परिच्छेद– ६ यातायात व्यवस्थापन

परिच्छेद– ६ यातायात व्यवस्थापन

७४. बाटो निर्धारण गर्नेः विभागले उपयुक्त देखेको ठाउँमा आवश्यकतानुसार सार्वजनिक सवारीलाई यातायात सेवा सञ्चालन गर्न बाटो निर्धारण गरी सो को सूचना सर्वसाधारणको जानकारीको लागि सार्वजनिक रूपमा प्रकाशित गर्नु पर्छ ।

७५. बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गर्न नहुनेः दफा ७४ बमोजिम निर्धारित बाटोमा बाटो इजाजतपत्र प्राप्त नगरी कुनै पनि सार्वजनिक सवारीले यातायात सेवा सञ्चालन गर्न पाउने छैन ।

७६. बाटो ईजाजतपत्रको लागि दरखास्तः यातायात सेवा सञ्चालन गर्नको निमित्त कुनै सार्वजनिक सवारीलाई कुनै बाटो प्रयोग गर्नु परेमा व्यवस्थापक वा सवारी धनीले तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष बाटो इजाजतपत्रको लागि तोकिएको दस्तुर सहित दरखास्त दिनु पर्छ ।

 

७७. बाटो इजाजतपत्र दिनु पर्नेः (१) दफा ७६ बमोजिम बाटो इजाजतपत्रको लागि दरखास्त परेमा अधिकारप्राप्त अधिकारीले दफा ७८ को अधीनमा रही त्यस्तो सार्वजनिक सवारीलाई त्यस्तो बाटोमा प्रयोग गर्न अनुसूची –७ बमोजिमको ढाँचामा बाटो इजाजतपत्र दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम दिइएको बाटो इजाजतपत्र सो दिइएको मितिले चार महीनासम्म बहाल रहनेछ ।

 

७८. बाटो इजाजतपत्र दिंदा जाँचनु पर्ने कुराहरूः दफा ७७ बमोजिम कुनै सार्वजनिक सवारीलाई बाटो इजाजतपत्र दिंदा त्यस्तो सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले देहायका कुराहरू पूरा गरे नगरेको अधिकार प्राप्त अधिकारीले जाँच गरी पूरा गरेको भए मात्र त्यस्तो सार्वजनिक सवारीलाई बाटो इजाजतपत्र दिनुपर्छः–

(क) सवारी चालक, परिचालक, सुरक्षाकर्मी तथा सवारीमा काम गर्ने अन्य कर्मचारी तथा तेस्रो पक्षको बीमा,

(ख) सवारीको जाँचपास र

(ग) दर्ताको प्रमाणपत्र नवीकरण ।

 

७९. बाटो परिवर्तन गर्नु परेमा ः (१) बाटो इजाजतपत्रको अवधि समाप्त नहुँदै सो बाटो इजाजतपत्रमा तोकिएको सार्वजनिक सवारीलाई अन्य कुनै बाटोमा प्रयोग गर्नु परेमा सवारी धनी वा व्यवस्थापकले पुनः दफा ७६ बमोजिम बाटो इजाजतपत्रको लागि दरखास्त दिई बाटो इजाजतपत्र लिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सार्वजनिक सवारीको लागि पहिले दिएको बाटो इजाजतपत्र खारेज गरी नयाँ बाटो इजाजतपत्र दिनु पर्छ ।

 

८०. बहु बाटो इजाजतपत्र दिन सकिनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सार्वजनिक सवारीले यातायात सेवा पुर्याई रहेको बाटोमा कुनै असर नपर्ने गरी सो बाटोसँग सम्बन्धित हुन आउने अन्य बाटोमा समेत उक्त सार्वजनिक सवारी प्रयोग गर्न पाउने गरी अधिकार प्राप्त अधिकारीले बाटो इजाजतपत्र दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम एक भन्दा बढी बाटोमा यातायात सेवा सञ्चालन गर्न पाउने गरी बहु बाटो इजाजतपत्र दिंदा त्यस्तो प्रत्येक बाटोको लागि लाग्ने बाटो दस्तुर समेत सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले बुझाउनु पर्छ ।

 

८१. पटके बाटो इजाजतपत्रः (१) विशेष काम परी कुनै सार्वजनिक सवारीलाई बाटो इजाजतपत्रमा लेखिएको बाटो बाहेक अन्य कुनै बाटोमा चलाउनु परेमा त्यस्तो सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले पटके बाटो इजाजतपत्रको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी ब्यहोरा ठीक देखेमा बढीमा सात दिनसम्मको लागि पटके बाटो इजाजतपत्र दिन सक्नेछ ।

 

८२. बाटो इजाजतपत्र दिन इन्कार गर्न सकिनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै बाटोमा यातायात सेवा सञ्चालन गर्न बाटो इजाजतपत्र प्रदान गर्दा त्यस्तो बाटोमा यात्रीको चाप र यातायात सेवामा संलग्न सार्वजनिक सवारीको सङ्ख्यालाई हेर्दा फेरि अर्काे सवारीको निमित्त सोही बाटोमा बाटो इजाजतपत्र प्रदान गर्न आवश्यक नदेखिएमा वा प्रदूषणको कारण वा अन्य कुनै कारणबाट कुनै सार्वजनिक सवारीको निमित्त बाटो इजाजतपत्र प्रदान गर्दा सार्वजनिक हितको प्रतिकूल हुन जान्छ भन्ने अधिकार प्राप्त अधिकारीलाई लागेमा निजले व्यवस्थापन समितिसँग परामर्श गरी बाटो इजाजतपत्र दिन इन्कार गर्न सक्नेछ ।

(२) मध्यम बाटो र लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने सार्वजनिक सवारी तथा त्यसमा यात्रा गर्ने यात्री एवं काम गर्ने कर्मचारी समेतको सुरक्षालाई ध्यानमा राखी त्यस्तो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तर तोकिए बमोजिम हुनेछ । अधिकार प्राप्त अधिकारीले तोकिएको स्तर नभएका सार्वजनिक सवारीलाई त्यस्तो बाटोमा यातायात सेवा सञ्चालन गर्ने बाटो इजाजतपत्र दिन इन्कार गर्न सक्नेछ ।

 

८३. बाटो इजाजतपत्र नवीकरणः (१) दफा ७७ को उपदफा (२) बमोजिम बाटो इजाजतपत्रमा लेखिएको म्याद नाघेको पन्ध्र दिनभित्र त्यस्तो बाटो इजाजतपत्र नवीकरण गराई सक्नु पर्छ ।

(२) सवारी धनी, व्यवस्थापक वा निजहरूले खटाएको व्यक्तिले उपदफा (१) बमोजिम बाटो इजाजतपत्र नवीकरण गराउनको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(३) उपदफा (२) बमोजिम नवीकरणको लागि दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो बाटो इजाजतपत्र अर्को चार महीनाको लागि नवीकरण गर्नु पर्छ ।

(४) उपदफा (१) बमोजिमको म्याद नाघी बाटो इजाजतपत्र नवीकरण गराउन आउने सवारी धनीबाट सो म्याद नाघेको एक महीनासम्म नवीकरण दस्तुरको अतिरिक्त शत प्रतिशत थप दस्तुर लिई त्यस्तो बाटो इजाजतपत्र नवीकरण गर्नु पर्छ ।

 

८४. बाटो इजाजतपत्र स्वतः रद्द हुनेः (१) दफा ८३ को उपदफा (४) बमोजिम निर्धारित अवधिसम्म पनि नवीकरण नगरिएमा त्यस्तो बाटो इजाजतपत्र स्वतः रद्द हुनेछ ।

(२) उपदफा (१) बमोजिम रद्द भएको बाटो इजाजतपत्रको लगत कट्टा गरिनेछ ।

(३) उपदफा (२) बमोजिम लगत कट्टा भईसकेको बाटो इजाजतपत्र नवीकरण गरिनेछैन ।

 

८५. पुनः बाटो इजाजतपत्र दिन सकिनेः दफा ८४ बमोजिम रद्द भई लगत कट्टा भएको बाटो इजाजतपत्रमा लेखिएको सार्वजनिक सवारीको लागि पुनः बाटो इजाजतपत्र लिन आएमा त्यस्तो सवारीको धनी वा व्यवस्थापकबाट दफा ८३ बमोजिम लिनु पर्ने नवीकरण तथा थप दस्तुर समेत लिई निजलाई दुई हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी चलाउन दफा ७७ बमोजिम अर्काे बाटो इजाजतपत्र दिनु पर्छ ।

 

८६. बाटो इजाजतपत्र स्थगित गर्न सकिनेः (१) यस ऐन बमोजिम बाटो इजाजतपत्र लिएको कुनै सार्वजनिक सवारी दुर्घटनामा परी वा अन्य कुनै कारणबाट बिग्री चार महीना वा सो भन्दा बढी अवधिसम्म चलाउन नसकिने भएमा सवारी धनीले सो ब्यहोरा खुलाई बाटो इजाजतपत्र संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष त्यस्तो बाटो इजाजतपत्र स्थगित गर्नका लागि दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा त्यस्तो सार्वजनिक सवारी चलाउन नसकिने अवधिसम्मका लागि त्यस्तो सवारीको बाटो इजाजतपत्र स्थगित गर्न सक्नेछ ।

(२क) बाटो इजाजतपत्रमा तोकेको बाटोमा सार्वजनिक सवारी साधन सञ्चालन नगरी जनजीवनमा प्रतिकूल असर पर्ने गरी यातायात सेवा अवरूद्ध गरेमा नेपाल सरकारले त्यस्ता सवारीहरूको बाटो इजाजतपत्र बढीमा एक महीना सम्मको लागि स्थगित गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम बाटो इजाजतपत्र स्थगित अवधिको नवीकरण दस्तुर मिनाहा हुनेछ ।

 

८७. बाटो इजाजतपत्र रद्द गर्न सकिनेः यस ऐनबमोजिम बाटो इजाजतपत्र लिएको कुनै सार्वजनिक सवारी चलाउन नसकिने गरी बिग्रिए वा नासिएमा त्यस्तो सवारीको धनी वा व्यवस्थापकले सोको प्रमाण संलग्न राखी बाटो इजाजतपत्रको मान्यता रद्द गराउन अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

 

८८. बाटो इजाजतपत्रको प्रतिलिपि दिनेः (१) बाटो इजाजतपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भए गरेको मितिले सात दिनभित्र सवारी धनी वा व्यवस्थापकले बाटो इजाजतपत्रको प्रतिलिपिको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी सम्बन्धित अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम परेको दरखास्त उपर अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी ब्यहोरा ठीक देखेमा दरखास्तवालालाई बाटो इजाजतपत्रको प्रतिलिपि दिनेछ ।

(३) उपदफा (२) बमोजिम बाटो इजाजतपत्रको प्रतिलिपि जारी गरेको सूचना अधिकार प्राप्त अधिकारीले सम्बन्धित प्रहरी कार्यालयलाई दिनेछ ।

 

८९. जाँचपास गराउनु पर्नेः (१) कुनै पनि सार्वजनिक सवारीको बाटो इजाजतपत्र लिन यस ऐन बमोजिम त्यस्तो सवारीको जाँचपास गराएको हुनु पर्छ ।

(२) उपदफा (१) बमोजिम जाँचपास नगराई कुनै पनि सार्वजनिक सवारीको लागि बाटो इजाजतपत्र दिइने छैन ।

 

९०. जाँचपासको लागि दरखास्तः जाँचपास गराउन चाहने सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले जाँचपासको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।

 

९१. जाँचपासको प्रमाणपत्र दिनुपर्नेः (१) दफा ९० बमोजिम दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सार्वजनिक सवारी जाँच्न लगाई त्यस्तो सवारीको यान्त्रिक स्थिति र स्वरूप ठीक देखिएमा तोकिएको ढाँचामा जाँचपासको प्रमाणपत्र दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम दिइने जाँचपासको प्रमाणपत्रको मान्यता छ महीनासम्मको लागि हुनेछ ।

 

९२. पुनः जाँचपास गराउनु पर्नेः (१) दफा ९१ को उपदफा (२) मा लेखिएको म्याद नाघेको मितिले सात दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष पुनः जाँचपासको लागि दरखास्त दिई जाँचपास गराउनु पर्छ ।

(२) उपदफा (१) मा लेखिएको म्यादसम्म पुनः जाँचपास नगराएमा सो म्याद नाघेको मितिले पैंतीस दिनभित्र त्यस्तो सवारी जाँचपास गराउन ल्याएमा जाँचपासको लागि लाग्ने दस्तुरको अतिरिक्त शत प्रतिशत थप दस्तुर समेत लिई त्यस्तो सवारी जाँचपास गरी दिनु पर्छ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र पनि जाँचपास नगराएमा त्यस्तो जाँचपासको प्रमाणपत्र स्वतः रद्द हुनेछ । यसरी जाँचपासको प्रमाणपत्र रद्द भएको सार्वजनिक सवारी पुनः जाँचपास गराउन ल्याएमा सवारी धनी वा व्यवस्थापकबाट उपदफा (२) बमोजिमको दस्तुरको अतिरिक्त पाँचहजार रुपैयाँसम्म जरिवाना लिई त्यस्तो सवारी पुनः जाँचपास गरी जाँचपासको प्रमाणपत्र दिनु पर्छ ।

 

९३. यातायात सेवाको नाम पञ्जीकृत गर्नु पर्नेः (१) यातायात सेवाको नाम विभागमा पञ्जीकृत नगरी सवारी धनी वा व्यवस्थापकले कुनै पनि सार्वजनिक सवारी यातायात सेवा सञ्चालन गर्ने कार्यमा प्रयोग गर्नु हुँदैन ।

(२) यातायात सेवाको नाम विभागमा पञ्जीकृत गर्न चाहने सवारी धनी वा व्यवस्थापकले त्यस्तो सेवा पञ्जीकरणको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी विभाग समक्ष दरखास्त दिनु पर्छ ।

(३) उपदफा (२) बमोजिम परेको दरखास्त उपर विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो यातायात सेवाको नाम पञ्जीकृत गर्न उपयुक्त देखेमा सो नामबाट यातायात सेवा सञ्चालन गर्न दरखास्तवालालाई अनुसूची –८ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ । त्यसरी यातायात सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सवारी धनी वा व्यवस्थापकले त्यस्तो यातायात सेवा प्रदान गर्ने कार्य बन्द गर्न चाहेमा विभागको पूर्व स्वीकृति लिनु पर्छ ।

(४) उपदफा (३) बमोजिम दिइएको अनुमतिपत्र सो दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।

(५) यस दफा बमोजिम पञ्जीकृत यातायात सेवामा काम गर्ने कर्मचारीहरूको नियुक्ति, सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

 

९४. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरणः (१) दफा ९३ को उपदफा (४) बमोजिमको म्याद नाघेको तीन महीनाभित्र यातायात सेवा सञ्चालन गर्न दिइएको अनुमतिपत्र नवीकरण गरी सक्नु पर्छ ।

(२) सवारी धनी, व्यवस्थापक वा निजहरूले खटाएको व्यक्तिले उपदफा (१) बमोजिम अनुमतिपत्र नवीकरण गराउनको लागि तोकिए बमोजिमको ढाँचामा दस्तुर सहित विभाग समक्ष दरखास्त दिनु पर्छ ।

(३) उपदफा (२) बमोजिम नवीकरणको लागि दरखास्त परेमा विभागले त्यस्तो अनुमतिपत्र अर्काे पाँचवर्षको लागि नवीकरण गर्नु पर्छ ।

(४) उपदफा (१) बमोजिमको म्याद नाघी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन आउने सवारी धनी वा व्यवस्थापकबाट सो म्याद नाघेको एक महीनासम्म नवीकरण दस्तुरको अतिरिक्त शत प्रतिशत थप दस्तुर लिई नवीकरण गरिनेछ ।

 

९५. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्वतः रद्द हुनेः (१) दफा ९४ को उपदफा (४) बमोजिम निर्धारित अवधि भित्र यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र स्वतः रद्द हुनेछ ।

(२) उपदफा (१) बमोजिम रद्द भएको अनुमतिपत्रको लगत कट्टा हुनेछ ।

(३) उपदफा (२) बमोजिम लगत कट्टा भईसकेको अनुमतिपत्र पुनः नवीकरण गरिने छैन ।

 

९६. भाडा निर्धारण गर्नेः (१) कुनै बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक तथा मालबाहक सार्वजनिक सवारीले लिने भाडा दर तोकिए बमोजिम हुनेछ ।

(२) यात्रीले आफूसँग निःशुल्क लैजान पाउने यात्रीगुण्टाको अधिकतम वजन र सो बाहेक भाडा तिरी आफूसँग लैजान पाउने यात्रीगुण्टाको अधिकतम वजन तथा भाडा तोकिए बमोजिम हुनेछ ।

(३) यस दफाबमोजिम तोकिएको भाडा दर भन्दा बढी हुने गरी भाडा लिनु हुँदैन ।

 

९७. परिचयपत्र नझुण्ड्याएको व्यक्तिले यात्री टिकट बेच्न नहुनेः सार्वजनिक सवारीको यात्री टिकट बेच्ने कार्यमा संलग्न व्यक्तिले त्यस्तो सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जीकृत यातायात सेवाको कर्मचारी परिचयपत्र नझुण्ड्याई त्यस्तो यातायात सेवाको नामबाट यात्री टिकट बेच्न हुँदैन ।

 

९८. यात्री टिकटको ढाँचाः  (१) सार्वजनिक सवारीको यात्री टिकटको ढाँचा तोकिए बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिम यात्री टिकट बेच्ने व्यक्तिले टिकटमा सम्बन्धित यातायात सेवाको छाप लगाएको हुनु पर्छ ।

 

९९. माल ढुवानी गर्दा माल ढुवानीको विवरण सहितको बील दिनु पर्नेः मालबाहक सार्वजनिक सवारीले कुनै पनि किसिमको माल ढुवानी गर्दा मालसामानको धनीलाई त्यस्तो मालसामानको विवरण सहित उल्लेख गरिएको माल ढुवानीको बील दिनु पर्छ । त्यसरी दिइने बीलको ढाँचा तोकिए बमोजिम हुनेछ ।

१००. यात्री–सूची तयार गर्नु पर्नेः विभागले तोके बमोजिमको मध्यम बाटो वा लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले आफ्नोे सवारीमा यात्रा गर्ने सबै यात्री, चालक, परिचालक, सुरक्षाकर्मी तथा सो सवारीमा काम गर्ने अन्य कर्मचारी समेतको नाम, उमेर र ठेगाना स्पष्ट खुलाई यात्री–सूची तयार गर्नु पर्छ । त्यसरी तयार गरिएको यात्री सूचीको एक प्रति आफूसँग राखी अर्काे प्रति अधिकार प्राप्त अधिकारी वा निजले तोकेको व्यक्ति समक्ष सो सवारी गन्तव्य स्थानतर्फ प्रस्थान गर्नु अगावै पेश गर्नु पर्छ ।

 

१०१. यात्री र मालसामान सुरक्षित रूपमा पुर्याउनु पर्नेः (१) सार्वजनिक यातायात सेवाका धनी वा व्यवस्थापकले मालसामान वा यात्रीको जिम्मा लिएपछि यात्राको शुरूदेखि गन्तव्य स्थानसम्म निर्धारित समयभित्र सुरक्षासाथ पुर्याउनु निजको कर्तव्य हुनेछ ।

तर यात्रीलाई असुविधा हुने गरी गन्तव्य स्थानमा पुग्ने समय निर्धारण गर्न हुँदैन ।

(२) कुनै सार्वजनिक सवारी विग्रेमा वा दैवी परी सवारी अघि बढाउन नसकिने भएमा पनि यात्रीको सुविधालाई ध्यान पु¥याउनु र सवारीमा रहेको मालसामानको सुरक्षा गर्नु त्यस्तो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा अन्य कर्मचारीको अनिवार्य दायित्व हुनेछ ।

(३) उपदफा (२) मा लेखिएको अवस्था परी सवारी अघि बढाउन नसकिने भएमा पनि सवारी धनी वा व्यवस्थापकले यात्रीहरूलाई गन्तव्य स्थानसम्म पु¥याउने व्यवस्था गर्नु पर्नेछ ।

 

१०२. सीटभन्दा बढी यात्री राख्न नहुनेः यात्रीबाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ताको प्रमाणपत्रमा लेखिएको सीट सङ्ख्या भन्दा बढी यात्री राखी चलाउन हुँदैन ।

१०३. यात्रा विश्राम गर्नु पर्नेः चार घण्टा भन्दा बढीको दूरीमा चल्ने यात्रीबाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा एकपटक आधाघण्टा विश्राम गर्नु पर्छ ।

१०४. चालकको पालो फेर्नु पर्नेः लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घण्टापछि पालै पालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।

१०५. टिकट नलिई यात्रा गर्नमा प्रतिबन्धः कुनै पनि यात्रीले आफूले यात्रा गर्ने गन्तव्य स्थानसम्मको लागि तोकिएको भाडा तिरी लिएको टिकट साथमा नलिई यात्रा गर्नु हुँदैन ।

 

१०६. बाटोको नक्सा र समय तालिकाको जानकारी गराउनेः (१) अधिकार प्राप्त अधिकारीले प्रत्येक बस बिसौनीमा सो बस बिसौनीबाट प्रस्थान गर्ने गन्तव्य स्थानको बाटोको नक्सा र सार्वजनिक सवारी प्रस्थान गर्ने समय तथा गन्तव्य स्थानमा पुग्ने समय तालिका जानकारीको लागि टाँस्न वा जडान गर्न लगाउनु पर्छ ।

(२) उपदफा (१) बमोजिम टाँसिएको वा जडान गरिएको बाटो, नक्सा वा समय तालिकामा कुनै फेरबदल भएमा अधिकार प्राप्त अधिकारी वा निजले खटाएको व्यक्तिले सोको सूचना तुरून्त यात्रीहरूलाई दिने व्यवस्था गर्नु पर्छ ।

 

१०७. सीट सुरक्षित राख्नु पर्नेः (१) स्थानीय बाटोमा चल्ने यात्रीबाहक सार्वजनिक ठूलो सवारीमा चारवटा सीट अशक्त व्यक्तिका लागि र दुईवटा सीट महिलाहरूका लागि सुरक्षित राख्नु पर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।

(२) लामो बाटोमा चल्ने यात्रीबाहक सार्वजनिक सवारीमा दुईवटा सीट संसद सदस्यका लागि र दुईवटा सीट महिलाहरूका लागि सुरक्षित राख्नु पर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।

तर त्यस्तो सीट त्यस्तो सवारी गन्तव्य स्थानतर्फ प्रस्थान गर्ने चारघण्टा अघिसम्म मात्र सुरक्षित राखिनेछ ।

(३) उपदफा (२) बमोजिम व्यवस्थापिका–संसद सदस्यले खरिद गरेको टिकट अन्य कुनै यात्रीको नाममा हस्तान्तरण हुन सक्ने छैन ।

 

१०८. सुरक्षाकर्मी राख्न सकिनेः मध्यम बाटो र लामो बाटोमा यात्रीबाहक सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले सो सवारी तथा यात्रीहरूको सुरक्षाको निमित्त सो सवारीमा सुरक्षाकर्मी उपलव्ध गराई दिन नेपाल सरकारसँग अनुरोध गरेमा वा नेपाल सरकारले त्यस्तो सवारीमा सरकारी सुरक्षाकर्मी तैनाथ गर्नु पर्ने आवश्यकता देखेमा लाग्ने दस्तुर लिई आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी उपलव्ध गराउन सक्नेछ ।

१०९. अनुचित व्यवहार गर्न नहुनेः कसैले पनि यात्री, चालक, परिचालक तथा सुरक्षाकर्मीसँग अनुचित व्यवहार गर्नु हुँदैन ।

११०. सार्वजनिक सवारीमा धूम्रपान गर्न नहुनेः सार्वजनिक सवारीमा धूम्रपान गर्न हुँदैन ।

१११. चालकसँग कुरा गर्न नहुनेः सार्वजनिक सवारी चलिरहेको समयमा कसैले पनि सो सवारीको चालकसँग कुरा गर्न वा निजलाई सवारी चलाउने कार्यमा बाधा पुग्ने कुनै कार्य गर्न वा गराउन हुँदैन ।

११२. फेला परेको मालसामान बुझाउनु पर्नेः सार्वजनिक सवारीमा फेला परेको कुनै पनि मालसामान सो फेला परेको चौवीस घण्टाभित्र तत्काल कार्यरत सो सवारीको कर्मचारीले सवारी धनी वा व्यवस्थापकलाई बुझाउनु पर्छ । त्यसरी फेला परेको मालसामान सवारी धनी वा व्यवस्थापकले आफूलाई प्राप्त हुन आएको चौबीस घण्टाभित्र अधिकार प्राप्त अधिकारी वा नजिकको यातायात व्यवसायी संघको कार्यालयमा बुझाउनु पर्छ ।

११३. यात्री लिन इन्कार गर्न नहुनेः मध्यम वा लामो बाटोमा चल्ने वा एक्सप्रेस यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारी बाहेक अन्य सार्वजनिक सवारीले सवारी खालीरहेको अवस्थामा यात्री लिन इन्कार गर्न पाउने छैन ।

११४. नेपाल सरकारको विशेष अधिकारः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सार्वजनिक सवारीलाई कुनै खास अवधिसम्मको लागि कुनै ठाउँमा यातायात सेवा सञ्चालन गर्नु पर्ने गरी सवारी धनी वा व्यवस्थापकलाई नेपाल सरकारले आदेश दिन सक्नेछ ।