परिच्छेद–२८ विविध

परिच्छेद–२८ विविध

217.  महान्यायाधिवक्ताले राय व्यक्त गर्ने :- (१) अध्यक्षले कुनै कानूनी प्रश्नको सम्बन्धमा नेपालको संविधानको धारा १५८ को उपधारा (४) बमोजिम महान्यायाधिवक्ताको राय लिन आवश्यक ठानेमा महान्यायाधिवक्तालाई सदनमा उपस्थित भई राय व्यक्त गर्न अनुमति दिनेछ ।
(२) उपनियम (१) बमोजिम व्यक्त गरिएको रायमाथि छलफल हुने छैन ।
(३) उपनियम (१) बमोजिमको राय व्यक्त गर्ने प्रक्रिया अध्यक्षले निर्धारण गरे बमोजिम हुनेछ ।
218.  महासचिवको विशेष अधिकार :- महासचिवले सभा वा यसको कुनै समिति वा उपसमितिको बैठकमा प्रवेश गर्न र बैठकमा कार्यरत सचिव वा अधिकृतलाई निर्देशन दिन वा बैठकले मागेको कार्यविधि सम्बन्धी सल्लाह दिन सक्नेछ ।
219.  अभिलेखहरूको सुरक्षा :- (१) सभा र यसका समितिहरूको निर्णय तथा कारबाहीको अभिलेख सचिवले सुरक्षित राख्न लगाउनेछ ।
(२) उपनियम (१) बमोजिम राखिने अभिलेखहरू अध्यक्षको आदेश बिना सचिवले सभा भवनबाट बाहिर लैजान कसैलाई अनुमति दिने छैन ।
(३) सभामा सदस्यले आफुले बोलेको श्रव्य र दृश्यको अभिलेख माग गरेमा त्यस्तो अभिलेख सचिवालयले उपलव्ध गराउनेछ ।
२२०. भाषा :- (१) राष्ट्रिय सभा वा यसका समितिको काम कारबाही नेपाली भाषामा हुनेछ । कुनै सदस्यले आफ्नो मातृभाषामा बोलेको अवस्थामा त्यसलाई अभिलेख राख्ने व्यवस्था मिलाउन सकिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोलाई सम्बन्धी अपाङ्गता भएका सदस्यको हकमा अध्यक्षले त्यस्तो सदस्यलाई साङ्केतिक भाषामा आफ्नो विचार प्रकट गर्न र त्यस्तो विचारलाई निजको सहयोगीले सँगै अनुवाद गरी बैठकमा सुनाउने अनुमति दिन सक्नेछ ।
221.  पोशाक र प्रतीक :- सदस्यको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुनेछ ।
222.  सचिवालय सम्बन्धी व्यवस्था :- (१) संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न, विधायिकी कार्यमा सहयोग गर्न, पदाधिकारी तथा सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन र संघीय संसद सचिवालयको सञ्चालन एवं व्यवस्थापन गर्नका लागि सचिवालय रहनेछ ।
(२) महासचिवले सचिवालयको प्रशासकीय प्रमुखको रुपमा कार्य गर्नेछ ।
(३) महासचिवले आफुलाई भएको अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार प्रतिनिधि सभाको सचिव, राष्ट्रिय सभाको सचिव र सचिवालय सचिवलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(४) सचिवालय सम्बन्धी अन्य व्यवस्था प्रचलित नेपाल कानुन र सो अन्तर्गत सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वीकृत गरेको नियमावली बमोजिम हुनेछ ।
223.  सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति ः (१) संघीय संसद र सचिवालयलाई सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक नीति, कार्यक्रम तथा बजेट निर्धारण गर्न र रेखदेख, नियन्त्रण एवं सुपरिवेक्षण गर्नको लागि देहाय बमोजिमको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति रहनेछ ।
(क)    सभामुख – सभापति
(ख)    राष्ट्रिय सभाको अध्यक्ष – सदस्य
(ग)     उपसभामुख – सदस्य
(घ)     राष्ट्रिय सभाको उपाध्यक्ष – सदस्य
(ङ)     महासचिव – सदस्य
(च)     प्रतिनिधि सभाको सचिव – सदस्य
(छ)     राष्ट्रिय सभाको सचिव – सदस्य
(ज)  सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) – सदस्य
(झ) सचिवालय सचिव (प्रशासन)       –सदस्य–सचिव
(२) सभामुखको पद रिक्त रहेको अवस्थामा राष्ट्रिय सभाको अध्यक्षले उपनियम (१) बमोजिमको समितिको सभापति भई कार्य गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) सचिवालयको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(ख) संघीय संसद तथा सचिवालयको वार्षिक कार्यक्रम तथा बजेट निर्धारण गर्ने र खर्च सम्बन्धी मापदण्ड निर्धारण गर्ने,
(ग) प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसदीय समिति एवं संयुक्त समितिबीच समन्वय, सहकार्य र सामन्जस्यता कायम गर्ने, गराउने,
(घ) संघीय संसदका काम कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक अनुसन्धानात्मक कार्य गर्ने, गराउने,
(ङ) प्रदेश सभासँग आवश्यक समन्वय र सहकार्य गर्ने,
(च) सचिवालयमा रहने कर्मचारीको दरबन्दी र कार्यविवरण निर्धारण गर्ने,
(छ) सचिवालयका कर्मचारीको वृत्तिविकास एवं सुविधा निर्धारण सम्बन्धी कार्य गर्ने,
(ज) संघीय संसद तथा सचिवालयको भौतिक निर्माण र सुधार सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तय गर्ने, गराउने,
(झ) पदाधिकारी, सदस्य र कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी कार्य गर्ने,
(ञ) नेपाल सरकारसँग समन्वय गरी संघीय संसद, संसदीय समिति एवं संयुक्त समितिको वार्षिक कार्यतालिका तयार गर्ने,
(ट) मित्रराष्ट्रका व्यवस्थापिका, अन्तरव्यवस्थापिका संघ, एसिया प्रशान्त संसदीय मञ्च, सार्क सभामुख संघ, एसियाली संसदीय सभा लगायत अन्य अन्तर्राष्ट्रिय संघ–संस्थासँग सम्पर्क, समन्वय, सहयोग र संसदीय प्रतिनिधि मण्डलको आदान प्रदान गर्ने ।
(४) उपनियम (१) बमोजिमको समितिले आवश्यक देखेमा मन्त्री र संवैधानिक वा अन्य निकायका पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(५) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि समिति आपैmंले निर्धारण गरे बमोजिम हुनेछ ।
224.  कानूनी राय सल्लाह :- (१) राष्ट्रिय सभा वा यसको कुनै समितिको बैठकको काम कारबाहीमा कुनै कानूनी प्रश्न उठेमा सचिवालयको कानून सल्लाहाकार (कानून महाशाखा प्रमुख) को राय सल्लाह लिइनेछ र राष्ट्रिय सभा वा समिति पक्ष वा विपक्ष भएको कुनै मुद्दा मामिलामा निजले राष्ट्रिय सभा वा समितिको प्रतिनिधित्व समेत गर्नेछ ।
(२) यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि महान्याधिवक्ताले परामर्श दिन वा प्रतिरक्षा गर्न नमिल्ने अवस्थामा राष्ट्रिय सभा वा यसका समितिहरुले विशेष प्रयोजनको लागि छुट्टै कानूनविद् नियुक्त गरी परामर्श लिन वा प्रतिरक्षा गर्न यस नियमले बाधा पु¥याएको मानिने छैन ।
225.  सदस्यको पक्राउ सम्बन्धी जानकारी तथा अन्य विषय :- (१) संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा अध्यक्षले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना बैठक नचलेको अवस्थामा प्राप्त भएमा अध्यक्षले सचिवालयको सूचनापाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक जानकारी गराउनेछ ।
(३) संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई कुनै फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्य प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजले सदस्यको हैसियतमा कार्य गर्न वा अधिकार प्रयोग गर्न वा उन्मुक्ती पाउने छैन र सो अवधिभर निजको पारिश्रमिक सेवा तथा सुविधा समेत स्थगित हुनेछ ।
(४) कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ ।
226. सदस्यको मनोनयन :- यस नियमावलीमा लेखिए बाहेक राष्ट्रिय सभासँग सम्बन्धित समिति, समूह, सङ्घ वा यस्तै निकायमा प्रतिनिधित्व गर्ने सदस्यको मनोनयन गर्दा सदस्यको ज्ञान, सीप, रुचि एवं सदनमा रहेको दलीय संरचनालाई दृष्टिगत गरी अध्यक्षले मनोनयन गर्न सक्नेछ र त्यस्तो समिति, समूह, सङ्घ वा निकायको गठन र कार्यविधि अध्यक्षले तोके बमोजिम हुनेछ ।
२२६क. सामूहिक प्रतिवेदन पेश गर्न सक्ने : सदस्यले आफ्नो निर्वाचन क्षेत्रभित्रका विकास निर्माण, शान्ति, सुव्यवस्था लगायतका कामहरुको अनुगमन, निरीक्षण र मूल्याङ्कन गरी सामूहिक रुपमा सदस्यको तर्फबाट कुनै एक सदस्यले सभा समक्ष प्रतिवेदन पेश गर्न सक्नेछ ।
२२६ख. विज्ञ वा विज्ञ समूह सम्बन्धी व्यवस्था : (१) समितिको काममा सहयोग पुर्‍याउन अवैतनिक वा पारिश्रमिक उपलब्ध गराउने गरी सेवाका शर्त तोकी आवश्यकतानुसार विज्ञको नियुक्ति वा विज्ञ समूहको गठन गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको पारिश्रमिक उपलब्ध गराउने गरी नियुक्त भएको विज्ञ वा विज्ञ समूहको पारिश्रमिक सम्बन्धित समितिको परामर्शमा अध्यक्षले निर्धारण गरे बमोजिम हुनेछ ।
227. सभाको गोप्य बैठक :- (१) राष्ट्रिय सुरक्षा र राष्ट्रिय सङ्कट सम्बन्धी कुनै विषयको छलफल गोप्य बैठकमा गरियोस् भनी प्रधानमन्त्रीले अनुरोध गरेमा तथा त्यस्तो अनुरोध अध्यक्षलाई मनासिब लागेमा सो विषयको छलफल गोप्य बैठकमा गराउने निर्णय गर्न सक्नेछ ।
(२) सभाको गोप्य बैठक बसेको समयमा सभाका सदस्यहरु बाहेक कुनै पनि व्यक्ति बैठक कक्षमा बस्न पाउने छैन ।
तर अध्यक्षले अनुमति दिएका व्यक्तिहरु र प्रतिनिधि सभाका सदस्यहरुका हकमा यो व्यवस्था लागू हुने छैन ।
(३) गोप्य बैठकको कारबाही वा निर्णयको संक्षिप्त विवरणको अभिलेख अध्यक्षले उपयुक्त ठह¥याएको तरिकाले राख्न र प्रकाशन गराउन सक्नेछ । अध्यक्ष वा निजले अधिकृत गरेको व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्तिले गोप्य बैठकको कारबाहीको कुनै अभिलेख राख्न वा कसैलाई त्यस्तो बैठकको कुनै कुरा भन्न वा प्रचार गर्न हुँदैन ।
(४) गोप्य बैठकको सञ्चालन विधि अध्यक्षले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) गोप्य बैठकको कारबाही गोप्य राखिरहनु आवश्यक छैन भन्ने लागेमा अध्यक्षको अनुमतिले प्रधानमन्त्री वा निजद्वारा अधिकृत कुनै सदस्यले गोप्य बैठकको कारबाही गोप्य नराख्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्न सक्नेछ ।
(६) उपनियम (५) बमोजिमको प्रस्ताव बैठकबाट स्वीकृत भएमा सचिवले गोप्य बैठकको कारबाही र निर्णयको विवरण तयार गरी अध्यक्षले निर्देशन गरे बमोजिम प्रकाशन गर्नेछ ।
228.  प्रवेश नियमित गर्ने अधिकार :- (१) सभाको बैठक सामान्यतया खुला रहनेछ ।
(२) सभाको काम कारबाही हेर्न आउने व्यक्तिहरूको सुविधालाई ध्यानमा राखी प्रवेश नियमित तथा नियन्त्रण गर्ने अधिकार अध्यक्षलाई हुनेछ । त्यसरी प्रवेश नियमित गर्न अध्यक्षले आवश्यकता अनुसार प्रवेशपत्रको व्यवस्था गर्न वा गर्न लगाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम जारी गरिएको प्रवेशपत्र लिई बैठक भवनभित्र प्रवेश गर्ने व्यक्तिले त्यस्तो प्रवेशपत्रमा उल्लिखित शर्तहरूको पालना गर्नु पर्नेछ र कसैले ती शर्तहरू पालना नगरेमा त्यस्तो व्यक्तिलाई अध्यक्षको आदेशले बैठक भवनबाट निष्काशन समेत गर्न सकिनेछ ।
229.  बैठकलाई सम्बोधन :- (१) कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख वा संयुक्त राष्ट्र सङ्घका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि नेपाल सरकारबाट अनुरोध भएमा अध्यक्षले अनुमति दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्बोधनको लागि अपनाइने प्रक्रिया अध्यक्षले तोके बमोजिम हुनेछ ।
230.  कारबाहीको संक्षिप्त विवरण :- सभाको कारबाहीको संक्षिप्त विवरण सदस्यहरूलाई वितरण गरिनेछ ।
231. आन्तरिक कार्यविधि :- कार्यव्यवस्था परामर्श समितिको परामर्श लिई अध्यक्षले आवश्यकता अनुसार आन्तरिक कार्यविधि बनाउन सक्नेछ ।
232.  नियमहरूको निलम्बन :- (१) कुनै पनि सदस्यले अध्यक्षको अनुमति लिई यस नियमावलीको कुनै नियमलाई राष्ट्रिय सभा समक्ष विचाराधीन कुनै कार्यको सम्बन्धमा लागू नहुने गरी निलम्बित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सक्नेछ र सो प्रस्ताव पारित भएमा उक्त नियम तत्कालका लागि निलम्बित भएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिमको प्रस्ताव सामान्यतया कुनै विधेयकलाई संक्षिप्त प्रकृयाबाट पारित गर्नको लागि समय सीमा छोट्याउने प्रयोजनको लागि मात्र पेश गर्न सकिनेछ ।
233.  बाधा अड्काउ फुकाउने अधिकार :- यो नियमावलीको प्रयोग गर्दा परेका बाधा अड्काउहरू फुकाउने र संविधान तथा यस नियमावलीको अधीनमा रही आवश्यक आदेश वा निर्देशन दिने अधिकार कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षलाई हुनेछ । त्यस्ता आदेश वा निर्देशन त्यसपछि बस्ने सभाको बैठकबाट अनुमोदन गराउनु पर्नेछ । यसरी अनुमोदन भएका आदेश वा निर्देशन यस नियमावलीमा परे सरह मानिनेछ ।
234. नियमावलीको व्याख्या :- यस नियमावलीको व्याख्या गर्ने अधिकार कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ । त्यस्तो निर्णयको जानकारी बैठकलाई दिनु पर्नेछ ।
235.  आन्तरिक काम कारबाही मानिने :- यस नियमावली बमोजिम सम्पादन गरिने काम कारबाही सभाको आन्तरिक काम कारबाही मानिनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।
236. संशोधन सम्बन्धी व्यवस्था :- (१) सभाले यस नियमावलीमा आवश्यक संशोधन गर्न सक्नेछ ।
(२) यो नियमावली संशोधन गर्न आवश्यक ठानेमा कुनै सदस्यले सो सम्बन्धी कारण र विवरण सहितको प्रस्तावको सूचना अध्यक्षलाई दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूचना अध्यक्षले उपयुक्त ठानी अनुमति दिएमा सो प्रस्ताव प्रस्तुतकर्ता सदस्यले नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सदस्यहरूको नाम सहितको प्रस्ताव स्वीकृतिको लागि बैठकमा प्रस्तुत गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको समितिमा आवश्यकता अनुसारको सङ्ख्यामा सदस्य रहनेछन् र समितिको सभापति समितिका सदस्यले आफूहरु मध्येबाट चयन गर्नेछन् ।
(५) समितिले बैठकमा प्रतिवेदन पेश गरेपछिको अन्य कार्यविधि अध्यक्षले हेरफेर गरेमा बाहेक विधेयकका सम्बन्धमा अपनाइने कार्यविधि अपनाइनेछ ।
237.  बचाउ र खारेजी :- (१) राष्ट्रिय सभा नियमावली, २०५४ तथा राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ खारेज गरिएको छ ।
(२) राष्ट्रिय सभा नियमावली, २०५४ तथा राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ बमोजिम भएका काम कारवाहीहरु यसै नियमावली बमोजिम भएको मानिनेछ ।