परिच्छेद–१  प्रारम्भिक 

परिच्छेद–१  प्रारम्भिक 

1.  संक्षिप्त नाम र प्रारम्भ :- (१) यस नियमावलीको नाम “राष्ट्रिय सभा नियमावली, २०७५” रहेको छ ।
(२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ ।
2.  परिभाषा :- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यक्ष” भन्नाले राष्ट्रिय सभाको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “अर्थ मन्त्री” भन्नाले नेपाल सरकारको अर्थ मन्त्री सम्झनु पर्छ र सो शब्दले अर्थ मन्त्रीको काम गर्न तोकिएको अन्य कुनै मन्त्री वा राज्यमन्त्रीलाई समेत जनाउँछ ।
(ग) “उपाध्यक्ष” भन्नाले राष्ट्रिय सभाको उपाध्यक्ष सम्झनु पर्छ ।
(घ) “टेबुल” भन्नाले सदनको टेबुल सम्झनु पर्छ र सो शब्दले सदन समक्ष कुनै कागजपत्र वा विवरण पेश गर्ने कार्यलाई समेत जनाउँछ ।
(ङ) “पदाधिकारी” भन्नाले अध्यक्ष, उपाध्यक्ष, सत्तापक्षको नेता, विपक्षी दलको नेता, सत्तापक्षको मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापति सम्झनु पर्छ र सो शब्दले संसदीय दलको नेता, संघीय संसदको महासचिव र सचिवलाई समेत जनाउँछ ।
(च) “परिसर” भन्नाले राष्ट्रिय सभाको बैठक कक्ष, उपकक्ष सहित भवनको आसपासको भूभाग सम्झनु पर्छ र सो शब्दले अध्यक्षद्वारा समय–समयमा परिसर भनी तोकिएको अन्य ठाउँलाई समेत जनाउँछ ।
(छ) “प्रस्ताव” भन्नाले राष्ट्रिय सभामा विचारार्थ पेश गरिएको कुनै प्रस्ताव सम्झनु पर्छ ।
(ज) “प्रस्तुतकर्ता सदस्य” भन्नाले सरकारी विधेयकको सम्बन्धमा कुनै मन्त्री र गैरसरकारी विधेयकको सम्बन्धमा विधेयक प्रस्तुतकर्ता सदस्य सम्झनु पर्छ र सो शब्दले प्रतिनिधि सभाबाट पारित भई सभामा प्राप्त भएको विधेयकका सम्बन्धमा उक्त विधेयकमा विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने मन्त्री वा सदस्यलाई समेत जनाउँछ ।
(झ) “बैठक कक्ष” भन्नाले राष्ट्रिय सभाकोे बैठक कक्ष सम्झनु पर्छ र सो शब्दले बैठक कक्षसँग जोडिएको दर्शकदीर्घा तथा बरण्डालाई समेत जनाउँछ ।
(ञ) “मन्त्री” भन्नाले नेपाल सरकारको प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्री सम्झनु पर्छ ।
(ट) “मन्त्रिपरिषद्” भन्नाले नेपालको संविधानको धारा ७६ बमोजिमको नेपाल सरकार, मन्त्रिपरिषद् सम्झनु पर्छ ।
(ठ) “मर्यादापालक” भन्नाले संघीय संसदको सदन वा समितिको बैठकमा सुरक्षा व्यवस्थाको लागि नेपाल प्रहरीबाट खटिएका तथा सचिवालयले सेवा करारमा नियुक्ति गरेका पूर्व सैनिक वा प्रहरी सम्झनु पर्छ ।
(ड) “महासचिव” भन्नाले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त संघीय संसदकोे महासचिव सम्झनु पर्छ र सो शब्दले महासचिव अनुपस्थित रहेको अवस्थामा महासचिवको काम गर्न अध्यक्षको परामर्श लिई प्रतिनिधि सभाको सभामुखले तोकेको सचिव वा सचिवालय सचिवलाई समेत जनाउँछ ।
(ढ) “राष्ट्रिय सभा” भन्नाले संविधानको धारा ८६ बमोजिम गठन हुने राष्ट्रिय सभा सम्झनु पर्छ ।
(ण) “विपक्षी दलको नेता” भन्नाले प्रतिनिधि सभाको विपक्षी दलको नेताले राष्ट्रिय सभाको विपक्षी दलको नेता भनी मनोनीत गरी सूचना गरेको सदस्य सम्झनु पर्छ ।
(त) “विपक्षी दलको प्रमुख सचेतक” भन्नाले राष्ट्रिय सभाको विपक्षी दलको नेताले तोकेको राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ ।
(थ) “सचिव” भन्नाले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त राष्ट्रिय सभाकोे सचिव सम्झनु पर्छ र सो शब्दले सचिव अनुपस्थित रहेको अवस्थामा राष्ट्रिय सभाको सचिव भई काम गर्न यस नियमावली बमोजिम अध्यक्षले तोकेको सचिवालय सचिव वा वरिष्ठ अधिकृत कर्मचारीलाई समेत जनाउँछ ।
(द) “सचिवालय” भन्नाले नेपालको संविधानको धारा १०७ बमोजिमको संघीय संसद सचिवालय सम्झनु पर्छ ।
(ध) “सत्तापक्षको नेता” भन्नाले प्रधानमन्त्रीद्वारा मनोनीत मन्त्री बाहेकको राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ ।
(न) “सत्तापक्षको मुख्य सचेतक” भन्नाले प्रधानमन्त्रीले तोकेको राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ ।
(प) “सदन”, “सभा” वा “बैठक” भन्नाले राष्ट्रिय सभाको सदन, सभा वा बैठक सम्झनु पर्छ ।
(फ) “सदस्य” भन्नाले राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ ।
(ब) “सभापति” भन्नाले समितिको सभापति सम्झनु पर्छ ।
(भ) “समिति” भन्नाले यस नियमावली बमोजिम गठन हुने राष्ट्रिय सभाकोे समिति सम्झनु पर्छ ।
(म) “सन्धि” भन्नाले नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौता सम्झनु पर्छ ।
(य) “सूचनापत्र” भन्नाले देहायका विषयहरू समावेश भएको राष्ट्रिय सभाकोे सूचनापत्र सम्झनु पर्छ ः–
(१) बैठकको कारबाही सम्बन्धी सूचना—१,
(२) बैठकको कारबाहीको संक्षिप्त विवरण —२,
(३) समितिसँग सम्बन्धित सूचना—३,
(४) अध्यक्षले आवश्यक ठहर्या‍एका अन्य विषय—४ ।
(र) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
(ल) “संसदीय दलको नेता” भन्नाले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संसदीय दलको नेता सम्झनु पर्छ ।
(व) “संसदीय मामिला मन्त्री” भन्नाले नेपाल सरकारको संसदीय मामिला हेर्ने मन्त्री सम्झनु पर्छ ।