परिच्छेद-१० प्रतिष्ठानको आन्तरिक व्यवस्थापन

परिच्छेद-१० प्रतिष्ठानको आन्तरिक व्यवस्थापन

५९. सरूवा सम्झौता गर्नु पर्ने: (१) ऐनको दफा १०९ को उपदफा (२) बमोजिम कुनै श्रमिक एक प्रतिष्ठानबाट अर्को प्रतिष्ठानमा सरुवा हुन चाहेमा र सरुवा भई जान चाहेको प्रतिष्ठानले त्यस्तो श्रमिकलार्इ आफ्नो प्रतिष्ठानमा राख्न चाहेमा सरूवा गर्ने र सरूवा हुने प्रतिष्ठानबीच आपसी सम्झौता गरी श्रमिकको सरूवा गर्न, गराउन सकिनेछ।

(२) उपनियम (१) बमोजिम गरिने सम्झौतामा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछ:–

(क)   सरुवा गर्ने प्रतिष्ठान र सरुवा भई जाने प्रतिष्ठानको नाम, ठेगाना,

(ख)   प्रतिष्ठानको तर्फबाट सम्झौता गर्ने व्यक्तिको पद, नाम,

(ग)    सरुवा भई जाने श्रमिकको पद, नाम, थर, ठेगाना र कार्यरत प्रतिष्ठानमा नियुक्त भएको मिति,

(घ) श्रमिकले खाइपाइ आएको पारिश्रमिक र सुविधा,

(ङ)    सरुवा भई जाने श्रमिकको नाममा संचयकोष र सामाजिक सुरक्षा कोषमा जम्मा हुने योगदान  रकम र त्यस्तो रकम जम्मा गर्ने मिति,

(च)    श्रमिकको सेवा अवधि सरुवा भई जाने प्रतिष्ठानमा गर्ने सेवा अवधिमा जोडिने वा नजोडिने कुरा र सेवा अवधि नजोडिने भए सो कुरामा श्रमिकको मञ्जुरी भएको कुरा,

(छ) श्रमिकले हाल खाइपाइ आएको सेवा सुविधा सरूवा भर्इ जाने प्रतिष्ठानले दिने सेवा सुविधा भन्दा कमी हुने भएमा त्यस्तो सेवा सुविधामा श्रमिकको मन्जुरी भएको कुरा,

(ज)  सम्झौताका पक्षहरुले आवश्यक ठानेको अन्य कुराहरु।

(३) उपनियम (१) बमोजिम गरिएको सम्झौताको प्रतिलिपि प्रतिष्ठानले सम्बन्धित श्रमिकलाई उपलव्ध गराउनु पर्नेछ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित श्रमिकको मन्जुरी बिना कुनै श्रमिकलार्इ एक प्रतिष्ठानबाट अर्को प्रतिष्ठानमा सरूवा गर्न पाइने छैन।

तर श्रमिकको पारिश्रमिक, सेवा, सुविधा सम्बन्धी प्रतिष्ठानको विनियमावली बमोजिम  रोजगारदाताले आफ्नो एक कार्यस्थलमा कार्यरत श्रमिकलार्इ अर्को कार्यस्थलमा सरूवा गर्न बाधा पुग्ने छैन।

६०. सरुवा हुँदा श्रमिकले पाउने सुविधा: (१) प्रतिष्ठानमा कार्यरत श्रमिकलाई साविकको कार्यस्थलबाट अर्को कार्यस्थलमा सरुवा गर्दा रोजगारदाताले देहाय बमोजिम सुविधा दिनु पर्नेछ:–

(क)   सरुवा भई जाने स्थानसम्म श्रमिकले आफ्नो मालसमान लैजाँदा लाग्ने यातायात भाडा बापतको खर्च,

(ख)   सरूवा भर्इ गएको स्थानमा बासस्थान व्यवस्थापनको लागि एक महिनाको पारिश्रमिक बराबरको रकम ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्रमिकलार्इ सरुवा भएको स्थानसम्म जाँदा लाग्ने यातायात खर्च तथा त्यस्तो ठाउँमा बस्ने बसोबासको व्यवस्था रोजगारदाताले नै गरेकोमा त्यस्तो श्रमिकलार्इ यातायात र बासस्थान बापत थप खर्च दिनु पर्ने छैन।

(३) सरूवा हुने श्रमिक र निजका आश्रित परिवारका सदस्यहरुलाई विनियमावलीमा उल्लेख भएबमोजिम दैनिक तथा भ्रमण खर्च उपलब्ध गराउनु पर्नेछ।

(४) सरूवा हुने श्रमिकलार्इ निजको स्थायी बासस्थान वा निज कार्यरत स्थान भन्दा बाहिर सरूवा गरी पठाउँदा श्रमिकको सेवा शर्त सम्बन्धी विनियमावलीमा उल्लेख भए बमोजिम बेजिल्ला भत्ता (आउट स्टेशन एलाउन्स) दिनु पर्नेछ।

(५) यस नियममा अन्यत्र जुनसुकै कुरा उल्लेख भए तापनि आफ्नो बासस्थानबाट दैनिक रूपमा सहजै कार्यस्थलमा आवतजावत गर्न सकिने एकै स्थानको क्षेत्रको एक कार्यस्थलबाट अर्को कार्यस्थलमा वा श्रमिक आफैले सरुवा मागी गएको अवस्थामा निजलार्इ रोजगारदाताले यस नियम बमोजिमको थप सुविधा दिनु पर्ने छैन।

६१. श्रम सम्बन्ध समिति : (१) दशजना वा सोभन्दा बढी श्रमिक कार्यरत प्रत्येक प्रतिष्ठानमा देहाय बमोजिमको एक श्रम सम्बन्ध समिति रहनेछः-

(क) प्रतिष्ठानको प्रमुख व्यवस्थापक वा निजले तोकेको व्यक्ति   –संयोजक,

(ख) प्रतिष्ठानको प्रमुख व्यवस्थापकले तोकेको

व्यवस्थापकीय तहको दुर्इजना व्यक्ति                        –सदस्य,

(ग) प्रतिष्ठानको ट्रेड युनियनको तर्फबाट एकजना महिला

सहित चार जना श्रमिक                                –सदस्य,

(घ) प्रतिष्ठानको प्रशासन शाखा प्रमुख                           –सदस्य-सचिव।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन सयभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा व्यवस्थापक र श्रमिकको तर्फबाट दुर्इ दुर्इ जना थप सदस्य रहनेछन्।

(३) उपनियम (१) को खण्ड (ग) बमोजिमको सदस्यको चयन प्रतिष्ठानको आधिकारिक ट्रेड युनियनको कार्यकारी समितिले गर्नु पर्नेछ। प्रतिष्ठानमा आधिकारिक ट्रेड युनियन नभएमा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुले छानेको श्रमिकले समितिमा प्रतिनिधित्व गर्नेछ।

(४) उपनियम (१) को खण्ड (ख) बमोजिमका सदस्यको कार्यकाल संयोजकले तोकेको अवधिसम्म र खण्ड (ग) बमोजिमका सदस्यको पदावधि समितिमा चयन भएको मितिले दुई वर्षको हुनेछ।

(५) श्रम सम्बन्ध समितिको हिसाब किताबको खाता सञ्चालन श्रमिक र व्यवस्थापकले आफ्नो तर्फबाट तोकेका एक एक जना प्रतिनिधिको संयुक्त हस्ताक्षरबाट  हुनेछ।

६२. श्रम सम्बन्ध समितिको बैठक : (१) श्रम सम्बन्ध समितिको बैठक संयोजकको अध्यक्षतामा आवश्यकता अनुसार निजले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(२) समितिको बैठक सामान्यतया प्रतिष्ठानको दैनिक कार्य सञ्चालनमा बाधा नपर्ने गरी कार्यालय समय अघि वा पछि बस्नेछ।

(३) सदस्य-सचिवले समितिको बैठक बस्ने मिति, समय र स्थान तथा त्यस्तो बैठकमा हुने छलफलको विषय समेत उल्लेख गरी कम्तीमा चौबीस घण्टा अगावै सबै सदस्यहरुलाई सूचना दिनु पर्नेछ।

(४) समितिको बैठकमा श्रमिक पक्षको उपस्थिति नभएसम्म बैठकको कारबाही अघि बढ्ने  छैन।

(५) समितिको बैठकको निर्णय बैठकमा उपस्थित सदस्यहरूको यथासम्भव सर्वसम्मतबाट गर्नु पर्नेछ।

(६) समितिले आवश्यक ठानेमा कुनै विज्ञ, रोजगारदाता, श्रम आपूर्तिकर्ता वा ट्रेड युनियन सम्बद्ध व्यक्तिलार्इ समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।

(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

६३. श्रमिकको कार्य सम्पादन मूल्याङ्कन गर्नु पर्ने: (१) रोजगारदाताले प्रतिष्ठानको विनियमावलीमा तोकिएको आधार तथा प्रकृया बमोजिम श्रमिकको कार्यसम्पादन मूल्याङ्कन गर्नु पर्नेछ।

(२) रोजगारदाताले कार्यसम्पादन मूल्याङ्कन गर्नु पर्ने श्रमिकलार्इ तत्सम्बन्धी फाराम उपलब्ध गराउनु पर्नेछ।

(३) रोजगारदाताले आर्थिक वर्षको शुरूमा प्रत्येक श्रमिकलार्इ अघिल्लो आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम भर्न लगार्इ त्यसको मूल्याङ्कन गरी त्यस्तो फारम कम्तीमा तीन वर्षसम्म सुरक्षित राख्नु पर्नेछ।