परिच्छेद–१५ विविध

परिच्छेद–१५ विविध

१८१. जनपद प्रहरी समूहमा समूहिकृत हुने : (१) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत गठन  भएको प्रहरी पहरा गण यो नियमावली प्रारम्भ भएपछि जनपद प्रहरी समूहमा समूहिकृत हुनेछ ।
(२) उपनियम (१) बमोजिम समूहिकृत भएको प्रहरी कर्मचारीहरुलाई सेवा विशिष्टीकृत कार्यक्षेत्र अन्तर्गतको सुरक्षा व्यवस्थापन तथा नियन्त्रणको काममा लगाइनेछ ।

(३) प्रहरी केटा (भर्ना तथा सेवा शर्त) नियमावली, २०४२ बमोजिम नियुक्ति भएको प्रहरी केटाको दरवन्दी यो नियमावली प्रारम्भ भए पछि प्रहरी कार्यालय सहयोगी वा सो सरहको पदमा स्वतः कायम हुनेछ ।

१८२. पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको सम्बन्धमा : यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भई कार्यरत रहेको प्रहरी कर्मचारीमध्ये एकपटक सरकारी सेवाबाट अलग भई पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा देहायको व्यवस्था लागू हुनेछ :

(क) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भएका प्रहरी कर्मचारीमध्ये एक पटक सरकारी सेवाबाट अलग भई पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा पुनः नियुक्ति भई आएका मितिबाट जेष्ठता कायम गरिनेछ ।

(ख) एक पटक प्रहरी सेवाबाट अलग भई पुनः नेपाल प्रहरीे सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको पुनस्र्थापना तालीम अनिवार्य रूपमा लिनु पर्नेछ । अन्य सेवाबाट अलग भइ नेपाल प्रहरीे सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको आधारभूत तालीम अनिवार्य रूपमा लिनु पर्नेछ ।
१८३. दज्र्यानी चिन्ह सम्बन्धी व्यवस्था : प्रहरी सेवामा रहने पदहरूको दज्र्यानी चिन्ह अनुुसूची—२२ मा उल्लेख भए बमोजिम हुनेछ ।

१८४. प्रहरी कर्मचारीको बचाउ :

(१) कुनै प्रहरी कर्मचारीले ऐन वा यस नियमावली वा अरु प्रचलित कानून बमोजिम गर्नु पर्ने आफ्नो ओहोदाको कर्तव्यपालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निज उपर उपनियम (२) बमोजिमको कार्यविधि नपु¥याई मुद्दा चल्न सक्ने छैन ।

(२) उपनियम (१) बमोजिम कुनै पनि प्रहरी उपर मुद्दा चलाउनका लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम प्रक्रिया अवलम्बन गरेको हुनु पर्नेछ :

(क) मुद्दा चलाउने कारण तथा वादीको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना अख्तियारवालालाई वा सम्बन्धित प्रहरीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्री गरी पठाएको र त्यसको एक प्रति नक्कल नेपाल सरकारमा पेश
भएको दुई महिना नाघेको, र

(ख) मुद्दा चलाउने कारण भएको तीन महिनाभित्र मुद्दा दायर गरिसकेको ।
(३) कुनै प्रहरी बहाल छँदा आफ्नो ओहदाको कर्तव्यपालनको सिलसिलामा गरेको कामको सम्बन्धमा बहाल टुटिसके पछि पनि नेपाल सरकारको स्वीकृति नभई निजउपर मुद्दा चल्न सक्ने छैन ।
(४) उपनियम (३) बमोजिम मुद्दा चलाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएमा निजको प्रतिरक्षा नेपाल सरकारले गर्नेछ ।

१८५. महान्यायाधिवक्ताबाट प्राप्त निर्देशनको कार्यान्वयन : प्रहरी हिरासतमा रहेको व्यक्तिलाई संविधान र प्रचलित कानूनको अधीनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानून व्यवसायीसँग भेटघाट गर्न नदिएको सम्बन्धमा महान्यायाधिवक्ताबाट प्राप्त निर्देशन कार्यान्वयन गर्नु गराउनु सम्बन्धित प्रहरी कर्मचारीको कर्तव्य हुनेछ ।

१८६. वैयक्तिक नोकरी विवरण :

(१) प्रहरी नायव निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको वैयक्तिक नोकरी विवरणको अभिलेख मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा तथा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्मको वैयक्तिक नोकरी विवरणको अभिलेख प्रहरी प्रधान कार्यालयमा राखिनेछ ।
(२) उपनियम (१) बमोजिमको वैयक्तिक नोकरीको विवरण प्रहरी प्रधान कार्यालयले तोके बमोजिमका फारामहरूमा अभिलेख गरिनेछ ।

१८७. लगत किताब खडा गर्ने : कुनै पनि प्रहरी कार्यालयमा नगदी एक, जिन्सीको एक र कागज पत्रको एक गरी कुल तीन लगत किताब खडा गरी राखिनेछ र हाल साविक हुँदा सोही किताबको आधारमा बरबुझारथ गरिनेछ ।

१८८. साविक र हालवालाको बरबुझारथ : प्रहरी चौकी, इलाका प्रहरी कार्यालयदेखि लिएर प्रहरी प्रधान कार्यालयसम्मको प्रमुखको जिम्मामा रहेको नगदी, जिन्सी, हातहतियार, कागजात इत्यादि जे–जति छ त्यो सबै साविकवालाले हालवालालाई बुझाउनु पर्दा देहाय बमोजिम गर्नु पर्नेछ :–
(क) हालवालाले बहाली गर्ने दिनको सूचना साविकवालालाई सकेसम्म चाँडो दिनु पर्नेछ र साविकवालाले पनि त्यही दिनदेखि जिम्मा बुझाउन तयार रहनु पर्नेछ ।

(ख) बरबुझारथ गर्न चाहिने आवश्यक समय प्रहरी महानिरीक्षकको निमित्त नेपाल सरकारले तोके बमोजिम र अरु प्रहरी कर्मचारीको हकमा सामान्यतया १५ दिनको हुनेछ र सो समयभित्र बरबुझारथ गर्नु पर्नेछ ।

(ग) खण्ड (ख) मा तोकिएको समयभित्र कुनै विशेष कारण परी बरबुझारथ गर्न नभ्याएमा एक पटकको लागि एक्काईस दिनमा नबढ्ने गरी एक तह माथिको तालुक कार्यालयले समय थप गर्न सक्नेछ ।

१८९. प्रहरी किताबखानाको व्यवस्था :

(१) यस नियमावलीको परिच्छेद–११ अन्तर्गतका देहाय बमोजिमका सुविधाहरू सम्बन्धित कार्यालयको सिफारिसमा प्रहरी किताबखानाबाट उपलब्ध गराइनेछ ।

(क) सेवा निवृत्त प्रहरी कर्मचारीहरूको अधिकारपत्र जारी गर्ने ।
(ख) उपदानको अङ्क किटान गरी सम्बन्धित निकायमा पठाउने ।
(ग) पारिवारिक निवृत्तिभरण, अशक्त निवृत्तिभरण, सन्ततिवृत्ति, शैक्षिकवृत्ति आदिको अधिकारपत्र जारी गर्ने ।
(घ) पारिवारिक निवृत्तिभरणको नामसारी गर्ने ।
(२) उपनियम (१) मा उल्लिखित सेवा उपलब्ध गराउने कार्यका अतिरिक्त प्रहरी किताबखानाबाट देहाय बमोजिमको कार्य समेत हुनेछ ः–
(क) पद दर्ता गर्ने,
(ख) पद खालीको लगत सङ्कलन गरी पद पूर्ति प्रयोजनको लागि मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा मासिक रुपमा वा तत्कालै लेखी पठाउने,
(ग) प्रहरी कर्मचारीहरूको भर्नादेखि अबकास सम्मका (नियुक्ति, सरुवा, वढुवा, पुरस्कार, विभागीय सजाय, शैक्षिक योग्यता, तालीम, औषधी उपचार समेत) सम्पूर्ण अभिलेख राख्ने,
(घ) सिटरोल दर्ता गर्ने र प्रमाणित गर्ने,
(ङ) नोकरी जोड्ने,
(च) स्केल मिलान गर्ने,
(छ) तलबी प्रतिवेदन पारित गर्ने,
(ज) अभिलेखमा विवरण फरक परेमा जाँचबुझ गरी यकीन गर्ने,
(झ) प्रहरी कर्मचारी वहाल छँंदै औषधी उपचार बापत लिएको रकमको अभिलेख राख्ने,
(ञ) सम्पत्ति विवरणको अभिलेख राख्ने ।
(३) नयाँ नियुक्तिको हकमा नियुक्ति गर्ने अधिकारीले र सो नियमावली बमोजिम सरुवा गर्ने अधिकारीले यस्तो नियुक्तिको वा सरुवाको सूचना प्रहरी किताबखानामा पठाई आफूभन्दा एक तह माथिल्लो अधिकृत र प्रहरी प्रधान कार्यालयमा त्यसको बोधार्थ दिनु पर्नेछ ।

(४) प्रहरी कर्मचारीको उपदान, निवृत्तिभरण विभागीय सजाय, पुरस्कार, प्रहरी कर्मचारी पदमा वहाल छँंदै औषधी उपचारवापतको रकम लिएको भए सो अभिलेख समेत प्रहरी किताबखानामा पठाउनु पर्नेछ ।

(५) नयाँ निवृत्तिभरण अधिकारपत्र, पट्टा संशोधन, प्रतिलिपि वा पाना सकिएमा थप पुस्तिका वितरणजस्ता कार्यहरु प्रहरी किताबखानाले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई आवश्यक अधिकार प्रत्यायोजन गरी सम्वन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत उपलव्ध गराउनेछ ।

१९०. पाँच वर्षसम्म नोकरी छाड्न नपाउने : कुनै पनि प्रहरी कर्मचारीले नियुक्ति भएको मितिले पाँच वर्षसम्म नोकरी छाड्न पाउने छैन ।
तर कुनै प्रहरी कर्मचारीलाई मानसिब माफिकको कारण परी नोकरी नछाडी नहुने अवस्था परेमा निजले कारण खोली अख्तियारवालासमक्ष निवेदन गर्नु पर्नेछ र अख्तियारवालाले मनासिब ठानेमा प्रहरी कर्मचारीलाई नोकरी छाड्न अनुमति दिन सक्नेछ ।

१९१. तह नाघ्न नहुने : कुनै पनि प्रहरी कर्मचारीले कुनै विषयको लेखापढी गर्दा साधारणतया तह नाघ्न हुँदैन ।

१९२. अशक्त उपचार : सशस्त्र मुठभेडमा वा कर्तव्य पालनको सिलसिलामा दुर्घटनामा परी शारीरिक वा मानसिक रूपमा अशक्त भएका प्रहरी कर्मचारीकोे उपचार नेपाल प्रहरी अस्पताल वा आवश्यकता अनुसार अन्य अस्पतालवाट समेत गरिनेछ ।

१९३. नीति निर्माण समितिको गठन :

(१) प्रहरी सङ्गठनमा बृहत्तर र दीर्घकालिन प्रभाव पार्ने लगायतका नीतिगत विषयमा नेपाल सरकारलाई सुझाव दिन, प्रहरी सङ्गठनको आन्तरिक व्यवस्थापन र यस नियमावली बमोजिम तोकिएका विषयहरुमा समेत आवश्यकता अनुसार निर्णय लिन प्रहरी प्रधान
कार्यालयमा देहाय बमोजिमको एक नीति निर्माण समिति रहनेछ :–
(क) प्रहरी महानिरीक्षक – अध्यक्ष
(ख) प्रहरी अतिरिक्त महानिरीक्षकहरू सबै – सदस्य
(ग) उपत्यकास्थित प्रहरी नायव महानिरीक्षक सबै – सदस्य
(घ) प्रहरी नायव महानिरीक्षक, प्रहरी महानिरीक्षकको सचिवालय – सदस्य–सचिव

(२) प्रहरी महानिरीक्षकले बैठकमा प्रस्तुत हुने विषयवस्तुको गम्भीरता र आवश्यकता अनुसार अन्य प्रहरी कर्मचारीहरू, सरोकारवाला र विषयविज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(३) नीति निर्माण समितिको बैठकसम्बन्धी कार्यविधि नीति निर्माण समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।

१९४. प्रहरी कल्याण कोषको स्थापना र सञ्चालन :

(१) प्रहरी कर्मचारी, निजका परिवार तथा निवृत्त प्रहरी कर्मचारीको कल्याणका लागि एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् :–
(क) प्रहरी सेवाका कर्मचारीहरूको भत्ता वा पारिश्रमिकबाट तोकिए बमोजिम कट्टा गरिएको रकम,
(ख) नेपाल सरकार वा मान्यता प्राप्त संगठित संस्था वा व्यक्तिबाट प्राप्त चल, अचल सम्पत्ति,
(ग) विदेशी सरकार वा संघसंस्थाबाट अनुदानस्वरुप प्राप्त रकम तथा अन्य सहयोग,
(घ) तोकिए बमोजिम कल्याणकोषको चलअचल सम्पत्तिको लगानी र प्रयोगबाट आर्जित रकम,
(ङ) कल्याण कोषबाट राष्ट्र संघीय मिशनहरूमा लगानी गरेवापत राष्ट्रसंघबाट सोधभर्ना वापत प्राप्त हुने रकम,
(च) अन्य प्रचलित कानूनी स्रोतबाट प्राप्त रकम ।

(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि प्रहरी प्रधान कार्यालयले नेपाल सरकारको स्वीकृत लिनु पर्नेछ ।
(३) कल्याण कोषमा रहने रकम नेपाल राज्यभित्र नेपाल राष्ट्र बैंकले “क” श्रेणीको ईजाजत प्रदान गरेको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको सञ्चालन सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

(४) कल्याण कोषको रकम बहालवाला तथा निवृत्त प्रहरी कर्मचारी र तिनका परिवारको कल्याणकारी कार्यमा मात्र खर्च गरिनेछ ।
(५) यो नियमावली प्रारम्भ हुनुअघि स्थापना भएका कल्याण कोषको चल अचल सम्पत्ति तथा दायित्व यो नियम बमोजिम स्थापना भएको कल्याण कोषमा सर्नेछ ।
(६) कल्याण कोषको आय व्यय सहितको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(७) कल्याण कोषको लेखा प्रचलित कानून बमोजिम राखिने छ । सो कोषको आन्तरिक लेखापरीक्षण सञ्चालक समितिले तोके बमोजिम र अन्तिम लेखा परिक्षण महालेखा परीक्षकबाट हुनेछ ।
नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि कल्याण कोषको हिसाब किताब जाँच्न वा जँचाउन सक्नेछ ।
(८) कल्याण कोषको योजना, बजेट, प्रगति तथा वार्षिक आयव्यय बारे कल्याण कोषले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।
(९) प्रहरी महानिरीक्षक कल्याण कोषको संरक्षक हुनेछ ।
(१०) कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको कल्याण कोष सञ्चालक समिति रहनेछ ः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग –अध्यक्ष
(ख) मेडिकल डाइरेक्टर, प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरी अस्पताल–सदस्य
(ग) प्रतिनिधि, मन्त्रालय (राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृत) –सदस्य
(घ) प्रतिनिधि, अर्थ मन्त्रालय (राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृत) –सदस्य
(ङ) अवकाशप्राप्त र बहालवाला प्रहरी अधिकृत मध्येवाट संरक्षकले मनोनित गरेका दुई जना –सदस्य
(च) अवकाशप्राप्त र बहालवाला प्रहरी हवल्दार र प्रहरी जवान मध्येवाट संरक्षकले मनोनित गरेका दुई जना –सदस्य
(ज) प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा प्रमुख –सदस्य—सचिव
(११) उपनियम (१०) को खण्ड (ङ) र (च) बमोजिम मनोनित सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।

(१२) कल्याण कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) कल्याण कोषको आय व्यय र वार्षिक कार्यक्रम स्वीकृत गर्ने ।
(ख) नेपाल सरकारको स्वीकृतिमा फर्म पुलिस युनिट (एफपीयु ) मिशनहरूका लागि आवश्यक पर्ने बन्दोवस्ती सामानहरूमा गरिने लगानी सम्बन्धी निर्णय गर्ने ।
(ग) कल्याण कोष सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने ।
(घ) कल्याण कोषका लागि आवश्यक पर्ने जनशक्ति नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
(ङ) कल्याण कोषबाट सञ्चालन गरिने कल्याणकारी कार्यक्रमहरू छनौट गर्ने, थपघट तथा संशोधन गर्ने ।
(च) मन्त्रालय तथा कल्याण कोषका संरक्षक समक्ष कल्याण कोषको अवस्था र सञ्चालित कल्याणकारी कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने ।

१९५. सूत्र परिचालन सम्बन्धी व्यवस्था :

(१) अपराध नियन्त्रण वा अनुसन्धान सम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीले गोप्य रुपमा सूत्र परिचालन गर्न सक्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि नेपाल सरकारले सूत्र परिचालन सम्वन्धमा छुट्टै निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

१९६. प्रहरी महानिरीक्षकले आदेश तथा निर्देशन जारी गर्न सक्ने :

(१) ऐन र यस नियमावलीको अधीनमा रही देहायका विषयमा प्रहरी महानिरीक्षकले आवश्यक कार्य आदेश वा निर्देशन जारी गर्न सक्नेछ । यसरी जारी गरिएको महत्वपूर्र्ण कार्य आदेश वा निर्देशनको जानकारी मन्त्रालयमा पठाउनु पर्नेछ :–
(क) प्रहरी सङ्गठनको प्रभावकारी रेखदेख, सञ्चालन र नियन्त्रणका विषय,
(ख) सेवालाई समयानुकूल र जनमुखी बनाउने विषय,
(ग) प्रहरीलाई व्यावसायिक र सेवा विशिष्टीकरण गर्ने विषय,
(घ) कार्य विवरण र कर्मचारीलाई जवाफदेही बनाउने विषय,
(ङ) मातहत कार्यालयहरूको कार्यमा समन्वय कायम ल्याउने विषय,
(च) कैद थुनुवा तथा तहवील लाने ल्याउने सम्बन्धी विषय,
(छ) प्रहरी कर्मचारीको मनोबल, स्वास्थ्य तथा तन्दुरुस्ती र अनुशासन र आचरणसम्बन्धी
(ज) पोसाक, रासन तथा अन्य सुविधा सम्बन्धी विषय,
(झ) स्रोतसाधनको समूचित वितरण, रेखदेख र सम्भारसम्बन्धी विषय,
(ञ) यस नियमावलीमा उल्लेख भएका कुराहरू स्पष्ट तथा विस्तृत गर्ने विषय,
(ट) प्रहरी क्याम्प, व्यारेक र कार्यालयको व्यवस्थापन सम्बन्धी विषय,
(ठ) अन्य महत्वपूर्ण विषयहरू ।
(२) प्रहरी महानिरीक्षकले उपनियम (१) बमोजिमको विषयमा कार्य आदेश वा निर्देशन जारी गर्नु पूर्व आवश्यकता अनुसार नियम १९३ बमोजिम गठित नीति निर्माण समितिमा उक्त विषय छलफलका लागि पठाउन सक्नेछ ।

१९७. पुरस्कार : देहायका पदाधिकारीहरूले आफ्नो र आफ्ना मातहत कार्यालयका प्रहरी कर्मचारीहरूले आफ्नो कर्तव्यपालनको सिलसिलामा प्रशंसनीय काम गरेमा त्यस्तो प्रहरी कर्मचारीहरूलाई पुरस्कार स्वरूप देहाय बमोजिम तलबवृद्धि थप वा एकमुष्ट रकम दिन सक्नेछन् :–

(क) प्रहरी महानिरीक्षकले पाँच तलबवृद्धिसम्म थप वा दुई हजार पाँचसय रूपैयाँसम्म ।
(ख) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी उपरीक्षक र सोदेखि माथिका प्रहरी अतिरिक्त महानिरीक्षकले तीन तलबवृद्धिसम्म थप वा एक हजार पाँचसय रूपैयाँसम्म ।
(ग) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षकले दुई तलबवृद्धिसम्म थप वा एक हजार रूपैयाँसम्म ।

१९८. रासन सुविधा : प्रहरी कर्मचारीले नेपाल सरकारले तोकिदिए वमोजिमको राशन सुविधा पाउनेछ ।

१९९. चाडपर्व खर्च पाउने :

(१) प्रहरी कर्मचारीले आफू धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ । यस्तो रकम कर्मचारीले एक आर्थिक वर्षमा एकपटक आफूनो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।

(२) निलम्बनमा रहेको प्रहरी कर्मचारीले समेत उपनियम (१) बमोजिमको चाडपर्व खर्च पाउनेछ ।
(३) निवृत्तिभरण पाउने गरी अवकाश प्राप्त कर्मचारीलाई निजले पाउने एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्चको रुपमा दिईनेछ ।

२००. वैयक्तिक विवरण फाराम (सिटरोल) तयार गर्ने :

(१) नियुक्ति गर्ने अधिकारीले अनुसुची–२३ बमोजिमको ढाँचामा प्रत्येक प्रहरी कर्मचारीको दुई प्रति वैयक्तिक विवरण फाराम (सिटरोल) तयार गर्न लगाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम तयार गरिएको वैयक्तिक विवरण (सिटरोल) एकप्रति प्रहरी किताबखानामा र अर्को प्रति सो कर्मचारी बहाल रहेको कार्यालयमा राख्न लगाउनु पर्दछ । कर्मचारी बहाल रहेको कार्यालयमा राखिएको वैयक्तिक विवरण सो प्रहरी कर्मचारी अन्यत्र सरुवा भएमा सोही कार्यालयमा पठाउनु पर्नेछ ।

(३) कुनै प्रहरी कर्मचारीको नेकीवेदी तयार पार्दा निजको आचरण तथा कार्यसम्पादनको मूल्याङ्कन गरिएका पक्षहरू समेत स्पष्ट रूपमा खुलाउनु पर्नेछ । उक्त नेकीवदीको अभिलेख प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा, सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालय र निज कार्यरत प्रहरी कार्यालयमा तीनपुस्ते अभिलेखको रूपमा राखिनेछ ।

(४) उपनियम (३) बमोजिम तयार गरिने नेकीवेदीको ढाँचा र कार्यान्वयन प्रकृया नियम १९३ बमोजिमको प्रहरी नीति निर्माण समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

२०१. कर्मचारी सञ्चय कोष ः प्रहरी कर्मचारीको प्रत्येक महिनाको तलबबाट दश प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले शतप्रतिशत रकम थपगरी कर्मचारी सञ्चयकोषमा जम्मा गरिदिनेछ ।

२०१क.सञ्चयकोष र बिमा बाहेक अन्य कुनै सुविधा नपाउने :

(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ११३ को उपनियम (२) बमोजिम सेवाबाट बर्खास्त भएको प्रहरी कर्मचारीले नियम १४४ बमोजिमको बिमा र नियम २०१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम बाहेक यस नियमावली बमोजिमको कुनै पनि सुविधा पाउने छैन ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम १०१ख. को उपनियम
(२) बमोजिमको विवरण वा अन्य कुनै स्रोतबाट कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखिएमा स्थायी आवासीय अनुमति लिएको त्यस्तो पति वा पत्नीले नियम १४४ बमोजिमको बिमा र नियम २०१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम बाहेक यस नियमावली बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन ।

२०२. प्रहरी सेवाबाट बर्खास्त गरिएका प्रहरी कर्मचारीको अभिलेख राख्ने :

(१) कुनै प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएमा निजको तीनपुस्ते हुलियासमेतको
सूचना लोकसेवा आयोग, प्रहरी किताबखाना, प्रहरी चालचलन शाखालाई र सम्पूर्ण जिल्ला प्रहरी कार्यालयलाई पठाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बर्खास्त भएको व्यक्ति पुनः प्रहरी सेवामा नियुक्ति भएमा निजले पुनः नियुक्ति भई खाएको तलब फिर्ता गराई निजलाई तुरुन्त बर्खास्त गरिनेछ ।

२०३. इजाजत बेगर इलाका छोड्न नहुने :

सरकारी काजमा खटिएका वा बिदामा बसेका अवस्थामा बाहेक कुनै सरकारी कार्यालयमा बहाल रहेका प्रहरी कर्मचारीले बिदा दिने अख्तियारी पाएको व्यक्तिको इजाजत बेगर आफ्नो कार्यालय रहेको जिल्ला वा इलाका छाडी अन्यत्र जानु हुँदैन । तर अपर्झटको अवस्था परी कार्यालय छाडी नगई नहुने भएमा सम्बन्धित प्रहरी कर्मचारीले कारण खोली निवेदन दिई आफ्नो कार्यालय प्रमुखको इजाजत लिई वा इजाजत लिन नभ्याएमा जानु पर्ने कारणसमेत खोली सम्बन्धित कार्यालय र विभाग वा सचिवालयमा लिखित प्रतिवेदन दिई देशभित्र वा
बाहिर जान हुन्छ । त्यसरी जाँदा कार्यालयको काममा बाधा नपर्ने र सरकारी सम्पत्ति हिनामिना नहुने प्रबन्ध मिलाई जानुपर्छ ।

२०४. अधिकार सुम्पन सक्ने :

(१) नेपाल सरकारले यस नियमावली बमोजिम आफू लाई प्राप्त अधिकारहरु नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको प्रहरी कर्मचारी वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।

(२) यस नियमावलीद्वारा कुनै अधिकारीलाई प्रदान गरिएको अधिकार आफ्नो सामान्य रेखदेखमा काम गर्ने गरी निजले आफूमुनिको कर्मचारीलाई सुम्पन सक्नेछ ।

२०५. मानार्थ बढुवा : (१) यस नियमावली बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवार भई बढुवा नहुँदै अवकास हुने अवस्थामा पुगेका प्रशंसनीय काम गर्ने प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई बढुवा समितिको सिफारिसमा सम्बन्धित अख्तियारवालाले एक तह माथिको दर्जामा मानार्थ बढुवा गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम बढुवा हुने प्रहरी अधिकृतले यसरी बढुवा भएको पदको दज्र्यानी चिन्ह प्रयोग गर्न र सो पदले पाउने सबै सुविधा पाउनेछ ।

(३) उपनियम (१) बमोजिमको बढुवा एक वर्षमा बढीमा दुई जनासम्मलाई गर्न सकिने छ ।

२०६. परिचय पत्र :अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीका नाउँमा प्रहरी महानिरीक्षक वा निजबाट अख्तियार प्राप्त अधिकारीले परिचय पत्र जारी गर्न सक्नेछ ।

२०७. सम्पत्ति विवरण पेश गर्ने : (१) प्रहरी कर्मचारीले भर्ना भएको मितिले साठी दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सबै प्रकारका चलअचल सम्पत्तिको स्रोत सहितको अध्यावधिक विवरण एक प्रति भरी कार्यालयमा पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त भएको सम्पत्ति विवरण सम्बन्धित कार्यालयले प्रहरी किताबखानामा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त विवरण प्रहरी किताबखानाले सुरक्षित साथ राख्नु पर्नेछ ।

२०८. बिद्युतीय अभिलेख राख्न सकिने :

यस नियमावली बमोजिम राख्नु पर्ने प्रहरी कर्मचारीहरुको अभिलेख विद्युतीय अभिलेखमा प्रविष्ट गरी राख्न सकिने छ ।

२०९. स्वतः परिणत हुने : यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी परिचर पदमा कार्यरत श्रेणीविहीन प्रहरी कर्मचारीहरु यो नियमावली प्रारम्भ भए पछि प्रहरी कार्यालय सहयोगी पदमा स्वतः परिणत हुनेछन् ।

२१०. निर्देशिका र कार्यविधि बनाउन सक्ने : मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा वा आवश्यकता अनुसार यस नियमका व्यवस्थाहरू तथा प्रहरी सङ्गठनको व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ । तर यस्तो कार्यविधि वा निर्देशिका लागु गर्नु पुर्व नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

२११. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने :

मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा लेखेको कुराहरूलाई समयसमयमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।

२१२. खारेजी र बचाउ :

(१) देहायका नियमावलीहरू खारेज गरिएका छन् :–
(क) प्रहरी कर्मचारीको दैनिक भ्रमण भत्ता नियम, २०२७,
(ख) प्रहरी केटा (भर्ना तथा सेवा शर्त) न:यमावली, २०४२,
(ग) प्रहरी नियमावली, २०४९,
(घ) प्राविधिक प्रहरी नियमावली, २०५८,
(ङ) प्रहरी पहरा गण नियमावली, २०६४ ।

(२) उपनियम (१) बमोजिमका नियमावलीहरू बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।