परिच्छेद–४ कसूर तथा सजाय सम्बन्धी व्यवस्था

परिच्छेद–४ कसूर तथा सजाय सम्बन्धी व्यवस्था

१७. स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरेको मानिने : कुनै व्यक्ति वा प्रतिष्ठानले परिच्छेद–२ विपरीतको कुनै काम कारबाही गरे गराएमा निजले स्वच्छ प्रतिस्पर्धा विपरीतको कसूर गरे गराएको मानिनेछ ।

१८. सजाय : (१) देहायको काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई कसूरको मात्रा अनुसार देहाय बमोजिमको सजाय हुनेछ :–

(क) दफा ३, ४ वा ५ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही बदर गरी त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पाँच लाख रुपैयाँसम्म जरिबाना,

(ख) दफा ६ को उपदफा (१) विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही बदर गरी त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई तीन लाख रुपैयाँसम्म जरिबाना,

(ग) दफा ७ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई एक लाख रुपैयाँसम्म जरिबाना,

(घ) दफा ८ विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पचास हजार रुपैयाँसम्म जरिबाना,

(ङ) दफा ९ वा १० विपरीत काम कारबाही गरे गराएमा त्यस्तो काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना,

(च) खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम कारबाही गर्ने गराउने व्यक्ति वा प्रतिष्ठानलाई दश हजार रुपैयाँसम्म जरिबाना ।

(२) उपदफा (१) बमोजिमको सजाय पाएको व्यक्ति वा प्रतिष्ठानले यस ऐन अन्तर्गतको कुनै कसूर पुनः गरेमा त्यस्तो व्यक्ति वा प्रतिष्ठानलाई सो उपदफा बमोजिम हुने जरिबानाको दोब्बर जरिबाना हुनेछ ।

(३) उपदफा (१) बमोजिमको काम कारबाही कुनै सम्झौता अनुसार भए गरेको रहेछ भने त्यस्तो सम्झौता समेत बदर हुनेछ ।

(४) कसैले कुनै व्यक्ति वा प्रतिष्ठानलाई हानि नोक्सानी पुर्याउने वा दुःख दिने नियतले झुट्टा उजुर दिएको ठहरेमा निजलाई दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

१९. बाधा विरोध गर्नेलाई सजाय : यस ऐन अन्तर्गतको कसूरमा अनुसन्धान तथा तहकिकात सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा निजलाई बजार संरक्षण अधिकृतको प्रतिवेदनको आधारमा अदालतले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

२०. मुख्य भई काम गर्नेले कसूर गरेको मानिने : कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस ऐन बमोजिम कसूर मानिने कुनै काम गरेमा फर्मको हकमा त्यस्तो काम गर्दाका बखत कायम रहेका फर्मका हिस्सेदार र कम्पनी वा सङ्गठित संस्थाको हकमा त्यस्तो कम्पनी वा संस्थाको मुख्य भई काम गर्ने व्यक्तिले त्यस्तो कसूर गरेको मानिनेछ ।

तर मुख्य भई काम गर्ने व्यक्ति नियुक्ति हुनु अगावै त्यस्तो काम भए गरेको वा सो काम गर्ने निर्णय त्यसरी मुख्य भई काम गर्ने व्यक्तिको मञ्जुरी बिना भएको हो भन्ने कुरा प्रमाणित भएमा जसले त्यस्तो काम गरेको छ सोही व्यक्तिले कसूर गरेको मानिनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “मुख्य भई काम गर्ने व्यक्ति” भन्नाले कम्पनी वा सङ्गठित संस्थाको अध्यक्ष, सञ्चालक समितिका सदस्य, महाप्रवन्धक, प्रवन्ध निर्देशक वा सोही हैसियतमा काम गर्ने व्यक्ति सम्झनु पर्छ ।

२१. सजायमा छुट : (१) कुनै कसूरको अनुसन्धान तथा तहकिकात गर्दा सो कसूरसँग सम्बन्धित कुनै व्यक्ति वा प्रतिष्ठानले देहाय बमोजिम सहयोग गरेमा बजार संरक्षण अधिकृतले मुद्दा दायर गर्दा त्यस्तो व्यक्ति वा प्रतिष्ठानलाई दफा १८ बमोजिम हुने सजाय पूरै वा आंशिक रुपमा छूट दिने गरी अदालत समक्ष माग गर्न सक्नेछः–

(क) अनुसन्धान तथा तहकिकात प्रारम्भ हुनु अघि नै त्यस्तो कसूरको बारेमा जानकारी वा सूचना दिएमा,

(ख) अनुसन्धान तथा तहकिकातको सिलसिलामा जाँचबुझ गर्ने अधिकारीले पत्ता लगाउन नसकेको महत्वपूर्ण प्रमाण वा जानकारी उपलब्ध गराएमा,

(ग) अनुसन्धान तथा तहकिकातको काम कारबाहीमा अन्य कुनै विशेष सहयोग पुर्याएमा ।

(२) उपदफा (१) बमोजिम बजार संरक्षण अधिकृतले माग गरेको सजाय छूटको व्यहोरा मनासिब देखिएमा अदालतले कसूर गर्ने व्यक्ति वा प्रतिष्ठानलाई यस ऐन बमोजिम हुन सक्ने सजाय आंशिक वा पूर्ण रुपले छूट गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न व्यक्ति वा प्रतिष्ठानले दफा २९ बमोजिम क्षतिपूर्ति दिनु पर्ने दायित्वबाट छुट पाउन सक्ने छैन ।