमता र अवस्थाको आधारमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकले अधिकतम कार्य सञ्चालन चाप तोक्ने,

(३) व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकले प्रतिष्ठानमा जडित प्रेसर प्लान्टको सञ्चालन चाप ( वर्किङ प्रेसर ) तोक्दा त्यस्तो चापमा बढीमा एक वर्षसम्मको लागि प्रेसर प्लान्ट सञ्चालन गर्न सक्ने गरी तोक्ने,

(४) प्रेसर प्लान्टको सञ्चालन तालीम प्राप्त वा अनुभवी व्यक्तिबाट गराउनु पर्ने,

(५) बोईलर, चापयुक्त भेसल वा वायुमण्डलीय चापभन्दा बढी चापमा सञ्चालन गरिने अन्य यन्त्र तथा उपकरण व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको इजाजत बिना सञ्चालन नगर्ने,

(६)  सञ्चालनमा रहेको प्रेसर प्लान्ट वा सोसँग सम्बन्धित अन्य यन्त्र उपकरणले राम्ररी काम नगरेको शङ्का लागेमा तुरुन्त सोको जानकारी सम्बन्धित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकलाई दिनु पर्ने।

(घ) आगलागीबाट बचाउने : रोजगारदाताले कार्यस्थलमा कार्यरत श्रमिकलार्इ आगलागीबाट बचाउन देहाय बमोजिमको व्यवस्था मिलाउनु पर्नेः…

(१) आगोमा काम गर्नु पर्ने श्रमिकलार्इ आगोबाट हुनसक्ने चोटपटक वा स्वास्थ्यमा हुनसक्ने हानीबाट बचाउन आवश्यक सुरक्षात्मक पहिरन वा साधनको प्रबन्ध गर्ने,

(२) कार्यस्थलमा हुनसक्ने आगलागिबाट बच्न आपत्कालीन द्वारको व्यवस्था गर्ने,

(३) कार्यस्थलमा आगलागि भएमा तत्काल निभाउन पर्याप्त पानी सहित आवश्यकता अनुसार आगो निभाउने आधुनिक यन्त्र उपकरण, पर्याप्त चापयुक्त पानी पुग्ने गरी हाईड्रेण्ट प्वाईण्ट र होज पाईपको व्यवस्था गर्ने,

(४) आपत्कालीन अवस्थामा बाहिर निस्कने बरण्डा तथा प्यासेज हरबखत खुला राख्ने,

(५) आगलागि हुन गएमा तत्काल सबै श्रमिक तथा कर्मचारीलार्इ सचेत गर्न अग्नि खतरा सङ्केत (फायर अलार्म) वा अन्य कुनै ध्वनि सङ्केत यन्त्रको व्यवस्था गर्ने,

(६) आगो निभाउने यन्त्रहरुको कम्तीमा वर्षको एकपटक निरीक्षण तथा परीक्षण गराई त्यसको अभिलेख राख्ने ,

(७) बारुद, नाइट्रोग्लिसिरिन, डायनामाईट, गन पाउडर, व्लाष्टिङ्ग पाउडर, पारो  (मर्करी)  वा अरु धातुको फुल्येटेड, फोग्सिग्नल फ्युज रकेट,  परक्युशन क्याप,  डिटोनेटर, कारतुस वा नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिमको प्रज्वलनशील तथा विष्फोटक पदार्थ वा विशेष तरिकाले भण्डारण नगरेमा मानव स्वास्थ प्रतिकूल प्रभाव पार्न सक्ने रसायनहरुको प्रयोग वा कारोबार गर्ने रोजगारदाताले त्यस्ता पदार्थ घना बस्तीभन्दा टाढा सुरक्षित तरिकाबाट भण्डारण गर्नु पर्ने र त्यस्ता वस्तुको ओसारपोसार एवं प्रयोग गर्दा दक्ष व्यक्तिद्वारा गर्ने, गराउने।

(ङ) थकान तथा आलस्यता हुन नदिनेः रोजगारदाताले कार्यस्थलमा लामो समयसम्म निरन्तर रूपमा कम्प्युटरमा काम गर्ने वा मानसिक एवम् बौद्धिक श्रम गर्ने श्रमिकलार्इ त्यस्तो कामबाट थकान वा आलश्यता हुन नदिन सम्भव भएसम्म कार्यस्थलमा उपयुक्त कार्य वातावरण मिलाउनु पर्ने।

४०. प्रेसर प्लान्ट तथा बोइलर परीक्षण सम्बन्धी व्यवस्था : (१)  रोजगारदाताले कार्यस्थलमा जडित प्रेसर प्लान्ट तथा बोइलरको परीक्षण गर्दा देहायका कुराहरुमा ध्यान दिनु पर्नेछ:–

(क) आधुनिक बनौट तथा गुणस्तरको भए, नभएको,

(ख) प्रेसर प्लान्ट तथा बोइलरलाई उपयुक्त तरिकाबाट सम्भार गरी सुरक्षित तवरले राखे नराखेको,

(ग)  प्रेसर प्लान्ट तथा बोइलरमा अधिकतम चापभन्दा बढी चापमा सञ्चालन नहुने गरी सेफ्टी भल्व, प्रेसर भेसल तथा बोइलरको सञ्चालित चाप हेर्न उपयुक्त प्रेसर गेज तथा तत्सम्बन्धी अन्य कुनै उपकरण जडान भए, नभएको।

(२) प्रेसर प्लान्टमा निर्धारित कार्य सञ्चालन चापलाई प्रेसर गेजमा रातो चिन्हद्वारा अङ्कित गरिएको हुनु पर्नेछ।

(३) प्रेसर भेसलमा रहेको तरल पदार्थ निकाल्न यसको तल्लो भागमा उपयुक्त ड्रेन वा भल्व उपकरण जडान हुनु पर्नेछ।

(४) प्रेसर भेसलको वाटर लेभल इन्डिकेटरलाई उपयुक्त तरिकाले जडान गरिएको हुनु पर्नेछ।

(५) प्रेसर भेसलको सिस्टमलाई अन्य भेसल वा चाप उत्पादन हुने श्रोतबाट कुनै पनि समयमा अलग्याउन सकिने उपयुक्त स्टप भल्व हुनु पर्नेछ।

(६) सित्तिङ सिलिण्डरमा डाईजेष्ट स्टीम ज्याकेट प्यान्स र अन्य चापमा काम हुने भेसलमा सेफ्टी भल्व र प्रेसर गेज अनिवार्य रुपमा जडान गरिएको हुनु पर्नेछ।

४१. सुरक्षात्मक उपाय अपनाउनेः रोजगारदाताले कार्यस्थलमा जडान भएको जोखिम युक्त मेशिन, औजार वा उपकरणबाट हुनसक्ने सम्भावित दुर्घटनाबाट श्रमिक वा अन्य व्यक्तिलार्इ बचाउन देहायबमोजिमको सुरक्षात्मक उपाय अपनाउनु पर्नेछः-

(क) कार्यस्थलमा रहेको कुनै मेशिन सञ्चालन गर्न वा सञ्चालनमा रहेको कुनै मेशिन वा उपकरणको कुनै भागको निरीक्षण, लुब्रिकेसन वा मर्मतको काममा तालीम प्राप्त एवं अनुभवी श्रमिकलाई मात्र लगाउने,

(ख) कार्यस्थलमा जडान भएको मेशिनरी औजार वा उपकरण हेर्न वा निरीक्षण गर्न जाने व्यक्तिलार्इ विकिरण अवरोधक चश्मा, हेल्मेट तथा अन्य आवश्यक सुरक्षात्मक पहिरन लगाएर मात्र त्यस्तो स्थानमा प्रवेश गर्ने व्यवस्था मिलाउने र त्यस्तो मेशिनरी औजार वा उपकरण छुन वा त्यसको नजीक जान नमिल्ने गरी स्थान हद तोकी छेकाबार लगाउने,

(ग) कार्यस्थलमा जडान भएको हाइड्रोलिक प्रेसर तथा अन्य यन्त्रद्वारा सञ्चालन हुने प्रेसहरु, मेटल उद्योगमा प्रयोग हुने मिलिंग मेसिनहरु, लिगोटिन मेसीन, सर्कुलर्स स्लेटन प्रिन्टीङ्ग मेसीन आदि तालीम प्राप्त र अनुभवी व्यक्तिद्वारा मात्र सञ्चालन गर्ने,

(घ)    पाङ्ग्रा, लत्ता, लत्ता चलाउने सहायक, गियर, ड्रम, क्लच, ड्राईभिङ्ग वेल्ट वा मेसीन सञ्चालन गर्ने पावर जेनेरेटर, मोटर वा शक्ति सञ्चालन गर्ने अन्य जोखिमयुक्त  मेशिन वा उपकरणको वरिपरि सुरक्षाको लागि उपयुक्त छेकबारको व्यवस्था गर्ने,

(ङ)    ग्यास वेल्डिङ्ग वा आर्क वेल्डिङ्ग वा अन्य यस्तै कार्य गर्दा सर्वसाधारण व्यक्तिलाई असर नपर्ने गरी छुट्टै सुरक्षित स्थानमा गर्ने,

(च)    मर्मत सम्भारका लागि प्रयोग हुने आवश्यक उपकरण तथा औजारहरु टुटफुट नभएको दुरूस्त अवस्थाको मात्र प्रयोग गर्ने,

(छ)   मेशिनरी उपकरण सञ्चालनमा प्रयोग हुने विद्युतीय उपकरण विद्युत चुहावट नहुने गरी नियमित रूपमा जाँच गरी दुरूस्त अवस्थामा राख्नु पर्ने,

(ज)   वर्कशप सञ्चालन गर्दा सर्वसाधारणलाई असर नपर्ने गरी छुट्टै पार्किङ्ग वा मालसामान राख्ने सुरक्षित स्थानको व्यवस्था गर्ने।

४२. गह्रौं भारी उठाउन नलगाउनेः (१) रोजगारदाताले श्रमिकलाई चोटपटक लाग्ने वा निजको स्वास्थ्यमा हानी पुग्ने गरी गह्रौं भारी उठाउन, बोक्न वा ओसारपसार गर्न लगाउनु हुँदैन।

(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दैनिक रूपमा वजन उठाउनु पर्ने प्रकृतिको काम भएको प्रतिष्ठानले वजन उठाउनको लागि आवश्यक उपकरण वा मेशिनको प्रयोग गर्नु पर्नेछ।

(३) रोजगारदाताले श्रमिकलाई साधारणतया देहाय बमोजिमको वजन (तौल) भन्दा बढी गह्रौं भारी उठाउन, ओसारपसार गर्न वा बोकाउन लगाउन हुदैन।

(क) बालिग पुरुष                                         ५५के.जी.

(ख) बालिग महिला                                     ४५के.जी.

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संयुक्त रुपमा बोराबन्दी भएको भार उठाउने, ओसार पसार गर्ने वा बोक्ने कार्य गर्नुपर्ने श्रमिकको हकमा उक्त वजनको हद लागू हुने छैन।

४३. जानकारी माग गर्न सक्ने: (१) कार्यालयले कारखाना सञ्चालन गर्ने प्रतिष्ठानको सम्बन्धमा रोजगारदातासँग देहायको विवरण माग गर्न सक्नेछ र कार्यालयले माग गरेको विवरण दिनु रोजगारदाताको कर्तव्य हुनेछ:–

(क) प्रतिष्ठानको नाममा रहेको भौतिक सम्पत्तिको विवरण,

(ख) कार्यस्थलमा जडान भएका मेशिनरी औजार तथा मुख्य उपकरणको विवरण,

(ग) कार्यस्थलमा पर्याप्त प्रकाश तथा हावाको व्यवस्था भए नभएको,

(घ)  उत्पादन प्रक्रियाबाट ग्यास निस्कने अवस्था भएमा सो ग्यास,  प्रतिष्ठान बाहिर निकाल्ने व्यवस्था भए, नभएको,

(ङ)  कार्यस्थलमा शौचालयको उपयुक्त व्यवस्था भए, नभएको,

(च)  कार्यस्थलमा शुद्ध पिउने पानीको व्यवस्था भए, नभएको,

(छ) उत्पादन प्रकृयाको लागि प्रशस्त पानी आवश्यक पर्ने भएमा प्रतिष्ठानमा सोको व्यवस्था भए, नभएको,

(ज)  प्रतिष्ठान सञ्चालन हुँदा त्यसबाट वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न अपनाइएका उपायहरू,

(झ) उत्पादन कार्यको वार्षिक रूपमा आवश्यक कच्चा पदार्थ र सहायक कच्चा पदार्थको नाम तथा परिमाण,

(ञ)  प्रतिष्ठानले उत्पादन गर्ने वस्तु र वार्षिक उत्पादन क्षमता,

(ट)  नियम ३९ बमोजिमका  रोजगारदाताले पालना गर्नु पर्ने कुराहरू पालना भए नभएको।

(२) उपनियम (१) बमोजिम प्राप्त विवरण जाँचबुझ गर्दा स्वास्थ्य, सुरक्षा तथा पर्यावरणीय दृष्टिकोणबाट समेत श्रमिक वा अन्य कुनै व्यक्तिको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएमा कार्यालयले आवश्यक सुधार गर्न रोजगारदातालाई निर्देशन दिन सक्नेछ।त्यसरी दिएको निर्देशनको पालना गर्नु सम्बन्धित रोजगारदाताको कर्तव्य हुनेछ।

४४. व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अन्य व्यवस्था : (१) ऐन र यस नियमावलीमा अन्यत्र लेखिएको अतिरिक्त रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा कार्यस्थलमा देहाय बमोजिमको व्यवस्था मिलाउनु पर्नेछ :-

(क)   फोहोर मैलाबाट हुन सक्ने दुर्गन्ध वा रोगबाट श्रमिक वा अन्य व्यक्तिलार्इ बचाउन उचित सरसफार्इको व्यवस्था मिलाउने,

(ख)    कार्यकक्षमा पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्ध मिलाउने,

(ग)    कामको सिलसिलामा निस्कने टुक्रा वस्तुहरू तथा फोहोरमैलाको उचित व्यवस्थापन गर्ने,

(घ)    कार्यस्थलमा उत्पन्न हुने ध्वनीबाट श्रमिक वा अन्य व्यक्तिको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलार्इ न्यून गर्न आवश्यक ध्वनि नियन्त्रक उपकरणको व्यवस्था गर्ने,

(ङ)    कार्यस्थलमा कामको प्रकृति अनुसार प्रत्येक श्रमिकको लागि सम्भव भएसम्म पन्ध्र घनमीटरको ठाउँ उपलब्ध गराउने,

(च)    श्रमिकलार्इ कार्यस्थलमा स्वस्थ पिउने पानीको व्यवस्था गर्ने,

(छ)  श्रमिकको लागि स्नानगृह तथा आधुनिक शौचालयको व्यवस्था गर्ने ,

(ज)    कामको प्रकृति अनुसार प्रतिष्ठानको सम्पूर्ण वा केही भागलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गर्ने,

(झ)    स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका कार्य सञ्चालन हुने प्रतिष्ठानको हकमा कम्तीमा वर्षको एकपटक श्रमिकको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउने,

(ञ)  कामको प्रकृति अनुसार श्रमिकलार्इ खाजा तथा खाना खाने उपयुक्त समय निर्धारण गर्ने।

(२) रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा मन्त्रालय, विभाग वा कार्यालयले समय समयमा दिएको निर्देशन पालना गर्नु पर्नेछ।

४५. शिशु स्याहार कक्षः (१) पचास वा सोभन्दा बढी महिला श्रमिक कार्यरत रहने कार्यस्थलमा महिला श्रमिकहरुको तीन बर्षभन्दा कम उमेरका शिशुको हेरचाहको लागि रोजगारदाताले आफै वा अन्य रोजगारदातासँग संयुक्त रूपमा उपयुक्त वातावरण भएको शिशु स्याहार केन्द्र वा कक्षको व्यवस्था गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको शिशु स्याहार केन्द्र वा कक्षमा रोजगारदाताले आवश्यक शिशु स्याहारकर्ताको व्यवस्था गर्नु पर्नेछ।

४६. विश्राम कोठा : रोजगारदाताले पचास वा सोभन्दा बढी श्रमिकहरु कार्यरत रहने प्रतिष्ठानमा न्यूनतम सुविधा युक्त विश्राम कोठाको व्यवस्था गर्नु पर्नेछ।

४७. चमेना गृह : रोजगारदाताले पचास वा सो भन्दा बढी श्रमिक एकै समयमा एकै कार्यस्थलमा काम गर्ने प्रतिष्ठानमा चमेना गृहको व्यवस्था गर्नु पर्नेछ।

४८. व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकारः (१) व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा बरिष्ठ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षक वा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क)      रोजगारदाताले नियम ३९, ४०, ४१, ४२ र ४४ बमोजिम पूरा गर्नु पर्ने जिम्मेवारी पूरा गरे, नगरेको सम्बन्धमा समय समयमा जाँच गर्ने,

(ख)     कार्यस्थलमा रहेका बोईलर, प्रेसर भेसलहरु र अन्य प्राणघातक हुन सक्ने खतरनाक मेशिनहरु वर्षको एकपटक जाँच गरी चलाउन हुने भए एक वर्षसम्म सञ्चालनको लागि इजाजत दिने,

(ग)      रोजगारदाताले रोजगारीका लागि प्रयोग गरेको घर, जग्गा, प्लान्टको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जाँच गर्ने, त्यहाँ प्रयोग गरिने तयारी तथा अर्ध तयारी वस्तुहरुको नमूना लिई जाँच्ने,  जाँच्न लगाउने र केही सुधार गर्नुपर्ने भए सो सुधार गर्न व्यवस्थापकलाई आदेश दिने,

(घ)       कार्यस्थल रहेको ठाउँमा स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले कुनै जोखिम  देखिएमा त्यस्तो जोखिम हटाउन तुरुन्त आवश्यक व्यवस्था मिलाउन रोजगारदातालार्इ आदेश दिने ।

(२) प्रतिष्ठानको उत्पादन प्रक्रिया वा सेवा प्रदान गर्न आवश्यक कुनै पदार्थको प्रयोगबाट श्रमिकको स्वास्थ्यमा हानि नोक्सानी पुग्न सक्ने देखिएमा विभाग वा कार्यालयले तोकेको अधिकृतबाट त्यस्तो पदार्थको नमूना सङ्कलन गरी विशेषज्ञबाट परीक्षण गराउन सक्नेछ। त्यस्तो परीक्षण गर्न कुनै शुल्क लाग्ने भएमा त्यस्तो शुल्क रोजगारदाताले व्यहोर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम सङ्कलित नमूना परीक्षणबाट त्यस्तो पदार्थले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने प्रमाणित भएमा नेपाल सरकारले त्यस्तो पदार्थको प्रयोग निषेध गर्न निर्देशन दिन सक्नेछ।

४९. प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने: (१) प्रतिष्ठानमा कार्यरत कुनै श्रमिकलार्इ कामको सिलसिलामा कुनै दुर्घटना भर्इ चोटपटक लागेमा तत्काल उपचार गर्नको निमित्त रोजगारदाताले कार्यस्थल परिसरभित्र आवश्यक उपचारका सामग्री सहितको प्राथमिक उपचारको व्यवस्था मिलाउनु पर्नेछ।

(२) कुनै श्रमिक कार्यस्थलमा वा रोजगारदाताले लगाएको कामको सिलसिलामा अन्य कुनै स्थानमा दुर्घटनामा परी चोटपटक लागेमा त्यस्तो श्रमिकको उपचार गर्दा लागेको खर्च सम्बन्धित मुख्य रोजगारदाताले व्यहोर्नु पर्नेछ।

तर मुख्य रोजगारदाताले ऐनको दफा ५४ वा ५५ बमोजिम श्रमिकको बीमा गराएको रहेछ भने त्यस्तो उपचार बापतको रकम बीमाबाट प्राप्त हुने रकमबाट कट्टा गरी लिन सक्नेछ।

(३) कुनै श्रमिकले कामको सिलसिलामा चोटपटक लागी चिकित्सकको सिफारिश बमोजिम अस्पताल वा घरमा बसी उपचार गराउनु पर्ने भएमा रोजगारदाताले त्यस्तो श्रमिकलार्इ अस्पतालमा बसी उपचार गराएको भए सो अवधिको पूरै पारिश्रमिक र घरमा बसी उपचार गराएको भए सो अवधिको आधा पारिश्रमिक दिनु पर्नेछ।

५०. सूचना दिनु पर्ने : (१) कुनै श्रमिक कामको सिलसिलामा दुर्घटनामा परेमा, दुर्घटनाको कारणबाट चोटपटक लागेमा वा मृत्यु भएमा सोको सूचना रोजगारदाता वा निजको प्रतिनिधिले सात दिनभित्र कार्यालयलाई दिनु पर्नेछ।

तर प्राथमिक उपचारबाट निको हुने सामान्य खालको दुर्घटना वा चोटपटक लागेमा कार्यालयलार्इ सूचना दिन आवश्यक पर्ने छैन।

(२) उपनियम (१) बमोजिमको सूचना दिँदा दुर्घटना भएको मिति, समय, स्थान, घटनाको विवरण, दुर्घटनाको कारण, दुर्घटनामा परेको श्रमिकको नाम, ठेगाना र उपचार गराएको अस्पताल समेतको विवरण खुलाउनु पर्नेछ

५१. दुर्घटनाको जाँचबुझ : (१)  नियम ५० बमोजिम कुनै श्रमिक दुर्घटना परेको सूचना प्राप्त भएमा कार्यालयले निरीक्षकलार्इ जाँचबुझ अधिकारी तोकी सो सम्बन्धमा आवश्यक छानबिन वा जाँचबुझ गराउन सक्नेछ।

(२) उपनियम (१) बमोजिम तोकिएको जाँचबुझ अधिकारीको काम, कर्तव्य देहाय बमोजिम हुनेछ:-

(क) घटनास्थल वा सम्बन्धित व्यक्तिसँग आवश्यक विवरण बुझ्ने, आवश्यक प्रमाण सङ्कलन गर्ने, आवश्यक कागजात पेश गर्न लगाउने, सोधपुछ गर्ने,

(ख) कुनै पदार्थ वा उत्पादन प्रक्रियाको परीक्षण गर्नुपर्ने देखिएमा सोको  अवश्यकता अनुसार नमूना सङ्कलन समेत गरी विशेषज्ञबाट  परीक्षण गराउने,

(ग)    खण्ड (क) र (ख) बमोजिमको कार्य सम्पन्न गरी निर्धारित अवधिभित्र कार्यालय समक्ष प्रतिवेदन पेश गर्ने ।

५२. व्यवसायजन्य रोगको सूची निर्धारण तथा क्षतिपूर्ति : (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ऐनको दफा ८२ को उपदफा (१) बमोजिमको व्यवसायजन्य रोगको सूची तोक्नेछ।

(२) कुनै श्रमिकलार्इ उपनियम (१) बमोजिमको कुनै व्यवसायजन्य रोग लागेको हो वा होर्इन भन्ने कुराको विवाद भएमा सम्बन्धित श्रमिकले सो यकिन गर्नको लागि कार्यालयमा निवेदन दिन सक्नेछ।

(३) उपनियम (२) बमोजिम निवेदन परेमा वा कुनै श्रमिकलाई लागेको रोग व्यवसायजन्य रोग हो वा होइन भन्ने सम्बन्धमा विवाद उत्पन्न भएमा नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्डलाई आधार मानी विशेषज्ञ चिकित्सकको समिति गठन गरी त्यस्तो समितिबाट प्राप्त प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिनेछ।

(४) उपनियम (३) बमोजिम कुनै श्रमिकलार्इ व्यवसायजन्य रोग लागेको ठहर भएमा त्यस्तो श्रमिकलार्इ रोजगारदाताले दिनु पर्ने उपचार खर्च र क्षतिपूर्तिको रकम निर्धारण गर्ने तथा त्यस्तो रकम उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ।

 

५३. निर्माण श्रमिक सम्बन्धमा रोजगारदाताको दायित्वः निर्माण श्रमिकको स्वास्थ्य तथा सुरक्षाको सम्बन्धमा रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछः-

(क) कामको सिलसिलामा लाग्न सक्ने चोटपटक तथा स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावबाट बचाउन श्रमिकलार्इ आवश्यक सुरक्षा उपकरण वा पहिरन उपलब्ध गराउने वा त्यस्तो उपकरण वा पहिरन लगाउने व्यवस्था मिलाउने,

(ख)    निर्माण कार्यस्थलमा कामको सिलसिलामा श्रमिकलार्इ कुनै चोटपटक लागेमा तत्काल प्राथमिक उपचार गर्न सकिने व्यवस्था मिलाउने।