परिच्छेद– ८ परीक्षाको परिचालन र नियन्त्रण सम्बन्धी व्यवस्था

परिच्छेद– ८ परीक्षाको परिचालन र नियन्त्रण सम्बन्धी व्यवस्था

३९. प्राथमिक शिक्षा सिकाई उपलब्धि परीक्षण सम्बन्धी व्यवस्थाः (१) प्राथमिक तहका कक्षा तीन र पाँचका विद्यार्थीहरूको सिकाई उपलब्धि परीक्षण गर्नको लागि प्रत्येक श्रोत केन्द्रमा देहाय बमोजिमको एक सिकाई उपलब्धि परीक्षण समिति रहनेछः–

(क) श्रोतकेन्द्र रहेको विद्यालयको प्रधानाध्यापक – अध्यक्ष

(ख) श्रोतकेन्द्र अन्र्तगतका विद्यालयका शिक्षकहरूमध्येबाट सबै तहका शिक्षकहरूको प्रतिनिधित्व हुने गरी कम्तीमा एक जना महिला सहित सिकाई उपलब्धि परीक्षण समितिका अध्यक्ष तथा सदस्य–सचिवको सिफारिसमा सम्बन्धित विद्यालय निरीक्षकले मनोनीत गरेका तीनजना –सदस्य

(ग) श्रोतव्यक्ति – सदस्य–सचिव

(२) उपनियम (१) को खण्ड (ख) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।

(३) उपनियम (१) बमोजिमको समितिले विद्यार्थीको सिकाई उपलब्धि परीक्षण गर्न आवश्यक पर्ने परीक्षा सम्बन्धी सम्पूर्ण काम गर्नेछ ।

(४) उपनियम (१) बमोजिमको समितिलाई विद्यार्थीको सिकाई उपलब्धि परीक्षण गर्न आवश्यक पर्ने परीक्षा सम्बन्धी सम्पूर्ण काममा सहयोग पु¥याउनु विद्यालयको कर्तव्य हुनेछ ।

४०. निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रणः (१) निम्न माध्यामिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण गर्नको लागि देहाय बमोजिमको निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति रहनेछः–

(क) जिल्ला शिक्षा अधिकारी – अध्यक्ष

(ख) निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयका शिक्षकहरूको प्रतिनिधित्व हुने गरी कम्तीमा एकजना महिला सहित जिल्ला शिक्षा अधिकारीले मनोनीत गरेका तीनजना – सदस्य

(ग) जिल्ला शिक्षा कार्यालयको परीक्षा शाखा हेर्ने अधिकृत – सदस्य– सचिव

(२) उपनियम (१) बमोजिम गठित समितिमा मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।

(३) …………….

(४) परीक्षा समितिले सम्बन्धित विषयका विशेषज्ञलाई परीक्षा समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(५) परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।

४१. निम्न माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकारः (१) निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) परीक्षा परिचालन सम्बन्धमा नीति निर्धारण गर्ने,

(ख) मन्त्रालयले तोकेको न्यूनतम शैक्षिक स्तर कायम गरेका विद्यालयलाई आफ्नो विद्यालयको परीक्षा आफै वा समूहगत रुपमा सञ्चालन गर्न अनुमति दिने,

(ग) परीक्षा केन्द्र तोक्ने,

(घ) विद्यालयहरुलाई समूहमा विभाजन गरी परीक्षा सञ्चालन गर्ने,

(ङ) परीक्षाफल प्रकाशित गराउने तथा उत्तीर्ण परीक्षार्थीलाई प्रमाणपत्र दिने,

(च) परीक्षा शुल्क तथा परीक्षा सम्बन्धी काममा संलग्न व्यक्तिको पारिश्रमिक निर्धारण गर्ने,

(छ) कुनै परीक्षा केन्द्रमा अनियमितता भएमा आवश्यकतानुसार परीक्षा बदर गरी पुनः परीक्षा गराउने वा त्यस्तो परीक्षा केन्द्र बन्द गर्ने,

(ज) दैवी प्रकोप वा अन्य कुनै कारणबाट निर्धारित समयमा परीक्षा सञ्चालन गर्न वा परीक्षाफल प्रकाशित गर्न बाधा परेमा तुरुन्तै आवश्यक निर्णय लिने,

(झ)मन्त्रालय, विभाग तथा निर्देशनालयले तोके बमोजिमका अन्य काम गर्ने ।

(१क) उपनियम (१) को खण्ड (ङ) बमोजिम प्रमाणपत्र दिंदा परीक्षा समितिले विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट वाईज पास सिष्टम) अवलम्वन गरी जतिवटा विषयमा विद्यार्थी उत्तीर्ण भएको हुन्छ त्यतिवटा विषयको मात्र प्रमाणपत्र दिनेछ ।

(२) परीक्षा समितिले उपनियम (१) बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार उप–समिति वा कार्यटोली गठन गरी सो उप–समिति वा कार्यटोली वा कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।

४२. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिः (१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको परिचालन र नियन्त्रण गर्नको लागि देहायका सदस्यहरु रहेको एक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति रहनेछः–

(क) मन्त्रालयको सचिव – अध्यक्ष

(ख) सह–सचिव, मन्त्रालय (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) –सदस्य

(ग) विभागको महानिर्देशक – सदस्य

(घ) निर्देशकहरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य

(ङ) परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय – सदस्य

(च) परीक्षा नियन्त्रक, उच्च माध्यमिक शिक्षा परिषद् – सदस्य

(छ) महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र – सदस्य

(ज) शिक्षाविद्हरु मध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना – सदस्य

(झ) परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय, मन्त्रालय – सदस्य–सचिव

(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।

(३) परीक्षा समितिले सम्बन्धित विषयका विशेषज्ञलाई परीक्षा समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(४) परीक्षा समितिको सचिवालयको काम परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।

(५) परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

४३. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकारः (१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) परीक्षा परिचालन सम्बन्धमा नीति निर्धारण गर्ने,

(ख) परीक्षा केन्द्र तोक्ने आधार निर्धारण गर्ने,

(ग) परीक्षा सञ्चालन गराउने,

(घ) परीक्षाको लागि रजिष्ट्रेशन, आवेदन फाराम तथा परीक्षा बापत लाग्ने शुल्क निर्धारण गर्ने,

(ङ) परीक्षा सम्बन्धी काममा संलग्न व्यक्तिहरुको पारिश्रमिक तथा भत्ता निर्धारण गर्ने,
(च) परीक्षाफल प्रकाशित गर्ने तथा उत्तीर्ण परीक्षार्थीलाई प्रमाणपत्र दिने

व्यवस्था गर्ने,

(छ) परीक्षा सम्बन्धी नियम उल्लंघन गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यक कारबाही गर्ने,

(ज) कुनै परीक्षा केन्द्रमा अनियमित कार्य भएमा आवश्यकता अनुसार परीक्षा बदर गरी पुनः परीक्षा गराउने वा त्यस्तो परीक्षा केन्द्र बन्द गर्ने,

(झ)दैवी प्रकोप वा अन्य कुनै कारणबाट तोकिएको समयमा परीक्षा सञ्चालन गर्न वा परीक्षाफल प्रकाशित गर्न बाधा परेमा तुरुन्त आवश्यक निर्णय गर्ने,

(ञ) प्रधान परीक्षक, परीक्षक तथा प्रश्नपत्र निर्माताहरुको काम, कर्तव्य र अधिकार तोक्ने,

(ट) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ महिना पछि नियमित प्रक्रिया अपनाई उत्तरपुस्तिका धुल्याउने ।

(२) परीक्षा समितिले उपनियम (१) बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकतानुसार केही अधिकार उप–समिति वा कार्यटोली गठन गरी सो उप–समिति वा कार्यटोलीलाई वा कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।

४४. परीक्षा समितिको सदस्य–सचिवको काम कर्तव्य र अधिकारः माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको सदस्य– सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) प्रश्नपत्र निर्माता, प्रधान परीक्षक, सहायक प्रधान परीक्षक र अन्य आवश्यक कर्मचारी नियुक्ति गर्ने,

(ख) निष्पक्ष र नियमित तरीकाबाट परीक्षा सञ्चालन र उत्तरपुस्तिका जाँच गराउने तथा सो सम्बन्धमा सम्बन्धित व्यक्तिलाई आवश्यक निर्देशन दिने,

(ग) आफूलाई प्राप्त अधिकार आवश्यकता अनुसार परीक्षा समितिको कुनै सदस्यलाई सुम्पने,

(घ) परीक्षा सञ्चालन सम्बन्धमा परीक्षा समिति वा सो समितिको अध्यक्षको निर्देशन बमोजिम काम गर्ने ।

४५. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालनः माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन सम्बन्धी काम परीक्षा समितिको निर्देशनमा परीक्षा नियन्त्रण कार्यालयले गर्नेछ ।

४६. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिः (१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा व्यवस्थित तथा मर्यादित रुपमा सञ्चालन गर्नको लागि प्रत्येक जिल्लामा देहायका सदस्यहरु रहेको एक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समिति रहनेछः–

(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष

(ख) जिल्ला प्रहरी कार्यालयको प्रमुख – सदस्य

(ग) जिल्ला शिक्षा अधिकारी – सदस्य–सचिव

(२) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) परीक्षा केन्द्र तोक्ने,

(ख) केन्द्राध्यक्ष र अन्य आवश्यक कर्मचारी नियुक्त गर्ने,

(ग) आफ्नो जिल्लाभित्र मर्यादित र निष्पक्ष ढंगले परीक्षा सञ्चालन गर्ने,

(घ) मन्त्रालय वा परीक्षा समितिले तोकिदिए बमोजिमको अन्य काम गर्ने गराउने ।

४७. थप समय उपलब्ध गराउन सक्नेः अन्धा, बहिरा, सुस्त मनस्थिति भएका वा शारिरीक कारणले अपाङ्ग विद्यार्थीलाई अपाङ्गताकाे प्रकृति हेर्दा निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा बढीमा एक घन्टासम्म थप समय उपलव्ध गराउन सकिनेछ ।

४७. अशक्त विद्यार्थीको लागि परीक्षामा विशेष व्यवस्था गर्न सकिनेः (१) अन्धा, वहिरा, लाटा, अपाङ्ग वा सुस्त मनस्थिति भएका विद्यार्थीका लागि निजले बुझ्ने साङ्केतिक भाषामा परीक्षा दिने व्यवस्था गर्न सकिनेछ ।

(२) उपनियम (१) बमोजिमका विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछ ।

४७क.माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउनेः कक्षा दशमा कम्तीमा पचहत्तर प्रतिशत हाजिरी भई नियमित रूपमा अध्ययन गरेको विद्यार्थी मात्र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउनेछ ।

तर दूर शिक्षाको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीको हकमा दूर शिक्षा सम्बन्धी निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।