परिच्छेद–२ कसूर र अनुसन्धान सम्बन्धी व्यवस्था

परिच्छेद–२ कसूर र अनुसन्धान सम्बन्धी व्यवस्था

३. मानव बेचबिखन र ओसारपसार गर्न नहुने : (१) कसैले पनि मानव बेचबिखन र ओसारपसार गर्नु गराउनु हुँदैन ।
(२) कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।
४. मानव बेचबिखन र ओसारपसार गरेको मानिने : (१) कसैले देहायको कुनै कार्य गरेमा मानव बेचबिखन गरेको मानिनेछ ः–
(क) कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने,
(ख) कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने,
(ग) प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने,
(घ) वेश्यागमन गर्ने ।
(२) कसैले देहायको कुनै कार्य गरेमा मानव ओसारपसार गरेको मानिनेछ :–
(क) किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने,
(ख) वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आपूmसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने ।
५. उजुर गर्ने : (१) दफा ३ बमोजिमको कसूर गरेको, गरिरहेको वा गर्न लागेकोे थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुर गर्ने व्यक्तिले आफ्नो नाम गोप्य राखिदिन लिखित अनुरोध गरेमा उजुर दर्ता गर्ने प्रहरी कार्यालयले निजको नाम गोप्य राख्नु पर्नेछ ।
६. बयान प्रमाणित गराउने : (१) दफा ५ बमोजिमको उजुर पीडित आपैंmले दिएमा प्रहरी कार्यालयले निजको तत्काल बयान गराई त्यस्तो बयान प्रमाणित गराउनको लागि निजलाई तुरुन्त नजिकको जिल्ला अदालतमा उपस्थित गराउनु पर्नेछ ।
(२) प्रहरी कार्यालयले उपदफा (१) बमोजिम बयान प्रमाणित गराउन ल्याएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि र सो बयानसँग सम्बन्धित कसूरको मुद्दा सो जिल्ला अदालतको क्षेत्राधिकारभित्र नपर्ने भए पनि त्यस्तो जिल्ला अदालतको न्यायाधीशले त्यस्तो बयान निजलाई पढी बाँची सुनाई निजले भने बमोजिम लेखिएको भए सोही व्यहोरा र भने बमोजिम नभएमा के कति फरक छ सो व्यहोरा उल्लेख गरी प्रमाणित गरिदिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम बयान प्रमाणित गरिएकोमा त्यस्तो पीडित मुद्दाको कारबाहीको सिलसिलामा अदालतमा उपस्थित नभए पनि त्यसरी प्रमाणित गरिएको बयान अदालतले प्रमाणमा लिन सक्नेछ ।
७. पक्राउ गर्न वा खानतलासी लिन सकिने : (१) यस ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य कुनै घर, जग्गा, स्थान वा सवारी साधनमा भएको वा भइरहेको वा हुन लागेको जानकारी पाई तुरुन्त कारबाही नगरेमा कसूरदार भाग्ने उम्कने वा त्यस्तो कसूरसँग सम्बन्धित कुनै प्रमाण लोप वा नष्ट हुने सम्भावना देखिएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कम्तीमा प्रहरी सहायक निरीक्षक स्तरको प्रहरी कर्मचारीले पर्चा खडा गरी जुनसुकै बखत देहायको कार्य गर्न सक्नेछ :–
(क) त्यस्तो घर, जग्गा, स्थान वा सवारी साधनमा प्रवेश गर्न, खानतलासी लिन वा आफ्नो कब्जामा राख्न,
(ख) त्यस्तो कार्य गर्न लाग्दा कसैले बाधा विरोध गरेमा आवश्यकता अनुसार झ्याल, ढोका खोली वा फोरी आवश्यक कारबाही गर्न,
(ग) त्यस्तो कार्य गर्ने व्यक्तिलाई बिना पक्राउ पूर्जी गिरफ्तार गर्न वा निजको खानतलासी लिन,
(घ) त्यस्तो घर, जग्गा, स्थान वा सवारी साधनमा भेटिएका सबै दसी, प्रमाण बरामद गर्न वा कब्जामा लिन ।
(२) उपदफा (१) बमोजिमको कार्य गर्दा त्यस्तो प्रहरी कर्मचारीले सम्भव भएसम्म स्थानीय तहका प्रतिनिधि समेत र सम्भव नभए त्यस समयमा उपस्थित व्यक्तिहरुको रोहबरमा गर्नु पर्नेछ र सोको मुचुल्का तयार गरी सोको प्रतिलिपि सम्बन्धित घर, जग्गा वा सवारी साधन धनीलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई पक्राउ पूर्जी बिना पक्राउ गरिएकोमा पक्राउ परेको व्यक्ति सहित त्यस्तो पक्राउको स्वीकृतिको लागि मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
८. अभियुक्तलाई थुनामा राखी कारबाही गर्नु पर्ने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनिे दफा ४ को उपदफा (१) को खण्ड (घ) को कसूरमा बाहेक यस ऐन अन्र्तगत अन्य कसूर सम्बन्धि मुद्दामा कारबाही गर्दा तत्काल प्राप्त प्रमाणबाट अभियुक्तले कसूर गरेको हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा अदालतले अभियुक्तलाई थुनामा राखी कारबाही गर्नु पर्नेछ ।
९. प्रमाणको भार : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐन अन्तर्गतको कसूर गरेको अभियोग लागेकोमा सो कसूर आफुले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ ।
१०. कानून व्यवसायी राख्न सक्ने : यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको कारबाहीको सिलसिलामा पीडितले चाहेमा अन्य कानून व्यवसायी राख्न सक्नेछ ।
११. दोभाषे, सांकेतिक भाषा विज्ञ वा अनुवादक राख्न सक्ने : यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दाको काम कारबाहीमा प्रयोग हुने भाषा पीडितले नबुझ्ने भएमा सम्बन्धित अड्डा अदालतको अनुमति लिई निजले दोभाषे, सांकेतिक भाषा विज्ञ वा अनुवादक राख्न सक्नेछ ।
त्यसरी दोभाषे, सांकेतिक भाषा विज्ञ वा अनुवादक राख्दा लागेको रकम मध्ये तोकिए बमोजिमको रकम सम्बन्धित व्यक्तिको अनुरोधमा नेपाल सरकारले व्यहोर्नेछ ।