परिच्छेद – ६ यातायात व्यवस्थापन

परिच्छेद – ६ यातायात व्यवस्थापन

 

३०. बाटो इजाजतपत्रको लागि दरखास्त दिनेः (१) ऐनको दफा ७६ बमोजिम बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले बाटो इजाजतपत्रका लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम बाटो ईजाजतपत्रको लागि दरखास्त दिंदा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले चालक तथा परिचालकहरूलाई अनुसूची–६२ बमोजिम दिएको नियुक्तिपत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्नेछ ।
(३) एउटा बाटो इजाजतपत्र प्रयोग गरिरहेको सवारीको धनी वा व्यवस्थापकले सो बाटोमा सवारी नचलाई अर्को बाटोमा सवारी चलाउने भएमा त्यसरी सवारी चलाउने बाटो इजाजतपत्र लिनको लागि साविकको बाटो इजाजतपत्र दिने कार्यालयले दिएको सहमतिपत्र समेत संलग्न गर्नुपर्नेछ ।

३१. बाटो परिवर्तनः (१) ऐनको दफा ७७ बमोजिम दिइएको बाटो इजाजतपत्रमा उल्लिखित बाटो बाहेक अन्य बाटो प्रयोग गर्न चाहेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ७९ बमोजिम अन्य बाटो प्रयोग गर्नको लागि अनुसूची–३ बमोजिमको दस्तुर
सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३३ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त परेमा कार्यालयले ऐनको दफा ७९ बमोजिम नयाँ बाटो इजाजतपत्र दिनु पर्नेछ ।

३२. पटके बाटो इजाजतपत्रः (१) ऐनको दफा ८१ बमोजिम पटके बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा कार्यालयले जाँचवुझ गरी ऐनको दफा ८१ बमोजिमको अवधिका लागि अनुसूची–३५ बमोजिमको ढाँचामा पटके बाटो इजाजतपत्र दिनु पर्नेछ ।

३२क. यात्रीवाहक सवारीको आकार र स्तर तोक्न सक्नेः ऐनको दफा ७४ बमोजिम निर्धारण गरेको बाटोमध्ये बाटो इजाजतपत्रको लागि यात्रीवाहक सवारीको आकार र स्तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।

३३. मध्यम र लामो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तरः ऐनको दफा ८२ बमोजिम मध्यम र लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने सार्वजनिक सवारीको स्तर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।

३४. बाटो इजाजतपत्रको नवीकरणः (१) ऐनको दफा ८३ बमोजिम बाटो इजाजतपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३६ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी बाटो इजाजतपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही बाटो इजाजतपत्र नविकरण
गरी दिनु पर्नेछ ।

 

३५. बाटो इजाजतपत्र स्थगितः (१) ऐनको दफा ७७, ७९, ८० र ८३ बमोजिम दिइएको बाटो इजाजतपत्रमा उल्लिखित अवधि समाप्त हुनु अगावै बाटो इजाजतपत्र प्राप्त सवारीको धनी वा व्यवस्थापकले सवारी चल्न नसक्ने कारण देखाई बाटो इजाजतपत्र स्थगित गर्नको लागि ऐनको दफा ८६ बमोजिम त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३७ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी ऐनको दफा ८६ बमोजिम बाटो इजाजतपत्र स्थगित गरी दिनेछ ।
(३) उपनियम (२) मा लेखिएदेखि बाहेक कुनै सवारीको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम सवारी धनी वा व्यवस्थापकले कार्यालयबाट माग भए बमोजिमका कागजातहरू पेश गर्नु पर्नेछ । त्यसरी माग भएका कागजात पेश गर्न नसकेमा वा पेश गरेता पनि त्यस्तो कागजात शंकास्पद देखिएमा त्यस्तो सवारीको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम दिइएको बाटो इजाजतपत्र स्थगित गर्न सक्नेछ ।

३५क. बाटो इजाजतपत्र निलम्बनः देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारीको बाटो इजाजतपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्न सक्नेछः–
(क) ऐनको दफा १०२ विपरीत हुनेगरी यात्रीवाहक सार्वजनिक सवारी चलाएमा,
(ख) यात्रीवाहक सवारीले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारी साधनले यात्रु बोकेमा,
(ग) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०४ विपरीत यातयात सेवा सञ्चालन गरेमा,
(घ) सार्वजनिक सवारीले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गरेमा,
(ङ) यात्रीवाहक सवारीले यो नियम लागू भएको तीस दिनभित्र सवारीको छतमा सामान राख्ने क्यारियर नहटाएमा ।

३६. बाटो इजाजतपत्रको नामसारीः ऐन तथा यस नियमावली बमोजिम बाटो इजाजतपत्र प्राप्त गरेको कुनै सवारीको धनी वा व्यवस्थापकले सवारी बिक्री वा अन्य कुनै व्यहोराबाट सो सवारीको नामसारी गराएमा त्यस्तो बाटो इजाजतपत्र प्राप्त सवारीको नयाँ धनी वा व्यवस्थापकले उक्त बाटो इजाजतपत्र प्रयोग गर्न चाहेमा बाटो इजाजतपत्रको नामसारीको लागि निवेदन दिएमा सम्बन्धित कार्यालयले त्यस्तो बाटो इजाजतपत्र नामसारी गरिदिनु पर्नेछ ।

३७. बाटो इजाजतपत्र दर्ता किताबः ऐन तथा यस नियमावली बमोजिम दिइएको बाटो इजाजतपत्र बाटो परिवर्तन गरिएको इजाजतपत्र, पटके बाटो इजाजतपत्र, बाटो इजाजत नवीकरण, बाटो इजाजतपत्र स्थगित तथा बाटो इजाजतपत्र नामसारीको लगत अनुसूची– ३८ बमोजिमको बाटो इजाजत दर्ता किताबमा अद्यावधिक रूपमा राख्नु पर्नेछ ।

३८. बाटो इजाजतपत्रको प्रतिलिपि दिनेः (१) ऐनको दफा ८८ बमोजिमको कारण परी बाटो इजाजतपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३९ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ८८ बमोजिम आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई बाटो इजाजतपत्रको प्रतिलिपि दिई त्यस्को सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।

३९. जाँचपास प्रमाणपत्रको लागि दरखास्तः (१) ऐनको दफा ९० बमोजिम सवारी जाँचपास प्रमाणपत्र लिन चाहने व्यवस्थापक वा सवारी धनीले सवारी सञ्चालन गर्नु अगाडी ऐनको दफा ९० बमोजिम जाँचपासको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–४० बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कार्यालयले सम्बन्धित प्राविधिक मार्फत अनुसूची–४१ बमोजिमको ढाँचाको जाँचपास विवरण फाराम बमोजिम सम्बन्धित सवारीको आवश्यक जाँचबुझ गर्न लगाइ जाँचपास विवरण फाराम बमोजिमको व्यहोरा ठीक देखिन आएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४२ बमोजिमको ढाँचामा जाँचपास प्रमाणपत्र
दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको जाँचपास प्रमाणपत्रको म्याद बहाल रहेकै अवस्थामा कुनै सवारी अधिकार प्राप्त अधिकारी, यातायत निरीक्षक वा सम्बन्धित ट्राफिक प्रहरीले जाँच गर्दा ठीक अवस्थामा रहेको नदेखिएमा उक्त सवारीको आवश्यक मर्मत संभारको लागि पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र सवारीको मर्मत संभार गर्न नभ्याएमा थप पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र मर्मत संभार गराउनु सम्बन्धित सवारीको धनी र व्यवस्थापकको कर्तव्य हुनेछ ।
(४) उपनियम (३) बमोजिम दिइएको म्याद भित्र आवश्यक मर्मत संभार नगरी त्यस्तो सवारी चलाउन हुँदैन ।

४०. पुनः जाँचपास गर्नुपर्नेः (१) ऐनको दफा ९१ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त भएपछि पुनः जाँचपासको लागि सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ९२ बमोजिम त्यस्तो जाँचपास प्रमाणपत्र दिने कार्यालयमा अनुसूची–४३
बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनः जाँचपासको लागि दरखास्त पर्न आएमा कार्यालयले नियम ३९ को उपनियम (२) बमोजिम आवश्यक जाँचबुझ गर्न लगाइ ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही पुनः जाँचपास प्रमाणपत्र दिनु पर्नेछ ।

४१. जाँचपास प्रमाणपत्र स्थगितः (१) ऐनको दफा ९१ र ९२ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त हुनु अगावै सम्बन्धित सवारीको धनी वा व्यवस्थापकले सवारी चल्न नसक्ने कारण देखाई जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि सम्बन्धित कार्यालयमा अनुसूची–४४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी जाँचपास प्रमाणपत्र स्थगित गर्न उपयुक्त देखेमा स्थगित गरिदिनेछ ।

४२. जाँचपास प्रमाणपत्रको प्रतिलिपिः (१) जाँचपास प्रमाणपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले जाँचपास प्रमाणपत्रको प्रतिलिपिको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–४५ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम जाँचपास प्रमाणपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा जाँचपास प्रमाणपत्रको प्रतिलिपि दिनेछ ।

४३. जाँचपास किताबः ऐनको दफा ९१ र ९२ तथा नियम ३९, ४० र ४१ बमोजिम जाँचपास प्रमाणपत्र दिइएको, पुनः जाँचपास गरिएको र जाँचपास स्थगित गरिएको व्यहोरा अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–४६ बमोजिमको ढाँचामा जाँचपास किताब तयार गरी राख्नु पर्नेछ ।

४४. यातायात सेवाको नाम पञ्जिकृत गर्नेः (१) ऐनको दफा ९३ बमोजिम यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न चाहने सवारी धनी वा व्यवस्थापकले देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४७ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछः–
(क) प्रोपाईटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र,
(ख) सञ्चालन गर्न खोजेको यातायत सेवा अन्र्तगत रहेका सवारीको दर्ताको प्रमाणपत्र,
(ग) सञ्चालन गर्न खोजेको यातायात सेवा यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्र, आयकर
दर्ता प्रमाणपत्र र कर फछ्र्यौट प्रमाणपत्र,
(घ) सञ्चालन गर्न खोजेको यातायात सेवाको प्रबन्धपत्र र नियमावली,
(ङ) सञ्चालन गर्न खोजेको यातायात सेवा अन्र्तगत काम गर्ने चालक, परिचालकलाई दिइएको अनुसूची–६२ बमोजिमको
नियुक्तिको प्रतिलिपि र अन्य कर्मचारीहरूको विवरण ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको ढाँचामा यातायात सेवा पञ्जिकृत किताबमा पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।

४५. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरणः (१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि समाप्त भएपछि त्यस्तो अनुमतिपत्र नवीकरणको लागि सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४९ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको नवीकरणको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गरी दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा सञ्चालन गर्न अनुमतिपत्र नवीकरण गरिएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।

४६. यातायात सेवा सञ्चालन अनुमतिपत्र स्थगित गर्नेः (१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त सवारीको धनी वा व्यवस्थापकले यातायात सेवा सञ्चालन गर्न नसक्ने भएमा सो को कारण सहित यातायात सेवा स्थगित गर्ने स्वीकृतिको लागि अनुसूची–५० बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्थगित गर्न उपयुक्त देखेमा अनुसूची–५१ बमोजिमको ढाँचामा यातायात सेवा सञ्चालन स्थगित गर्ने अनुमति
दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा स्थगित गर्न अनुमतिपत्र दिइएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम स्थगित भएको यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि भित्र सम्बन्धित सवारी धनी वा व्यवस्थापकले स्थगित भएको यातायात सेवा पुनः सञ्चालन गर्ने अनुमतिको लागि नियम ४५ मा उल्लिखित कागजातहरू संलग्न गरी विभागमा अनुसूची–५२ बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम यातायात सेवा पुनः सञ्चालन गर्नको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो यातायात सेवा पुनः सञ्चालन गर्न उपयुक्त देखिएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा सोही व्यहोरा जनाई अनुसूची–५३ बमोजिमको ढाँचामा यातायात सेवा पुनः सञ्चालन अनुमतिपत्र दिनेछ ।

४७. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नामसारीः यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गरेको कुनै सवारीको धनी वा व्यवस्थापकले आफ्नो सवारी अरू कसैलाई बिक्री गरी वा अन्य कुनै व्यहोराबाट नामसारी गरि दिएमा सवारीको नयाँ धनी वा व्यवस्थापकले साविकको सवारी धनी वा व्यवस्थापकले प्रयोग गरी आएको यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र आफ्नो नाममा नामसारी गर्नको लागि नियम ४५ को उपनियम (१) बमोजिमको कागजात संलग्न गरी अनुसूची–५४ बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिएमा विभागले त्यस्तो अनुमतिपत्रको नामसारी गरिदिनेछ ।

४८. यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रः  सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रको ढाँचा अनुसूची–५५ बमोजिम हुनेछ ।

४९. यात्री टिकटको ढाँचाः सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकटको ढाँचा अनुसूची–५६ बमोजिम हुनेछ ।

५०. मालसामान ढुवानीको बिलः मालबाहक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको कर्मचारीले मालवस्तुको ओसार पसार गरे बापत सम्बन्धित मालधनीबाट भाडा बुझिलिई अनुसूची–५७ बमोजिमको ढाँचामा बिल दिनु पर्नेछ ।

५१. यात्री सूचीः (१) लामो र मध्यम दूरीमा सञ्चालन गरिने पञ्जिकृत यातायात सेवाको व्यवस्थापक वा सवारी धनीले ऐनको दफा १०० बमोजिम तयार गर्नु पर्ने यात्री सूचीको ढाँचा अनुसूची–५८ बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको ढाँचामा तयार गरिने यात्री सूचीमा सवारी प्रस्थान गर्दा सवारीमा रहेका यात्रीको अतिरिक्त बीचमा सवारीमा चढ्ने नयाँ यात्रीको नाम समेत समावेश गरी त्यस्तो यात्री सूचीको एक प्रति बीच बाटोमा रहेका प्रहरी कार्यालय तथा चेक पोष्टलाई समेत दिनु पर्नेछ ।