परिच्छेद–५क. समुदायद्वारा सञ्चालित विद्यालय व्यवस्थापन सम्बन्धी व्यवस्था

परिच्छेद–५क. समुदायद्वारा सञ्चालित विद्यालय व्यवस्थापन सम्बन्धी व्यवस्था

२२क.सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा लिन निवेदन दिनु पर्नेः (१) कुनै सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा लिन चाहने स्थानीय निकाय वा व्यवस्थापन समितिले देहायका कागजात संलग्न गरी अनुसूची–११क. बमोजिमको ढाँचामा जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु पर्नेछः–

(क) सामुदायिक विद्यालय व्यवस्थापन सुधार सम्बन्धी कम्तीमा तीन वर्षे कार्य योजना,

(ख) व्यवस्थापन समितिले जिम्मा लिने भए विद्यालयको व्यवस्थापन जिम्मा लिने सम्बन्धमा व्यवस्थापन समितिको निर्णय,

(ग) स्थानीय निकायले जिम्मा लिने भए सम्बन्धित व्यवस्थापन समितिको सहमति सहित सम्बन्धित स्थानीय निकायको सो प्रयोजनको लागि भएको निर्णय ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा जिल्ला शिक्षा अधिकारीले निवेदकको माग बमोजिम विद्यालयको व्यवस्थापन जिम्मा दिन हुने वा नहुने सम्बन्धमा आवश्यकता अनुसार आफैं वा आफ्नो मातहतको कुनै अधिकृतद्वारा विद्यालयको स्थलगत निरीक्षण गर्नु वा गराउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात तथा उपनियम (२) बमोजिम गरिएको स्थलगत निरीक्षण प्रतिवेदन जाँचबुझ गर्दा सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा दिन मनासिव देखिएमा जिल्ला शिक्षा अधिकारीले निवेदकलाई त्यस्तो विद्यालयको व्यवस्थापन जिम्मा दिनेछ ।

(४) उपनियम (३) बमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा दिंदा जिल्ला शिक्षा अधिकारीले व्यवस्थापन जिम्मा लिने स्थानीय निकाय वा व्यवस्थापन समितिसँग विद्यालय सञ्चालन सम्बन्धमा सम्झौता गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिमको सम्झौतामा अन्य कुराको अतिरिक्त विद्यालयको व्यवस्थापनको जिम्मेवारी, विद्यालयको सम्पतिको संरक्षण, शैक्षिक कार्यक्रम सञ्चालन गर्दा पालना गर्नु पर्ने शर्तहरु तथा सम्झौता अन्त्य गर्न सकिने आधार उल्लेख गर्नु पर्नेछ ।

(६) जिल्ला शिक्षा अधिकारीले उपनियम (३) बमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा दिएको जानकारी अभिलेखको लागि निर्देशनालय, विभाग र शिक्षक कितावखानालाई दिनु पर्नेछ ।

२२ख…………..

२२ग. समुदायद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारः ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समुदायद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) प्रधानाध्यापक तथा सामुदायिक शिक्षक नियुक्ति गर्ने,

(ख) विद्यालयको स्रोतबाट व्यहोर्ने गरी अन्य शिक्षक तथा कर्मचारी नियुक्ति गर्ने,

(ग) ………………

(घ) विद्यालयको हितको लागि सरकारी तथा गैर सरकारी संघ संस्था वा व्यक्तिसँग सम्झौता गर्ने, तर विदेशी संघ संस्था वा व्यक्तिसँग सम्झौता गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(ङ) विद्यालयको विकासको लागि आवश्यक योजना तर्जुमा गरी लागू गर्ने,

(च) नियम २५ को खण्ड (च), (छ) र (ज) वाहेकका अन्य काम, कर्तव्य र अधिकारको पालन तथा प्रयोग गर्ने गराउने ।

२२घ. समुदायद्वारा सञ्चालित विद्यालय जिम्मा लिने स्थानीय निकायको काम, कर्तव्य र अधिकारः समुदायद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन जिम्मा लिने स्थानीय निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) विद्यालयका भौतिक पूर्वाधार विकास तथा सञ्चालन गर्न व्यवस्थापन समितिलाई आर्थिक सहायता उपलब्ध गराउने,

(ख) समय समयमा विद्यालयको निरीक्षण तथा अनुगमन गर्ने र त्यसरी निरीक्षण तथा अनुगमन गर्दा कुनै कमी कमजोरी देखिएमा सोको निराकरणको लागि व्यवस्थापन समितिलाई आवश्यक निर्देशन वा सुझाव दिने,

(ग) व्यवस्थापन समितिको सिफारिसमा आवश्यकता अनुसार सामुदायिक शिक्षक बाहेकका अन्य शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृति गर्ने,

(घ) आफूले जिम्मा लिएको विद्यालयहरुमा प्राथमिक तहमा विद्यार्थी संख्याको आधारमा र अन्य तहमा विद्यार्थी संख्या र विषयका आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने,

(ङ) आवधिक शैक्षिक कार्यक्रम तयार गरी लागू गर्ने,

(च) विद्यालयको सुधार गर्न आवश्यकता अनुसार विशेषज्ञ नियुक्ति गर्ने ।

(छ) विद्यालय सञ्चालन सम्बन्धमा मन्त्रालय, विभाग, निर्देशनालय वा जिल्ला शिक्षा कार्यालयले दिएको निर्देशन वा सुझाव पालन गर्ने, गराउने,

२२ङ. सामुदायिक शिक्षकको नियुक्ति सम्बन्धी व्यवस्थाः (१) समुदायद्वारा सञ्चालित विद्यालयमा कुनै सामुदायिक शिक्षकको पद रिक्त हुन आएमा व्यवस्थापन समितिले त्यस्तो पद खुला प्रतियोगिताबाट पूर्ति गर्नको लागि रिक्त पद संख्या, आवश्यक न्यूनतम योग्यता, दरखास्त बुझाउने स्थान तथा अन्तिम मिति, परीक्षा हुने मिति र स्थान समेतको विवरण खुलाई कम्तीमा तीस दिनको म्याद दिई विज्ञापन गर्नु पर्नेछ र त्यसरी विज्ञापन भएको कुरा सबैले थाहा पाउने गरी सम्बन्धित विद्यालय, स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयको सूचना पाटीमा टाँँस
गर्नु पर्नेछ । जिल्ला शिक्षा कार्यालयले कुनै पत्रिका वा बुलेटिन प्रकाशन गरेको भए व्यवस्थापन समितिले त्यस्तो पत्रिका वा बुलेटिनमा समेत सो विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीको पद रिक्त भए पनि तृतीय श्रेणीको पद मानी पूर्ति गरिनेछ ।

(३) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापनमा देहायका व्यक्ति उम्मेदवार हुन पाउने छन्ः–

(क) ऐन तथा शिक्षक सेवा आयोग नियमावली, २०५७ बमोजिम शिक्षक पदमा नियुक्त हुन योग्यता पुगेको व्यक्ति,

(ख) अन्य सामुदायिक विद्यालयका स्थायी शिक्षक ।

(४) उपनियम (१) बमोजिम प्रकाशित विज्ञापन अनुसार उम्मेदवार छनौट गर्न देहाय बमोजिमको परीक्षा लिइनेछः–

(क) लिखित परीक्षा                  १०० अङ्क

(ख) प्रयोगात्मक परीक्षा            २५ अङ्क

(ग) अन्तर्वार्ता                          २५ अङ्क

(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि विषयको प्रकृति हेरी आवश्यक ठानेमा मात्र शिक्षक छनौट समितिले प्रयोगात्मक परीक्षा लिने सक्नेछ ।

(६) लिखित परीक्षाको पाठ्यक्रम आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।

(७) लिखित परीक्षा र प्रयोगात्मक परीक्षाको उतीर्णाङ्क क्रमशः पैंतीस र दश अङ्क हुनेछ ।

(८) उम्मेदवारको लिखित परीक्षा र प्रयोगात्मक परीक्षा लिएको भए सो समेतमा उतीर्ण भई सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरुलाई अन्तर्वार्ताको निमित्त छनौट गरिनेछ ।

(९) अन्तर्वार्ताको कुल २५ अङ्क मध्ये अनुभव वापत प्रत्येक वर्षको एक अङ्कका दरले बढीमा दश अङ्क, शैक्षिक योग्यता वापत सेवा प्रवेशको लागि तोकिएको शैक्षिक योग्यताको प्रथम श्रेणी भए तीन, द्वितीय श्रेणी भए दुई र तृतीय श्रेणी भए एक अङ्कका दरले बढीमा तीन अङ्क र अन्तर्वार्ता वापत बढीमा बाह्र अङ्क दिइनेछ ।

(१०) शिक्षक छनौट समितिले लिखित परीक्षा र प्रयोगात्मक परीक्षा लिएको भए सो परीक्षामा सफल भएका उम्मेदवारको अन्तर्वार्तामा प्राप्त गरेको अङ्क जोडी सबै परीक्षाको कुल अङ्क सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस गरी नियम २२ङ. को उपनियम (१) बमोजिमको स्थानमा सूचना प्रकाशन गर्न पर्नेछ । त्यसरी सिफारिस गर्दा उपलब्ध भएसम्म रिक्त पदसंख्याको दश प्रतिशतले हुने स‌ंख्या वा कम्तीमा एकजना मध्ये जुन बढी हुन्छ सो संख्याको उम्मेदवारको नाम वैकल्पिक सूचीमा राख्नु पर्नेछ ।

(११) उपनियम (१०) बमोजिम नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना प्रकाशित भएको वा सूचना पाएको मितिले तीस दिनभित्र नियुक्ति पत्र लिनु पर्नेछ । सो म्याद भित्र नियुक्ति पत्र नलिएमा वा नियुक्ति पत्र लिएको तीस दिनभित्र विद्यालयमा हाजिर नभएमा वा त्यस्तो उम्मेदवारको मृत्यु भई वा अन्य कुनै कारणले एक वर्षभित्र सो पद रिक्त भएमा व्यवस्थापन समितिले वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रमानुसार नियुक्ति गर्न सक्नेछ ।

(१२) उपनियम (११) बमोजिम उम्मेदवारलाई सामुदायिक शिक्षक पदमा नियुक्ति गर्दा व्यवस्थापन समितिले एक वर्षसम्म परीक्षण कालमा रहने गरी नियुक्ति दिनेछ । तर महिला शिक्षिकाको हकमा छ महिना मात्र परीक्षणकाल हुनेछ ।

(१३) उपनियम (१२) बमोजिम परीक्षणकालमा रहेको कुनै शिक्षककाे कार्य सन्तोषजनक नपाएमा व्यवस्थापन समितिले त्यस्तो शिक्षकलाई पदबाट हटाउनेछ ।

(१४) उपनियम (१०) बमोजिम सिफारिस भएको उम्मेदवार सामुदायिक विद्यालयको स्थायी शिक्षक भएमा निजले अघि गरेको स्थायी सेवा अवधि समेत जोडिनेछ ।

२२च……………

२२छ. बढुवा सम्बन्धी व्यवस्थाः (१) समुदायद्वारा सञ्चालित विद्यालयको प्रत्येक तहमा शिक्षक बढुवा गर्ने प्रयोजनको लागि देहायको अनुपातमा बढुवा हुने श्रेणी कायम गरिनेछः–
जम्मा पद संख्या           तृतीय श्रेणी            द्वितीय श्रेणी           प्रथम श्रेणी
४                                  ३                                १                     –
५                                  ४                                १                     –
६                                  ५                                १                     –
७                                 ५                                 २                    –
८                                  ६                                 २                   –
९                                   ६                                ३                   –
१०                                  ६                               ३                     १

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला विकास समितिले जिल्ला भित्रका सबै विद्यालयको व्यवस्थापन जिम्मा लिएकोमा नियम ८९ बमोजिम र गाउँ विकास समिति वा नगरपालिकाले आफ्नो क्षेत्रभित्र एक भन्दा बढी विद्यालयको व्यवस्थापन जिम्मा लिएकोमा त्यस्ता विद्यालयहरुमा रहेको कुल दरबन्दीको आधारमा बढुवा हुने पदको श्रेणी कायम गर्न सक्नेछ ।

(३) व्यवस्थापन समितिले शिक्षकको बढुवा सम्बन्धी कारबाही अघि बढाउनु पूर्व जिल्ला शिक्षा अधिकारीबाट बढुवा हुने पदको श्रेणी सहितको संख्या निर्धारण गराउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम निर्धारण गरिएको श्रेणीमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा नियुक्त भएका देहायका योग्यता पुगेको शिक्षक बढुवाको लागि उम्मेदवार हुन सक्नेछः–

(क) बढुवा हुने श्रेणीभन्दा एक श्रेणी मुनिको पदमा अविच्छिन्न रुपमा सात वर्षसम्म स्थायी सेवा गरेको,

(ख) ………..

(ग) …………

(घ) विगत पाँच वर्षको अवधिमा कुनै किसिमको विभागीय सजाय नपाएको ।

(५) उपनियम (४) बमोजिम योग्यता पुगेको शिक्षकले बढुवा हुनको लागि आवश्यक कागजात संलग्न गरी व्यवस्थापन समिति समक्ष निवेदन दिन सक्नेछ ।

(६) उपनियम (५) बमोजिम निवेदन प्राप्त भएमा व्यवस्थापन समितिले त्यस्तो निवेदन सहितका कागजात शिक्षक छनौट समिति समक्ष पठाउने छ ।

(७) शिक्षक छनौट समितिले शिक्षकलाई बढुवाको निमित्त सिफारिस गर्दा निजको कार्य क्षमताकाे आधारमा गर्नेछ । त्यसरी कार्य क्षमताको मूल्यांकन गर्दा देहाय बमोजिम बढीमा ६० अङ्क दिइनेछः–

(क) कार्य सम्पादन मूल्यांकन वापत ५० अङ्क

(ख) अन्तर्वार्ता वापत १० अङ्क

(८) कार्य सम्पादन मूल्यांकन वापत पछिल्लो पाँच वर्षको लागि प्रति वर्ष १० अङ्ककाे दरले बढीमा ५० अङ्क दिइनेछ ।

(९) शिक्षक छनौट समितिले कार्य सम्पादन मूल्यांकन वापत कम्तीमा ४५ अङ्क अन्तर्वार्ता वापत कम्तीमा ६ अङ्क सहित कम्तीमा ५१ अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गर्नेछ ।

(१०) कार्य सम्पादन मूल्यांकन फारामको ढाँचा मन्त्रालयले तोके बमोजिम हुनेछ ।

(११) शिक्षकको सुपरीवेक्षक प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्ष पुनरावलोकनकर्ता हुनेछ र प्रधानाध्यापकको सुपरीवेक्षक व्यवस्थापन समितिले तोकेको सो समितिको सदस्य र व्यवस्थापन समितिको अध्यक्ष पुनरावलोकनकर्ता हुनेछ ।

तर कुनै विद्यालयमा शिक्षक र प्रधानाध्यापक एउटै श्रेणीको भएमा त्यस्तो शिक्षकको सुपरीवेक्षक व्यवस्थापन समितिको सदस्य र व्यवस्थापन समितिको अध्यक्ष पुनरावलोकनकर्ता हुनेछ ।

(१२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विद्यालयको व्यवस्थापन जिम्मा लिनु अघि कार्यरत स्थायी शिक्षकले चाहेमा आयोगद्वारा हुने बढुवामा समेत भाग लिन पाउनेछ । तर एकपटक यस नियम बमोजिम बढुवा भएको शिक्षकले पुनः आयोगद्वारा हुने बढुवामा उम्मेदवार हुन पाउने छैन ।

२२ज. सामुदायिक शिक्षकको नियुक्ति वा बढुवा बदर गर्न सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक शिक्षकको नियुक्ति तथा बढुवा गर्दा देहायको त्रुटी भएको कुरा कुनै उजूरी परी जाँचबुझ गर्दा वा कुनै व्यहोराबाट थाहा हुन आएमा सम्बन्धित जिल्ला शिक्षा अधिकारीले त्यस्तो नियुक्ति वा बढुवा बदर गरी पुनः शिक्षकको नियुक्ति वा बढुवा सम्बन्धी कारबाही गर्न सम्बन्धित व्यवस्थापन समितिमा लेखी पठाउन सक्नेछः–

(क) यस परिच्छेदको प्रक्रिया नपुर्याई सामुदायिक शिक्षक नियुक्ति वा बढुवा गरेमा,

(ख) रिक्त नभएको पदमा सामुदायिक शिक्षक नियुक्ति वा बढुवा गरेमा,

(ग) योग्यता र विषय नमिल्ने गरी सामुदायिक शिक्षक नियुक्ति गरेमा ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला शिक्षा अधिकारीले शिक्षक नियुक्त वा बढुवा भएको छ महिना पछि त्यस्तो नियुक्ति वा बढुवा बदर गर्न सक्ने छैन ।

२२झ. ……………

२२ञ. विद्यालय सञ्चालन कार्यविधि बनाई लागू गर्नु पर्नेः (१) स्थानीय निकाय वा व्यवस्थापन समितिले आफूले व्यवस्थापन जिम्मा लिएको विद्यालय सुव्यवस्थित रुपमा सञ्चालन गर्न, त्यस्तो विद्यालयमा सामुदायिक शिक्षक बाहेकका अन्य शिक्षक तथा कर्मचारी नियुक्ति वा बढुवा गर्न, त्यसरी नियुक्त वा बढुवा गरिएको शिक्षक तथा कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउन र त्यस्ता शिक्षक र कर्मचारीलाई विभागीय सजाय गर्ने सम्बन्धमा विद्यालय सञ्चालन कार्यविधि बनाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम स्थानीय निकाय वा व्यवस्थापन समितिले बनाएको विद्यालय सञ्चालन कार्यविधि जिल्ला शिक्षा अधिकारीबाट स्वीकृत भएपछि लागू हुनेछ ।