परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९” रहेकोछ ।

(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।

 

२. परिभाषाः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमा,–

(क) “सवारी” भन्नाले यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारीको साधन सम्झनु पर्छ ।

(ख) “सवारीको वजन” भन्नाले सवारीको कूल वजन सम्झनु पर्छ ।

स्पष्टीकरणः “कूल वजन” भन्नाले सवारीको इन्जीन, चेसिस, अन्य औजार तथा उपकरण लगायत सवारी दर्ताको प्रमाणपत्रमा लेखिएको सो सवारीको कूल भार वहन क्षमता समेतलाई जनाउँछ ।

(ग) “ठूलो सवारी” भन्नाले दफा ३ बमोजिमको सवारी सम्झनु पर्छ ।

(घ) “मझौला सवारी” भन्नाले दफा ४ बमोजिमको सवारी सम्झनु पर्छ ।

(ङ) “सानो सवारी” भन्नाले दफा ५ बमोजिमको सवारी सम्झनु पर्छ ।

(च) “सार्वजनिक सवारी” भन्नाले यातायात सेवामा प्रयोग गरिने सवारी सम्झनु पर्छ ।

(छ) “यातायात सेवा” भन्नाले सार्वजनिक सवारीले भाडा लिई एक ठाउँबाट अर्काे ठाउँसम्म यात्री वा मालसामान ओसारपसार गर्ने कार्य सम्झनु पर्छ ।

(ज) “भाडा” भन्नाले सार्वजनिक सवारीले यातायात सेवा प्रदान गरे बापत लिने रकम वा शुल्क सम्झनु पर्छ ।

(झ) “पर्यटक सवारी” भन्नाले दफा ७ बमोजिमको सवारी सम्झनु पर्छ ।

(ञ) “निजी सवारी” भन्नाले दफा ८ बमोजिमको सवारी सम्झनु पर्छ ।

(ट) “सरकारी सवारी” भन्नाले दफा ९ बमोजिमको सवारी सम्झनु पर्छ ।

(ठ) “संस्थानको सवारी” भन्नाले दफा १० बमोजिमको सवारी सम्झनु पर्छ ।

(ड) “कूटनीतिक सुविधा प्राप्त सवारी” भन्नाले दफा ११ बमोजिमको सवारी सम्झनु पर्छ ।

(ढ) “यात्री” भन्नाले सार्वजनिक सवारीबाट यात्रा गर्ने व्यक्ति सम्झनु पर्छ ।

(ण) “मालसामान” भन्नाले मानिस बाहेक सार्वजनिक सवारीमा ओसारपसार गरिने जनावर, पन्छी तथा कुनै निर्जीव वस्तु सम्झनु पर्र्छ ।

(त) “यात्रीबाहक सवारी” भन्नाले यात्रीहरूलाई यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारी सम्झनु पर्छ ।

(थ) “मालबाहक सवारी” भन्नाले मालसामान ओसारपसार गर्ने काममा प्रयोग गरिने सार्वजनिक सवारी सम्झनु पर्छ ।

(द) “दर्ताको प्रमाणपत्र” भन्नाले दफा १६ बमोजिम सवारी दर्ता गरी दिइएको सवारी दर्ता प्रमाणपत्र सम्झनु पर्छ ।

(ध) “चालक” भन्नाले सवारी चालक अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(न) “चालक अनुमतिपत्र” भन्नाले दफा ५० बमोजिम अधिकार प्राप्त अधिकारीले दिएको सवारी चालक अनुमतिपत्र सम्झनु पर्छ ।

(प) “परिचालक” भन्नाले दफा ६७ बमोजिम परिचालक अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ र सो शब्दले सो सवारीमा काम गर्ने अन्य चेकर तथा हेल्परलाई समेत जनाउँछ ।

(फ) “सुरक्षाकर्मी” भन्नाले यात्री, मालसामान तथा सवारीको सुरक्षाको जिम्मा लिने कर्मचारी सम्झनु पर्छ ।

(ब) “सार्वजनिक स्थान” भन्नाले सार्वजनिक सडक, पेटी, गल्ली, नदी, पुल, बाटो वा सर्वसाधारण जनता आउने, जाने, बस्ने ठाउँ सम्झनु पर्छ र सो शब्दले यात्रीहरू चढ्न, उत्रन वा सवारी राख्न निर्धारित ठाउँलाई समेत जनाउँछ ।

(भ) “पार्किङ्गस्थल” भन्नाले सवारी अड्याउन निर्धारित ठाउँ सम्झनु पर्छ ।

(म) “बस बिसौनी” भन्नाले यात्रीबाहक सार्वजनिक सवारीमा यात्रीलाई यात्रा गर्ने प्रयोजनको लागि चढ्न र ओर्लनको निमित्त निर्धारित ठाउँ सम्झनु पर्छ ।

(य) “बाटो” भन्नाले सार्वजनिक सवारी चलाउनलाई निर्धारित बाटो सम्झनु पर्छ ।

(र) “लामोबाटो (लङ्ग रूट)” भन्नाले यात्राको लागि प्रस्थान गर्ने स्थानबाट दुईसय पचास किलोमिटर वा सो भन्दा बढी दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो सम्झनु पर्छ ।

(ल) “मध्यम बाटो (मिडियम रूट)” भन्नाले यात्राको लागि प्रस्थान गर्ने स्थानबाट एकसय किलोमिटरभन्दा बढी तर दुईसय पचास किलोमिटरभन्दा कम्ती दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो सम्झनु पर्छ ।

(व) “छोटोे बाटो” भन्नाले यात्राको लागि प्रस्थान गर्ने स्थानबाट पच्चीस किलोमिटरदेखि एकसय किलोमिटरसम्मको दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो सम्झनु पर्छ ।

(श) “स्थानीय बाटो” भन्नाले यात्राको लागि प्रस्थान गर्ने स्थानबाट पच्चीस किलोमिटर भन्दा कम्ती दूरीको गन्तव्य स्थानसम्मको बाटो सम्झनु पर्छ ।

(ष) “बाटो इजाजतपत्र” भन्नाले स्वीकृत बाटोमा सवारी चलाउन दफा ७७ बमोजिम प्राप्त गरेको इजाजतपत्र सम्झनु पर्छ ।

(स) “जाँचपास” भन्नाले सार्वजनिक सवारीको यान्त्रिक स्थितिको परीक्षण गरी दिइएको प्रमाणपत्र सम्झनु पर्छ ।

(ह) “बीमा” भन्नाले सवारी, यात्री, मालसामान, चालक, परिचालक, सुरक्षाकर्मी, सवारीमा काम गर्ने अन्य कर्मचारी तथा तेस्रो पक्षको सम्बन्धमा सवारी धनी वा व्यवस्थापकले गर्नु पर्ने बीमा सम्झनु पर्छ र सो शब्दले तत्सम्बन्धमा गरिने कम्प्रिहेन्सिभ बीमालाई समेत जनाउँछ ।

(क्ष) “सवारी धनी” भन्नाले सवारी दर्ताको प्रमाणपत्रमा सो सवारीको धनी भनी लेखिएको व्यक्ति, फर्म, कम्पनी वा अन्य कुनै संगठित संस्था सम्झनु पर्छ ।

(त्र) “व्यवस्थापक” भन्नाले पञ्जीकृत यातायात सेवामा संलग्न सार्वजनिक सवारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने जिम्मा लिएको व्यक्ति सम्झनु पर्छ ।

(ज्ञ) “यात्री गुण्टा” भन्नाले यात्रीले आफनो साथमा लिई यात्रा गर्ने व्यक्तिगत प्रयोजनका मालसामान सम्झनु पर्छ ।

(ज्ञ१) “ट्राफिक सङ्केत” भन्नाले प्रहरी वा एक सवारी चालकले अर्काे सवारीको चालकलाई दिएको सूचना, सङ्केत वा ईशारा सम्झनु पर्छ र सो शब्दले सवारीको नियन्त्रण वा निर्देशनका लागि लिखित वा साङ्केतिक रूपमा टाँसेको, राखेको वा जडान गरिएको सूचना सङ्केत वा ईशारा समेतलाई जनाउँछ ।

(ज्ञ२) “प्रदूषण” भन्नाले सवारीबाट निस्कने ध्वनी तथा धुवाँको प्रदूषण सम्झनु पर्छ ।

(ज्ञ३) “विभाग” भन्नाले नेपाल सरकार, निर्माण तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग सम्झनु पर्छ ।

(ज्ञ४) “अधिकार प्राप्त अधिकारी” भन्नाले यातायात व्यवस्था कार्यालयका प्रमुख सम्झनु पर्छ ।

(ज्ञ५) “व्यवस्थापन समिति” भन्नाले दफा १५४ बमोजिम गठित यातायात व्यवस्थापन समिति सम्झनु पर्छ ।

(ज्ञ६) “परीक्षा समिति” भन्नाले दफा १५६ बमोजिम गठित परीक्षा समिति सम्झनु पर्छ ।

(ज्ञ७) “यातायात निरीक्षक” भन्नाले दफा १५७ बमोजिम नियुक्त व्यक्ति सम्झनु पर्छ ।

(ज्ञ८) “प्रशिक्षण केन्द्र” भन्नाले दफा १५९ बमोजिम विभागबाट मान्यता प्राप्त सवारी चालक प्रशिक्षण केन्द्र सम्झनु पर्छ ।

(ज्ञ९) “क्षेत्र” भन्नाले यातायात व्यवस्था कार्यालयको प्रादेशिक क्षेत्राधिकार अन्तर्गत पर्ने गरी तोकिएको क्षेत्र सम्झनु पर्छ ।

(ज्ञ१०) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जारी गरिएको सूचित आदेशमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।