परिच्छेद–३ डिजायन

परिच्छेद–३ डिजायन

१२. डिजायनमा हक प्राप्त गर्ने : (१) कसैले आफूले बनाएको वा बनाउन लगाएको कुनै वस्तुको  डिजायन दफा १४ बमोजिम विभागमा दर्ता गराई सो डिजायन उपर यस ऐनबमोजिमको हक  प्राप्त गर्न सक्नेछ ।

(२) यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजायन अरु कसैले नक्कल  गर्न वा दफा २१घ. बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा  अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन ।

१३. डिजायनको दर्ताको निमित्त दरखास्त : (१)आफूले बनाएको वा बनाउन लाएको कुनै चिज दफा  १४ बमोजिम दर्ता गराउन चाहने व्यक्तिले सो डिजायनको  विवरण सहितको नक्शा तथा  रेखाङ्कन र चार प्रति नमूना सहित अनुसूची–१(ख) बमोजिमको ढाँचामा विभागमा दरखास्त  दिनुपर्छ ।

(२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले आफ्नो दरखास्तको साथै अनुसूची–३ (२)  को (क) मा तोकिएबमोजिमको दरखास्त दस्तुर विभागमा बुझाउनु पर्छ ।

१४. डिजायनको दर्ता : (१) दफा १३ बमोजिम कसैको दरखास्त परेमा विभागले सो डिजायन  दरखास्तवालाको नाममा दर्ता गरी अनुसूची–२(ख) बमोजिमको प्रमाणपत्र दिनुपर्छ ।  तर, त्यस्तो डिजायनबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पुग्ने वा  सर्वसाधारण जनताको सदाचार वा नैतिकतामा नराम्रो प्रभाव पर्ने वा राष्ट्रिय हितको प्रतिकूल हुने  रहेछ वा सो डिजायन अघि नै अरू कसैको नाममा दर्ता भैसकेको रहेछ भने यस उपदफा  बमोजिम दर्ता गरिने छैन ।

(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त दरखास्तवालाले अनुसूची–३  (२) को (ख) मा तोकिएबमोजिमको डिजायनको दर्ता दस्तुर विभागमा दाखिल गर्नुपर्छ ।

(३) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको कुनै अवस्था छ भन्ने लागेमा  विभागले कुनै डिजायनको दर्ता बदर गर्न

सक्नेछ ।

तर, सो बमोजिम कुनै डिजायनको दर्ता बदर गर्नुभन्दा अगावै विभागले सो  डिजायनवालालाई सो डिजायनको दर्ता बदर हुनु नपर्ने कुनै कारण भए देखाउन मनासिब  माफिकको मौका दिनु पर्छ ।

१४क. डिजायनको अवधि : दफा २३ख. बमोजिम नवीकरण गराएको अवस्थामा बाहेक दफा १४  बमोजिम दर्ता भएको डिजायनमा दर्ता भएको मितिले पाँच वर्षसम्म डिजायनवालाको हक कायम  हुनेछ ।

१५. दफा १२ उल्लंघन गर्ने व्यक्तिलाई हुने सजाय : कसैले दफा १२ को उपदफा (२) उल्लंघन गरेमा वा दफा १४ को उपदफा (३) बमोजिम विभागले बदर गरेको डिजायन चलाएमा  विभागको आदेशले कसूरको मात्रा अनुसार  पचास हजार रूपैयाँसम्म जरिवाना हुन सक्नेछ र 
सो कसूरसंग सम्बन्धित सबै चिज वस्तु जफत हुनेछ ।