परिच्छेद–११ अवकास, उपदान र निवृत्तिभरण

परिच्छेद–११ अवकास, उपदान र निवृत्तिभरण

१२७. अनिवार्य अवकास :

(१) देहायका प्रहरी कर्मचारीले देहाय बमोजिमको कुनै एक आधारमा सरकारी सेवाबाट स्वतः अवकास पाउनेछ :

(क) देहायको पदमा बहाल रहेका प्रहरी कर्मचारीको देहाय बमोजिम उमेर पुरा भएमा :–
(१) प्रहरी महानिरीक्षक – ५८ वर्ष
(२) प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक – ५६ वर्ष
(३) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – ५५ वर्ष
(४) प्रहरी नायव उपरीक्षक – ५४ वर्ष
(५) प्रहरी निरीक्षक – ५३ वर्ष
(६) प्रहरी नायव निरीक्षक – ५२ वर्ष
(७) प्रहरी सहायक निरीक्षक – ५१ वर्ष
(८) प्रहरी हवल्दार र प्रहरी जवान – ४८ वर्ष
(९) प्रहरी कार्यालय सहयोगी – ५५ वर्ष

(ख) देहायका पदमा देहायको अवधिसम्म बहाल रहेको प्रहरी कर्मचारीले सो अवधि भुक्तान गरेको आधारमा ः–
(१) प्रहरी महानिरीक्षक – ४ वर्ष
(२) प्रहरी अतिरिक्त महानिरीक्षक÷प्रहरी नायव महानिरीक्षक – ५ वर्ष
(३) प्रहरी वरिष्ठ उपरीक्षक – ६ वर्ष
(४) प्रहरी उपरीक्षक – १० वर्ष

स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि कायम मुकायम मुकरर भएमा पदको अवधि लागू हुने छैन ।

तर तल्लो पदमा नोकरीको अवधि लागू हुने रहेछ भने कायम मुकायम मुकरर भएको पदमा पदोन्नति हुन नसके तल्लो पदको अवधि नै लागू हुनेछ ।

(ग) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूहमा कार्यरत देहायका प्रहरी प्राविधिक कर्मचारीहरूले देहाय बमोजिम उमेर पुरा भएमा :–
(१) राजपत्राङ्कित द्वितीय श्रेणीदेखि माथि – ५८ वर्ष
(२) राजपत्राङ्कित तृतीय श्रेणी – ५६ वर्ष
(३) राजपत्र अनङ्कित द्वितीय र तृतीय श्रेणी – ५४ वर्ष
(घ) तीस वर्ष नोकरी अवधि पूरा भएको ।
(२) यस नियमको प्रयोजनका निमित्त प्रहरी कर्मचारीको उमेरको हिसाब गर्दा देहाय बमोजिम गरिनेछ :–
(क) सेवामा प्रवेश गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल) मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकास हुन्छ सोही मितिको आधारमा,

(ख) वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मिति, शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मिति र वैयक्तिक अभिलेख (सिटरोल) को हकमा सुरु भर्ना भएको मितिको आधारमा,

(ग) कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा ।

तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) बमोजिम जन्ममिति कायम गरिनेछ ।

(३) मिति २०४९।११।१५ भन्दा अघि प्रहरी सेवामा नियुक्ति भई उपनियम (१) को खण्ड (क) वा (घ) बमोजिम अवकाश प्राप्त गर्ने प्रहरी कर्मचारीको हकमा निज नियुक्ति हँदा बहाल रहेको प्रहरी नियमावली बमोजिम अवकाश प्राप्त गर्न जति उमेर बाँकी रहेको छ सो अवधि निजले गरेको जम्मा नोकरी अवधिमा थपि निजले पाउने निवृत्तिभरणको हिसाब गरिनेछ ।

१२८. स्वेच्छिक अवकास : नियम १३१ बमोजिम निवृत्तिभरण पाउने अवधि पूरा गरी सकेको प्रहरी कर्मचारीलाई चाहेमा नियुक्ति गर्ने अधिकारीले नोकरीबाट अवकास लिने अनुमति दिन सक्नेछ ।

१२९. राजीनामा स्वीकृत :

(१) देहायका प्रहरी कर्मचारीको राजीनामा स्वीकृत गर्ने अख्तियार देहायका अधिकारीलाई हुनेछ :

(क) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी महानिरक्षिकको – नेपाल सरकार
(ख) प्रहरी वरिष्ठ उपरिक्षक र प्रहरी नायब महानिरीक्षकको – गृहमन्त्री
(ग) प्रहरी सहायक निरीक्षक देखि प्रहरी उपरीक्षकको – सचिव, मन्त्रालय
(घ) प्रहरी नायब निरीक्षकको –प्रहरी महानिरीक्षक
(ङ) प्रहरी सहायक निरीक्षकको – प्रहरी अतिरिक्त महानिरीक्षक÷ प्रहरी नायब महानिरीक्षक
(च) प्रहरी हवल्दार वा प्रहरी जवानको – प्रहरी वरिष्ठ उपरीक्षक÷प्रहरी उपरीक्षक
(छ) प्रहरी कार्यालय सहयोगीको – प्रहरी नायव उपरीक्षक वा सो भन्दा माथिल्लो दर्जाको प्रहरी अधिकृत ।

(२) निवृत्तिभरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा बाह्र वर्ष बहाल रहेको प्रहरी नायव उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम १२७ बमोजिम अनिवार्य अवकास हुन एक महिना बाँकी भएमा निजलाई एक तह पदोन्नति गरी अवकास दिइनेछ ।

(३) प्रहरी कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार अख्तियारवालालाई हुनेछ ।

१३०. उपदान : (१) पाँच वर्ष वा सो भन्दा वढी सेवा गरेको तर नियम १३१ बमोजिम निवृत्तिभरण पाउने अवधि नपुगेको प्रहरी कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाईएमा देहायको दरले उपदान पाउनेछ ः–

(क) पाँच वर्ष भन्दा वढी दश वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलव,

(ख) दश वर्ष भन्दा वढी पन्ध्र वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब ।

(ग) पन्ध्र वर्षभन्दा वढी बीस वर्ष भन्दा कम नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीले सेवा पाउने वा सो सेवामा बहाल रहने उद्देश्यले नागरिकता वा उमेर वा योग्यता ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो प्रहरी कर्मचारीलाई उपदान दिईने छैन ।

१३१. निवृत्तिभरण : (१) बीस वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकास पाएको मितिदेखि निवृत्तिभरण पाउनेछ ।

तर मिति २०६०।१२।२६ अगावै नियुक्ति भएका प्रहरी कर्मचारीले देहाय बमोजिम वा सोभन्दा बढी अवधिसम्म प्रहरी सेवामा काम गरी नोकरीबाट अवकास भएमा निवृत्तिभरण पाउनेछ :

(क) राजपत्राङ्कित अधिकृत – २० वर्ष

(ख) प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक – १८ वर्ष
(ग) प्रहरी हवल्दार र प्रहरी जवान – १६ वर्ष
(२) उपनियम (१) बमोजिम दिइने निवृत्तिभरणको हिसाब देहाय बमोजिम हुनेछ :
(क) प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकको निमित्त :– नोकरी वर्ष  आखिरी तलब ५०
(ख) प्रहरी नायव निरीक्षक र सोभन्दा मुनिका प्रहरी कर्मचारीको निमित्त :–
नोकरी वर्ष  आखिरी तलब ४०

(३) प्रहरी हवल्दार र सोभन्दा मुनिका निवृत्तिभरण पाइरहेका व्यक्तिहरूको उमेर साठी वर्ष पूरा भएपछि निजले पाइरहेको निवृत्तिभरणको अङ्कमा तीस प्रतिशत थप गरिनेछ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब स्केलको शुरु अङ्कको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलबको शुरु स्केलभन्दा बढी हुने छैन ।
(५) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा निवृत्तिभरणको लागि आवश्यक पर्ने सेवा अवधि पु¥याउन चाहिने वर्ष थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिईनेछ ।

(६) प्रहरी प्राविधिक नियमावली, २०५८ बमोजिम प्राविधिक समुहमा नयाँ नियुक्ति भएको राजपत्राङ्कित द्वितीय वा तृतीय श्रेणीको पदको प्रहरी कर्मचारी यस नियमावली बमोजिम निवृत्तिभरण पाउने सेवा अवधि पूरा नहँुदै सेवाबाट अवकास प्राप्त हुने भएमा निवृत्तिभरण प्राप्त गर्नका लागि वढीमा चार वर्ष सेवा अवधि थप भए निवृत्तिभरण पाउने भएमा नेपाल सरकारले बढीमा चार वर्ष सेवा अवधि थप गरी निवृत्तिभरण दिन सक्नेछ ।
(७) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएको प्रहरी कर्मचारीले यस नियमावली बमोजिमको निवृत्तिभरण पाउने छैन ।

१३२. निवृत्तिभरणमा वृद्धि ः बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अङ्कमा जति वृद्धि भएको छ, त्यसको दुई तिहाई रकम समान पदका निवृत्त प्रहरी कर्मचारी (अमर प्रहरीका परिवार समेत) को निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।

१३३. पारिवारिक निवृत्तिभरण र उपदान ः (१) कुनै प्रहरी कर्मचारीको सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाई वा अविवाहिता दिदी बहिनीलाई नियम १३० वा १३१ मा लेखिए बमोजिम उपदान वा निवृत्तिभरण प्राप्त हुनेछ । तर निवृत्तिभरणको हकमा यस्तो निवत्तिभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको प्रहरी कर्मचारीको परिवार वा नाबालक भाई वा अविवाहिता दिदी बहिनीलाई सात वर्ष पुगेपछि निवृत्तिभरण प्राप्त हुने छैन ।

(२) उपनियम (१) मा जुनसुकै कुरा उल्लेख भए तापनि निवृत्तिभरण पाउने व्यक्ति नाबालक रहेछ भने निज अठार वर्षको उमेर नभएसम्म त्यस्तो निवृत्तिभरण पाउनेछ ।
(३) प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा उपनियम (१) बमोजिम पारिवारिक निवृत्तिभरण पाउने भएमा सो निवृत्तिभरण पाउने अवधि भुक्तान भएको मितिदेखी र त्यस्तो निवृत्तिभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तिभरण पाउन थालेको सात वर्ष व्यतित भईसकेपछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तिभरणको आधा रकम पाउनेछ ।
(४) बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम उपनियम (१), (२) र (३) अनुसार पारिवारिक निवृत्तिभरण पाईरहेका व्यक्तिले खाईपाई आएको पारिवारिक निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।
(५) कुनै प्रहरी कर्मचारीको यस नियामावली बमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरुमध्ये यस नियमावली बमोजिम निजको निवृत्तिभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
(६) निवृत्तिभरण वा उपदान दिँदा मृतक प्रहरी कर्मचारीले आफ्नो परिवारका सदस्य मध्येमा वा नाबालक भाइ वा अविवाहिता दिदी वहिनीलाई इच्छाएको नभए सो रकम निजको परिवारको सदस्य मध्ये नेपाल सरकारले उचित ठह¥याएको व्यक्तिलाई दिईनेछ ।

१३४. अशक्त वृत्ति : (१) कुनै प्रहरी कर्मचारी आफनो पदको कर्तव्य पालन गर्दा वा तालीमको सिलसिलामा दुर्घटनामा परी वा आघातमा परी अङ्गभङ्ग भई वा चोटपटक लागि शारीरिक वा मानसिक रुपमा प्रहरी सेवामा बहाल रहन अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीले निजको जीविकाको निमित्त बाँचुन्जेलसम्म अशक्तवृत्तिको रुपमा उपनियम (२) मा लेखिए बमोजिम निवृत्तिभरण सहित उपनियम (३) मा लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ ।

स्पष्टीकरण : यस उपनियमको प्रयोजका लागि मानसिक रुपमा अशक्त भन्नाले नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट मानसिक रुपमा अशक्त भई प्रहरी सेवामा काम काज गर्न असक्षम भनी सिफारिस गरेको व्यक्ति सम्झनु पर्छ ।

(२) उपनियम (१) बमोजिम अशक्त भएको प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवधि पुगेको भए निजले तत्काल खाईपाई आएको (कायम मुकायम, कार्यवाहक वा निमित्त भई काम गरेको भए सो को समेत) तलबले नियम १३१ को उपनियम (२) बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तिभरण पाउनेछ । त्यस्तो अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने
अवधिभन्दा घटी भएमा यस नियमावली बमोजिम निवृत्तिभरण पाउने वर्ष पु¥याउन नपुग प्रत्येक पूरा वा चानचुन वर्षको निमित्त दामासाहीबाट कट्टी गरी बाँकी हुन आउने रकम निवृत्तिभरण वापत पाउनेछ । यसरी कट्टी गर्दा एक तिहाईभन्दा वढी रकम कट्टी गरिने छैन ।

(३) प्रहरी कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तिभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाईपाई आएको तलबको बीस प्रतिशत बराबर हुनेछ । साथै नियम १३८ को स्पष्टीकरण खण्डको देहाय (क) मा लखिए बमोजिमको अशक्त प्रहरी कर्मचारीको हकमा निजको जीवनभर निजले खाइपाई आएको अशक्त भत्ताको बीस प्रतिशत रकम कुरुवा खर्चको रुपमा थप सुविधा समेत दिईने छ । तर अशक्तवृत्ति पाएका वा पाउने ठहरिएका प्रहरी कर्मचारीले पछि कुनै सेवामा पुनः प्रवेश
पाएमा निजले यस नियम बमोजिमको अशक्तवृत्ति पाउने छैन र खाईसकेको अशक्तवृत्ति रकम भने फिर्ता गर्नु पर्ने छैन ।

(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारवाही वा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण, बिस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारवाहीमा खटिएका बखत कुनै आकस्मिक दुर्घटनामा परी वा लडी वा कुनै प्रकारको हतियारको चोटबाट प्रहरी सेवाको निमित्त काम गर्न अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीलाई एक तह पदोन्नति गरी सेवाबाट अवकाश दिईनेछ र निजले उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म खाईपाई आएको पूरा तलब पाउनेछ । त्यसरी पूरा तलब पाउने अवधि व्यतित भए पछि निवृत्तिभरण पाउने अवधि भन्दा कम सेवा अवधि भएको प्रहरी कर्मचारीले निवृत्तिभरण पाएको अवधिसरह र निवृत्तिभरण पाउने अवधिभन्दा बढी सेवा अवधि भएको प्रहरी कर्मचारीले सोही बमोजिम निवृत्तिभरण पाउनेछ ।

(५) उपनियम (१) वा (४) बमोजिम चोटपटक लाग्न गई उपचार गराउँदा लाग्ने खर्चको पूरा रकम सम्बन्धित प्रहरी कर्मचारीले पाउनेछ र यस्तो उपचार खर्च दिँदा नियम १४१ को उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा कट्टा गरिने छैन ।

(६) उपनियम (४) बमोजिम सुविधा पाएको अवधिमा समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति रकम वृद्धि भएको छ सोही बरावरको रकम अवकाश प्राप्त प्रहरी कर्मचारीले पाउने तलब रकममा समेत वृद्धि हुनेछ ।

(७) उपनियम (१), (२), (३) र (४) बमोजिम सुविधा पाएको अवकाश प्राप्त प्रहरी कर्मचारीको मुत्यु भएमा त्यस्तो सुविधा पाएको सात वर्ष नपुगे सम्म निजको परिवारले निजले पाए सरह नै सम्पूर्ण सुविधा पाउनेछ र सात वर्ष पुगे पछि नियम १३५ को उपनियम (१) र (२) बमोजिम निवृत्तिभरण पाउनेछ ।

(८) बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कको रकममा जति प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (३) बमोजिमको अशक्त वृत्तिको रकममा समेत वृद्धि हुनेछ ।

(९) अशक्तवृत्ति प्रदान गर्ने प्रयोजनको लागि मन्त्रालयले अशक्तताको प्रमाणपत्र प्रदान गर्नेछ ।

१३५. असाधारण पारिवारिक निवृत्तिभरण र उपदान : (१) कुनै प्रहरी कर्मचारी आफ्नो कर्तव्य पालन गर्दा वा तालीम लिँदा कुनै चोटपटक लागी तत्कालै मृत्यु भएमा वा त्यसैको कारणबाट निको नहुँदै मृत्यु भएमा निजको नोकरी जतिसुकै वर्ष पुगेको भए तापनि मृतक प्रहरी कर्मचारीको परिवारको सदस्य मध्ये नियम

१३३ को उपनियम (५) बमोजिमको व्यक्तिलाई त्यस्तो प्रहरी कर्मचारीले खाइपाई आएको तलबको आधा पारिवारिक निवृत्तिभरण र देहाय बमोजिम असाधारण पारिवारिक उपदान समेत दिइनेछ :–
(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्ष देखि बीस वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको नौं महिनाको तलब बराबरको रकम,
(ग) बीस वर्षभन्दा बढी जतिसुकै सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको एक वर्षको तलब बराबरको रकम ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारबाही वा अन्य कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा बिस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा खटिएका बखत वा प्रचलित कानून बमोजिम खटिएको अवस्थामा भीर, पहरा, खोलानालामा लडी वा कुनै पनि प्रकारको हतियारको चोटबाट वा कुनै आकस्मिक
दुर्घटनामा परी तत्कालै वा सोही कारणले निको नभई मृत्यु भएमा मृतक प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तहमाथिको पदमा पदोन्नति दिई सोही पद अनुसारको पुरा तलब निजको परिवारले त्यस्तो प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म पाउनेछ । उक्त पुरा तलब पाउने अवधि व्यतित भएपछि मृतक प्रहरी कर्मचारीको सेवा अवघि निवृत्तिभरण पाक्ने अवधि भन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधिसरह र निवृत्तिभरण पाक्ने अवधि भन्दा बढी सेवा अवधि भएमा सोही बमोजिम मृतक प्रहरी कर्मचारीको परिवारले निवृत्तिभरण पाउनेछ ।

(३) यस नियम बमोजिम असाधारण पारिवारिक निवृत्तिभरण मृतक प्रहरी कर्मचारीको पति वा पत्नी, बाबु, आमा भए आजिवन र छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पुरा नगरेसम्म वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।

(४) कर्तव्य पालनाको शिलशिलामा खटिएको वा खटिने क्रममा बाटोमा आउँदा जाँदा वा अन्य कार्य गर्दा बाटोबाट वा कार्यस्थलबाट अपहरणमा परी हत्या भएको भरपर्दो सूचना प्राप्त भएको तर लास फेला पर्न नसकेको अवस्थामा सम्वन्धित प्रमुख जिल्ला अधिकारी र सम्वन्धित प्रहरी कार्यालयको प्रमुखको संयुक्त प्रतिवेदनको आधारमा हत्या गरिएका प्रहरी कर्मचारीको परिवारलाई उपनियम (१) र (२)
बमोजिमको सुविधा दिइनेछ ।

(५) उपनियम (२) बमोजिम प्रहरी कर्मचारीको परिवारले तलब पाईरहेको अवस्थामा बहालवाला प्रहरी कर्मचारीको तलबमानमा वृद्धि भएमा प्रहरी कर्मचारीको परिवारले पाउने तलबमा समेत सोही बमोजिम वृद्धि हुनेछ ।

१३६. सन्ततिवृत्ति र शैक्षिक वृत्ति : (१) कुनै प्रहरी कर्मचारी नियम १३४ बमोजिमको अवस्था परी आजीवन काम गर्न नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई देहायको दरले मासिक सन्ततिवृत्ति दिईनेछ :–
(क) राजपत्राङ्कित प्रहरी अधिकृत – दुई सय साठी रुपैयाँ
(ख) राजपत्र अनङ्कित प्रथम र द्धितीय श्रेणीका प्रहरी – एक सय चौवीस रुपैयाँ
(ग) राजपत्र अनङ्कित तृतीय र चतुर्थ श्रेणीका प्रहरी – एक सय सोह्र रुपैयाँ
(घ) प्रहरी कार्यालय सहयोगी वा सो सरह – एक सय बाह्र रुपैयाँ
(२) कुनै प्रहरी कर्मचारीको नियम १३५ बमोजिमको अवस्था परी मृत्यु भएमा त्यस्तो मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई मृतक प्रहरी कर्मचारीको बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्ततिवृत्ति दिईनेछ :–
पद सुरु तलबको प्रतिशत

(क) प्रहरी महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षक – ६.५
(ख) प्रहरी नायव महानिरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक – ८
(ग) प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक – ९
(घ) प्रहरी निरीक्षक – १०
(ङ) प्रहरी नायव निरीक्षक – १२
(च) प्रहरी सहायक निरीक्षक – १३
(छ) प्रहरी हवल्दार÷प्रहरी जवान÷ प्रहरी कार्यालय सहयोगी – १४
(३) उपनियम (१) बमोजिमको सन्ततिवृत्ति छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पुरा गरेको वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म सम्म पाउनेछ र उपनियम (२) वमोजिमको सन्ततिवृत्ति अठार वर्षको उमेर सम्म पाउनेछ ।

(४) कुनै प्रहरी कर्मचारीको नियम १३४ वा १३५ बमोजिमको अवस्थामा परी अशक्त भएमा वा मृत्यु भएमा त्यस्तो अशक्त वा मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) वा (२) बमोजिमको सन्ततिवृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिईनेछ :–

पद शैक्षिकवृत्ति
(क) राजपत्राङ्कित प्रहरी अधिकृत – दुईहजार चार सय रुपैयाँ
(ख) राजपत्र अनङ्कित प्रहरी र प्रहरी कार्यालय सहयोगी वा सो सरह – एक हजार आठ सय रुपैयाँ

१३७. समान सुविधा उपलब्ध हुने : (१) सम्वत् २०५२ साल फाल्गुण १ गते पछि कुनै प्रहरी कर्मचारी नियम
१३४ को उपनियम (४) वा नियम १३५ को उपनियम (२) बमोजिमको अवस्था परी अशक्त भएको वा मृत्यु भएको भए त्यस्तो प्रहरी कर्मचारी वा निजको परिवारले नियम १३२, १३३, १३४, १३५ र १३६ मा उल्लिखित सुविधा सोही नियमहरुमा उल्लेख भए बमोजिम दोहोरो नहुने गरी समान रुपमा पाउनेछन् ।
(२) उपनियम (१) बमोजिम सुविधा उपलब्ध गराउँदा अघि प्राप्त गरेको सुविधा बापतको रकम कट्टा गरी बाँकी रकम मात्र दिनु पर्नेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै प्रहरी कर्मचारीको परिवारलाई नियम १३३ वा १३४ वा १३५ बमोजिम प्राप्त हुने पारिवारिक निवृत्तिभरण मध्ये कुनै एक पारिवारिक निवृत्तिभरण मात्र प्राप्त हुनेछ ।

१३८. समितिको व्यवस्था : (१) नियम १३४ र १३५ बमोजिमको अवस्था परी कुनै प्रहरी कर्मचारी अशक्त भएमा वा निजको मृत्यु भएमा त्यस्तो प्रहरी कर्मचारीको नजिकको परिवार वा सन्ततिले पाउने वृत्ति वा उपदानको सम्बन्धमा सिफारिस गर्न देहाय बमोजिमको समिति रहनेछ ः–
(क) मन्त्रालयको प्रतिनिधि
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि
(ग) नेपाल प्रहरी अस्पतालको चिकित्सक प्रतिनिधि
(घ) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुख

स्पष्टीकरण : यस नियमको प्रयोजनका लागि अशक्तताको प्रतिशत निर्धारणको आधार देहाय बमोजिम हुनेछ :–
(क) “असी देखि सतप्रतिशत अशक्तता” भन्नाले दुवै आखा नभएको वा दुवै खुट्टा नभएको वा दुवै हात नभएको वा एक खुट्टा, एक हात नभएको वा सम्पूर्ण शरीर नचल्ने,

(ख) “साठी देखि उनासी प्रतिशत अशक्तता” भन्नाले काम गर्न नसक्ने गरी आंशिक शरीर नचल्ने वा एक आखा नभएको वा एक हात नभएको वा एक खुट्टा नभएको,
(ग) “चालीस देखि उनान्साठी प्रतिशत अशक्तता” भन्नाले असामान्य रुपमा बोली प्रष्ट नभएको वा शरीरको सम्पूर्ण हिस्सा तन्दुरुस्त देखिए तापनि लर्खराउने, धङधङाई हिड्ने वा प्रहरी कर्मचारी सेवामा रहि काम गर्न शारीरिक, बोली, हिँडाई, चलाईले असोभनिय देखिने,

(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित वर्गीकरण बाहेक अन्य अशक्तताको प्रतिशत निर्धारण गर्ने अधिकार नेपाल सरकारद्वारा गठित मेडिकल वोर्डमा रहनेछ ।
(२) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुखले उपनियम (१) बमोजिमको समितिको सदस्य सचिव समेतको कार्य गर्नेछ ।

१३९. निवृत्तिभरण सम्बन्धी कार्यविधि : (१) उमेरको हद वा सेवा अवधि पुगेको कारणबाट निवृत्तिभरण पाउने कर्मचारीले अवकास लिने मितिभन्दा ६ महिना अगाडि तोकिएको फाराम भरी सम्वन्धित अधिकारी समक्ष पठाउनु पर्दछ । त्यस्तो प्रहरी कर्मचारीको मृत्यु भएमा निजको मृत्यु भएको छ महिनाभित्र निजको परिवारले निवृत्तिभरणका लागि सम्वन्धित अधिकारी समक्ष दरखास्त पठाउनु पर्नेछ ।

(२) निवृत्तिभरणसँग सम्बन्धित देहायका कार्यहरू बैंक भुक्तानी लिइरहेको जिल्लाको जिल्ला प्रहरी कार्यालय प्रमुखको सिफारिसमा सोही जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट गरिनेछ :–
(क) एकपटक जारी भइसकेको निवृत्तिभरणको अधिकारपत्रको पाना सिद्धिई वा अधिकारपत्र हराई प्रतिलिपि दिनु परेमा वा निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण अधिकारपत्र बाहकको मृत्यु भई पारिवारिक निवृत्तिभरण पाउने व्यक्तिको नाम
परिवर्तन गर्नुपरेमा वा प्रमाणित निवृत्तिभरण अधिकारपत्रमा संशोधन गर्नुपरेमा वा प्रहरी किताबखानाबाट पठाइए बमोजिम निवृत्तिभरण अधिकारपत्र तथा फाराममा फोटो तथा दस्तखत प्रमाणित गर्नुपरेमा,
(ख) नियम १३१ को उपनियम (३) वमोजिम निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिको उमेर साठी वर्ष पुगी निवृत्तिभरण रकम थप गर्नु परेमा ।

१४०. नोकरी अवधिको गणना : (१) यस परिच्छेदको प्रयोजनको निमित्त नोकरी अवधिको गणना गर्दा प्रहरी सेवाको कुनै पदमा स्थायी नियुक्ति भई नोकरी गरेको जम्मा अवधि (विचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि उपदान पाई सकेको व्यक्ति अदालतको फैसला वा यस नियमावली बमोजिम हुने विभागीय सजाय उपर परेको पुनरावेदनमा भएको निर्णय बमोजिम प्रहरी सेवा वा पदमा पुनःबहाली भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको नोकरी जोडिनेछ ।
(३) उपनियम (१) बमोजिम नोकरी अवधि गणना गर्दा निलम्बन रहेको अवधिलाई समेत गणना गरिनेछ ।

१४१. औषधी उपचार खर्च :(१) प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राङ्कित श्रेणीको प्रहरी अधिकृत भए बाह्र महिना बराबरको, राजपत्रअनङ्कित प्रथम श्रेणीको प्रहरी कर्मचारी भए अठार महिना बराबरको र अन्य राजपत्र अनङ्कित र श्रेणीविहिन प्रहरी कर्मचारी भए एक्काइस महिना बराबरको खाईपाई आएको तलब रकम सम्म उपचार खर्च वापत पाउनेछ ।

(२) कुनै प्रहरी कर्मचारी वा निजको परिवारको सदस्य विरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नवढ्ने गरी देहाय बमोजिम भएको खर्चको रकम दिईनेछ :–

(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेका औषधी खर्च,
(ख) स्वास्थ्य संघ संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा सम्बन्धित कार्यालयको प्रमुखले, कार्यालय प्रमुखको हकमा तालुक कार्यालयको प्रमुखले र प्रहरी महानिरीक्षकको हकमा मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,

(घ) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अप्रेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(ङ) चश्मा, दाँत, हेरिङ्एड आदि उपकरणको लागि नेपाल सरकारले समय समयमा आदेश जारी गरी तोकिदिएको हदसम्मको रकममा लागेको बिल बमोजिमको खर्च,

(च) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दा र फर्कदाको विरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवा सम्मको यातायात खर्चको पुरै रकम र खाना खर्च वापत निज बिरामी प्रहरी कर्मचारीले नियमअनुसार पाउने दैनिक भत्ताको पचत्तहर प्रतिशत रकम ।

स्पष्टीकरण ः यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानूनबमोजिम चिकित्सकका रुपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट वैद्य समेतलाई जनाउँछ ।

(३) सरकारी कामको सिलसिलामा खटिँदा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको नेपालभित्र औषधी उपचार हुन नसक्ने भनि नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरको प्रहरी कर्मचारीले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता दिन सक्नेछ ।

(४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै प्रहरी कर्मचारीले पेश्कीको रुपमा लिन चाहेमा र सोको कारण मनासिब देखिए यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेश्की रकम दिन सकिनेछ । त्यसरी पेश्की दिएको रकमको हिसाब गर्दा उपचारबापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित प्रहरी कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ ।
त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तान नहुदै सम्बन्धित प्रहरी कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ ।

(५) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने प्रहरी कर्मचारीले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी भएको भए त्यस्तो बाँकी रकम एकमुष्ठ लिन पाउनेछ ।

(६) निवृत्तिभरण पाउने गरी सेवाबाट अवकास पाएको प्रहरी कर्मचारीले उपनियम (५) बमोजिमको रकम र पच्चीस वर्ष सेवा अवधि पुरा गरेको रहेछ भने उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा थप दश प्रतिशत रकम निजले नोकरीबाट अलग हुँदा एकमुष्ट लिन पाउनेछ ।

(७) कुनै प्रहरी कर्मचारी दश वर्षको सेवा अवधि नपुग्दै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराबाट सेवाबाट अलग भएमा पनि दश वर्षको सेवा अवधि मानी त्यसको दामासाहीले यस नियम बमोजिमको उपचार खर्च दिइनेछ ।

(८) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक प्रहरी कर्मचारीलाई एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकम भन्दा बढी उपचार खर्च दिइने छैन ।

(९) यस नियम बमोजिम प्रहरी कर्मचारीले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख राखी प्रहरी किताबखानामा समेत पठाउनु पर्नेछ ।

(१०) दुर्गम क्षेत्रमा रहेका प्रहरी कर्मचारी वा निजको परिवारलाई रोग लागी स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार हुन नसकी ज्यान समेत जोखिम हुने अवस्था परेको कुरा जिल्ला स्वास्थ्य केन्द्रले सिफारिस गरेमा उपचारको सुविधा भएको ठाउँमा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।

(११) प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा नावालक छोरा छोरी बिरामीले यस नियमावली बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधारसम्म बिल बमोजिमको भएको उपचार खर्चको नब्बे प्रतिशत रकम सम्बन्धित कर्मचारीले लिन पाउनेछ । त्यस्तो उपचार खर्चको माग गर्दा रोगको निदान उल्लेख गरिएकोे चिकित्सकको प्रेसक्रिप्शन
पनि पेश गर्नुपर्नेछ । यस उपनियम बमोजिम पाउने उपचार खर्च एक पटकमा सम्बन्धित प्रहरी कर्मचारीको एक महिनाको तलबभन्दा बढी हुने छैन ।

(१२) कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु, वा नाबालक छोरा, छोरी बिरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन बमोजिम लागेको औषधी उपचारको खर्चको नब्बे प्रतिशत रकम उपनियम (२) बमोजिम प्रहरी कर्मचारीले पाउने रकममध्येबाट पाउनेछ ।

(१३) उपनियम (११) र (१२) मा जुनसुकै केरा लेखिएको भए तापनि प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा कुनै सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रणमा भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च पाउने छैन ।

(१४) झुट्टा व्यहोरा पेस गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने प्रहरी कर्मचारी लगायत त्यस्तो झुट्टा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भए) लाई विभागीय कारबाही हुनेछ ।

१४२. तलबको उल्लेख : (१) यस परिच्छेद र परिच्छेद–१२ मा जहाँ–जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित प्रहरी कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ ।

(२) नियम १३० र १३१ को प्रयोजनको लागि “आखिरी तलब” भन्नाले प्रहरी कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै प्रहरी कर्मचारी निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पुरै तलबको हिसाव गरिनेछ ।

१४३. सेवा सर्त तथा सुविधा परिर्वतन : कुनै पनि प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाका बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधा सम्बन्धी सेवाका सर्तहरुमा निजलाई प्रतिकूल असर पर्ने गरी परिर्वतन गरिने छैन ।

१४४. बिमा सम्बन्धी व्यवस्था : प्रहरी कर्मचारीको बिमा सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ  ।