परिच्छेद– ७ आवागमन नियन्त्रण

परिच्छेद– ७ आवागमन नियन्त्रण

११५. सवारीको गति निर्धारणः (१) विभागले कुनै सार्वजनिक स्थानका सम्बन्धमा सवारी चलाउने गति निर्धारण गर्न आवश्यक देखेमा सो स्थानमा सवारीको गति निर्धारण गरी सो भन्दा बढी वेगमा सवारी चलाउन निषेध गर्न सक्नेछ । यसरी गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाउन हुँदैन ।

(२) उपदफा (१) बमोजिम गति निर्धारण गरी बढी वेगमा सवारी चलाउन निषेधित सार्वजनिक स्थानमा निर्धारित गति सम्बन्धी सूचना वा सङ्केत विभागले टाँस्न वा जडान गर्न लगाउनु पर्छ ।

(३) दमकल, एम्बुलेन्स तथा बिरामी लैजाने कामको सिलसिलामा चलाइएको सवारीको हकमा उपदफा (१) लागू हुने छैन ।

तर त्यस्तो सवारीले सडकमा हिड्ने बटुवा तथा अन्य सवारीलाई सचेत गर्नको निम्ति विशेष किसिमको ध्वनी तथा बत्तीको प्रयोग गर्नु पर्छ ।

 

११६. सवारीको वजनः विभागले कुनै सार्वजनिक स्थानको सम्बन्धमा सवारीको वजनको हद निर्धारण गर्न सक्नेछ । यसरी सवारीको वजनको हद निर्धारण गरिएको भए त्यसरी निर्धारित वजन भन्दा बढी हुने गरी त्यस्तो सार्वजनिक स्थानमा कसैले सवारी चलाउन वा चलाउन लगाउन हुँदैन ।

 

११७. सवारीमा राखिने मानिस र मालसामानको हद तोक्नेः (१) सार्वजनिक सवारीमा राख्न सकिने मानिसको सङ्ख्या र मालसामानको वजन विभागले निर्धारण गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्छ ।

(२) उपदफा (१) बमोजिम निर्धारित मानिसको संङ्ख्या र मालसामानको वजनभन्दा बढी हुने गरी कुनै पनि सवारीमा मानिस वा मालसामान राख्न हुँदैन ।

 

११८. सवारी चलाउन प्रतिबन्ध लगाउनेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभागले सार्वजनिक सुरक्षा तथा सर्वसाधारणको भलाईको निमित्त कुनै सार्वजनिक स्थानमा कुनै सवारी चलाउनमा प्रतिबन्ध लगाउन सक्नेछ । यसरी प्रतिबन्ध लगाइएकोमा विभागले सो कुराको सूचना त्यस्तो स्थानमा टाँस्न, टाँग्न वा जडान गर्न लगाउनु पर्छ ।

 

११९. ट्राफिक सङ्केत टाँस्ने, टाँग्ने वा जडान गर्नेः (१) विभागले आवश्यक देखेको सार्वजनिक स्थानहरूमा अन्तर्राष्ट्रिय प्रचलन अनुरूपको रंग, आकार र नमूना बमोजिमको आवश्यक ट्राफिक सङ्केतहरू टाँस्न, टाँग्न वा जडान गर्न लगाउनु पर्छ ।

(२) उपदफा (१) बमोजिम टाँसिएको, टाँगिएको वा जडान गरिएको ट्राफिक सङ्केतहरू विभाग वा विभागले खटाएको व्यक्ति बाहेक अरू कसैले सो स्थानबाट हटाउन, बदल्न, हेरफेर गर्न, मेट्न, च्यात्न वा केरमेट गर्न हुँदैन ।

 

१२०. ट्राफिक सङ्केतको पालन गर्नु पर्नेः (१) चालकले सवारी चलाउँदा ट्राफिक सङ्केतको पालन गरी सवारी चलाउनु पर्छ ।

(२) चालकले पालन गर्नु पर्ने ट्राफिक सङ्केतहरू तोकिए बमोजिम हुनेछन् ।

 

१२१. पार्किङ्ग स्थान तथा बस बिसौनी निर्धारण गर्नेः अधिकार प्राप्त अधिकारीले गाउँ, नगर तथा जिल्लाका स्थानीय निकायका पदाधिकारीहरूसँग परामर्श गरी मूल सडकको आवागमनमा प्रतिकूल असर नपर्ने गरी पार्किङ्गस्थल तथा बस बिसौनीहरू निर्धारण गर्नु पर्छ ।

 

१२२. सवारीलाई खतरा हुने किसिमबाट राख्न नहुनेः (१) कुनै पनि सवारी अरू कुनै सवारी वा व्यक्तिलाई खतरा, बाधा वा असुविधा हुने गरी कुनै सार्वजनिक स्थानमा राख्न हुँदैन ।

(२) कुनै सवारी चलाउँदा चलाउँदैको अवस्थामा बिग्रिएमा त्यस्तो सवारी तत्काल अन्यत्र लान सकिने स्थिति नभएमा दुर्घटना नहुने किसिमबाट सडकको बायाँ किनारा लगाई राखी रात्रीको समयमा त्यस्तो सवारीलाई अन्य सवारीले टाढैबाट देख्न सक्ने गरी रातो बत्ती वा रिफ्लेक्टर लगाई राख्नु पर्छ ।

 

१२३. सवारीको अन्य भागमा मानिस राख्न नहुनेः कुनै सवारी चालक वा सवारी धनी वा व्यवस्थापकले लामो एवं मध्यम बाटोमा चल्ने सवारीमा मानिस बस्न बनेको सीट बाहेक सवारीको अन्य भागमा र स्थानीय बाटोमा चल्ने सवारीमा मानिस बस्न बनेको सीट एवं भित्री भाग बाहेक अन्य भागमा मानिस राखी सवारी चलाउन वा चलाउन लगाउन हुँदैन ।

 

१२४. चालकलाई बाधा पुग्ने काम गर्न नहुनेः कसैले चालकको क्षेत्र (ड्राईभर केवीन) भित्र चालकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बाधा पुग्ने गरी मालसामान राखी वा आफू उभीई वा अन्य कुनै प्रकारबाट बाधा पुग्ने किसिमको व्यवहार गर्न हुँदैन ।

 

१२५. आवागमनमा बाधा पार्न नहुनेः कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि मानिस वा सवारीको आवागमनमा बाधा पुग्ने गरी मालसामान वा सवारी राख्न हुँदैन ।

तर कुनै विशेष परिस्थिति परी कुनै सार्वजनिक स्थानमा केही समयको लागि कुनै मालसामान राख्नुपर्ने भएमा नजीकको प्रहरी कार्यालयलाई सोको जानकारी दिई त्यस्तो कार्यालयको स्वीकृति लिनु पर्छ ।

 

१२६. सार्वजनिक स्थानमा खाल्टो खन्दा साङ्केतिक चिन्ह राख्नु पर्नेः (१) कुनै पनि सार्वजनिक स्थानमा कुनै काम परी खाल्टो खन्दा नजिकको प्रहरी कार्यालयको पूर्व स्वीकृति लिनु पर्छ ।

(२) उपदफा (१) बमोजिम सार्वजनिक स्थानमा खाल्टो खन्ने स्वीकृति दिंदा सो स्थानमा दुर्घटना नहुने किसिमबाट साङ्केतिक चिन्ह राख्न लगाउनु पर्छ ।

 

१२७. सवारीमा सांकेतिक चिन्ह राख्नु पर्नेः कुनै पनि किसिमको खतरापूर्ण मालसामान ढुवानी गर्ने कार्यमा संलग्न मालबाहक सार्वजनिक सवारीमा त्यस्तो मालसामान रहेको कुरा अन्य सवारी तथा सर्वसाधारणको जानकारीको लागि सांकेतिक चिन्ह देखिने गरी राख्नु पर्छ ।

 

१२८. सवारीलाई मार्ग परिवर्तन गर्न र यात्रीलाई बन्धक बनाउन नहुनेः (१)चालकले आफ्नोे सवारी निर्दिष्ट मार्गमा चलाई रहेको समयमा सो सवारीलाई अन्य मार्गबाट लैजान कुनै पनि व्यक्तिले डर, त्रास देखाउन वा कुनै किसिमको शक्तिको प्रयोग गर्न वा गराउन हुँदैन ।

(२) कसैले सवारीमा रहेका कुनै पनि व्यक्तिलाई बन्धक बनाई त्यस्तो सवारी वा बन्धक बनाइएको व्यक्तिको मुक्तिको लागि कुनै पनि किसिमको माग राख्नु हुँदैन ।

 

१२९. दुर्घटनामा परेका सवारी र यात्रीको हानि नोक्सानी गर्न नहुनेः कुनै सवारी दुर्घटनामा परी हताहत वा घाइते भएका यात्री तथा सवारीमा काम गर्ने कुनै व्यक्तिलाई पिट्न वा तिनीहरूको मालसामानको हिनामिना गर्न, खोस्न वा तिनीहरूलाई कुनै पनि किसिमले हानि नोक्सानी पुर्याउनु हुँदैन ।

 

१३०. सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनु पर्नेः (१) तोकिए बमोजिमको सवारी चलाउँदा चालक तथा सवारीको अघिल्लो सीटमा बस्ने व्यक्तिले सुरक्षापेटी बाँध्नु पर्छ ।

(२) मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनु पर्छ ।

 

१३१. खोजेको बेला देखाउनु पर्नेः (१) कुनै पनि चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनु पर्छ ।

(२) प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा कुनै सवारीको दर्ताको प्रमाणपत्र वा सार्वजनिक सवारीको बाटो इजाजतपत्र हेर्न खोजेमा त्यस्तो सवारीको चालक, सवारी धनी वा व्यवस्थापकले दर्ताको प्रमाणपत्र वा बाटो इजाजतपत्र देखाउनु पर्छ ।

 

१३२. सवारी रोक्नु पर्नेः चालकले आफूले चलाइरहेको सवारी देहायको अवस्थामा रोकी आवश्यकतानुसार उचित समयसम्म अड्याई राख्नु पर्छः–

(क) प्रहरी वा यातायात निरीक्षकले सवारी रोक्न सङ्केत गरेमा वा आदेश दिएमा ।

(ख) कुनै जनावर झस्की वा तर्सी बेकाबु हुने संभावना भई सो जनावर तत्काल जिम्मामा रहेको व्यक्तिले सवारी रोक्न सङ्केत गरेमा वा अनुरोध गरेमा ।

(ग) सवारी दुर्घटनाग्रस्त भई कुनै मानिस, जनावर वा सम्पत्तिको हानि नोक्सानी भएकोमा ।

(घ) जेब्रा क्रसिङमा मानिस ओहर दोहर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने सङ्केत गरेकोमा ।

 

१३३. दुर्घटना भएमा चालकको कर्तव्यः (१) कुनै सवारीले कुनै दुर्घटना गरी मानिसको जीउ ज्यानमा कुनै किसिमको खतरा वा चोट पटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नु पर्छ ।

(२) उपदफा (१) बमोजिम सवारी दुर्घटनाग्रस्त भएको स्थानमा कुनै प्रहरी नभएमा चालकले तुरून्त सो दुर्घटनाको जानकारी तथा विवरण नजीकको प्रहरी कार्यालयलाई दिनु पर्छ । कुनै प्रहरीले दुर्घटनाको सम्बन्धमा सम्बन्धित सवारी चालकसँग कुनै कुराको सोधपुछ गरेमा निजले सोधिएको सबै कुरा बताउनु पर्छ ।

 

१३४. दुर्घटना परेको सवारीको निरीक्षणः दुर्घटनाको जाँचबुझको निमित्त सो दुर्घटना गर्ने वा सो दुर्घटनामा पर्ने सवारीको निरीक्षण गर्न आवश्यक देखेमा सम्बन्धित प्रहरीले त्यस्तो सवारी आफू समक्ष दाखिल गर्न लगाई वा त्यस्तो सवारी रहेको ठाउँमा गई निरीक्षण गर्न सक्नेछ ।

 

१३५. सवारी बायाँतिरबाट चलाउनु पर्नेः (१) कुनै पनि सार्वजनिक स्थानमा सवारी चलाउँदा चालकले तोकिएको स्थानमा बाहेक अन्य स्थानमा वायाँ किनारा च्यापी चलाउनु पर्छ ।

(२) अगाडि गईरहेको सवारीलाई उछिनी जानु परेमा संकेत दिई उक्त सवारीको चालकले अगाडि जान संकेत दिएपछि मात्र पछाडिको सवारीले दाहिने तिरबाट उछिनी जानु पर्छ । यसरी पछाडिको सवारीले उछिनी जानको लागि संकेत दिएमा अगाडिको सवारीले अवस्था हेरी अगाडि जानको निमित्त पछाडिको सवारीलाई संकेत दिनु पर्छ ।

 

१३६. पेटीबाट हिंड्नु पर्नेः मानिस हिंड्ने पेटी भएको सडकमा मानिसहरू सो पेटीबाट नै हिंड्नु पर्छ । पेटी नभएको सडकमा हिंड्दा सो सडकको किनारा च्यापी हिड्ने गर्नु पर्छ ।

१३७. निर्धारित ठाउँबाट बाटो काट्नु पर्नेः पैदल हिंड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, सब–वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएको ठाउँबाट मात्र बाटो काट्नु पर्छ ।

१३८. पाल्तु पशुपन्छी छाड्न नहुनेः सवारी चलाउन वा मानिस हिंड्नलाई बाधा पर्ने गरी कुनै पनि घर पालुवा पशुपन्छी सार्वजनिक स्थानमा छाड्न हुँदैन ।

 

१३९. जानकारी दिनुपर्नेः (१) अधिकार प्राप्त अधिकारी, यातायात निरीक्षक वा प्रहरीले कुनै सवारीको सम्बन्धमा मागेको कुनै पनि जानकारी सो सवारीको धनीले निजहरूलाई दिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको जानकारी सार्वजनिक सवारी वा त्यसको चालक, परिचालक, सुरक्षाकर्मी वा त्यस्तो सवारीमा काम गर्ने कुनै कर्मचारीसँग सम्बन्धित भएमा त्यस्तो सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले त्यसरी मागिएको जानकारी अधिकार प्राप्त अधिकारी वा यातायात निरीक्षक वा प्रहरीलाई यथाशीघ्र दिनु पर्छ ।

 

१४०. घुम्ती निरीक्षकः (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको पालना गरे नगरेको निरीक्षण गर्न प्रहरी वा यातायात निरीक्षकले आवश्यकता अनुसार घुम्ती निरीक्षण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम घुम्ती निरीक्षण गर्दा प्रहरी वा यातायात निरीक्षकले दफा १६४ मा उल्लेख भए बमोजिमको काम कारवाही भएको देखेमा त्यस्तो गर्ने व्यक्तिलाई तत्काल सो दफामा लेखिए बमोजिमको सजाय गर्न सक्नेछ ।

 

१४१. चालकले आफ्नोे अनुमतिपत्र अरूलाई दिन नहुनेः कुनै पनि चालकले अरूलाई सवारी चलाउनको निमित्त आफ्नोे अनुमतिपत्र दिन हुँदैन ।

१४२. मादक तथा अन्य लागू पदार्थ सेवन गर्न नहुनेः सवारी चलाउँदा चालकले मादक वा अन्य कुनै पनि प्रकारको लागू पदार्थ सेवन गर्न हुँदैन ।

१४३. राती सवारी चलाउँदा बत्ती बाल्नु पर्नेः कुनै पनि सवारी अँध्यारोमा वा कुहिरो लागेको बेलामा चलाउँदा सो सवारीको बत्ती बाल्नु पर्छ ।

१४४. अवस्था ठीक नभएको सवारी चलाउन नहुनेः सवारीको कुनै पनि पार्ट पुर्जा बिग्री अवस्था ठीक नभएको सवारी चलाउन हुँदैन ।

१४५. आवश्यक सहयोग पुर्याउनेः कुनै पनि सवारीले दुर्घटनामा परेको सवारी वा सवारीमा रहेका यात्रीहरूलाई आवश्यक सहयोग पुर्याउनु पर्छ ।

१४६. प्रचार प्रसार गर्ने गराउनेः सवारी दुर्घटनाको रोकथाम गर्न ट्राफिक सङ्केतको जानकारी सर्वसाधारणलाई गराउनको निमित्त समय समयमा विभागले विभिन्न सञ्चार माध्यमबाट ट्राफिक सङ्केत सम्बन्धी कार्यक्रमहरू प्रसारित गर्ने व्यवस्था गर्नु पर्छ ।

१४७. लापरवाहीसाथ सवारी चलाउन नहुनेः कुनै चालकले सवारी चलाउँदा लापरवाहीसाथ सवारी चलाउन हुँदैन ।