परिच्छेद–३ सवारी दर्ता सम्बन्धी व्यवस्था

परिच्छेद–३ सवारी दर्ता सम्बन्धी व्यवस्था

१३. प्रवेश दर्ता गराउनु पर्नेः (१) विदेशबाट सवारी पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीले त्यस्तो सवारी नेपाल  भित्र प्रवेश गर्ने स्थानमा रहेको प्रहरी कार्यालयमा त्यस्तो सवारीको प्रवेश दर्ता गर्नको लागि दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम प्रवेश दर्ता गराउनको लागि दरखास्त परेमा प्रहरी कार्यालयले त्यस्तो सवारी खरीद गरेको निस्सा र सम्बन्धित कागजातहरूको जाँचबुझ गरी त्यस्तो सवारीलाई पन्ध्र दिनको निम्ति प्रवेश दर्ता गरी त्यस्तो सवारी पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीलाई प्रवेश दर्ताको निस्सा दिनु पर्छ र त्यस्तो सवारीको विवरण यथाशीघ्र सम्बन्धित यातायत व्यवस्था कार्यालयमा पठाउनु पर्छ ।

 

१४. सवारी दर्ता गराउनु पर्नेः (१) कुनै पनि सवारी खरीद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीले वा सवारी बिक्री वितरण गर्ने एजेण्टले सवारी खरीद गरेको वा पैठारी गरी नेपाल  भित्र भन्सार तिरी ल्याएको मितिले पन्ध्रदिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्छ ।

(२) उपदफा (१) बमोजिम दर्ता नगरी कुनै पनि सवारी चलाउन वा चलाउन दिन हुँदैन ।

 

१५. सवारी दर्ता गराउन दरखास्त दिनु पर्नेः (१) दफा १४ बमोजिम कुनै सवारी दर्ता गराउनु परेमा त्यस्तो सवारी नेपाल  भित्र खरीद गरेको भए खरीद गर्ने व्यक्ति, फर्म वा कम्पनी वा एजेण्टले सो खरीद गरेको निस्सा र त्यस्तो सवारी विदेशबाट पैठारी गरेको भए पैठारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा एजेन्टले सो सवारीको भन्सार महसुल तिरेको निस्सा तथा अन्य सम्बन्धित कागजात सहित तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

तर कूटनीतिक सुविधा प्राप्त सवारी दर्ता गर्न दर्ता दस्तुर लाग्ने छैन ।

(२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र हालसालै खिचिएको आफ्नो तीन प्रति पासपोर्ट साइजको फोटो समेत दरखास्त साथ संलग्न गरेको हुनुपर्छ ।

(३) सरकारी सवारीको हकमा त्यस्तो सवारी जुन सरकारी कार्यालयको नाममा दर्ता हुने हो सो कार्यालयको पत्र र कूटनीतिक सुविधा प्राप्त सवारीको हकमा नेपाल सरकार, परराष्ट्र« मन्त्रालयको सिफारिसपत्र समेत संलग्न गरेको हुनु पर्छ । कूटनीतिक सुविधा प्राप्त सवारी कुनै व्यक्तिको नाममा दर्ता हुने भएमा निजले आफ्नोे पासपोर्ट वा नागरिकताको प्रतिलिपि एवं तीन प्रति पासपोर्ट साइजको फोटो संलग्न गरेको हुनु पर्छ ।

(४) नेपालभित्र कुनै व्यवसाय तथा काम कारोवार गरी बसेको विदेशी नागरिकले आफ्नोे निजी प्रयोगको निम्ति कुनै सवारी दर्ता गराउन चाहेमा उपदफा (१) र (२) मा लेखिएका कुराहरूका अतिरिक्त सम्बन्धित कूटनीतिक नियोगको सिफारिसपत्र समेत संलग्न गरेको हुनु पर्छ ।

(५) नाबालकको नाममा कुनै सवारी दर्ता गराउनु परेमा निजको तर्फबाट निजको संरक्षकले नाबालक तथा आफ्नोे समेत तीन तीन प्रति पासपोर्ट साइजको फोटो एवं नागरिकताको प्रमाणित प्रतिलिपि समेत संलग्न राखी दरखास्त दिनु पर्छ ।

 

१६. सवारी दर्ताको प्रमाणपत्रः (१) दफा १५ बमोजिम कुनै सवारी दर्ता गराउनको लागि दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको नाममा त्यस्तो सवारी दर्ता गरी अनुसूची–३ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्छ ।

तर सामाजिक, धार्मिक, परोपकारी तथा शैक्षिक उद्देश्यले स्थापना भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरू एवं प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाहरूको नाउँमा बाहेक चौध भन्दा बढी सीट संख्या तथा चार टन वा सो भन्दा बढी कूल वजन भएका सवारीहरूलाई निजीसवारीको रूपमा दर्ता गरिने छैन ।

(२) नाबालकको नाममा सवारी दर्ता गर्दा संरक्षक समेतको नाम दर्ताको प्रमाणपत्रमा उल्लेख गरी दर्ताको प्रमाणपत्रमा निजको समेत सही गराउनु पर्छ ।

(३) दर्ताको प्रमाणपत्रमा सवारी खरीद गर्दा सवारीको निर्माताले दिएको सवारीको प्राविधिक विवरणमा लेखिएको सवारीको कूल भारवहन क्षमतालाई सो सवारीको वजन मानी उल्लेख गर्नु पर्छ र त्यसरी सवारीको वजन उल्लेख गर्दा त्यस्तो सवारीको भार रहित वजन र भारवहन क्षमता समेत छुट्टाछुट्टै रूपमा स्पष्ट हुने गरी उल्लेख गर्नु पर्छ ।

(४) दर्ताको प्रमाणपत्र दिइएको मितिले एक वर्षसम्म बहाल रहनेछ ।

 

१७. सडकमा चल्न सक्ने सक्षमताको प्रमाणपत्र दिनु पर्नेः (१) दफा १६ बमोजिम कुनै सवारी दर्ता गर्नु भन्दा अगावै त्यस्तो सवारी चलाउन सकिने ठीक स्थितिमा छ वा छैन भन्ने कुराको दफा २३ बमोजिम तोकिएको मापदण्डका अधीनमा रही जाँचबुझ गरी चलाउन सकिने ठीक स्थितिमा रहेछ भने मात्र त्यस्तो सवारी दर्ता गरी दर्ताको प्रमाणपत्र दिनु पर्छ । त्यसरी दर्ताको प्रमाणपत्र दिंदा त्यस्तो सवारीको धनीलाई त्यस्तो सवारी सडकमा चल्न सक्ने सक्षमता (रोड ओर्दीनेस) को प्रमाणपत्र समेत दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम दिइएको सक्षमताको प्रमाणपत्र सवारीमा टाँसी राख्नु पर्छ ।

 

१८. संयुक्त दर्ताः कुनै सवारी संयुक्त रूपमा दर्ता गर्न दुई वा दुई भन्दा बढी व्यक्तिले अधिकार प्राप्त अधिकारी समक्ष दफा १५ बमोजिम दरखास्त दिएमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो सवारीलाई ती व्यक्तिहरूको नाममा संयुक्त रूपमा दर्ता गरी निजहरूलाई दफा १६ मा लेखिए बमोजिमको दर्ता प्रमाणपत्र दिनु पर्छ ।

 

१९. अस्थायी दर्ताः देहायको अवस्थामा कुनै सवारी अस्थायी रूपमा दर्ता गर्न सकिनेछः–

(क) सवारी पैठारी गर्ने व्यक्ति सवारी दर्ता गराउनु पर्ने म्याद भित्र दर्ता गराउन उपस्थित हुन नसक्ने मनासिब माफिकको कारण भएमा ।

(ख) पैठारी गरिएको सवारीको इन्जीन, चेसिस वा अन्य कुनै पार्टपूर्जाको खराबीको कारणले गर्दा तुरून्त दर्ता गराउन सवारी ल्याउन नसकिने भएमा ।

(ग) खण्ड (ख) मा लेखिएको अवस्थामा परी सो सवारी निर्माण गर्ने कम्पनी वा बिक्री गर्ने एजेन्ट वा बीमा कम्पनीसँग क्षतीपूर्ति बीमासम्बन्धी विवाद परी तुरून्त दर्ता गर्न नसकिने भएमा ।

 

२०. अस्थायी दर्ताको लागि दरखास्तः (१) दफा १९ मा लेखिएको कुनै अवस्था परी कुनै सवारी पैठारी गर्ने व्यक्ति वा निजको अनुपस्थितिमा निजको नजिकको हकवालाले सो सवारी पैठारी गर्ने व्यक्तिको नाममा अस्थायी रूपमा दर्ता गर्न सो सवारीको भन्सार महसूल तिरेको निस्सा तथा अन्य सम्बन्धित कागजातसहित तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम दरखास्त दिंदा दरखास्तवालाले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र जसको नाममा अस्थायी दर्ता गरिने हो सो व्यक्तिको हालसालै खिचिएको तीन प्रति फोटो समेत संलग्न गरेको हुनु पर्छ ।

 

२१. अस्थायी दर्ताको प्रमाणपत्रः (१) दफा २० बमोजिम कुनै सवारी अस्थायी दर्ता गराउनको लागि कसैको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले सो सवारी दफा १९ बमोजिम अस्थायी दर्ता गर्न सकिने अवस्था छ छैन भन्ने कुराको जाँचबुझ गरी त्यस्तो सवारी अस्थायी रूपमा दर्ता गरी अनुसूची –४ बमोजिमको ढाँचामा अस्थायी दर्ताको प्रमाणपत्र दिनु पर्छ ।

(२) अस्थायी दर्ताको प्रमाणपत्रमा सो सवारीमा राख्नु पर्ने नम्बर प्लेटमा अस्थायी समेत लेख्नु पर्ने कुरा जनाउनु पर्छ ।

(३) अस्थायी दर्ताको प्रमाणपत्र एकै पटक वा पटक पटक गरी बढीमा छ महीनासम्म बहाल रहने गरी दिन सकिनेछ ।

 

२२. सवारी ल्याउनु पर्नेः दफा १३, १५ वा २० बमोजिम कुनै सवारी दर्ता गर्न दफा ३७ बमोजिम सवारी नामसारी गर्न र दफा ३९ बमोजिम सवारीको कुनै कुरा हेरफेर गर्नको लागि दरखास्त दिंदा त्यस्तो दरखास्त दिने व्यक्ति, फर्म वा कम्पनीले त्यसरी दर्ता, नामसारी वा कुनै कुरा हेरफेर गराउन चाहेको सवारी समेत साथै ल्याउनु पर्छ ।

 

२३. सवारीको जाँचबुझको लागि मापदण्ड तोक्न सकिनेः (१) कुनै सवारी चलाउन सकिने स्थितिमा छ छैन भन्ने कुराको जाँचबुझ गरी यकिन गर्न देहायका कुराहरूका सम्बन्धमा नेपाल सरकारले आवश्यक मापदण्ड निर्धारण गरी तोक्न सक्नेछः–

(क) सवारीको यान्त्रिक स्थितिको सम्बन्धमा ।

(ख) सवारीको लम्बाई, चौडाई, उचाई, बनौट वा स्वरूपको सम्बन्धमा ।

(ग) सवारीबाट हुन सक्ने प्रदूषणको सम्बन्धमा ।

(घ) सवारी चलाउन सकिने अवधिको सम्बन्धमा ।

(२) कुनै सवारी चलाउन सकिने स्थितिमा छ वा छैन भन्ने कुराको जाँचबुझ गरी सक्षमताको प्रमाणपत्र दिंदा वा जाँचपास गर्दा अधिकार प्राप्त अधिकारीले उपदफा (१) बमोजिम तोकिएको मापदण्डका अधीनमा रही जाँचबुझ गर्नु पर्छ ।

 

२४. सवारी दर्ता गर्न इन्कार गर्न सकिनेः (१) कुनै सवारी दर्ता गर्नका लागि दरखास्त परी सो सवारी दर्ता गर्ने सम्बन्धमा अधिकार प्राप्त अधिकारीले सो सवारीलाई दफा २३ मा तोकिएका मापदण्डका अधीनमा रही जाँचबुझ गर्दा त्यस्तो सवारी चलाउन सकिने स्थितिमा रहेको नदेखिएमा त्यस्तो सवारी दर्ता गर्न इन्कार गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै सवारी दर्ता गर्न इन्कार गरिएमा अधिकार प्राप्त अधिकारीले सोको कारण खुलाई दरखास्तवालालाई सूचना दिनु पर्छ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि वातावरणको प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि कुनै किसिमको सवारी साधनको दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई त्यस्तो सवारीको दर्ता रोक्का गर्ने आदेश दिन सक्नेछ ।

 

२५. दर्ताको मान्यताः (१) यस ऐन बमोजिम कुनै एक क्षेत्रमा दर्ता भएको सवारी अर्काे क्षेत्रमा पनि चलाउन सकिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक क्षेत्रमा दर्ता भएको सवारी लगातार वा पटक पटक गरी एक वर्ष भन्दा बढी कुनै अर्काे क्षेत्रमा चलाउन पाईने छैन ।

तर सरकारी सवारी, संस्थानको सवारी, कूटनीतिक सुविधाप्राप्त सवारी र बाटोको इजाजतपत्र प्राप्त सवारीको हकमा यो बन्देज लागू हुनेछैन ।

 

२६. जानकारी दिनु पर्नेः (१) एक क्षेत्रमा दर्ता भएको सवारी अर्काे क्षेत्रमा प्रवेश गरेमा प्रवेश गरेको चौबीस घण्टाभित्र सो सवारीको धनी वा चालकले नजीकको प्रहरी कार्यालयमा त्यसको जानकारी दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम प्रवेश गरेको सवारी तीस दिन भन्दा बढी त्यस क्षेत्रमा चलाउन परेमा त्यस्तो सवारी सो क्षेत्रमा प्रवेश गरेको सात दिनभित्र सवारी धनी वा चालकले अधिकार प्राप्त अधिकारीबाट स्वीकृति लिनु पर्छ ।

 

२७. सरूवा दर्ताः (१) दफा २५ को उपदफा (२) मा लेखिएको भन्दा बढी अवधिको लागि एक क्षेत्रमा दर्ता भएको सवारी अर्काे क्षेत्रमा चलाउन परेमा सवारी धनीले दर्ताको प्रमाणपत्रसाथ आफ्नोे हालसालै खिचेको तीन प्रति पासपोर्ट साइजको फोटो र तोकिएको दस्तुर समेत संलग्न राखी तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष सरूवा दर्ताको लागि दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले दफा २३ बमोजिम निर्धारित मापदण्डका अधीनमा रही त्यस्तो सवारीको जाँचबुझ गरी सरूवा दर्ता गर्न उपयुक्त देखेमा त्यस्तो सवारीको सरूवा दर्ता गरी सवारी धनीलाई दर्ताको प्रमाणपत्र दिनु पर्छ ।

 

२८. सवारीको लगत राख्नु पर्नेः अधिकार प्राप्त अधिकारीले यस ऐन बमोजिम दर्ता भएको प्रत्येक सवारीको धनीको नाम, ठेगाना, सवारी दर्ता भएको मिति, दर्ता नम्बर, सवारी निर्माताको नाम, मोडेल, वर्ष, इन्जीन नम्बर, चेसिस नम्बर, सवारीको किसिम र वजन इत्यादि समेत स्पष्ट रूपमा खुल्ने गरी दर्ता किताबमा लेख्न लगाई सवारीको लगत अद्यावधिक राख्नु पर्छ । त्यस्तो दर्ता किताबको सम्बन्धित पानामा सवारी धनीको फोटो समेत टाँसिएको हुनु पर्छ ।

 

२९. अनुमति नलिई विदेशी सवारी चलाउन नहुनेः विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिई नेपाल भित्र चलाउन हुँदैन ।

 

३०. विदेशी सवारी चलाउन अनुमति दिनेः विदेशमा दर्ता भएको सवारी नेपाल  भित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिई बढीमा एक महीनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्नेछ ।

तर त्यस्तो सवारीलाई नेपाल भित्र यातायात सेवा सञ्चालन गर्ने अनुमति दिइने छैन ।

 

३१. दर्ताको प्रमाणपत्र नवीकरणः (१) दफा १६ को उपदफा (४) बमोजिम दर्ताको प्रमाणपत्रमा लेखिएको म्याद नाघेको तीन महीनाभित्र दर्ताको प्रमाणपत्र नवीकरण गराई सक्नु पर्छ ।

(२) सवारी धनी वा निजले खटाएको व्यक्तिले उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गराउनको लागि तोकिएको दस्तुर संलग्न राखी दर्ताको प्रमाणपत्र अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्नु पर्छ ।

तर कूटनीतिक सुविधा प्राप्त सवारीको दर्ताको प्रमाणपत्र नवीकरण गर्न कुनै दस्तुर लाग्ने छैन ।

(३) उपदफा (२) बमोजिम नवीकरणको लागि दर्ताको प्रमाणपत्र पेश हुन आएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो दर्ताको प्रमाणपत्र अर्काे एक वर्षको लागि नवीकरण गर्नु पर्छ ।

(४) उपदफा (१) बमोजिमको म्याद नाघी दर्ताको प्रमाणपत्र नवीकरण गराउन आउने सवारी धनीबाट नवीकरण दस्तुरको अतिरिक्त सो म्याद नाघेको एक वर्षसम्म एकसय प्रतिशत, दुई वर्षसम्म दुईसय प्रतिशत, तीन वर्षसम्म तीनसय प्रतिशत, चार वर्षसम्म चारसय प्रतिशत र पाँच वर्षसम्म पाँचसय प्रतिशत दस्तुर समेत लिई त्यस्तो दर्ताको प्रमाणपत्र नवीकरण गर्नु पर्छ ।

 

३२. अधिकार प्राप्त अधिकारीले सूचना गर्न सक्नेः दफा ३१ को उपदफा (१) बमोजिमको म्यादभित्र दर्ताको प्रमाणपत्र नवीकरण गर्न नल्याएमा कूटनीतिक सुविधा प्राप्त सवारीको सम्बन्धमा अधिकार प्राप्त अधिकारीले परराष्ट्र« मन्त्रालय मार्फत सम्बन्धित कूटनीतिक नियोग, कार्यालय वा व्यक्तिलाई त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र नवीकरण गर्न सूचना गर्न सक्नेछ ।

 

३३. नवीकरण सम्बन्धी विशेष व्यवस्थाः दफा ३१ को उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी सवारी, संस्थानको सवारी, कूटनीतिक सुविधा प्राप्त सवारी र निजी सवारीको धनीले आफ्नोे सवारीको दर्ताको प्रमाणपत्र पाँच वर्षसम्म एकै पटक नवीकरण गराउन चाहेमा पाँच वर्षसम्मको लागि लाग्ने नवीकरण दस्तुर संलग्न राखी दर्ताको प्रमाणपत्र पेश गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो दर्ताको प्रमाणपत्र पाँच वर्षसम्मको लागि एकै पटक नवीकरण गर्न सक्नेछ ।

 

३४. दर्ताको प्रमाणपत्र स्वतः रद्द हुनेः (१) दफा ३१ को उपदफा (४) बमोजिम निर्धारित अवधिसम्म पनि नवीकरण नगराएको दर्ताको प्रमाणपत्र स्वतः रद्द हुनेछ ।

(२) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र रद्द भएको सवारीको लगत दर्ता किताबबाट कट्टा हुनेछ ।

(३) उपदफा (२) बमोजिम दर्ता किताबबाट लगत कट्टा भईसकेका दर्ताको प्रमाणपत्र नवीकरण गरिने छैन ।

 

३५. पुनः दर्ता हुन सक्नेः दफा ३४ बमोजिम दर्ताको प्रमाणपत्र रद्द भई लगत कट्टा भएको सवारी पुनः दर्ताको लागि ल्याएमा दफा ३१ बमोजिम लिन बाँकी नवीकरण दस्तुर तथा थप दस्तुरको अतिरिक्त जति वर्षपछि दर्ताको लागि ल्याएको हो त्यति वर्षको लागि दफा ३१ को उपदफा (४) बमोजिमको थप दस्तुरको दोब्बर जरिवाना समेत लिई त्यस्तो सवारी दफा १६ बमोजिम दर्ता गरी सवारी धनीलाई अर्काे दर्ताको प्रमाणपत्र दिनु पर्छ ।

 

३६. सवारी धनीको ठेगाना बदलिएमा सूचना गर्नुपर्नेः (१) यस ऐन बमोजिम दर्ता भएको कुनै सवारीको धनीको स्थायी ठेगाना बदलिएमा एक महीनाभित्र दर्ताको प्रमाणपत्र समेत संलग्न राखी सो कुराको सूचना अधिकार प्राप्त अधिकारीलाई दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि अधिकार प्राप्त अधिकारीले दर्ताको प्रमाणपत्रमा नयाँ ठेगाना जनाई दर्ता किताबमा समेत सच्याउनेछ ।

 

३७. सवारीको नामसारीः (१) यस ऐन बमोजिम दर्ता भएको सवारीको धनीले आफ्नोे सवारी अरू कसैलाई दान बकस दिई वा बिक्री गरी वा अन्य कुनै किसिमले स्वामित्व हस्तान्तरण गरेमा पन्ध्र दिनभित्र सो सवारीको नामसारीको लागि दर्ताको प्रमाणपत्र र सवारी साधन कर तिरेको निस्सा समेत संलग्न राखी तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(२) सवारी धनीको मृत्यु भई जसको नाममा स्वामित्व हस्तान्तरण हुनुपर्ने हो सो हकवालाले सवारी धनीको मृत्यु भएको मितिले पैंतीस दिनभित्र सवारी धनीको मृत्यु भएको प्रमाण, दर्ताको प्रमाणपत्र र सवारी साधन कर तिरेको निस्सा तथा आफू सबै भन्दा नजीकको हकवाला हो भन्ने कुराको प्रमाण समेत संलग्न राखी सो सवारी आफ्नोे नाममा नामसारी गराउन तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(३) उपदफा (१) वा (२) बमोजिम नामसारीको लागि दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी तोकिएको दस्तुर लिई दर्ताको प्रमाणपत्रमा नामसारीको ब्यहोरा जनाई नामसारी गर्नु पर्छ ।

तर उपदफा (२) बमोजिम नामसारीको लागि एक भन्दा बढी बराबरीका हकवालाको दरखास्त परेमा ती सबै हकवालाको नाममा त्यस्तो सवारी संयुक्तरूपमा दर्ता गरी नामसारी गर्नु पर्छ ।

(४) उपदफा (३) बमोजिम कुनै सवारीको नामसारी भएमा सो बमोजिम स्वामित्व हस्तान्तरण भई नामसारी भएको ब्यहोरा दर्ता किताबमा जनाउनु पर्छ ।

(५) यस दफा बमोजिम कुनै सवारीको नामसारी गर्ने सन्दर्भमा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गर्दा सो सवारीमा हक बेहक सम्बन्धी कुनै मुद्दा परेको देखिएमा त्यस्तो मुद्दाको अन्तिम किनारा नभएसम्म त्यस्तो सवारी कसैको नाममा नामसारी गर्नु हुँदैन ।

 

३८. दर्ता परिवर्तन गर्न नहुनेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मालबाहक सवारीको रूपमा दर्ता भई दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई यात्रीबाहक सवारीमा दर्ता परिवर्तन गर्ने गरी दर्ताको प्रमाणपत्र दिइने छैन ।

 

३९. स्वीकृति नलिई हेरफेर गर्न नहुनेः (१) सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ्ग, सीट संख्या, स्वरूप, इन्जीन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न हुँदैन ।
तर यस उपदफाले सवारीमा सामान्य पार्ट–पूर्जा परिवर्तन गर्न कुनै बाधा पु¥याएको मानिने छैन ।

(२) उपदफा (१) बमोजिम हेरफेर गर्नु परी स्वीकृति मागेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो हेरफेर गर्न उपयुक्त हुने देखेमा हेरफेर गर्ने स्वीकृति दिन सक्नेछ ।

तर सवारी निर्माता कम्पनीले सवारीको बनोट सम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण (स्पेसिफिकेशन) मा परिवर्तन गर्ने गरी स्वीकृति दिइने छैन ।

(२क) उपदफा (२) बमोजिम हेरफेरको लागि स्वीकृति दिंदा सवारी दर्ता गर्दा लाग्ने दस्तुरको पचास प्रतिशत दस्तुर लिइनेछ ।

 

४०. दर्ताको प्रमाणपत्र स्थगित गर्न सक्नेः (१) अधिकार प्राप्त अधिकारीले देहायको अवस्थामा कुनै सवारीको दर्ताको प्रमाणपत्र देहाय बमोजिमको अवधिसम्मको लागि स्थगित गर्ने गरी आदेश दिन सक्नेछः–

(क) सवारीको अवस्था खराब भई सो चलाउँदा सर्वसाधारणको जीउ वा सम्पत्तिमा हानि नोक्सानी हुने देखिएमा सो सवारी सन्तोषप्रदरूपमा मरम्मत नगरेसम्मको अवधिको लागि, र

(ख) सवारी धनीले यस ऐन बमोजिम पूरा गर्नु पर्ने कुनै शर्त पूरा नगरी वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको परिधिभित्र रही अधिकार प्राप्त अधिकारीले दिएको आदेशको उल्लङ्घन गरी सवारी चलाएमा बढीमा छ महीनासम्मको लागि ।

(२) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र स्थगित गर्ने गरी सवारी धनीलाई आदेश दिंदा अधिकार प्राप्त अधिकारीले सोको कारण समेत स्पष्टरूपमा खुलाएको हुनु पर्छ ।

(३) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले त्यसको जानकारी सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्छ ।

(४) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले आदेश दिएको मितिले सात दिनभित्र सवारी धनीले दर्ताको प्रमाणपत्र अधिकार प्राप्त अधिकारी समक्ष बुझाउनु पर्छ ।

(५) अधिकार प्राप्त अधिकारीले दर्ताको प्रमाणपत्रको स्थगन अवधि समाप्त भएपछि उपदफा (४) बमोजिम सवारी धनीले बुझाएको दर्ताको प्रमाणपत्र निजलाई नै फिर्ता गर्नु पर्छ ।

(६) उपदफा (५) बमोजिम दर्ताको प्रमाणपत्र सवारी धनीलाई फिर्ता दिंदा अधिकार प्राप्त अधिकारीले सो दर्ताको प्रमाणपत्रमा स्थगित भएको अवधि र कारण समेत स्पष्ट जनाई सो कुराको अभिलेख दर्ता किताबमा समेत जनाउन लगाउनु पर्छ ।

 

४१. दर्ताको प्रमाणपत्र खारेज गर्नेः (१) यस ऐनबमोजिम दर्ता भएको कुनै सवारी कुनै किसिमले नासिएमा वा चल्न नसक्ने गरी बिग्रिएमा वा सधैंको लागि नेपाल बाहिर लगिएमा सवारी धनीले तीस दिनभित्र दर्ताको प्रमाणपत्र संलग्न राखी त्यस्तो सवारीको लगत कट्टा गर्न अधिकार प्राप्त अधिकारी समक्ष तोकिएको ढाँचामा दरखास्त दिनु पर्छ ।

तर पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण सवारी वा त्यस्तो सवारीको कुनै पार्टपूर्जा नेपालबाहिर लग्न परेमा सवारी धनीले अधिकार प्राप्त अधिकारीको पूर्व स्वीकृति लिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी ब्यहोरा साँचो देखेमा त्यस्तो दर्ताको प्रमाणपत्र खारेज गरी सो को ब्यहोरा दर्ता किताबमा जनाई त्यस्तो सवारीको लगत कट्टा गर्नु पर्छ ।

 

४२. नवीकरण दस्तुर मिन्हा दिनेः यस ऐनबमोजिम दर्ता भएको कुनै सवारी कुनै कारणबाट जफत भई वा दुर्घटनामा परी वा अन्य कुनै कारणबाट बिग्री एक वर्षभन्दा बढी अवधिसम्मका लागि चल्न वा चलाउन नसकिने भएमा सवारी धनीले सो ब्यहोरा खुलाई दर्ताको प्रमाणपत्रको साथ सो कुराको प्रमाण पेश गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र खिची सो सवारी चलाउन नसकिने अवधिसम्मको लागि सो सवारीको धनीले तिर्नु पर्ने नवीकरण दस्तुर मिनाहा दिन सक्नेछ ।

 

४३. दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनेः (१) दर्ताको प्रमाणपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भए गरेको मितिले पन्ध्र दिनभित्र सवारी धनीले अधिकार प्राप्त अधिकारी समक्ष तोकिएको ढाँचामा तोकिएको दस्तुर संलग्न राखी दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम परेको दरखास्त उपर आवश्यक छानबिन गर्दा ब्यहोरा ठीक देखेमा अधिकार प्राप्त अधिकारीले सवारी धनीलाई त्यस्तो दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनु पर्छ ।

(३) उपदफा (२) बमोजिम दर्ताको प्रमाणपत्रको प्रतिलिपि जारी गरेको सूचना अधिकार प्राप्त अधिकारीले सम्बन्धित प्रहरी कार्यालयलाई दिनेछ ।

 

४४. विवरण पेश गर्नु पर्नेः (१) विदेशबाट सवारी पैठारी गर्ने फर्म, कम्पनी वा एजेण्टले आफूले पैठारी गरेको प्रत्येक सवारीको मोडेल, इन्जिन नम्बर, चेसिस नम्बर तथा त्यस्तो सवारीको किसिम र निर्माताको नाम समेत उल्लेख गरी त्यस्तो सवारीहरू मध्ये कुन सवारी कसलाई कहिले बिक्री गरेको र आफूले पैठारी गरी बाँकी रहेको सवारी मध्ये कति सवारी मौज्दात रहेको छ भन्ने समेत खुलाई प्रत्येक महीना अधिकार प्राप्त अधिकारी समक्ष विवरण पेश गर्नु पर्छ ।

(२) अधिकार प्राप्त अधिकारीले विदेशबाट सवारी पैठारी गरी बिक्री वितरण गर्ने फर्म, कम्पनी वा एजेन्टबाट उपदफा (१) मा लेखिएको विवरणहरूको अतिरिक्त सवारी पैठारी तथा बिक्री वितरण सम्बन्धी अन्य कुनै आवश्यक विवरण तथा कागजात माग्न सक्नेछ । त्यसरी मागिएको विवरण तथा कागजात तुरून्त उपलव्ध गराउने कर्तव्य त्यस्तो फर्म, कम्पनी वा एजेन्टको हुनेछ ।