परिच्छेद– ४ चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था

परिच्छेद– ४ चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था

४५. सवारी चलाउन नहुनेः कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन ।

 

४६. सवारी चलाउन दिन नहुनेः कसैले आफ्नोे स्वामित्वको वा आफ्नोे जिम्मामा रहेको कुनै सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको कुनै व्यक्तिलाई चलाउन दिन हुँदैन ।

 

४७. चालकको लागि अयोग्यताः देहायका व्यक्तिहरू चालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिने छन्ः–

(क) ठूलो सवारीको निमित्त २१ वर्ष उमेर नपुगेको व्यक्ति ।

(ख) मझौला र सानो सवारीको निमित्त अठार वर्ष उमेर नपुगेको व्यक्ति ।

तर मोटरसाइकल तथा त्यस्तै अन्य सानो दुईपाङ्ग्रे सवारीको निमित्त सोह्र वर्ष उमेर पुगेको व्यक्तिले चालक अनुमतिपत्र प्राप्त गर्न सक्नेछ ।

(ग) छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मूर्छा हुने किसिमको रोग भएको व्यक्ति ।

(घ) आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको व्यक्ति ।

(ङ) साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति ।

तर त्यस्ता व्यक्तिको चालक क्षमता सम्बन्धमा परीषण गराई तोकिएको बमोजिमको मापदण्ड पूरा भएका सडकमा मात्र सवारी चलाउन पाउने गरी निजलाई सवारी चालक अनुमतिपत्र दिन सकिनेछ ।

(च) रातो, हरियो, पहेंलो इत्यादि रङहरू तुरून्त छुट्याउन नसक्ने दृष्टिदोष भएको व्यक्ति ।

(छ) रतन्धो भएको व्यक्ति, वा

(ज) हात खुट्टा शक्तिहीन भै काम दिन नसक्ने भएको व्यक्ति ।

तर अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो खण्डको बन्देज लागू हुने छैन ।

 

४८. चालक अनुमतिपत्रको लागि दरखास्तः (१) दफा ४७ बमोजिमको अयोग्यता नभएको व्यक्तिले कुनै सवारी चलाउन चालक अनुमतिपत्र लिन चाहेमा तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको दरखास्त साथ दरखास्तवालाले चालक अनुमतिपत्रको लागि तोकिएको दस्तुर, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, हालसालै खिचिएको आफ्नोे तीन प्रति पासपोर्ट साइजको फोटो, नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले निजको स्वास्थ्य परीक्षण गरी दिएको निरोगिताको प्रमाणपत्र

 

४९. दरखास्तवालाको परीक्षणः (१) दफा ४८ बमोजिम दरखास्त परेपछि दरखास्तवाला त्यस्तो सवारी चलाउन समर्थ छ छैन र निजलाई त्यस्तो सवारी वा सवारी सम्बन्धी ऐन, नियम तथा ट्राफिक सङ्केत सम्बन्धी सामान्य ज्ञान छ छैन भन्ने कुराको यकिन गर्न परीक्षा लिनु पर्छ । त्यसरी लिइने परीक्षाको विषय र परीक्षा प्रणाली विभागले तोकिदिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम लिइएको परीक्षामा असफल हुने दरखास्तवालाले सो परीक्षा सम्पन्न भएको मितिले तीन महीना पूरा नभएसम्म दफा ४८ बमोजिम पुनः दरखास्त दिन पाउने छैन ।

 

५०. चालक अनुमतिपत्र दिनेः (१) दफा ४९ बमोजिम परीक्षा लिई सफल भएका दरखास्तवालालाई सो समितिको सिफारिशमा अधिकार प्राप्त अधिकारीले अनुसूची – ५ बमोजिमको ढाँचामा चालक अनुमतिपत्र दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम अनुमतिपत्र दिंदा सो अनुमतिपत्रमा ठूलो, मझौला, सानो वा ती मध्ये कुनै वा सबै सवारी चलाउन दिइएको हो भन्ने कुरा स्पष्ट रूपमा जनाउनु पर्छ ।

(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक सवारी चलाउने चालकलाई दिइने चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

५१. परीक्षणकालमा रहनेः (१) दफा ५० बमोजिम दिइने चालक अनुमतिपत्र शुरूमा एक वर्षको लागि परीक्षणकालमा रहने गरी दिइनेछ ।

(२) परीक्षणकालभित्र चालकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम पालन गर्नु पर्ने शर्तको उल्लङ्घन पाँच पटकभन्दा बढी नगरेमा निजको अनुरोधमा अधिकार प्राप्त अधिकारीले निजको चालक अनुमतिपत्र स्थायीमा परिणत गरी दिनु पर्छ ।

 

५२. विदेशी राष्ट्रबाट प्राप्त चालक अनुमतिपत्रको मान्यताः कसैले विदेशी राष्ट्र«बाट चालक अनुमतिपत्र प्राप्त गरेको रहेछ भने सो अनुमतिपत्रमा लेखिएको सवारी चलाउन त्यस्तो व्यक्तिले दफा ४८ बमोजिम दरखास्त दिएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो व्यक्तिबाट चालक अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिई चालक अनुमतिपत्र दिन सक्नेछ ।

तर त्यस्तो व्यक्तिले चालक अनुमतिपत्र लिन कुनै परीक्षा दिनु पर्ने छैन ।

 

५३. अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र स्वतः मान्य हुनेः अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र प्राप्त गरेको व्यक्तिले सो अनुमतिपत्रमा लेखिएको सवारीहरू नेपाल  भर चलाउन पाउनेछ ।

 

५४. चालक अनुमतिपत्रको वैधताः (१) दफा ५० बमोजिम चालक अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिले सो अनुमतिपत्रमा लेखिएका सवारीहरू मात्र चलाउन पाउनेछ ।

(२) उपदफा (१) का अधीनमा रही चालकले त्यस्तो सवारी नेपाल भर चलाउन पाउनेछ ।

(३) चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।

 

५५. चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नेः (१) कुनै चालकले आफूले पाएको चालक अनुमतिपत्रमा लेखिएका सवारीका अतिरिक्त अन्य कुनै सवारी समावेश गराउन चाहेमा समावेश गराउन चाहेको सवारीको किसिम खुलाई तोकिएको ढाँचामा तोकिएको दस्तुर संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम दरखास्त परेमा परीक्षा समितिले चालक अनुमतिपत्रमा समावेश गराउन चाहेको सवारी चालकले चलाउन सक्छ सक्तैन भन्ने कुराको यकिन गर्न दफा ४९ बमोजिम निजको परीक्षा लिनु पर्छ ।

(३) उपदफा (२) बमोजिम परीक्षा लिंदा सफल भएको चालकको अनुमतिपत्रमा निजले समावेश गराउन चाहेको सवारी समावेश गरी अधिकार प्राप्त अधिकारीले नयाँ चालक अनुमतिपत्र दिनु पर्छ ।

(४) उपदफा (३) बमोजिम चालक अनुमतिपत्र दिंदा दफा ५१ बमोजिम परीक्षणकालमा रहने गरी दिइनेछ ।

 

५६. चालक अनुमतिपत्रको नवीकरणः (१) दफा ५४ को उपदफा (३) बमोजिम चालक अनुमतिपत्रमा लेखिएको म्याद नाघेको तीन महीनाभित्र त्यस्तो चालक अनुमतिपत्र नवीकरण गराई सक्नु पर्छ ।

(२) चालकले उपदफा (१) बमोजिमको म्यादभित्र चालक अनुमतिपत्र नवीकरण गराउनको लागि तोकिएको दस्तुर संलग्न राखी अधिकारप्राप्त अधिकारी समक्ष पेश गर्नु पर्छ ।

(३) उपदफा (२) बमोजिम नवीकरणको लागि चालक अनुमतिपत्र पेश हुन आएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालक अनुमतिपत्र अर्काे पाँच वर्षसम्मको लागि नवीकरण गर्नु पर्छ ।

(४) उपदफा (१) बमोजिम म्याद नाघी चालक अनुमतिपत्र नवीकरण गराउन आउने चालकबाट नवीकरण दस्तुरको अतिरिक्त सो म्याद नाघेको एक वर्षसम्म एकसय प्रतिशत, दुई वर्षसम्म दुईसय प्रतिशत, तीन वर्षसम्म तीनसय प्रतिशत, चार वर्षसम्म चारसय प्रतिशत र पाँच वर्षसम्म पाँचसय प्रतिशत थप दस्तुर समेत लिई त्यस्तो चालक अनुमतिपत्र नवीकरण गर्नु पर्छ ।

 

५७. चालक अनुमतिपत्र स्वतः रद्द हुनेः (१) दफा ५६ को उपदफा (४) बमोजिम निर्धारित अवधिसम्म पनि नवीकरण नगरिएको चालक अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

(२) उपदफा (१) बमोजिम रद्द भएको चालक अनुमतिपत्रको लगत दर्ता किताबबाट कट्टा गरिनेछ ।

(३) उपदफा (२) बमोजिम दर्ता किताबबाट लगत कट्टा भईसकेको चालक अनुमतिपत्र नवीकरण गरिने छैन ।

 

 

५८. नवीकरण गराउँदा निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्नेः सार्वजनिक सवारी चलाउने चालकले चालक अनुमतिपत्र नवीकरण गराउँदा स्वीकृत चिकित्सकले दिएको निरोगिताको प्रमाणपत्र समेत अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्नु पर्छ ।

५९. चालकको ठेगाना बदलिएमा सूचना गर्नु पर्नेः (१) चालकको स्थायी ठेगाना बदलिएमा एक महीनाभित्र सो कुराको सूचना अधिकार प्राप्त अधिकारीलाई दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि अधिकार प्राप्त अधिकारीले चालकको नयाँ ठेगाना समेत दर्ता किताबमा जनाउन लगाउनु पर्छ ।

 

६०. चालक अनुमतिपत्र निलम्बन गर्न सकिनेः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम चालकले पालन गर्नु पर्ने शर्तहरू पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र छ महीनासम्मको लागि निलम्बन गर्न सक्नेछ ।

 

६१. चालक अनुमतिपत्र खारेज गर्न सकिनेः (१) कुनै चालकमा दफा ४७ मा लेखिएको कुनै अयोग्यता भएको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमतिपत्र खारेज गरी सो अनुमतिपत्र फिर्ता बुझाउन चालकलाई आदेश दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको आदेश प्राप्त भएको मितिले सात दिनभित्र चालकले आफ्नोे अनुमतिपत्र अधिकार प्राप्त अधिकारीसमक्ष फिर्ता बुझाउनु पर्छ ।

 

६२. चालक अनुमतिपत्रको प्रतिलिपि दिनेः (१) चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा सात दिनभित्र चालकले सम्बन्धित अधिकार प्राप्त अधिकारी समक्ष चालक अनुमतिपत्रको प्रतिलिपिको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत राखी दरखास्त दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको दरखास्त उपर आवश्यक छानबीन गरी ब्यहोरा ठीक देखेमा अधिकार प्राप्त अधिकारीले चालकलाई चालक अनुमतिपत्रको प्रतिलिपि दिनेछ ।

(३) उपदफा (२) बमोजिम चालक अनुमतिपत्रको प्रतिलिपि जारी गरेको सूचना अधिकार प्राप्त अधिकारीले सम्बन्धित प्रहरी कार्यालयलाई दिनेछ ।