परिच्छेद–२ पेटेण्ट

परिच्छेद–२ पेटेण्ट

३. पेटेण्ट उपर अधिकार प्राप्त गर्ने : (१) कुनै पेटेण्ट उपर अधिकार प्राप्त गर्न चाहने व्यक्तिले सो  पेटेण्ट यस ऐनबमोजिम आफ्नो नाममा दर्ता गराउनु पर्छ ।

(२) यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको पेटेण्ट अरु कसैले नक्कल  गर्न वा दफा २१घ. बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा  अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन ।

(३)  …………

४. पेटेण्ट उपर अधिकार प्राप्त गर्न दरखास्त दिनु पर्ने : (१) कुनै पेटेण्ट आफनो नाममा दर्ता गराउन चाहने व्यक्तिले आफनो भएसम्मको सबूद प्रमाण सहित निम्नलिखित कुराहरू खुलाई अनुसूचि–१ (क) बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्छ ।

(क) सो पेटेण्ट आविष्कार गर्ने व्यक्तिको नाम, ठेगाना र पेशा,

(ख) दरखास्तवाला आफैले सो पेटेण्ट आविष्कार गरेको नभएमा सो आविष्का गर्ने  व्यक्तिबाट दरखास्तवालाले के कुन किसिमबाट कस्तो हक प्राप्त गरेको हो,

(ग) सो पेटेण्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरीका,

(घ) सो पेटेण्ट कुनै खास सिद्धान्त वा फर्मुलामा आधारित भए सो सिद्धान्त वा फर्मुला ।

(२) उपदफा (१) बमोजिमको दरखास्तका साथ दरखास्तवालाले सो पेटेण्टको विवरण सहितको नक्सा तथा रेखाङ्कन र अनुसूची –३(१) को (क) मा तोकिएको दरखास्त दस्तुर समेत दाखिल गर्नुपर्छ ।

५. विभागबाट जाँचबुझ : (१) दफा ४ बमोजिमको दरखास्त दाखिल भएपछि विभागले आवश्यक देखेमा विशेषज्ञहरूको सल्लाह समेत लिई दरखास्तमा लेखिएको पेटेण्ट नयाँ आविष्कार भएको हो होइन र सर्वसाधारणलाई उपयोगी छ छैन भन्ने कुराको जाँचबुझ र अध्ययन गरी सो पेटेण्ट दर्ता गर्न हुने वा नहुने कुराको यकीन गर्नेछ ।

(२) दफा ६ बमोजिम कुनै पेटेण्ट दर्ता गर्न नहुने देखेमा विभागले दरखास्तवालालाई निजको दरखास्त बमोजिम पेटेण्ट दर्ता हुन नसक्ने कुराको सूचना दिनुपर्छ ।

(३) ……………..

६. पेटेण्ट दर्ता हुन नसक्ने : (१) देहायका अवस्थामा विभागले यस ऐनबमोजिम पेटेण्ट दर्ता गर्न हुँदैन :–

(क) पहिले नै अरू कसैको नाममा दर्ता भइसकेको रहेछ, वा

(ख) दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक पनि प्राप्त नगरेको रहेछ, वा

(ग) दर्ता गराउन चाहेको पेटेण्टबाट सर्वसाधारण जनताको स्वास्थ्य, सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा कुनै प्रतिकूल असर पर्ने रहेछ, वा

(घ) कुनै प्रचलित नेपाल कानूनको बर्खिलाप हुने रहेछ भने ।

तर खण्ड (क) मा लेखिएको कुनै कुराले दफा ९ बमोजिम पेटेण्टको दर्ता दाखिल खारिज गर्न बाधा पु¥याएको मानिने छैन ।

(२) उपदफा (१) मा लेखिएको अवस्थामा विभागले दर्ता भइसकेको कुनै पेटेण्टको दर्ता बदर गर्न सक्नेछ ।

तर सो बमोजिम कुनै पेटेण्टको दर्ता बदर गर्नु भन्दा अगावै पेटेण्टवालालाई सो पेटण्टको दर्ता बदर हुन नपर्ने कुनै कारण भए देखाउन मनासिव माफिकको मौका दिनुपर्छ ।

७. पेटेण्टको दर्ता : (१) दफा ६ बमोजिम दर्ता गर्न नहुने अवस्थामा बाहेक पेटेण्ट दर्ता गराउन दफा ४ बमोजिम दरखास्त दाखिल भएपछि विभागले दफा ५ बमोजिम आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई अनुसूची–२(क) बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनुपर्छ ।

(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त दरखास्तवालाले विभागलाई अनुसूची–३(१) को (ख) मा तोकिएबमोजिमको दर्ता दस्तुर बुझाउनु पर्छ ।

७क. दर्ता भएको पेटेण्ट प्रकाशन गर्ने : (१) यस ऐनबमोजिम दर्ता भएको पेटेण्टमध्ये राष्ट्रिय हितको लागि गोप्य राख्नु पर्ने बाहेक अन्य पेटेण्टहरू विभागले सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशित गर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रकाशित पेटेण्टको विवरण, नक्सा वा रेखाङ्कन कसैले हेर्न वा त्यसको नक्कल लिन चाहेमा विभागबाट तोकिएको दस्तुर बुझाई त्यस्तो पेटेण्ट हेर्न वा त्यसको नक्कल लिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पेटेण्ट हेरेको वा त्यसको नक्कल लिएको मितिले पैंतीस दिनभित्र त्यस्तो पेटेण्ट उपर कसैको कुनै विरोध भएमा विभागमा उजूर गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम उजूर पर्न आएमा विभागले जाँचबुझ गरी आवश्यक  कारवाही गर्नु पर्नेछ ।

८. पेटेण्टको अवधि : (१) दफा २३ख. बमोजिम नवीकरण गराएको अवस्थामा बाहेक दफा ७ बमोजिम दर्ता भएको पेटेण्टमा दर्ता भएको मितिले सात वर्षसम्म मात्र पेटेण्टवालाको हक कायम हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुनुभन्दा अघि दर्ता भएको पेटेण्टको अवधिको हकमा सो पेटेण्ट दर्ता हुँदाका बखत कायम रहेको व्यवस्था बमोजिम नै अवधि कायम हुनेछ । सो अवधि भुक्तान भएपछि दफा २३ख. बमोजिम  नवीकरण गराउनु पर्नेछ ।

९. …………

१०. पेटेण्टको नक्सा वा नमूना सरकारी म्यूजियममा दाखिल गर्ने : यस ऐनबमोजिम दर्ता भएको पेटेण्ट अनुसार हुने वस्तुको एक प्रति नक्सा वा नमूना पेटेण्टवालाले राष्ट्रिय अभिलेखालय समेतलाई दिनु पर्छ ।

११. दफा ३ को उल्लंघन गरेमा हुने सजाय : कसैले देहायका कुनै काम गरेमा विभागको आदेशले कसूरको मात्रा अनुसार देहाय बमोजिमको जरिबाना हुनेछ र सो कसूरसँग सम्बन्धित चीज वस्तु जफत हुनेछ :–

(क) दफा ३ को उपदफा (२) मा लेखिएको कुनै कसूर गरेमा पाँच लाख रुपैयाँसम्म जरिबाना ।

(ख) दफा ३ को उपदफा (२) मा लेखिएको कुनै काम गर्ने उद्योग गरेमा वा सो काम गर्ने दुरुत्साहन दिएमा दुई लाख पचास हजार रुपैयाँसम्म जरिबाना ।