परिच्छेद– ९ काम, कर्तव्य र अधिकार

परिच्छेद– ९ काम, कर्तव्य र अधिकार

१५३. विभागको काम, कर्तव्य र अधिकारः विभागको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–

(क) संगठित एवं प्रभावकारी ढङ्गबाट यातायात सेवा सञ्चालन गराउन त्यसको आर्थिक तथा प्राविधिक पक्षमा अध्ययन तथा अनुसन्धान गर्ने वा गर्न लगाई तत्सम्बन्धी आवश्यक नीति निर्धारण गर्ने ।

(ख) यातायातको सुव्यवस्था र विकासको लागि यातायात सेवासँग सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई आवश्यक निर्देशन दिने ।

(ग) आवश्यकता अनुसार मालसामान ढुवानीको प्राथमिकता तोकी सो प्राथमिकता अनुरूप मालसामान ढुवानी गर्न यातायात सेवासँग सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई निर्देशन दिने ।

(घ) यातायात सेवा सञ्चालन गर्न यात्रीको चापलाई दृष्टिगत गरी आवश्यकता अनुसार बाटोको निर्धारण गरी सो बाटोमा चल्ने सार्वजनिक सवारीको भाडा निर्धारण गर्ने ।

(ङ) अन्तर्राष्ट्रिय प्रचलन अनुरूप ट्राफिक संकेतहरू सार्वजनिक स्थानमा राख्ने व्यवस्था गर्ने ।

(च) सवारीको गति, वजन र सवारीमा राखिने यात्री सङ्ख्या निर्धारण गर्ने ।

(छ) सवारीको यान्त्रिक स्थिति तथा स्वरूपको जाँचबुझको सम्बन्धमा आवश्यक मापदण्ड तयार र निर्धारण गर्ने ।

(ज) चालकहरूसँग लिइने परीक्षाको बिषय र परीक्षा प्रणाली तोक्ने ।

(झ) यातायात सेवाको सुदृढीकरणको निम्ति आवश्यक अन्य काम कारवाही गर्ने ।

 

१५४. यातायात व्यवस्थापन समितिः प्रत्येक क्षेत्रमा चल्ने सार्वजनिक सवारीहरूलाई व्यवस्थितरूपमा सञ्चालन गर्न देहायका सदस्यहरू भएको यातायात व्यवस्थापन समिति गठन गरिनेछः–

(क) प्रमुख जिल्ला अधिकारी (यातायात व्यवस्था कार्यालय रहेको जिल्ला) – अध्यक्ष

(ख) प्रमुख, जिल्ला प्रहरी कार्यालय – सदस्य

(ग) यातायात व्यवसायीहरूको प्रतिनिधि एकजना – सदस्य

(घ) यातायात मजदूरहरूको प्रतिनिधि एकजना – सदस्य

(ङ) प्रमुख, यातायात व्यवस्था कार्यालय – सदस्य–सचिव

 

१५५. यातायात व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारः यातायात व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–

(क) आफ्नोे क्षेत्रभित्र चल्ने यातायात सेवा निर्वाधरूपमा सञ्चालन गर्न सार्वजनिक सवारीहरूलाई यातायात सेवा सञ्चालन गर्ने कार्यमा संलग्न गराउने ।

(ख) आफ्नोे क्षेत्रभित्र बाटो कायम नभएको ठाउँमा केही समयको लागि बाटो कायम गरी यातायात सेवा सञ्चालन गर्नु पर्ने भए अस्थायी बाटो कायम गरी सो बाटोमा चल्ने सार्वजनिक सवारीको भाडा निर्धारण गर्न विभागमा सिफारिस गर्ने ।

(ग) आफ्नोे क्षेत्रभित्र सार्वजनिक सवारीहरूले बाटोको इजाजतपत्र लिई यातायात सेवा सञ्चालन गरे नगरेको, समय समयमा सो को नवीकरण गरे नगरेको निरीक्षण गर्ने वा गर्न लगाउने ।

(घ) आफ्नोे क्षेत्रभित्र चल्ने सार्वजनिक सवारीहरूले समय समयमा जाँचपास गरे नगरेको र यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही नियमित यातायात सेवा प्रदान गरे नगरेको समय समयमा निरीक्षण गर्ने वा गर्न लगाउने ।

(ङ) आफ्नोे क्षेत्रभित्र यात्रीको चाप र सवारीको सङ्ख्या इत्यादिको अध्ययन गरी कुनै ठाउँमा यातायात सेवा सञ्चालन गर्नु पर्ने आवश्यक देखेमा सो क्षेत्रमा बाटो निर्धारण हुन विभाग समक्ष सिफारिश गर्ने ।

(च) आफ्नोे क्षेत्रभित्र यातायात सेवा सुव्यवस्थितरूपमा सञ्चालन गर्न अन्य आवश्यक काम कारवाही गर्ने ।

 

१५६. परीक्षा समितिः (१) सवारी चालक अनुमतिपत्रको लागि दरखास्त दिने व्यक्ति त्यस्तो सवारी चलाउन समर्थ छ छैन भन्ने कुरा यकिन गर्नको लागि दफा ४९ बमोजिम परीक्षा लिन देहायका सदस्यहरू भएको एक परीक्षा समिति रहनेछः–

(क) प्रमुख, यातायात व्यवस्था कार्यालय – अध्यक्ष

(ख) नेपाल सरकारले तोकिदिएको प्रहरी अधिकृत – सदस्य

(ग) नेपाल सरकारले तोकेको विशेषज्ञ – सदस्य

(२) उपदफा (१) बमोजिमको समितिले चालक अनुमतिपत्रको लागि दरखास्त दिने व्यक्तिहरूको परीक्षा लिई सफल भएकाहरूलाई चालक अनुमतिपत्र प्रदान गर्न अधिकार प्राप्त अधिकारी समक्ष सिफारिस गर्नु पर्छ ।

(३) उपदफा (१) बमोजिमको समितिको बैठक आवश्यकता अनुसार समितिले निर्धारण गरे बमोजिम बस्नेछ ।

(४) उपदफा (१) बमोजिमको समितिले चालकहरूका लागि लिने परीक्षाको विषय र परीक्षा प्रणाली विभागले तोके बमोजिम हुनेछ ।

 

१५७. यातायात निरीक्षकको नियुक्तिः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही सवारीहरू चलाएको वा नचलाएको र यातायात सेवामा संलग्न सार्वजनिक सवारीहरूले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नुपर्ने शर्तहरू पूरा गरे नगरेको निरीक्षण गर्न नेपाल सरकारले यातायात निरीक्षक नियुक्त गर्न सक्नेछ ।

 

१५८. यातायात निरीक्षकको काम, कर्तव्य र अधिकारः यातायात निरीक्षकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–

(क) यातायात सेवामा संलग्न सार्वजनिक सवारीले बाटोको इजाजतपत्र प्राप्त बाटोमा यातायात सेवा सञ्चालन गरे नगरेको निरीक्षण गर्ने ।

(ख) यातायात सेवामा संलग्न भएका सार्वजनिक सवारीहरूले निर्धारित सीट तथा वजन क्षमताका अधीनमा रही यात्री राख्ने तथा मालसामान लाद्ने कार्य गरे नगरेको निरीक्षण गर्ने ।

(ग) यातायात सेवामा संलग्न सवारीहरूले समय समयमा यस ऐन बमोजिम गर्नु पर्ने जाँचपास गराए नगराएको तथा त्यसरी सञ्चालित सेवा पञ्जीकृत भए नभएको जाँच गर्ने ।

(घ) चालक, परिचालकको अनुमतिपत्र तथा यात्रीसूची हेर्ने र यात्रीको टिकट जाँची निर्धारित भाडादर बमोजिम भाडा लिइएको नलिइएको तथा निर्धारित गतिमा सवारी चलाइएको नचलाइएको कुराको निरीक्षण गर्ने ।

(ङ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको पालन चालक, परिचालक, सवारी धनी वा व्यवस्थापकले गरेको छ छैन भन्ने कुराको समय समयमा निरीक्षण गर्ने ।

 

१५९. प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन गर्न अनुमति लिनुपर्नेः (१) कुनै पनि किसिमको सवारी चलाउने प्रशिक्षण कार्य सञ्चालन गर्न वा चालक प्रशिक्षण केन्द्र वा बस, ट्रकको बडी निर्माण गर्ने कारखाना वा अटोमोबाइल वर्कसप सञ्चालन गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विभागको अनुमति लिनु पर्छ ।

(२) उपदफा (१) बमोजिमको अनुमति लिन चाहनेले तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी विभागमा दरखास्त दिनु पर्छ ।

(३) उपदफा (२) बमोजिम दरखास्त परेमा त्यस्तो दरखास्त दिने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न सक्छ सक्तैन भन्ने कुराको जाँचबुझ गरी विभागले त्यस्तो प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।