परिच्छेद–१० सजाय सम्बन्धी व्यवस्था

परिच्छेद–१० सजाय सम्बन्धी व्यवस्था

१६०. दण्ड सजायः (१) दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउने वा चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले छ महीनासम्म कैद वा पाँचहजारदेखि पन्ध्रहजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी जफत गर्नु पर्छ ।

(२) अधिकार प्राप्त अधिकारीले देहायको काम कारवाही गर्ने गराउनेलाई देहाय बमोजिम जरिवाना गर्न सक्नेछः–

(क) दफा १२, ४५ वा ११७ को विपरीत काम कारवाही गर्ने गराउनेलाई पाँचसय देखि दुई हजार रुपैयाँसम्म ।

(ख) दफा १४, २९, ३९, ७५, ९३, ९६, १२५ वा १२९ को विपरीत काम कारवाही गर्ने गराउनेलाई एकहजार देखि पाँचहजार रुपैयाँसम्म ।

(ग) दफा १५९ को विपरीत काम कारवाही गर्ने गराउनेलाई दुईहजारदेखि दशहजार रुपैयाँसम्म ।

(३) उपदफा (१) वा (२) मा उल्लेख भए देखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेशको विपरीत काम कारवाही गर्ने गराउनेलाई अधिकार प्राप्त अधिकारीले दुईसयदेखि एकहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(४) दफा १२८ विपरीत हुने गरी काम कारवाही गर्ने गराउने व्यक्तिलाई पच्चीसहजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय गरी अदालतले त्यस्तो व्यक्तिबाट हानि नोक्सानी पुग्ने व्यक्तिलाई उपयुक्त क्षतीपूर्तिको रकम दिलाउन सक्नेछ ।

(५) दफा १६५ विपरीत हुने गरी काम कारवाही गर्ने गराउने व्यक्तिलाई एकहजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय गरी अदालतले त्यस्तो व्यक्तिबाट हानि नोक्सानी पुग्ने व्यक्तिलाई उपयुक्त क्षतीपूर्तिको रकम दिलाउन सक्नेछ ।

 

१६१. ज्यान मरेमा हुने सजायः (१) कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।

(२) कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।

(३) कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

(४) चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँ समेत जरिवाना हुनेछ ।

तर जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन ।

(५) कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।

 

१६२. अङ्गभङ्ग भएमा हुने सजायः (१) कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउ“मा रहे बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अङ्गभङ्ग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैया“सम्म जरिबाना हुनेछ । सो खत निको भई काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना हुनेछ ।

(२) चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी चलाई उपदफा (१) मा उल्लिखित कुनै कसुर गरेमा निजलाई सो उपदफा बमोजिम हुने सजायमा पाँचहजार रुपैयाँ थप जरिवाना हुनेछ ।

(३) कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानसिलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको अङ्गभङ्ग भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।

 

१६३. घा खर्च, कृया खर्च र क्षतीपूर्ति भराई दिनेः (१) सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई देहाय बमोजिम घा खर्च र क्षतीपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराई दिनु पर्छः–

(क) ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई कृया खर्च बापत पचास हजार रुपैयाँसम्म र क्षतीपूर्ति बापत तेस्रो पक्षको बीमा नगराएको भए यस ऐन बमोजिम तेश्रो पक्षले पाउने दुर्घटना बीमाको रकम ।

(ख) अङ्गभङ्ग भएकोमा निको भइकन पनि काम नलाग्ने भए सो को क्षतीपूर्ति बापत तेस्रो पक्षको बीमा नगराएको भए यस ऐन बमोजिम तेस्रो पक्षले पाउने अङ्गभङ्ग बापतको दुर्घटना बीमाको रकम र त्यस्तो अङ्ग काम लाग्ने भए घा खर्च बापत पच्चीस हजार देखि पचास हजार रुपैयाँसम्म ।

(२) सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान मरेको भए सो मर्ने व्यक्तिको हकवालालाई कृयाखर्च र क्षतिपूर्ति रकम र अङ्गभङ्ग भएको भए सो हुने व्यक्तिलाई घा खर्चको रकम उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले तत्कालै सवारी चालक, सवारी धनी वा व्यवस्थापकबाट भराई दिनु पर्छ ।

(३) उपदफा (१) मा लेखिएदेखि बाहेक चालकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेश बर्खिलाप हुने गरी सवारी चलाई दुर्घटना हुन गई कुनै व्यक्तिलाई चोटपटक लागेमा त्यस्तो व्यक्तिलाई तत्कालै औषधि खर्च बापत प्रमुख जिल्ला अधिकारीले चोटपटकको स्थिति विचार गरी चालक, सवारी धनी वा व्यवस्थापकबाट पच्चीस हजार रुपैयाँ दिलाई दिनु पर्छ । त्यस्तो चोट पटक लाग्ने व्यक्तिले पछि बढी रकम क्षतिपूर्ति पाउने भएमा त्यसरी औषधि खर्च बापत दिएको रकम कट्टी गरी बाँकी पाउने रकम मात्र दिइनेछ ।

(४) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम भराइने घा खर्च, कृया खर्च र क्षतीपूर्तिको कूल रकमको पाँच प्रतिशत भन्दा बढी चालकबाट भराइने छैन ।

(५) उपदफा (१) वा (२) बमोजिम बुझाउनु पर्ने कृया खर्च, घा खर्च र क्षतिपूर्ति रकम चालकले बुझाउनु पर्नेमा निजले बुझाउन नसकी प्रचलित कानून बमोजिम निजको जायजातबाट पनि असूल उपर हुन सकेन भने सो उपर नभए जति रुपैयाँ निजबाट असूल उपर भएको जरिवाना मध्येबाट भराई दिनु पर्छ ।

(६) यस दफामा लेखिए बमोजिम बीमा कम्पनीले व्यहोर्नु पर्ने क्षतीपूर्ति बापतको बीमा रकम यथाशीघ्र भराई दिनु पर्नेछ ।

 

१६४. यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्नेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कसुर पहिलो पटक गर्नेलाई पाँच सय रुपैयाँ, दोस्रो पटक गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सो भन्दा बढी पटक गर्नेलाई एक हजार पाँच सय रुपैयाँको जरिवाना यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल गर्न सक्नेछः–

(क) ट्राफिक सङ्केत वा ईशारा उल्लङ्घन गरी सवारी चलाएको ।

(ख) सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको ।

(ग) सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी सङ्केत दिएको ।

(घ) सडकमा गलत साइड तर्फबाट सवारी चलाएको ।

(ङ) एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको ।

(च) अवस्था ठीक नभएको सवारी चलाएको ।

(छ) निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।

(ज) राती बत्ती नबाली सवारी चलाएको ।

(झ) मादक पदार्थ सेवन गरी सवारी चलाएको ।

(ञ) अरूलाई बाधा पुग्ने गरी सार्वजनिक स्थानमा सवारी राखेको ।

(ट) सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।

(ठ) नम्बर प्लेट नराखी सवारी चलाएको ।

(ड) सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा निर्धारित वजनभन्दा बढी वजनको सवारी चलाएको ।

(ढ) पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको ।

(ण) सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।

(त) सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।

(थ) निर्धारित भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएको ।

(द) लापरवाही साथ सवारी चलाएको ।

(ध) बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारी चलाएको ।

(न) चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएको ।

(२) उपदफा (१) बमोजिम यातायात निरीक्षक वा प्रहरीले गरेको जरिवानाको रकम तत्काल बुझाउन नसक्नेलाई चौबीस घण्टाभित्र त्यस्तो रकम सम्बन्धित प्रहरी कार्यालय वा अधिकार प्राप्त अधिकारी समक्ष बुझाउन पुर्जी दिनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले उपदफा (१) मा उल्लेखित कसुर गर्दाको बखत निजलाई सजाय गर्न तत्काल घटनास्थलमा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृत नभएमा पनि घटनास्थलमा रहेको कुनै पनि प्रहरी जवानले त्यस्तो कसुर गर्नेलाई निजले गरेको कसुर खुलाई सो बापत निजलाई हुने जरिवानाको रकम चौबीस घण्टाभित्र सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन पुर्जी दिनेछ ।

(४) उपदफा (२) वा (३) बमोजिमको पुर्जी दिंदा त्यस्तो पुर्जीको नक्कल प्रतिमा सो पुर्जी बुझ्नेको सही समेत गराउनु पर्छ ।

(५) उपदफा (२) वा (३) मा लेखिएको समयसम्म पनि अधिकार प्राप्त अधिकारी वा सम्बन्धित प्रहरी कार्यालय समक्ष त्यस्तो जरिवानाको रकम नबुझाउनेलाई अधिकार प्राप्त अधिकारीले एकहजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो व्यक्ति चालक भए चालक अनुमतिपत्र, सवारी धनी वा व्यवस्थापक भए सवारीको बाटो इजाजतपत्र वा निजहरूले यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र बढीमा एक महीनासम्मको लागि निलम्बन गर्न सक्नेछ ।

(६) उपदफा (५) बमोजिम निलम्बन गरिएको अवधिसम्म पनि जरिवाना नुबझाएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालक अनुमतिपत्र, बाटो इजाजतपत्र वा यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र खारेज गर्न सक्नेछ ।